चिया खाने क्रममा आफ्ना कुरा पनि एकअर्कासँग सेयर गर्ने गरिन्छ । अहिले साथीभाइलाई भेट्ने एक माध्यम बनेको छ– चिया । चाहे त्यो गाउँ होस् वा सहर– सबैतिर चिया खाने पसल क्याफेटेरियामा बिहान–बेलुका र खाजा खाने समयमा मानिसको जमघट देखिन्छ ।
अहिले चिया धेरै मानिसको रोजाइको पेय पदार्थ बनेको छ । यसो साथीभाइ भेटिएमा चिया खाने, केही खुसीको कुरा भयो कि– ल ल चिया खान जाऔं भन्ने प्रचलन नेपाली समाजमा व्याप्त छ । वास्तवमा चिया खाने भनेको त एक बहाना मात्र हो ।
चिया खाने क्रममा आफ्ना कुरा पनि एकअर्कासँग सेयर गर्ने गरिन्छ । अहिले साथीभाइलाई भेट्ने एक माध्यम बनेको छ– चिया । चाहे त्यो गाउँ होस् वा सहर– सबैतिर चिया खाने पसल क्याफेटेरियामा बिहान–बेलुका र खाजा खाने समयमा मानिसको जमघट देखिन्छ । चिसो मौसममा मात्र होइन, हर समयमा चिया पसल उत्तिकै भरिभराउ देखिन्छन् । कक्षाका ब्रेकको समय होस् वा अफिस कार्यालयको खाजा समय– चिया पसलमा भेला भई चियाको चुस्कीसँगै विभिन्न विषयमा गफ गर्नेको भीड जम्मा भइहाल्छ ।
आफ्ना साथीभाइ, छिमेकदेखि देशविदेशका विभिन्न घटनाका सन्दर्भ चियाको चुस्कीसँगै सुरु हुने गर्छ । समाचार सेयर गर्ने विशेष माध्यम पनि बनेको छ– चिया पसल । गाउँतिर त चिया पसल सूचनाको मुख्य केन्द्र नै बन्ने गरेको छ । केही सूचना प्रवाह गर्न मानिसहरू चिया पसल धाउने गर्छन् । कतिपय पसलमा त स्थानीय निकायका सूचना पनि चिया पसलका भित्तामा टाँसिन्छन्, चाहे त्यो भत्ता वितरणको सूचना होस् वा रासायनिक मल वा बीउविजन वितरण वा अन्य यस्तै कुनै ।
सामान्यतः चिया पसलदेखि कलेज विश्वविद्यालयका क्यान्टिन र चिया पसल सूचनाका केन्द्र बन्ने गरेका छन् । विश्वविद्यालय वरपरका चिया पसलमा अध्ययन अनुसन्धान, राजनीतिक कुरा, अन्तर्राष्ट्रिय चर्चा, सामाजिक परिवर्तनका कुरा निकै चाखसँग सुनाउने र सुन्ने गरिन्छ । चिया खाने क्रममा आफ्ना कुरा सेयर हुने हुनाले चाहे ती विद्यार्थी वा कर्मचारी जोसुकैको पनि केही मात्रामा तनाव व्यवस्थापन हुने गर्दछ ।
यी विभिन्न कुराको चर्चा गरिरहँदा चिया खाने संस्कृति कहाँबाट सुरु भयो होला भनी उत्सुकता जाग्न सक्छ । वास्तवमा चिया पिउने संस्कृतिको विकास चीनबाट भएको मानिन्छ । यो प्रचलन चीनमा औषधीय जडीबुटीको अध्ययन गर्ने क्रममा अकस्मात् रूपमा भएको उल्लेख पाइन्छ । चिया पिउने चलन चीनबाट बिस्तारै जापान, भारत हुँदै विश्वभर फैलिएको हो । हाल आएर चिया मानिसको दैनिक जीवनको एक महत्त्वपूर्ण पाटो बन्न पुगेको छ । साथीभाइसँग भेट हुँदाको रमाइलो गर्न होस् या घरमा आफन्त या पाहुना आउँदा स्वागत गर्न होस्– हामी चिया नै सझिने गर्दछौं । ‘केही नखाए पनि चिया त खाएर जानूस्’ भनी धेरैले अनुरोध गर्ने गर्छन् । गर्मी मौसम होस् वा जाडो, चिया त सदाबहार पेय पदार्थ मानिन्छ । अझ गर्मीमा हामी ‘हीरालाई त हीराले नै काट्छ, गर्मी भए पनि चिया त खाऊँ’ भनी हरेक अवसरमा चिया टक््रयाइरहेका हुन्छौं ।
चियाले हाम्रो शरीरलाई निकै राम्रो गर्छ भन्ने होइन । तर, हामीले कसरी चिया बनाएर खान्छौं भन्ने कुराले यसको फाइदा र बेफाइदाको पाटो देखाउने गर्छ । प्रायःले चिया खाने भन्नेबित्तिकै दुध, मसला, चिनी र चियापत्ती हालेर अलि समय उमालेर खाने पेय पदार्थलाई नै बुझ्छन् । धेरैको रोजाइ पनि यस्तै चिया छ । तर कतिपय मानिस मनतातो पानीमा चियाका पात राखेर केहीबेर छोपेर खाने गर्दछन् । यसरी चिया बनाएर खानाले हाम्रो शरीरलाई फाइदा गर्दछ भन्नेहरू पनि धेरै छन् ।
यसरी बनाउने चियामा चिनी नराखी खाइने हुनाले सुगर पनि नियन्त्रण हुने गर्दछ । विशेष गरी ग्रिन टीका रूपमा खाइने चियाको पातमा धेरै मात्रामा एन्टिअक्सिडेन्ट हुने हुनाले यसरी बनाएर खाइने चियाले शरीरमा सुगर र प्रेसर पनि नियन्त्रण गर्ने कुरा विज्ञहरू बताउँछन् । यसैले पनि होला– हाल धेरै मानिस आफ्नो स्वास्थप्रति निकै सचेत पनि देखिन्छन् । समस्या समाधान वा भनौं वार्ताका लागि पनि चिया एक महत्त्वपूर्ण माध्यम बन्न पुगेको छ । चाहे त्यो पारिवारिक वा पेसागत होस्– हरेक औपचारिक र अनौपचारिक भेटघाटको सुरुवात नै अहिले चियाबाट हुने गरेको छ ।
चियाका बेफाइदा पनि उत्तिकै छन् । अधिक मात्रामा चिया पिउनाले शरीरमा क्याफिन बढी भई यसले नकारात्मक असर पनि पार्ने गर्दछ । तर जेजस्तो भए पनि हाम्रो दैनिक जीवनमा चियाको निकै महत्त्व रहेको छ । जुनसुकै मौसममा पनि चियाका पारखीहरू प्रशस्तै भेटिन्छन् । त्यसैले पनि चियाले सदबहार पेय पदार्थको पहिचान कायम गर्न सफल भएको हो ।– गाइसी ख्वपः कलेजमा प्राध्यापन गर्छिन्
