एसईईमा मधेशको चिन्ताजनक नतिजा

जुनसुकै परीक्षामा राम्रो नतिजा हासिल गर्नु सुखद् उपलब्धि नै हो । त्यसले जीवनमा उत्साह नै थप्नेछ । एसईईमा राम्रो नतिजा प्राप्त विद्यार्थीले आगामी तह र जीवनका सबै परीक्षामा उस्तै उत्साहबर्द्धक नतिजा ल्याउन प्रयत्नशील बन्नुपर्छ ।

असार १९, २०८२

सम्पादकीय

Worrying results of Madhesh in SEE

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को देशव्यापी नतिजामा १४ प्रतिशतले सुधार आउँदा मधेश प्रदेशको नतिजा भने चिन्ताजनक ढंगले ह्रास आएको छ । शुक्रबार सार्वजनिक नतिजामा देशभरका ६२ प्रतिशत विद्यार्थी कक्षा ११ मा पढ्न योग्य हुँदा मधेश प्रदेशमा केवल २८ प्रतिशत विद्यार्थी मात्रै योग्य ठहरिएका छन् ।

जबकि, अघिल्लो वर्ष देशव्यापी रूपमा झन्डै ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा मधेश प्रदेशका ४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । राष्ट्रिय परीक्षा बोर्डका अनुसार, यो वर्ष मधेश प्रदेशका ५९ हजार ७ सय ४९ विद्यार्थीले परीक्षा दिएकामा ४२ हजार ७ सय ७९ जना अर्थात् ७२ प्रतिशत ‘ननग्रेडेड’ भएका छन् ।

प्रदेशगत रूपमा सबैभन्दा बढी उत्तीर्ण प्रतिशत भएका प्रदेशमा क्रमशः बागमती (८२ प्रतिशत), गण्डकी (७६ प्रतिशत), कर्णाली (७० प्रतिशत), सुदूरपश्चिम (५५ प्रतिशत), कोशी (५१ प्रतिशत) र मधेश (२८ प्रतिशत) छन् । तुलनात्मक रूपमा मधेश प्रदेशको नतिजा अन्य प्रदेशको तुलनामा पनि असाध्यै कमजोर रहेको देखिन्छ । त्यसैले यस प्रदेशलाई लक्षित गरेर शैक्षिक सुधारका कार्यक्रम तय गरिन आवश्यक छ ।

समग्रमा एसईई नतिजामा भने सकारात्मक सुधार देखिन्छ । सहभागी ४ लाख ३८ हजार ८ सय ९६ विद्यार्थीमध्ये २ लाख ७१ हजार २ सय ९९ जना कक्षा ११ मा भर्नाका लागि योग्य भएका छन् । यसअनुसार ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । समग्र नतिजा मात्रै होइन, विद्यार्थीको प्राप्त गर्ने माथिल्लो जीपीएमा पनि उल्लेखनीय सुधार भएको देखिन्छ । गत वर्ष १ सय ८६ जनाको मात्रै जीपीए ४ आएकामा यस वर्ष ९ सय ७१ जना पुगेका छन् ।

अघिल्लो वर्षसँग तुलना गर्दा धेरै कोणबाट नतिजामा सुधार देखिएको छ । यद्यपि, अझै १ लाख ६७ हजार ५ सय ९७ अर्थात् एकतिहाइभन्दा बढी विद्यार्थी ‘ननग्रेडेड’ (एनजी) भएको तथ्य पनि हामीसँग छ । मधेश प्रदेशमा त झन् ७२ प्रतिशत विद्यार्थी एनजी भएका छन् । जसले गर्दा नतिजा सुधारका लागि अझै बढी रणनीतिक प्रयत्न आवश्यक छ भन्ने देखिन्छ । यसका लागि संघीय तथा स्थानीय सरकार, विद्यालय तथा शिक्षक, अभिभावकदेखि विद्यार्थी स्वयंले आफ्नो मिहिनेत बढाउनुपर्छ ।

विगतमा जस्तै यस वर्ष पनि गणित, विज्ञान, अंग्रेजी, सामाजिकमा सबैभन्दा धेरै छात्रछात्रा ‘ननग्रेडेड’ भएका छन् । गणितमा मात्रै १ लाख २८ हजार २ सय १५ जना ‘ननग्रेडेड’ छन् । त्यस्तै, अंग्रेजीमा ८० हजार ६ सय ७२, विज्ञान तथा प्रविधिमा ७९ हजार २ सय ७१, सामाजिकमा ५३ हजार १ सय ८६ विद्यार्थी ‘ननग्रेडेड’ भएका छन् । सामुदायिक विद्यालयमा वर्षौंदेखि गणित, विज्ञान, अंग्रेजीलगायत विषयका शिक्षक अभावको समस्या छ ।

२०५७ सालदेखि नै सामुदायिक विद्यालयमा एउटै पनि स्थायी दरबन्दी थप गरिएको छैन । भएका शिक्षकसमेत आफ्नो सेवासुविधाका लागि आन्दोलनरत मनस्थितिमा बस्नुपरेको देखिएको छ । ७० प्रतिशत विद्यार्थी पढ्ने सामुदायिक विद्यालयको पठनपाठनमा सुधार गर्दा मात्रै एसईईको समग्र नतिजा र विषयगत उपलब्धिमा सुधार आउनेछ । त्यसका लागि विषयगत शिक्षकको दरबन्दी, शिक्षकको सेवासुविधा, विद्यालयको भौतिक–शैक्षिक वातावरणमा सुधार, पाठ्यक्रम–पाठ्यपुस्तकलाई विद्यार्थीमैत्री बनाउन पहल गर्नुपर्छ ।

यतिबेला संघीयदेखि स्थानीय सरकारले दुई विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । पहिलो, आगामी वर्षको नतिजामा थप सुधार । किनकि, कहिले आधा र कहिले एकतिहाइ विद्यार्थी असफलताको भार बोक्न अभिशप्त शिक्षा प्रणालीले मुलुकलाई कुनै शैक्षिक उज्यालो दिन सक्दैन ।

दोस्रो, ‘ननग्रेडेड’ एकतिहाइ विद्यार्थीको व्यवस्थापन । मौका परीक्षामा समेत अनुत्तीर्ण हुने र मौका परीक्षासमेत दिन नपाउने विद्यार्थीको भविष्यको सुनिश्चिततासमेत सरकारको दायित्वमै पर्छ । एसईईमा ‘ननग्रेडेड’ विद्यार्थीले समेत सीटीईभीटीको १८ महिने प्रि–डिप्लोमा कोर्स पढ्न पाउँछन् । यद्यपि यो सबैको पहुँचमा छैन । सरकारले सीप र ज्ञान सिकाइका नियमित र वैकल्पिक माध्यमलाई बलियो बनाउनुपर्छ ।

समग्र नतिजामा सुधार देखिए पनि यसको गुणस्तर र दिगोपनामाथि यतिबेला प्रश्न उठिरहेको छ । खासगरी प्रधानमन्त्रीले ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी तयारी गरिएको भनेर गरेका सार्वजनिक प्रतिबद्धताको अनुमोदनका लागि परीक्षा प्रणालीकै गुणस्तरमा सम्झौता गरिएको हुन सक्ने आशंका व्यक्त भएका छन् ।

किनकि, प्रधानमन्त्रीको घोषणाअनुसार राष्ट्रियस्तरमै अभियानकै रूपमा शैक्षिक सुधारका लागि प्रयत्न भएका वा त्यस किसिमको ठोस कार्यक्रमहरू सञ्चालन भइरहेका विषय सार्वजनिक भएका थिएनन् । यद्यपि, नतिजाको एउटा तथ्यांक प्राप्त भइसकेको छ । आगामी दिनमा अहिलेको नतिजामा संख्यात्मक र गुणात्मक रूपमा अझै सुधार ल्याउनका लागि सरोकारवाला थप प्रयत्नशील बन्नुपर्छ ।

विद्यालय शिक्षा कक्षा १२ मा टुंगिन्छ । त्यसअघि कक्षा १० का विद्यार्थीलाई राष्ट्रव्यापी रूपमा लिइँदै आइएको परीक्षाले हाम्रा शैक्षिक मुद्दाहरूलाई एक पटक बहसमा ल्याउने गरेको छ । कमीकमजोरी र सुधारको वकालत हुने गरेको छ । त्यसका लागि विगतमा दशकौंसम्म सञ्चालित एसएलसीको विरासतले पनि भूमिका खेलेको छ । तैपनि एसईई विद्यार्थीका निम्ति सर्वस्व पनि होइन, कामै नलाग्ने शैक्षिक तह पनि होइन ।

जुनसुकै परीक्षामा राम्रो नतिजा हासिल गर्नु सुखद् उपलब्धि नै हो । त्यसले जीवनमा उत्साह नै थप्नेछ । एसईईमा राम्रो नतिजा प्राप्त विद्यार्थीले आगामी तह र जीवनका सबै परीक्षामा उस्तै उत्साहबर्द्धक नतिजा ल्याउन प्रयत्नशील बन्नुपर्छ । अर्कोतर्फ, जो विद्यार्थी एसईईमा ‘ननग्रेडेड’ भएका छन्, उनीहरूले पनि बुझ्नुपर्छ, यो परीक्षा नै सर्वस्व होइन । पहिलो त, एसईई पनि पुनः पढेर ‘ग्रेड’ बढाउने अवसर यसै वर्ष वा अर्को वर्ष प्राप्त हुने नै छ ।

अर्कोतर्फ, एक पटक र एउटा क्षेत्रमा असफलता बेहोर्नु भनेको सधैं र सबै क्षेत्रमा असफलता बेहोर्नु पक्कै होइन । निराश नभईकन एक पटकको असफलतालाई सिकाइका रूपमा लिएर अघि बढ्न सक्दा अनेकौं क्षेत्रमा सफलता प्राप्त हुन सक्छ । एसईईमा सामेल विद्यार्थी किशोरावस्थाको हुने र बढी भावनात्मक स्वभावका हुने भएकाले शिक्षक तथा अभिभावकले सकारात्मक ऊर्जा दिँदै मानसिक रूपमा सबल बनाउनुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully