पेट्रोलियम अन्वेषणमा केमिकल इन्जिनियरिङको भूमिका

पेट्रोलियम पदार्थ रहेको पुष्टिबाट हौसिएको सरकारले यसको उत्पादन र भण्डारणमा पनि निकै सक्रियतापूर्वक काम गर्ने हो भने हाम्रै पुस्ताले दैलेखको पेट्रोलियम, धौवधीको फलाम र चुरे भावर क्षेत्रको युरेनियम मात्र हैन, यस्तै पुष्टि हुन बाँकी थुप्रै खानीलाई उपयोग गर्न सक्छ ।

असार १६, २०८२

अश्विना दुलाल

Role of Chemical Engineering in Petroleum Exploration

दैलेखको जलजलेमा १ सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको र त्यसले नेपालका लागि ५० वर्षसम्म पुग्ने प्रारम्भिक प्रतिवेदन चिनियाँ टोलीले बुझाएपछि यतिबेला सिंगो देश उत्साहित बनेको छ । चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ देखि ड्रिलिङ गरी ४ हजार मिटर गहिराइसम्म खनेर प्राप्त नमुनाको ल्याब परीक्षणपछि उक्त तथ्य बाहिरिएको हो ।

दैलेखमा पेट्रोलियम खानी रहेको पुष्टि भएपछि यतिखेर विभिन्न कोणबाट अध्ययन र विश्लेषण हुन थालेको छ र त्यससँगै नेपालमा केमिकल इन्जिनियरिङको आवश्यकता र महत्त्व फेरि एक पटक सतहमा आएको छ । 

नेपालका सन्दर्भमा केमिकल इन्जिनियरिङ नयाँ विषयका रूपमा रहेको भए पनि औद्योगिक क्रान्तिमार्फत विश्वमा लम्किरहेका मुलुकका लागि यो एक शताब्दीभन्दा पनि पुरानो विषयका रूपमा रहेको छ । पेट्रोलियम लगायतका इन्धनका धनी राष्ट्र यतिखेर रसायन प्रविधिको प्रयोगमार्फत विश्व अर्थतन्त्रमा पहिलो भइरहेका छन् ।

नेपालमा काठमाडौं विश्वविद्यालयमा वि.सं. २०७२ देखि र त्रिभुवन विश्वविद्यालयमा वि.सं. २०७६ देखि केमिकल इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा छन् । त्यसो त करिब ३ दशकदेखि नै कोलम्बो प्लानअन्तर्गत थुप्रै नेपालीले केमिकल इन्जिनियरिङ विषय अध्ययन गरी आएका पनि छन् । हाल नेपाल इन्जिनियरिङ काउन्सिलमा करिब 

२ सय ५० जना केमिकल इन्जिनियर दर्ता भएका छन् भने सरकारी संयन्त्रका उपल्लो तहमा समेत उत्तिकै कार्यरत छन् । उद्योग, उत्पादन, प्रदूषण नियन्त्रण र स्रोत संरक्षणका लागि सुरक्षित विधिको खोज गर्दै दिगो विकासमा समेत केमिकल इन्जिनियरको भूमिका महत्त्वपूर्ण हुने गर्छ ।

दैलेखमा पेट्रोलियम खानी, धौवाधीमा फलाम खानी, चुरे भावरमा युरेनियम खानीलगायत देशका विभिन्न भूभागमा थुप्रै खानीका स्रोतको खोजी र पुष्टि हुनु आफैंमा सुखद हो । नेपालमा यस्ता प्रकारका खानीका स्रोत रहेको पुष्टि भए पनि त्यसको प्रशोधन र व्यावसायिक उत्पादनमा त्यति धेरै जोड दिएको पाइँदैन ।

त्यसो त सन् १९८० मा नै जाइका र नेपाल सरकारले गरेको अध्ययनअनुसार काठमाडौं र ललितपुरका केही भूभागमा २० देखि ३ सय ३० मिटरको गहिराइमा ग्यास भेटिएको र व्यावसायिक उत्पादन भए उपत्यकाको त्यतिबेलाको माग अनुसार ५० वर्षलाई पुग्ने भनिएको थियो । तर विडम्बना त्यो प्रतिवेदन पनि प्रतिवेदनमा नै सीमित भयो र व्यावसायिक उत्पादन भने हुन सकेन । 

दैलेखको जलजलेमा भेटिएको भनिएको प्राकृतिक ग्यास मिथेन हो । एउटा कार्बन र चारवटा हाइड्रोजनको अणुबाट मिथेन बन्छ । मिथेन प्राकृतिक रूपमा पेट्रोलियम संरचनाभित्र, जैविक पदार्थको विघटनबाट तथा ग्यास कुवा र कोइला खानीमा पाइन्छ । रंगहीन र गन्धहीन हुने यो ग्यास अत्यधिक ज्वलनशील हुन्छ । मिथेन ग्यास पेट्रोल वा डिजेलको तुलनामा सस्तो, स्वच्छ र वातावरणमैत्री इन्धन हो । मिथेन ग्यासलाई गाडीमा इन्धनका रूपमा प्रयोग गर्न, बिजुली उत्पादन गर्न, पाइपलाइनबाट घर–घरमा पठाएर खाना पकाउने काममा प्रयोग गर्न र घरायसी प्रयोजनमा बत्ती बाल्न पनि प्रयोग गर्न सकिन्छ ।

स्टिम मिथेन रिफोर्मिङमार्फत उच्च तापक्रम र पानीको वाष्प प्रयोग गरेर मिथेन ग्यासलाई हाइड्रोजन र कार्बन डाइअक्साइडमा रूपान्तरण गर्न सकिन्छ । नेपालको परिप्रेक्ष्यमा, मिथेन रिफोर्मिङबाट प्राप्त हाइड्रोजन ग्यासलाई अमोनिया ग्यास उत्पादनमा प्रयोग गर्न सकिन्छ ।

अमोनिया ग्यास मुख्यतः रासायनिक मल उत्पादनको प्रमुख स्रोत हो । मिथेन ग्यासको प्रयोगबाट प्राप्त हुने हाइड्रोजन र कार्बन डाइअक्साइडले युरिया उत्पादनलाई महत्त्वपूर्ण भूमिका खेल्छ ।

यतिखेर सरकारले रासायनिक मल उत्पादनसम्बन्धी उद्योगलाई प्राथमिकतामा राखेको र नेपाल आयल निगमले समेत यससम्बन्धी काम गरिरहेकाले यही मिथेनको प्रयोगबाट रासायनिक मल, युरिया उत्पादन गर्न सके अर्थतन्त्रको हिसाबले समेत यो परियोजना बहुउपयोगी हुने देखिन्छ । त्यस्तै मिथेनबाट मिथानोलसम्मको व्यावसायिक उत्पादन गरी यसलाई बायोफ्युलका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

विश्वव्यापी रूपमा नै पेट्रोलियम अन्वेषण, प्रशोधन र भण्डारणमा केमिकल इन्जिनियर र इन्जिनियरिङ प्रविधिको प्रयोग भएको देखिन्छ । नेपालमा केमिकल इन्जिनियरको संख्या तुलनात्मक रूपमा कम भएको र माग गर्दा जनशक्ति पनि नपाउने हुनाले सोसरहका जनशक्तिमार्फत काम हुँदै आएको देखिन्छ तर अब व्यावसायिक रूपमा नै केमिकल इन्जिनियरको उत्पादन भइरहेकाले यस्ता कामहरूमा यिनै जनशक्तिलाई प्रयोग गर्नु अत्यावश्यक हुन्छ ।

कार्बनको मात्रा एकदमै धेरै हुने भएकाले वातावरणलाई कुनै पनि प्रकारको हानि नपुर्‍याउने गरी यसका प्रशोधनका उपायहरू पहिल्याउन, उत्पादनमा वृद्धि गर्न, नयाँ प्रविधिहरूको पहिचान गरी त्यसलाई उपयोग गर्न केमिकल इन्जिनियरहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् । 

विश्वकै सबैभन्दा ठूलो पेट्रोलियम प्रशोधन उद्योग साउदी आरामकोमा कुल दक्ष जनशक्तिको ५० प्रतिशतभन्दा बढी केमिकल इन्जिनियर छन् । यसबाहेक भारत, चीन, अमेरिका, कुवेत, कतार लगायतका देशका पेट्रोलियम उद्योगमा ठूलो मात्रामा केमिकल इन्जिनियर कार्यरत छन् ।

यसबाट पनि पेट्रोलियम अन्वेषणमा केमिकल इन्जिनियरको भूमिका र महत्त्वबारे बुझ्न सकिन्छ । देशमा नै उत्पादन भएका र विदेशबाट उच्च शिक्षा लिएर फर्किएका केमिकल इन्जिनियरलाई प्रयोग गरेर यसको व्यावसायिक उत्पादनतर्फ लाग्नु आजको आवश्यकतासमेत हो ।

पेट्रोलियम पदार्थ रहेको पुष्टिबाट हौसिएको सरकारले यसको उत्पादन र भण्डारणमा पनि निकै सक्रियतापूर्वक काम गर्ने हो भने हाम्रै पुस्ताले दैलेखको पेट्रोलियम, धौवधीको फलाम र चुरे भावर क्षेत्रको युरेनियम मात्र हैन, यस्तै पुष्टि हुन बाँकी थुप्रै खानीलाई उपयोग गर्न सक्छ ।

अश्विना दुलाल

Link copied successfully