सरकारको हस्तक्षेपमा सभामुखको सम्मति

असार ६, २०८२

सम्पादकीय

Speaker's consent to government intervention

दुईवर्षे ‘कुलिङ अफ पिरियड’ राख्ने प्रबन्धसहित सदनमा पुगेको संघीय निजामती विधेयकलाई अलपत्र पार्न सत्तारूढ दलका शीर्ष नेताहरूले संसद्को क्षेत्राधिकारमा गरेको हस्तक्षेप र त्यसलाई सभामुखले स्विकारेको वास्तविकताले देशमा सुशासन अझ धेरै टाढा छ भन्ने देखाएको छ । सरकारी सेवाबाट बाहिरिएकालाई पुनः नियुक्ति दिनुअघि दुई वर्ष ‘कुलिङ अफ पिरियड’ कायम गर्नुपर्ने प्रस्तावलाई सुशासनको एउटा कडी मानिएको छ तर यसप्रति प्रधानमन्त्री केपी शर्मा ओली र सहयोगी दल कांग्रेस सभापति शेरबहादुर देउवाको अरुचि प्रकट भइसकेकै विषय हो ।

 यद्यपि, राज्य व्यवस्था तथा सुशासन समितिले नै सर्वसम्मत रूपमा विधेयक प्रतिवेदन पारित गरिसकेको र प्रतिनिधिसभामा समेत पेस भइसकेकाले अब कानुन बन्छ भन्ने विश्वास बढेको थियो । तर, कार्यपालिकाले हस्तक्षेप गरी उक्त विधेयकलाई प्रतिनिधिसभाको कार्यसूचीबाटै हटाइएको छ । व्यवस्थापिकाको काम, कर्तव्य र अधिकार तथा शक्ति पृथकीकरणको सिद्धान्तलाई समेत खलबल्याउने यो प्रयासमा सभामुखको स्वीकृति चिन्ताजनक छ । 

२१ फागुन २०८० मा प्रतिनिधिसभामा दर्ता भएको संघीय निजामती विधेयकमा राज्य व्यवस्था समितिले थपेको ‘कुलिङ अफ पिरियड’ लाई विधेयककै सर्वाधिक महत्त्वपूर्ण व्यवस्थाका रूपमा हेरिएको छ । नागरिकको समेत समर्थन पाएरै विधेयकलाई राज्य व्यवस्था समितिले सर्वसम्मत ढंगले पारित गरेको हो । विधेयक प्रतिवेदन असार १ मा प्रतिनिधिसभामा पेस गरिएको छ । असार ३ मा प्रतिनिधिसभामा विधेयकमाथि छलफल गर्ने र निर्णयार्थ पेस गर्ने कार्यसूची थियो ।

त्यसका लागि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयकमाथि छलफल गरियोस् भन्ने ‘व्यवस्थापन कार्य’ तय गरिएको थियो । विधेयकमाथि सांसदहरूले दलीय आधारमा छलफल गरेपछि मन्त्री गुप्ताले नै विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने दैनिक कार्यसूची थियो । उक्त दिन प्रतिपक्षीको अवरोधलाई कारण देखाउँदै बैठक स्थगित भयो भने त्यसपछि कार्यसूचीमा राखिएको छैन ।

कार्यपालिकाले चाहेजस्तो प्रावधानसहितको विधेयक व्यवस्थापिकालाई प्रस्ताव गर्छ । व्यवस्थापिकाले गम्भीर अध्ययन, आपसी विमर्श, विज्ञसँग सल्लाह गरेर कानुनलाई मुलुकको दीर्घकालीन हित अनुकूल बनाउँछ । त्यसैले प्रस्ताव गर्ने जिम्मेवारी सरकारको हो भने कानुन नै बनाउने अधिकार व्यवस्थापिकाको हो । यो स्वाभाविक प्रक्रियालाई अघि बढ्न नदिने हो भने संसदीय व्यवस्था र प्रक्रियाको आधारभूत जिम्मेवारीमाथि बलमिच्याइँ गरिएको ठहर्छ । 

अर्कोतर्फ, राज्य व्यवस्था समितिले विधेयकमा ‘कुलिङ अफ पिरियड’ राख्ने तयारी गरेदेखि नै कर्मचारीवृत्तले आफ्नो असहमति सार्वजनिक गरेको थियो । तर, बहालवाला वरिष्ठ अधिकारीहरूले समूह नै बनाएर प्रधानमन्त्रीलगायत शक्तिकेन्द्रकहाँ भेटेर ‘लबिइङ’ पनि गरेका थिए । त्यही दबाबबाट शीर्ष नेताहरू प्रभावित भएकैले विधेयकमा अवरोध सिर्जना गरेका हुन् । कर्मचारी वा अरू कसैको दबाबमा झुकेर कानुन निर्माणमा सम्झौता गर्ने हो भने प्रधानमन्त्रीलगायत राजनीतिक नेतृत्वको नैतिक बल झन्–झन् कमजोर हुनेछ ।

उता, प्रधानमन्त्री ओलीले नै माघ १८ को प्रतिनिधिसभा बैठकमा एउटा कानुन बनाउन आधा दशकसम्म लाग्ने गरेको भन्दै अब कुनै पनि विधेयकलाई ६० दिनभित्र टुंगो लगाइसक्नुपर्ने बताएका थिए । तर, अहिले पारित हुने प्रक्रियामा रहेको विधेयकलाई प्रधानमन्त्री नै अवरोध गर्दै छन् । कम्तीमा आफ्नै मन्तव्यको मर्यादा राख्न प्रधानमन्त्रीले संघीय निजामती विधेयकलाई अघि बढाउन सहयोग गर्नुपर्छ । सरकारले विधेयक नै फिर्ता लिने कदम उठायो भने सुशासन र संसदीय अभ्यासका लागि अर्को विडम्बना हुनेछ । 

व्यवस्थापिकालाई कार्यपालिकाको दबाब र हस्तक्षेपबाट मुक्त गर्ने जिम्मेवारी सभामुखको हो । तर सभामुख देवराज घिमिरेको भूमिका कार्यपालिकाको सहयोगीको जस्तो देखिएको छ । असार १ र २ मा रास्वपाको ‘वेल’ घेराउका बीच सदन सञ्चालन गरिसकेका उनले असार ३ मा भने नाटकीय रूपमा स्थगित गरिदिए । असार ५ मा पनि उनले ‘वेल’ घेराउकै बीच बैठक सञ्चालन गरे तर निजामती विधेयक कार्यसूचीबाट हटिसकेको छ ।

सभामुखले सार्वजनिक गर्न लगाएको असार १५ सम्मको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीबाट पनि संघीय निजामती विधेयक गायब पारिकएको छ । कार्यपालिकाले जुँगा चलाउने र व्यवस्थापिकाले मान्दै जाने हो भने संसद् सरकारको छाया र ‘रबरस्ट्याम्प’ बन्नेछ । सुशासनमा योगदान गर्ने प्रावधान समेटिएको विधेयक साँच्चै रोकेमा सभामुख घिमिरेको मात्र होइन, हाम्रो संसद्कै साखमाथि गम्भीर प्रश्न उठ्नेछ । त्यसैले यहाँनेर सदनमा बोल्ने सांसदहरूको भूमिका पनि अपेक्षित छ । कार्यपालिकाको हस्तक्षेपलाई निस्तेज गर्दै व्यवस्थापिकाको सार्वभौमिकतालाई स्थापित गर्न सक्छन् ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully