निहित मनोकांक्षासहित माओवादी आन्दोलनमा लागेकाहरूको जीवन आन्दोलनको समय र अहिले पनि ऐश्वर्यमय छ तर परिवर्तनको भावनाले निःस्वार्थ आन्दोलनमा होमिएकाहरूको जीवन उतिखेर र अहिले पनि उस्तै कष्टकर छ
विसं २०६८/६९ तिरको कुरा हो । तत्कालीन जनमुक्ति सेना र नेपाली सेनाबीचको समायोजन कार्य तीव्र गतिमा अगाडि बढिरहेको थियो । त्यही बेला सामूहिकतामा बाँचिरहेको जनमुक्ति सेनाको जीवन एक्कासि भत्ताभुंग भयो । जागिर खान जाने भन्नेहरूले भटाभट समायोजन रोजे ।
हामी राजनीतिक वैचारिक सेना हौं, जागिर खान आएको सेना होइन भनी धेरैले स्वैच्छिक अवकाश रोजे । स्वैच्छिक अवकाश लिन चाहनेले एकमुष्ट रकम लिएर अवकाश रोजे । मैले पनि एउटा मेजरको हैसियतले पाउनुपर्ने एकमुष्ट रकम लिएर स्वैच्छिक अवकाश नै रोजें । तर अब समाजमा कसरी पुनःस्थापित हुने भन्ने अन्योल बढ्यो ।
दस वर्ष पार्टीले सबै कुरा बाँडेर खानुपर्छ भनेर सिकायो, यो अन्तिम लडाइँ हो भनेर जीवन उत्सर्ग गर्न अभिप्रेरित गरिरह्यो । आफ्नो अंशको घरजग्गादेखि श्रीमतीका गरगहनासम्म बेचेर आन्दोलनमा लगाउन अह्रायो । तर अवकाशपछि भने मुनाफाको बाँकी जीवन धान्न मुस्किल पर्यो ।
मधेशी र पहाडीबीच मधेश आन्दोलनपछि रोपिएको द्वन्द्व र तिक्तता उस्तै थियो । मधेशमा जयकृष्ण गोइत र ज्वाला सिंहहरूको हिंसात्मक गतिविधि रोकिने नाम लिएको थिएन । गाउँ फर्किंदै गर्दा उनीहरूको कब्जामा परेको घटना आज पनि मानसपटलमा ताजै छ ।
आफ्नै गाउँ अरू कुनै विद्रोहीको आधार इलाका बनिसकेको हेक्कै भएन । गाउँभन्दा सहर थोरै भए पनि सुरक्षित हुने ठानेर सिरहाको लहानमा बस्ने निधो गरियो । अस्थायी क्याम्पमा बस्दा नै एक जना सहिदको छोरीसँग अन्तरजातीय जनवादी विवाह गरेको थिएँ । त्यस हिसाबले पनि पुनःस्थापनामा निकै संघर्ष गर्नुपर्यो । सामान्य परिवारमा जन्मेका कारण पुर्ख्यौली सम्पत्ति खासै थिएन । अहिले पनि उस्तै छ ।
अवकाशबाट आएको पैसाले लहानमा थोरै जमिन किनेर सानो झुपडीमा मुनाफाको जीवन बिताउने संकल्प गरियो । उपयुक्त ठाउँ र जग्गाको खोजबिनमा लागें ताकि सुरक्षासहितको पारिवारिक पुनःस्थापना सजिलो होस् । यस क्रममा एक जना जनयुद्धका सहिदका भाइसँग संगत भयो ।
उनलाई जग्गा खोजिदिन आग्रह गरें । उनले आफ्नै घरछेउको पाँच धुर नम्बरी जग्गा दिने कुरा गरे । यसका लागि उनले साठी हजार मागे । उनको यो शब्दले म ज्यादै खुसी भएँ । अरू साथीलाई पनि उनले त्यहाँ व्यवस्थापन गरेको सुनाए । हातमा पैसा थियो, तत्कालै २५ हजार बैनास्वरूप दिएँ । जग्गा दिने बेला भने उनले आनाकानी गर्न थाले । परिवारमा दाजुभाइले मानेनन् भनेर थप एक लाख थप्न लगाए । मलाई आफ्नो पुनःस्थापनाको चटारो थियो, थपें ।
मेरो बाध्यता उनलाई लुट्ने धन्दा बनेछ । दोस्रो पटक पनि उनले जग्गा दिएनन् । आफूहरू दुई आमाका ९ दाजुभाइ भएकाले त्यो जग्गा अरूलाई नै छोड्नुपर्ने भयो भने । यसको साटो छेउमै ओगटेर राखेको खुट्टी खोलाको सार्वजनिक जग्गा दिने कुरा गरे । पैसा फिर्ता नआउने भएपछि मसँग उनको प्रस्ताव मान्नुको विकल्प रहेन । भर्खर क्याम्पबाट आएकाले समाजमा त्यति परिचित पनि थिइनँ ।
नयाँ शिराबाट जीवनको सुरुवात गर्नुपर्ने बाध्यता थियो । जस्तो मान्छेसँग संगत हुन्थ्यो, उसैलाई स्विकार्नुपर्ने बाध्यता थियो । पार्टीले मिलेर बस्ने, बाँडेर खाने, जनताको सेवा गर्ने बानी पारेकै थियो । ठग्नेलाई होइन कि ठगिनेलाई नै लाज हुने अवस्था भयो । केही स्थानीय कमरेडसँग यो कुरा भनें । उनीहरूले पनि ठगीमा परेको बताए । त्यसपछि भने झसंग भएँ ।
जीवनमा पहिलो पटक जग्गा किन्न खोज्दै थिएँ । पछि बुझ्दै जाँदा त्यति पैसामा अर्को ठाउँमा चार कट्ठा नै जग्गा आउने रहेछ । तर गर्ने के ? पछुतो मान्नु सिवाय केही बाँकी रहेन । साथीहरूले उनीसँग पैसा फिर्ता माग्ने सल्लाह दिए । अर्को जग्गा किनाइदिने कुरा पनि सुनाए ।
उनीहरूले भनेको जग्गा केही टाढा भए पनि राम्रै थियो । त्यो जग्गा लिन पाउँथें भने आज करोडपतिको पंक्तिमा उभिने रहेछु । तर पैसा लिनेले फिर्ता गर्न नसकिने बताएपछि उसले जे दिन्छ, जे भन्छ, मान्नैपर्ने भयो । सहिद परिवारबाट यतिसम्मको बेइमानी हुन्छ भन्ने कल्पनै थिएन । खाडीमा रहेका दाइका लागि उनै सहिदका भाइसँग चलनचल्तीको दरभाउमा भन्दा दोब्बरले ठगिएँ । एउटालाई चेक बाउन्स मुद्दासमेत चलाउनुपर्यो ।
यसरी लहानमै केही ‘कामरेड’ हरूको ठगीमा परेर अवकाशको पैसा सकियो । त्यसपछिको पारिवारिक जीवन कसरी चलाउँदै यहाँसम्म आएको छु– त्यो पीडादायी रामकहानी आफ्नै मनको डायरीमा सुरक्षित छ, जुन बेलाबखत नमीठोसँग बिझाइरहन्छ । म एक प्रतिनिधि पात्र हुँ । यस्ता कथा हजारौं छन् ।
मधेश आन्दोलनको उद्गमस्थल लहानमा मेरो पारिवारिक पुनःस्थापना सुखद रहेन । मैथिलीमा एउटा भनाइ छ– ‘कलालक बेटा भुखे मरै त दारु पिके मातल कहै ।’ अर्थात् कलालको छोरो खान नपाएर भोकै मरिरहेको छ भने पनि रक्सी खाएर मातेको ठान्छन् । मधेशमा कलाल जातिको मुख्य पेसा रक्सी बनाएर बेच्ने र त्यसैले जीविका चलाउने हो । त्यो जातिलाई लक्षित गरी बनेको हो यो उखान । यसले कुनै जातिगत आत्मसम्मानमा ठेस पुगेमा क्षमाप्रार्थी छु ।
माओवादी आन्दोलनमा आबद्ध इमानदार नेता–कार्यकर्ताको हालत पछिल्लो समय यस्तै छ । उनीहरू भोकै टोलाइरहेका हुन्छन् । कोही उतिबेलादेखि बिग्रिएको घरबार चलाउन विदेशमा पसिना बगाउँदै छन् । तर पनि समाजको नजर फेरिएको छैन । पसिना बगाएर आर्जेको सम्पत्तिलाई पनि ‘माओवादी कालमा लुटेको निकाल्दै छ’ भनिदिन्छन् ।
निहित मनोकांक्षासहित माओवादी आन्दोलनमा लागेकाहरूको जीवन आन्दोलनको समय र अहिले पनि ऐश्वर्यमय छ तर परिवर्तनको भावनाले निःस्वार्थ आन्दोलनमा होमिएकाहरूको जीवन उतिखेर र अहिले पनि उस्तै कष्टकर छ । आमूल परिवर्तनका लागि जुन परिवार र समाजसँग उनीहरूले विद्रोह गरे, आज त्यहीँ फर्किनुपर्दा पुनःस्थापनाको समस्या ज्युँका त्युँ छ ।
मुक्तियोद्धाप्रति जनताको अपेक्षा फेरिएको छैन । आज पनि कुनै अन्याय पर्यो भने माओवादीलाई नै खोज्दै आइपुग्छन् मानिसहरू । माओवादी फेरिइसकेको समाजलाई थाहा छैन । मुक्तिका खातिर परिवार र समाजसँग सम्बन्ध–विच्छेद हुन पुगेका उनीहरूको पछिल्लो समय पार्टी राजनीतिसँग समेत सम्बन्ध–विच्छेद बढेको छ । जनयुद्धले जुराइदिएका जनवादी विवाहहरूको पनि सम्बन्ध–विच्छेद उस्तै छ । उनीहरूको कोखबाट जन्मेका सन्ततिले पनि म समाजको उदाहरणीय जोडीको कोखबाट जन्मेको भन्दै गर्व गर्न सक्ने स्थिति सबैको छैन ।
जनमुक्ति सेनाहरू आज पनि खाडीको तातो बालुवामा रगत–पसिना बगाउन अभिशप्त छन् । गणतन्त्र ल्याउने घाइते–अपांगहरू उपचार नपाएर मृत्यु रोजिरहेका छन् । तर निहित स्वार्थ बोकेर माओवादीमा लागेका र पछिल्लो समयका असारे माओवादी यति बेला सत्ता र शक्तिको दाउ हान्न अग्रपंक्तिमा छन् । यति बेलाका खाँटी माओवादी उनीहरू नै देखिएका छन् । उनीहरूका अगाडि हिजोका इमानदार माओवादीको कुनै अर्थ र मूल्य छैन । जस्तो आज मलाई नै हेर्नुस्, आफ्नै कमरेडबाट ठगिएपछिको जीवन बाँच्न कति मुस्किल परिरहेको छ !
