जनता गणतन्त्रवादी नै छन्, जनता त जुनसुकै रूपरङको राजा खारेज गर्न पो कस्सिएका हुन्, बरु तपाईंहरूले पृथ्वीपथलाई यसरी बल्झाइदिनुभयो कि राजावादीहरू पनि झुक्किए, उनीहरूलाई आफ्नै दिन फर्किएर आएजस्तो लाग्यो
माफ गर्नुहोला कमरेड ओली, तपाईं मुलुकको प्रधानमन्त्री हुनुहुन्छ भन्ने थाहा हुँदाहुँदै ‘कमरेड’ सम्बोधन गरिरहेछु । कमरेड सम्बोधनमा अन्तर्निहित समानता र लोकतन्त्र मलाई असाध्य मनपर्छ ।
अहिले त कमरेड सम्बोधन झन् धेरै सान्दर्भिक भएको छ किनभने ‘पृथ्वीपथ’ को तुलनामा लोकतन्त्रको महत्ता स्थापित गर्न तपाईं स्वयं खडा हुनुभएको छ । यो पनि लोकतन्त्रको एउटा जित नै हो ।
घोचिलो–पेचिलो भाषामा आफ्ना विचार राख्न तपाईं खप्पिस हुनुहुन्छ । आफ्नो त्यही चिरपरिचित शैलीमा जेठ १७ मा काठमाडौंमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै तपाईंले भन्नुभयो– पृथ्वीपथबाट गयो भने पोखरा मात्रै पुग्न सकिन्छ । पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मासेको कुरा उप्काउनुभयो । अढाई सय वर्षअघि मारकाट गरेर जबर्जस्ती ‘एकीकरण’ गरिएको तर्क गर्नुभयो । आन्दोलनमा उत्रिएका राजावादीको निर्देशक सिद्धान्त ‘पृथ्वीपथ’ लाई ठाडै खारेज गरेर तपाईंले लोकतन्त्रको बढाइँ गर्नुभयो । तपाईंले यसपालि सुन्दर मात्रै होइन, ‘डेयरिङ’ कुरा गर्नुभयो ।
यो जोखिम झोंकैझोंकमा मोल्नुभयो वा सोचविचार गरेर, त्यसको साक्षी तपाईं स्वयं हुनुहुन्छ । यसको अर्थवत्ता पनि समयले एक दिन देखाइहाल्नेछ । तैपनि जुन मोडबाट हाम्रा बहसले प्रतिगामी बाटो समातेका थिए, त्यहीँबाट बहसलाई सही ट्र्याकमा ल्याउनुपर्नेर् शंखघोष गरिदिनुभएकामा तपाईंलाई साधुवाद छ । राजा ल्याउने भनेको जंगलबाट बाँदरझुल्ला टिपेर ल्याउनेजस्तो कुरो पक्कै होइन । तै–तै कसै–कसैलाई यस्तै बेतुकका तर्कनामा राजनीतिको ढिँडो ओडालिन्छ कि जस्तो लागेको छ । यो उनीहरूकै दुःख हो । पच्चीस सय वर्षअघि नै बुद्धले दुःखको कारण हुन्छ भनेका थिए । त्यसैले राजावादीका दुःखको पनि कारण हुनुपर्छ । यो दुःखको निर्माता तपाईं गणतन्त्रका नेताहरू नै हुनुहुन्छ ।
तपाईंको आशय सही छ, पृथ्वीपथ भनेको फाइटर जेटको जमानामा घोडचढी रिसल्लाजस्तै हो । प्राविधिक हिसाबले तुलना मिल्छ । यद्यपि वैचारिक हिसाबले कुरो अलि अर्कै छ । प्रत्येक विचारधाराको देश–काल हुन्छ । अर्थात् विचारधारा बन्छ नै खास ठाउँका मान्छेको खास समयको उद्देश्य पूरा गर्न । राज्यको पनि विचारधारा हुन्छ, त्यसैले बिनाविचारधाराको प्राविधिक राज्यसत्ताको कुरो सफेद झूट हो । राजनीतिक दलको पनि विचारधारा हुन्छ, त्यसैले बिनाविचारधाराको प्राविधिक दलको कुरो गुलियो तीतेकरेलाको कथा मात्रै हो ।
एमाले पनि विचारधारा छ भनेर त भनिरहनुपरेन, नामै काफी छ । तपाईंले आज आलोचना गरिरहेको पृथ्वीपथचाहिँ एमालेको विचारधाराकै विस्तारका रूपमा प्रयोग भयो कि भएन ? तपाईं स्वयंले कुबेलामा पृथ्वीपथमा पिच टल्काउने काम गर्नुभयो कि भएन ? यी प्रश्नहरू आज जाज्वल्यमान भएका छन् । यी प्रश्न तपाईंको फगत आलोचना गर्नका निम्ति उठाइएको होइन । मलाई राम्रोसँग थाहा छ, आलोचनाको पनि नियम हुन्छ । जसरी नदीले खतराको तह पार गरेपछि विध्वंस निम्त्याउन सक्छ, त्यसैगरी आलोचनाले पनि खतराको तह पार गर्यो भने समाजमा विग्रह पैदा गर्छ ।
अहिले स्थिति त्यस्तै–त्यस्तै छ । अचानक राजावादजस्ता अनेकन् असान्दर्भिक कुरातिर राजनीति मोडिएको छ । गोरेटो एकातिर छ, हामी झाडीतिर हान्निएका छौं । बहस गर्नुपर्ने विषय एकातिर छन्, हामी छेउ न टुप्पाका कुरामा हेलिएका छौं । घोत्लिनुपर्ने समस्याहरू एकातिर थन्क्याएर हामी चिन्तनको घडा नै समाप्त भएको घोषणा गरिरहेका छौं । हामी किन आत्तिएको हो, हामीलाई थाहै छैन । यो हतार कता पुग्न हो, अत्तोपत्तो छैन । तथापि सबै चिन्तनहरू त्यही अत्यासको भुंग्रोमा चढाउन हामीलाई हतार छ ।
एक पटक फेरि दोहोर्याऊँ– राज्यको आफ्नै समयानुकूल विचारधारा हुन्छ, त्यसैले यसका कथानकहरू हुन्छन् । आफ्नो देशलाई हामी कुन परिकल्पनाबाट विचार गर्छौं भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण कुरा हो । पृथ्वीपथ त्यसैका निम्ति रचना गरिएको एउटा कथानक हो । यद्यपि यो कथानक राणा शासनको अन्त्य भएपछि शाहवंशको सत्ता संस्थागत गर्ने निहित उद्देश्यले रचिएको थियो । पृथ्वीपथ न्वारन गरेर वर्तमानमा राजनीति गर्न खोजिए पनि यसको मूल जरा भूतकालमै छ । त्यसैले हामीलाई पढाइएको इतिहासलाई हामीले इतिहास होइन, इतिहासको एउटा भाष्य भनेका छौं । राष्ट्रियता, राष्ट्रिय एकता, एकीकरणजस्ता भाष्यहरू त्यही कथानकका हिस्साहरू हुन् ।
त्यसैगरी गणतन्त्रको पनि आफ्नै कथानक हुन्छ । राज्यको संरचना र शासन व्यवस्था बदलेर मात्रै गणतन्त्रको कथानक बन्ने थिएन, अहिले पनि बनिसकेको छैन । राज्यको चरित्र र विचारधारा बदल्न अझै बाँकी नै छ । गणतन्त्रको संघर्षले शाहवंशीय सत्ताका तमाम भाष्यहरूसमेत तोडेर जनताको कथानक बनाउन खोजेको थियो । यो संघर्ष अझै जारी नै छ । तर, गणतन्त्रको बागडोर सम्हाल्ने तपाईंहरूले यो संघर्षमा योगदान गर्नुभयो कि ‘पृथ्वीपथ’ कै बाटो हिँड्नुभयो ? आज राजावादीको उग्रता तीनकुनेमा दनदनी बलिरहेको बेला यो प्रश्न तपाईंहरूतिरै सोझिएको छ ।
सम्झिनुहोस् त, जगमान गुरुङलाई गणतन्त्रको प्रज्ञा प्रतिष्ठानमा विराजमान गराएको कसले थियो ? प्रज्ञा गुमाएको प्रज्ञा प्रतिष्ठानले समाजलाई नयाँ प्रज्ञादृष्टि दिन सम्भव हुन्थ्यो ? अनि त्यही प्रज्ञा प्रतिष्ठानमा होइन, राष्ट्रिय एकता दिवस मनाउने नाममा पृथ्वीपथको खाँडो जगाइएको ? समग्र मुलुक जनहितको दृष्टिबाट राज्यको चरित्र बदल्ने कठिनतम संघर्षमा होमिएका बेला, प्रज्ञा प्रतिष्ठानमा पञ्चायती पिचास जगाउने काम कसले गरिरहेको थियो ? त्यहाँ आयोजित अनुष्ठानमा एउटा सामान्य प्रश्न उठाउने जिज्ञासुमाथि जुत्ता हान्ने ‘ज्ञानी’ भूपू जर्नेल को थियो ? जर्नेलले हानेको त्यो जुत्तामा पृथ्वीपथकालीन सामन्ती अहंकारको पालिस टल्किएको थियो कि गणतन्त्रकालीन बहसको सौहार्दता ?
तपाईंले मनासिब भन्नुभो, पृथ्वीनारायण शाहले अरूलाई मासेर नै आफ्नो सत्ताको खाँबो हालेका थिए । पृथ्वीनारायण आफैंले त अरूलाई मासेर ‘गोर्खा साम्राज्य’ बनाएको घोषणै गरेका थिए । त्यतिबेलाका तमाम लालमोहर, सरकारी कागजात, मुगल साम्राज्यलाई जानकारी दिन लेखेको चिठी सबैतिर यही कुरा उल्लेख छ । हो, उनले नेपाल जितेको कुरा अवश्य अंकित गराए । किराँत, लिम्बुवानलाई हराएको कुरो अवश्य लेखाए । तर उनले कुनै ‘एकीकरण’ गर्छु भनेर कहिल्यै भनेनन्, न त एकीकरण गरें भनेर कतै उल्लेख गरे/गराए । वास्तवमा एकीकरणको कथा रचिएको नै धेरै भएको छैन ।
पञ्चायतकालदेखि राजनीतिमा होमिनुभएको तपाईंलाई पृथ्वीनारायणको आधिकारिक तस्बिर छैन भन्ने पक्कै थाहा छ । न फोटो खिचियो, न कुनै पोट्रेट बनाएर राखियो । हामीलाई देखाइएको पृथ्वीनारायणको चित्र महेन्द्रको आदेशमा अमर चित्रकारले बनाएको काल्पनिक चित्र हो । एकीकरणको कथानकलाई सुहाउने बनाउन चित्रमा उनको औंला ठड्याउन लगाइएको थियो । यथार्थमा पृथ्वीनारायणका बारेमा पञ्चायती व्यवस्था सुरु हुन्जेलसम्म पनि धेरैलाई थाहै थिएन । शाहवंशीय शासनलाई संस्थागत गर्ने उद्देश्यले पृथ्वी जयन्ती मनाउने र घरघरसम्म एकीकरणको कथा पुर्याउने मिसन महेन्द्रले चलाएका थिए । राजतन्त्रात्मक शासनका निम्ति रचिएको कथानक थियो त्यो ।
त्यसो भए गणतन्त्रको कथानक बनाउन तपाईंहरूले के गर्नुभयो त ? शाहवंशका चाकरीदारहरूलाई प्रज्ञा प्रतिष्ठानमा राइँदाइँ गर्न दिएर बन्थ्यो गणतन्त्रको संस्कृति ? ठोरीमा राम जन्माएर बन्यो गणतन्त्रको राजनीति ? बरा माधव घिमिरे कति अब्बल कवि थिए, पञ्चायतले राष्ट्रकविको पदवी घाँटीमा झुन्ड्याइदिएर त्यति राम्रो कविलाई दरबारिया पर्खालभित्र कैद गरिदियो । तपाईंहरूले गणतन्त्रमा पनि उनलाई कवि बन्न दिनुभएन, त्यही पुरातन पगरी क्युरियोबाट झिकेर रथारोहणका नाममा फेरि एकपटक दरबारिया प्रपञ्चको किला ठोकिदिनुभयो ।
पृथ्वीपथमा हिँडेर आफैं पोखरा पुगिसकेपछि आज भन्दै हुनुहुन्छ– पृथ्वीपथबाट त पोखरासम्म मात्र पुगिँदोरहेछ ! अनि जनताले तपाईंलाई ‘नो नट अगेन’ नभनेर के भन्छन् ? आमजनतालाई सडकमा जाम पारेर राष्ट्रपतिलाई घोडचढी रिसल्ला र कारगेटको तामझाममा सवारी गराउनुहुन्छ । जनप्रतिनिधि चुनिएका आफ्ना नेताहरूलाई पिर्के सलामीको सामन्ती संस्कारमा तालिम दिनुहुन्छ । मानौं दिनरात सन्देश दिनुहुन्छ– देख्यौ, गणतन्त्रमा नेता नै राजा हुन्छ ! अनि जनताले यति धेरै राजा हामीलाई चाहिएन नभनेर के भन्छन् ?
विचार गर्नुहोस् त, जनता गणतन्त्रवादी नै छन् । जनता त जुनसुकै रूपरङको राजा खारेज गर्न पो कस्सिएका हुन् । बरु तपाईंहरूले पृथ्वीपथलाई यसरी बल्झाइदिनुभयो कि राजावादीहरू पनि झुक्किए । उनीहरूलाई आफ्नै दिन फर्किएर आएजस्तो लाग्यो । फेरि जनतालाई रैती बनाउन पाइएला, फेरि पनि निरंकुशतन्त्र थापेर एकलौटी शासन चलाउन पाइएला, फेरि पनि गरिब/उत्पीडित जनतामाथि उसैगरी रोबरबाफ झारेर दौरासुरुवाल ढल्काउन पाइएला भन्ने दमित इच्छा जाग्यो उनीहरूको ।
कमरेड ओली, राजनीतिले त्यही दिनदेखि बाटो बिराएको थियो जुन दिन गणतन्त्रको शिरमाथि राजतन्त्रको वैचारिक शिरपोस चढाउन तपाईंहरू लाग्नुभयो । हामीलाई राम्रोसँग याद छ, त्यतिखेर तपाईं लोकप्रिय मानिनुहुन्थ्यो । तपाईंको त्यही लोकप्रियताले होनहार लेखकहरूलाई पृथ्वीपथको बढाइँमा किताबमाथि किताब लेख्न लगायो । तपाईं त ‘पोखरा पुगेपछि’ ब्युँझिनुभयो, उनीहरूको ब्युँझाइ झन् कति सकसपूर्ण होला ? दरबारहरूका अट्टालिकाबाट आँखा ओरालेर तपाईंकै गृहनगर दमकमा नजरको लेन्स पारेको भए वास्तविक गणतन्त्रको कथानक त्यहीँबाट बन्न थाल्थ्यो । खेतबारीसँग संघर्ष गरिरहेका किसान, मजदुर, उद्यमी/व्यापारी, शिर उठाउन लागिपरेका आदिवासी/जनजाति, नागरिकताविहीन मधेशी, उत्पीडनमाथि उभिन संघर्षरत दलित/सुकुम्बासी, जागरुक महिला, को छैनन् दमकमा ?
दमकमा सिंगो देशको झलक छ । त्यहीँ छ, गणतन्त्रको असली मुहार पनि । जनताको त्यही मुहारागारबाट देखिन्छ गणतन्त्रको इतिहास, दर्शन, संस्कृति, सबै–सबै । त्यहीँबाट उठ्छ र अघि बढ्छ गणतन्त्रको कथानक पनि । तपाईं ‘पोखरा पुगेर’ झस्किएजस्तै, झस्किनुपर्ने मस्तिष्कहरू धेरै छन् । बहस संसद्मा होस् कि सडकमा, सभामा होस् कि सेमिनारमा, त्यो जीवनतिर फर्किएको छैन भने त्यो अवसरवादको झन्डोत्तोलन मात्रै हो ।
आशा गरौं, नेतृत्वमा रहुन्जेल राजनीतिलाई जनताको मझेरीबाटै फेरि ब्युँझाउन तपाईंहरूले भूमिका खेल्नु हुनेछ । कुनै बेला तपाईंको लोकप्रियताको भजन गाउनेहरू अहिले तपाईंको अलोकप्रियताको सुस्केरामा मूर्छित छन् । यहीँनेर तपाईंको ब्युँझाइ अर्थपूर्ण हुन सक्छ ।
