विचार र अभिव्यक्ति स्वतन्त्रता नै सर्वोपरि

असार ५, २०८२

भानुप्रसाद आचार्य

Freedom of thought and expression is paramount

नेपालमा अहिले दुई वटा अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन जिल्ला अदालतले दिएको अन्तरिम आदेश र एक होटल खरिदसम्बन्धी विद्युतीय सञ्चारमाध्यममा प्रवाहित समाचारमा पत्रकारलाई अदालतबाट जारी भएको पक्राउ पुर्जीले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र गाली बेइज्जतीसम्बन्धी कानुनमा बहस सुरु भएको छ ।

सञ्चारमाध्यम, राजनीतिक दलहरू, प्रेस काउन्सिल, पत्रकार महासंघ, पत्रकार आबद्ध संघसंस्था र कानुनविद्हरूले यी घटनालाई संविधान प्रदत्त अभिव्यक्ति अधिकार र प्रेस स्वतन्त्रतामाथि प्रहार हो भनी टिप्पणी गरेका छन् । 

सार्वजनिक जीवनको अत्यावश्यक तत्त्व जवाफदेहिता र पारदर्शिता हो । यसबाट सार्वजनिक पदाधिकारी तथा सञ्चार क्षेत्रका कुनै पनि माध्यम र व्यक्ति बाहिर रहन सक्तैनन् । अरूलाई जवाफदेहिताको पाठ पढाउने सञ्चार क्षेत्र आफैं पारदर्शी हुनु जरुरी छ । आफू पारदर्शी बन्यो भने अरूलाई औंला ठड्याउन सहज हुन्छ र सञ्चारमाध्यम एवं संस्थाको लोकप्रियता अझै बढ्छ । संविधान प्रदत्त नागरिकको वैयक्तिक स्वतन्त्रता र गोपनीयताको हकमा आँच नपुर्‍याई सत्य तथ्यमा सञ्चारमाध्यम अडिग रहनुपर्छ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्राज्ञिक तथा सञ्चार क्षेत्रलाई राजनीतिक नियन्त्रण राख्ने प्रयास जारी नै राखेका छन् । भारतमा सञ्चारमाध्यम एवं संस्था ‘गोदी मिडिया’ को विकृत स्वरूपमा रूपान्तरण भइरहेको र नेपालमा पनि सत्य एवं निष्पक्ष विचार, समाचार, संस्था र सामाजिक सञ्जालको विश्वसनीयतामा ह्रास आइरहेका बारेमा आलोचना भइरहेको छ । समय छँदै नागरिकको अभिव्यक्ति स्वतन्त्रता र स्वअस्तित्वको रक्षामा सञ्चार क्षेत्र एकजुट हुनुपर्ने अवस्था छ । 

एकातिर सर्वसाधारण, जिज्ञासु पाठक एवं श्रोताको मनमस्तिष्कमा उब्जने असन्तोष, निराशा, आक्रोश, कुण्ठा, भय र विद्रोह तथा अर्कोतर्फ सञ्चारमाध्यमको मिसन सफलता, आर्थिक–राजनीतिक लाभ र तात्कालिक स्वार्थ प्राप्तिबीचको द्वन्द्वले समाजमा पुर्‍याएको नोक्सानीबारे अनुसन्धान र विश्लेषण भएको पाइँदैन । विचार, लेख, प्रतिक्रिया, समाचार, विषयवस्तुजस्ता कुरा सञ्चारमाध्यमबाट सम्प्रेषण गर्ने काममा एक्लै वा जोडिएर पत्रकार, लेखक र प्राज्ञिक वर्गले सँगसँगै काम गरेका हुन्छन् भने कतिपय विशिष्टीकृत क्षेत्रमा आवश्यकताअनुसार बेग्लाबेग्लै पनि । 

विधायनको कमजोरी र राज्यसत्ताको स्वार्थले बेला–बेलामा अभिव्यक्ति स्वतन्त्रता तथा सञ्चारको हक र यसको कार्यान्वयन पक्षबीच विवाद सिर्जना हुन्छ । अहिलेको स्थिति पनि यसैको उपज हो ।

बदलिँदो सञ्चारमाध्यम

पुरातन माध्यमबाट विद्युतीय माध्यम र अहिले डिजिटल तथा सामाजिक सञ्जालले थपेको चुनौतीले पुरातन सञ्चारमाध्यमलाई अस्तित्व जोगाउन धौधौ परेको छ । श्रोता, पाठक र दर्शकको प्राथमिकतामा नयाँ माध्यम परेकाले पुरानो माध्यमका पाठक, दर्शक र श्रोता विश्वभरि नै उल्लेख्य रूपमा घटेका छन् । सञ्चार संस्थाहरूको आयमा ठूलो गिरावट आएको छ । परम्परागत सञ्चारको माध्यम अखबार, रेडियो, टेलिभिजनलाई द्रुत गतिमा डिजिटल माध्यमले विस्थापन, प्रतिस्पर्धा र स्वतन्त्र अस्तित्व रक्षाको चुनौती दिइरहेको अवस्थामा वर्तमानमा सामाजिक सञ्जालको विस्तारले विश्वमै पुरातन सञ्चारमाध्यमलाई जिउन कठिन बनाएको हो । 

पाठक तथा विज्ञापनदाता डिजिटल मिडिया तथा सामाजिक सञ्जालतर्फ परिवर्तन भएका कारणले सञ्चार संस्थाहरूको आय घट्नुका साथै पत्रकारको संख्या र गुणस्तरमा ह्रास आएको छ । पत्रकारले नयाँ पेसा वा व्यवसायमा संलग्न हुनुपरेको छ । राष्ट्रिय एवं स्थानीय तहमा प्रकाशित हुने कतिपय अखबार बन्द भएका छन् । 

डिजिटल माध्यममा तथ्यसत्य समाचारभन्दा ‘ब्रेकिङ न्युज’ को हावाले गलत सूचना प्रवाह भई संवेदनशीलता बढाउने प्रवृत्तिले सञ्चारमाध्यमप्रति जनविश्वास घटाएको छ । जवाफदेहिताबिनाको भाइरल बन्ने सपनामा भ्रामक सूचना प्रवाहमा संलग्न सामाजिक सञ्जाल र घोषित वा अघोषित रूपले ‘मिसन’ परिचालित माध्यमले परम्परागत माध्यमलाई खडा गरेको चुनौतीसँग जुध्न आफूलाई थप विश्वसनीय बनाउनुपर्नेछ । 

बनावटी संवेदनशील, गलत सूचना र ध्रुवीकरणले बौद्धिक तथा मानसिक स्वास्थ्यमा क्षति पुर्‍याएको छ । युवा र बालबालिकामा डिजिटल मिडियाप्रति देखिएको आसक्तिले प्रत्येक परिवार प्रताडित छ । तुलनात्मक रूपमा डिजिटल मिडियाभन्दा छापा मिडियाको विश्वसनीयता माथि छ । लोकतन्त्रमा नागरिकले भोट खसालेर मात्र कर्तव्य पूरा हुँदैन । आफूले मत दिएका प्रतिनिधिले गरेको कामबारे सुसूचित हुने, निगरानी राख्ने र आफूले दिएको मतको दुरुपयोग भएको लागेमा मतकै माध्यमबाट आफैंलाई सुधार गर्ने पनि हो । 

यो प्रक्रियाको अनुगमनमा सार्वजनिक लेखापरीक्षणको नतिजा र डिजिटल मिडियाको तुलनामा छापा मिडियाको प्रस्तुतिले बढी सहयोग पुर्‍याउने तथ्य अध्ययनले पुष्टि गरेको छ । 

पत्रकार र सञ्चारमाध्यमको धर्म 

अभिव्यक्ति स्वतन्त्रता सम्प्रेषणको गहन भार बोकेका सञ्चारकर्मी एवं पत्रकारलाई समाजले प्रतिष्ठित बौद्धिक सदस्यका रूपमा स्वीकार गरेको छ । राजनीतिक, सामाजिक तथा आर्थिक रूपान्तरणमा सञ्चारकर्मीले पुर्‍याएको महत्त्वपूर्ण योगदानलाई विश्वले कदर गर्दै आएको छ । आफ्नो ज्यान हत्केलामा राखेर युद्ध क्षेत्र, मरुभूमि, प्राकृतिक प्रकोप क्षेत्र, हिमाल, पहाड, रोग संक्रमित क्षेत्र, वनजंगल, कुनाकन्दरा र दुर्घटना तथा अपराध भएको स्थानमा तत्कालै पुगेर जनतालाई सुसूचित गर्ने पत्रकार एवं सञ्चारकर्मीको योगदानको प्रशंसा जति गरे पनि कम हुन्छ ।

जोखिम मोलेर खोज पत्रकारितामा संलग्न भई सत्य तथ्य बाहिर ल्याउने पत्रकार, निष्पक्ष विचार प्रवाह गर्ने प्राज्ञिक समूह र निष्पक्ष सञ्चार संस्थाहरूले लोकतन्त्रलाई सुदृढ बनाउन एवं समाज उत्थानमा पुर्‍याएको योगदानलाई कम आकलन गर्नु हुँदैन । नेपालकै सन्दर्भमा पनि सञ्चारकर्मीले मुद्दा, जेलनेल भोग्नुपरेको र आफ्नो जीवन बलिदान दिएका थुप्रै घटना छन् । खोज पत्रकारिताले जटिल तथा गहन विषयमा उजागर गर्ने तथ्यलाई पुष्टि गर्न डिजिटल मिडियाले थप सहयोग पुर्‍याएको छ । क्रसबोर्डर खोजमा नेपालका पत्रकारसमेत सदस्य भएको इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे) जस्ता संस्थाले सहभागिता र सूचनाको आदानप्रदानमा सहयोग पुर्‍याइरहेका छन् । 

पत्रकारहरू रेडियो, टेलिभिजन, अखबार र अनलाइन समाचार माध्यममा आबद्ध हुन्छन् र आ–आफ्नो भूमिकाअनुसार कर्तव्य निर्वाह गर्छन् । यसो गर्दा अनुसन्धान, सूचनाको विश्लेषण, विषयविज्ञसँग परामर्श र सत्यतथ्यका आधारमा प्रकाशन तथा प्रसारण गर्नु पत्रकारको जिम्मेवारी हो । विषयवस्तुको गहनता, सामयिक महत्त्व र जनअपेक्षाका आधारमा सम्पादकीय विचार प्रस्तुतिमा पनि सहयोग पुर्‍याउँछन् ।

नेपालको वस्तुस्थिति

नेपालको संविधानले सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित राखेको छ । संविधानले नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चारको हक प्रदान गरेको छ । अभिव्यक्त मत, विचार र समाचारको जवाफदेहिता अभिव्यक्त गर्ने नागरिककै हुने कुरामा द्विविधा छैन । कानुनको बर्खिलाप अभिव्यक्ति वा विचार व्यक्त गरेमा वा प्रसारण गरेमा जवाफदेही व्यक्तिलाई सम्बन्धित कानुनबमोजिम कारबाही गर्न बाधा छैन । साथै संविधानले जुनसुकै माध्यमबाट प्रकाशन तथा प्रसारण गर्न, छाप्न र सूचना प्रवाह गर्न प्रतिबन्ध नलगाउने सुनिश्चितता दिएको छ । सञ्चारमाध्यमको नियमन गर्न विधायिकाले ऐन बनाउन सक्ने व्यवस्था पनि संविधानले गरेको छ । 

प्रेस स्वतन्त्रताको संरक्षण गर्ने उद्देश्य लिएर २०२७ सालमा स्थापना भएको प्रेस काउन्सिल नेपाल, २०४८ सालमा स्वशासित ऐनद्वारा संगठित रूपमा व्यवस्थित गरी सञ्चालनमा रहेको छ । स्वशासित संगठित संस्थाका रूपमा स्वस्थ पत्रकारिताको विकास, प्रेस र सरकारबीच सौहार्दपूर्ण सम्बन्ध नागरिकको मर्यादा र प्रेस स्वायत्तताको उद्देश्यसहित गठित प्रेस काउन्सिलको क्रियाकलाप प्रभावकारी हुन नसकेको अनुभूति जनमानसमा छ ।

१२ जना सदस्य भएको बोर्डमा वर्तमानमा ५ जना सदस्य मात्र कार्यरत रहेकाले यसको प्रभावकारिता खोज्नु नै निरर्थक हुन पुगेको छ । ऐनले दिएको अधिकार प्रयोगमा वर्तमान संरचना कसरी प्रभावकारी हुन सक्ला ? निश्चित मापदण्डका आधारमा सार्वजनिक कोषबाट निजी सञ्चारमाध्यमलाई विज्ञापनका माध्यमबाट सहयोग पुर्‍याउने कामको निरन्तरताबाहेक प्रेस स्वतन्त्रतामा उल्लेख्य उपलब्धि प्राप्त गरेको सूचना न्यून छ । अदालतको क्षेत्रमा प्रवेश गरिसकेको स्थितिमा काउन्सिलको भूमिका झन् न्यून हुनेछ । 

विद्युतीय कारोबार ऐन, २०६३ ले विद्युतीय सञ्चारमाध्यममा गैरकानुनी सामग्री प्रसारण, सार्वजनिक नैतिकतामा आँच पुर्‍याउने विषय र शिष्टाचारविरुद्धको सामग्री प्रकाशन गर्नेलाई सजायको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ सालमा संसद्बाट पारित भई २०७५ मा लागू भएको थियो । मुलुकी अपराध संहिता, २०७४ को अनुसूचीमा उक्त सामग्रीलाई समावेश गरिएको छ । विद्युतीय ऐन र संहितामा संविधान प्रदत्त अभिव्यक्ति एवं प्रेस स्वतन्त्रतामा अंकुश लाग्ने प्रावधान समावेश छ । सार्वजनिक जीवन वा निजी जीवनका बारेमा प्रावधान अस्पष्ट भएका कारणले यसको गलत प्रयोग भई अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामा आघात पुग्ने हुनाले सच्याउनुपर्ने आवाज त्यसै बेला उठेको थियो । 

अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी २०७५ मा संसद्मा पेस भएको विधेयक विरोधपछि अगाडि बढ्न सकेन । अहिले अभिव्यक्ति स्वतन्त्रताको अंकुश फुकाउने गरी सच्याएर विधेयक लानुपर्नेमा थप कडा सजाय समावेश गरी विद्युतीय कारोबार ऐन, २०६३ लाई खारेज गरी त्यस ऐनको ठाउँमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा ऐन, २०८२’ ल्याउन पेस भएको विधेयक प्रतिनिधिसभामा विचाराधीन छ । त्यस्तै सामाजिक सञ्जाल नियमन गर्ने नाममा नागरिकको हक अधिकारलाई नराम्ररी कुण्ठित गर्ने सामाजिक सञ्जाल विधेयक पनि संसद्मा विचाराधीन छ । सञ्चारमाध्यम, सामाजिक सञ्जाल सञ्चालक तथा प्रयोगकर्ताहरूलाई विभिन्न कसुरमा कडा सजायको प्रावधान राखिएकाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेछ भनेर आलोचना भइरहेको छ । 

समाचार सम्प्रेषण र तथ्यपरक खोजमा प्रहरीको कारबाही, सत्ता पृथक् विचारमा निषेध, राष्ट्र विरोधीको संज्ञा, दृष्टिकोण, विचार र सम्पादकीय स्वायत्ततामा स्वामित्वको नियन्त्रण एवं अनुसन्धानमा बाधाजस्ता अवरोध सञ्चारकर्मीले खेपिरहेका छन् । संविधानले विचार अभिव्यक्तिको स्वतन्त्रता एवं सञ्चारको हक प्रदान गरेको स्थितिमा ज्ञान प्रवाहमा अंकुश लगाउने प्रत्यक्ष वा अप्रत्यक्ष प्रयास जोसुकैले गरे पनि निन्दनीय छ ।

भानुप्रसाद आचार्य पूर्वमहालेखापरीक्षक र पूर्वसचिव हुन्

Link copied successfully