उद्घाटनमा अल्झिएको विकास

कुनै पनि काम गर्दा हाम्रो नेतृत्व वर्गले पहिलो प्राथमिकतामा उद्घाटनलाई मात्र पार्ने, निर्माण व्यवसायीले कम खर्चमा गुणस्तरहीन काम गरेर उच्च मुनाफा लिन खुसी हुने अनि कर्मचारीमा समेत उच्च नैतिक आचरण कम हुनुले विकासले गुणस्तरीयता हासिल गर्न सकेन ।

असार ११, २०८२

गायत्री लम्साल

Development tangled in the opening

कानुन फेरियो, नीति–नियम फेरियो तर हाम्रो सोच फेरिएन । काम गर्ने शैली उस्तै छ । प्रवृत्ति जस्ताको तस्तै छ । अहिले पनि हामी सडक निर्माण गर्न, पुलपुलेसा बनाउन असारे झरी नै पर्खेर बस्छौं । असारको दर्कने झरीमा बाटो पिच गर्ने काम हाम्रा लागि अनौठो बन्नुपर्ने हो ।

सबैको मन र मस्तिष्कमा नकारात्मक असर पर्नुपर्ने थियो तर यसो हुनै सकेन । असोज महिनामा उद्घाटनका रिबन काटिएका विकास निर्माणका कामले समेत काम सम्पन्न गर्न असार कुरेर बसेको देखिन्छ । यो त विडम्बना सिवाय केही हुँदै होइन ? 

विकास निर्माणका कामले आमनागरिकको जीवनमा प्रत्यक्ष रूपमा फाइदा दिन सक्नुपर्छ । दैनिकीलाई सहज बनाउन सक्नुपर्छ । हामीमा अझै पनि यो सोच आउन सकेको छैन । न उच्च राजनीतिक संस्कारयुक्त नेता बन्न सकियो, न त कुशल निर्माण व्यवसायी । दलगत स्वार्थको भूलभुलैयामा आफ्नो दलको सरकार भएका बेला विकास निर्माणका कामको उद्घाटन गराउन हतारिन्छौं ।

आफ्नो दलको भीआईपी लगेर उद्घाटन गरेपछि विकास सम्पन्न भएजस्तो गरी मिडियाबाजी गर्छौं । मञ्च सजावट, ब्यानर, तुल, प्रचार–प्रसारलगायतका आडम्बरी काममा फजुल खर्च गरेर पैसाको सत्यनाश गर्छौं । उद्घाटनपछि त्यो काम सुरु भयो कि भएन ? के कामको उद्घाटन भएको थियो, त्यसको समेत हेक्का राख्दैनौं । 

पुँजीगत खर्चको ठूलो हिस्सा ओगटेको सडक निर्माण कार्यलाई असारको झरी कुरेर बस्छौं । झरी पर्न थालेपछि बल्ल सुरु गर्छौं बाटो खन्न । उद्घाटन गरेर अल्झिएका धेरै काम असारको पानीसँगै पुँजीगत बजेटको ठूलो हिस्सा बगाउने गरेका छौं । 

असारे झरीमा पिच गरेको सडकमा एक महिनापछिको साउने झरीले निकै ठूला खाडल बनाउँछ भने यसको दोष झरीको होइन, हाम्रो हो । हाम्रो विकास पद्धतिको हो । बजेट खर्च गर्ने बहानामा नकारात्मक नतिजा प्राप्त गर्ने हाम्रो कार्य संस्कृतिको हो । नागरिकको साझा ‘पर्स’ का रूपमा रहेको बजेटलाई बेवास्ता गर्ने, माया नगर्ने हाम्रो बानी छ । चाहे सानो होस् वा ठूलो– हतारमा गरिएका विकास निर्माणका कामको गुणस्तर कमजोर हुन्छ भने अर्कोतिर कतिपय कार्यक्रम बजेटको उपलब्धि उद्घाटन, चियापन र समापन मात्र हुने गर्छ । 

अझै पनि हामीले हाम्रा विकास योजनालाई असार मसान्तसँग जोड्ने बानी छ । कुनै पनि योजना स्वीकृत भइसकेपछि योजना सम्पन्न हुने सुनिश्चितता हुनुपर्छ । योजनाका लागि विनियोजित रकम फ्रिज हुने अभ्यास अन्त्य हुन जरुरी छ ।

यसो गर्न सकेमा गुणस्तररहीन काम गरेर वा अन्य कुनै जालसाजीपूर्वक रकम भुक्तानी लिने–दिने काम बन्द हुन्छ । विकासका नाममा सबै काम अहिलेझैँ असार कुरेर गर्दा यस्तो विकासले स्थानीयलाई सुविधा कम र सास्ती धेरै भएको छ । असारे झरीमा बजेट सक्ने चटारोले गर्दा बजेट दुरुपयोगले निरन्तरता पाएको छ । बजेट खर्चले लक्षित उपलब्धि हासिल गर्न सकेको छैन । 

जुनसुकै विकासले नागरिकको जीवनस्तरमा सुधार र मनमा शान्ति ल्याउन सक्नुपर्छ । विकास निर्माणका बेथितिलाई रोक्न भन्दै जेठ १५ मा बजेट ल्याइए पनि विकास निर्माणका काम आर्थिक वर्षको सुरुमा नगर्ने, माघ/फागुनमा मात्र निर्माण कार्यको प्रक्रिया थाल्ने अनि आर्थिक वर्षको अन्तिम महिनामा नै हतार–हतार गरेर कार्य सम्पन्न गर्ने प्रवृत्तिले विकासमा विनाशलाई निरन्तरता दिइरहेको छ । 

कुनै पनि काम गर्दा हाम्रो नेतृत्व वर्गले पहिलो प्राथमिकतामा उद्घाटनलाई मात्र पार्ने, निर्माण व्यवसायीले कम खर्चमा गुणस्तरहीन काम गरेर उच्च मुनाफा लिन खुसी हुने अनि कर्मचारीमा समेत उच्च नैतिक आचरण कम हुनुले विकासले गुणस्तरीयता हासिल गर्न सकेन ।

विकास निर्माणको कामले दिगो विकासलाई पछ्याउनुपर्छ । दिगो विकासका लागि कृषि र पर्यटनलाई ध्यान दिन सक्नुपर्छ । यसका लागि पर्याप्त बजेट हुनुपर्छ । कृषिमा दिइने अनुदान वास्तविक किसानले पाउनुपर्छ । अहिलेजस्तो कृषिको अनुदानसमेत टाठाबाठा र पहुँच भएका गैरकृषकले पाउनु हुन्न । यो बेथितिविरुद्ध हामी सबै एक भएर लाग्नु जरुरी छ । स्थानीय विकासमा जनप्रतिनिधिको विशेष भूमिका रहन्छ । अहिले हरेक स्थानीय तहले त्यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमैत्री कार्यक्रम सञ्चालन गर्नुपर्छ । कृषकका साझा समस्या समाधान गरी कृषिमा आधुनिकीकरण गर्नु सरोकारवाला स्थानीय तहले जिम्मा लिन सक्नुपर्छ ।

किसानले मल र कीटनाशक औषधिको अभाव खेपिरहँदा स्थानीय तहको प्राथमिकता गाडी किन्ने र जनप्रतिनिधिको प्राथमिकता विदेश भ्रमणमा पर्नु भएन । सम्भावना बोकेका पर्यटकीय गाउँ ओझेलमा नपारी स्थानीय निकायका हरेक क्रियाकलाप पर्यटनमैत्री बनाउनुपर्छ । अहिलेजस्तो एकातिर दानाको अभावमा कुखुरा र माछा मरिरहँदा अर्कातिर खोला नभएको ठाउँमा पुल बनाएर जात्रा गर्नु भएन ।

पुँजीगत बजेट खर्चको उचित व्यवस्थापनका लागि असारे विकासको मोडललाई हटाउँदै र घटाउँदै लैजानु जरुरी छ । पानी पर्न थालेपछि धेरै ठाउँमा पहिरो जाने र पहिरोमा परेर मानिसको ज्यान जानुको कारण असारे विकासकै असर हो ।

किसानले भोग्नुपरेको सास्ती, प्राकृतिक सुन्दरताले भरिएको देशमा पर्यटकको अभाव, युवामा देखिएको निराशा असारे विकास नै हो । व्यापक रूपमा अनुसन्धान, सोधखोज नगरी गरिएको कामले क्षति पुर्‍याउँछ भन्ने कुरा अब सबैले बुझ्न जरुरी छ । तीन वटै तहका सरकारले असारे विकासको उचित व्यवस्थापन गर्दै दिगो विकासमा जोड दिनुपर्छ । कृषि र पर्यटनलाई उचित तरिकाले व्यवस्थापन र विकास गर्नु जरुरी छ ।

दलीय स्वार्थभन्दा माथि उठेर विकास निर्माणका काममा जुटौं । जनसमुदायमा पपुलर हुनका लागि उपलब्धिविहीन कार्यक्रमको उद्घाटन गर्दै नहिँडौं । जुनसुकै विकास निर्माणका कार्यक्रम सञ्चालन गर्दा त्यसको समग्र पक्षको विस्तृत अध्ययन, विश्लेषण गरेर मात्र गरौं । 

विकास बहुआयामिक विषय हो । यसको उचित व्यवस्थापनका लागि सबै पक्षमा सुधारको खाँचो छ । निष्ठावान नेतृत्व, कुशल निर्माण व्यवसायी, उच्च नैतिक आचरणयुक्त कर्मचारी र सचेत नागरिक सबै एकजुट बनी विकास निर्माणका काममा जुट्न अब ढिला नगरौं । अझ पनि ढिला गरे झन् पछुताउनुपर्ला ।

गायत्री गायत्री लम्साल निजामती सेवामा आबद्ध छिन् । उनी समसामयिक बिषयमा कान्तिपुरमा लेख्छिन् ।

Link copied successfully