विसं. १९९८ असार २२ को मिर्मिरेमा असारको भाकामा उर्लिएको अरुण एक विस्मयकारी दृश्यको साक्षी बन्यो । सम्भवतः एउटा बस्ती नै रित्तियो होला । स्वतःस्फुर्त रूपमा निस्किएको एक लस्करले अरुणमा आफ्नो अन्तिम गन्तव्य फेला पार्यो अनि कसैले पनि फेला पार्न नसक्ने गरी अरुणले आफ्नो विशाल छातीमा ६८ जनालाई समाहित गर्यो ।
यो घटनालाई त्यत्तिकै दबाइयो अनि लुकाइयो । तत्कालीन राजनीतिक सामाजिक वृत्तमा यसको चर्चा हुनसमेत दिइएन । यो घटनालाई लुकाउनुका पछाडि राणा शासकको अनुदार र सामन्ती सोच नै मुख्य थियो ।
विसं. १९२४ मा भोजपुर मझुवाबेंसीको कट्टर ब्राह्मण परिवारमा जन्मिएकी योगमायाको सचेत चेष्टा र सत्प्रयासको चर्चा जति नै गरे पनि कमै हुन्छ । राणा शासनकालीन निरंकुश युग, जसमा नागरिकका हकअधिकार र राज्यको नागरिकप्रतिको दायित्व के हो भन्ने विषयमा बहस गर्नु जीवनको मोह त्याग्नुबराबर हुन्थ्यो, त्यस्तो समयमा योगमायाले देखाएको साहस तारिफयोग्य छ ।
भ्रष्टाचार, लैंगिक असमानता, वर्गीय विभेद, छुवाछूत, दमन, शोषण र उत्पीडनका विरुद्ध सुशासन, सहअस्तिव, समानता, वर्ग र शोषणरहित समाजका लागि आवाज बुलन्द पार्ने र शासकलाई नागरिकको इच्छाबमोजिम न्यायपूर्ण शासन गर्न सुझाउने योगमाया तत्कालीन समाजले परिकल्पना र परिभाषित गर्ने नारी पात्रको परिधिमा अटाउने व्यक्तित्व नै थिइनन् ।
बालविवाह अनि शरीर र मनले धान्न नसक्ने बुहार्तनको तिक्त अनुभवसँगै आफ्नो जन्म र कर्मघर दुवैबाट अपहेलित र उपेक्षित हुन पुगेपछि उनी देशै छोडेर भारतको असम पुगिन् । उतै उनले पुनः विवाह गरिन्् । केही वर्षपछि गृहस्थी जीवन नै त्यागी आफ्नी छोरीसहित पुनः माइती गाउँ फिर्ता भइन् तर यसपटकको उनको फिर्ती पुनः फर्किनुका लागि थिएन ।
सम्भावित लाञ्छना र तिरष्कारलाई झेल्न सक्ने सहास, धैर्य र बुद्धिमत्ताका साथ उनी फर्केकी थिइन् । उनी उभिइन् सतीसालझैं । योगमायाको संघर्ष कुनै एक जातिका लागि मात्र थिएन । थियो त सम्पूर्ण मानव जातिका लागि । समाजको मूलधारबाट किनाराकृत, उत्पीडन, विभेद र अन्यायमा परेका हरेक व्यक्तिका लागि उनको संघर्ष थियो । चाहे ती महिला हुन् वा पुरुष वा हुन् जुनसुकै जाति वा धर्मका । योगमायाले जानेको धर्म त एउटै थियो– मानवधर्म ।
पाखण्डपूर्ण समाजमा सिद्धान्तलाई व्यवहारमा उतार्ने अदम्य सहासी थिइन्– योगमाया । सरल र सात्त्विक जीवन तर सामाजिक र राजनीतिक क्रान्तिको विद्रोही चेत, समाजमा जरा गाडेर बसेको पितृसत्तात्मक सोच, धार्मिक, सामाजिक, सांस्कृतिक रुढिवाद, शोषण अनि उत्पीडनका विरुद्ध तार्किक रूपमा सामाजिक यथास्थितवादमा झटारो हान्ने योगमाया अग्रणी महिला समाज सुधारक थिइन् ।
तत्कालीन शासकलाई समानता, न्याय र जनभावन अपेक्षाकृत शासन गर्न सुझाउने, योगमायाले कानुनी रूपमा नै सामाजिक उत्पीडन, विसंगति र विकृतिको अन्त्य गरिनुपर्ने साथै स्वेच्छाचारी र हैकमी शासनका विरुद्ध कानुनको शासन हुनुपर्ने कुरामा जोड दिइन् । पटक–पटक आफ्ना माग शासकसमक्ष पुर्याइन् ।
योगमायाका माग सार्वकालिक थिए । मिहिन रूपमा हेर्ने हो भने, योगमायाले विसं. १९९३ मा तत्कालीन प्रधानमन्त्रीलाई बुझाएको २६ बुँदे मागको सान्दर्भिकता अझै पनि उत्तिकै छ । उदाहरणका लागि विधवाले आफ्नो राजीखुसीले विवाह गर्न पाउनुपर्ने कुरालाई कानुनले अपराध नमाने पनि समाजले कलंकका रूपमा हेर्न छोडेको छैन ।
छुवाछूत र भेदभावविरुद्धको हकलाई मौलिक हकका रूपमा स्थापित गरी ऐनकानुनको व्यवस्था नै गरे तापनि हाम्रो सामाजिक मनोविज्ञानले पुरानो स्वभाव छोडेको छैन । त्यसै गरी बालविवाहको आँकडा पनि युग नसुहाउँदो गरी उच्च नै रहेको छ । हाम्रो संविधान र ऐन कानुनमा अटाएका हक समाजमा नअटाएझैं देखिन्छ ।
मान्छेको नैसर्गिक स्वभाव नै हुन्छ– बटुल्ने । अर्थात् भौतिक सम्पत्ति थुपार्ने र सुख–सुविधाको पछि दौडिने । तर योगमायाको जीवन मात्र होइन, मृत्युसमेत परोपकारको कामनामा समर्पित थियो । भौतिक अस्तित्वको क्षणभंगुरतासँग परिचित तर अविचलित योगमायाले आमजीवनको कठिन सत्य मृत्युलाई समेत सहर्ष वरण गरिन् ।
अनवरत रूपमा सामाजिक हितका लागि समर्पित उनको संघर्ष आधुनिक, सुसंस्कृत अनि वैज्ञानिक दृष्टिकोणसहितको थियो । जसमा उनलाई हजारौंले साथ दिए, सयौं जीवन आहुति दिन तयार भए । उनी र उनका अनुयायीसहित ६८ जनाले जल समाधि लिनु कुनै लहड थिएन, न त थियो कुनै कायरतापूर्ण कार्य । त्यो थियो त, केवल बेथिति, असंगति अत्याचारविरुद्धको शंखघोष, परिवर्तनप्रतिको व्यग्र चाहना र तत्कालीन शासन व्यवस्थाप्रतिको चर्को असहमति ।
केही समययता मधुरो स्वरमै सही, योगमायाका कथा सुनिन थालेका छन् । योगमायाको जीवनमा आधारित कृति प्रकाशित भएका छन् । योगमायाको फोटो अंकित हुलाक टिकट र विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको स्थापनाले योगमायाको योगदानलाई राज्यले पनि केही कदर गर्न खोजेझैं देखिन्छ । तर यी प्रयास यथेष्ट होइनन् । योगमायाको योगदानको चर्चा घरघरमा पुग्न जरुरी छ । योगमायाका आदर्शलाई व्यक्ति, समाज अनि राज्यले अवलम्बन र गर्व गर्न आवश्यक छ ।
