गणतन्त्रलाई न्यायपूर्ण बनाउन सामाजिक विविधताको सहभागिता जरुरी छ, अन्यथा यो इँटाभट्टामा जलेर खाक भइरहेको हाम्रो न्याय व्यवस्थाको प्रतिलिपिमा सीमित हुनेछ
प्राचीन ग्रिकमा कोरु दासहरू थिए । जसले दासताको जीवन त बाँच्नु नै थियो, तर मालिक रोज्न भने ती स्वतन्त्र थिए । त्यो समय अधिकांश दासहरू मालिक रोज्न पाउँदैनथे । पुस्ता दरपुस्ता छनोटविहीन दासतामा बाँचेको ग्रिक समाजमा कोरुहरू भने मालिक छान्न पाउने कथावाचक दास थिए । इसप तिनै कोरु दास थिए । कतिपय भन्छन्, ‘इसप कोही व्यक्ति नभएर कथा वाचकहरूको पंक्ति थियो ।’ कतिपय भन्छन्, ‘इसप वर्तमानकालपूर्व छैंटौं शताब्दीका वास्तविक पात्र थिए ।’
इसप जो भए पनि नेपाली समाज आज पनि इसपकालीन हालतमै लड्खडिएजस्तो लाग्छ । मालिक रोज्न नपाउने दासताबाट निस्किएर मालिक रोज्न पाउने दासतामा परेको समाजजस्तो । परम्परागत दासभन्दा भिन्न कोरु दासजस्तो । जसलाई तुलनात्मक स्वतन्त्र भनिए पनि, अलिक लोकतान्त्रिक भनिए पनि दासतालाई भने शिरमा बोक्नैपर्ने हालतको समाजजस्तो । स्वतन्त्रताको कथा भन्न पाइने तर स्वतन्त्रता र अधिकारलाई कँज्याएर बसेका ‘गल्लातन्त्र’ को दासताले जकडिएको अवस्थाको ।
वंशवादी एउटा मालिकबाट छुट्कारा पाएर अलिकति स्वतन्त्रतापूर्वक श्वास लिन नपाउँदै अनेकन भगिंमामा मालिक बन्न हूल बाँधेर आएका नवमालिकहरूको दाम्लोमा बाँधिनु परेजस्तो । यही परिस्थितिले कसिएका जनतामा व्याप्त वर्तमान परिपाटीप्रति बढ्दो आक्रोश र असन्तुष्टिलाई भजाउँदै आफ्नो स्वार्थको तरबारमा धार लगाउन वंशवादी सामन्तीतन्त्रका अवशेषहरू तिलस्मी जाल बिछ्याउँदै मुख मिठ्याउन थालेका छन् ।
दिग्भ्रम–१
तिनै प्राचीन यामका कथावाचक इसपका अनेकन कथाहरू आज पनि विश्वभर लोकप्रिय छन् । उनका कथालाई इसपका कथाका रूपमा विश्वभर पढिन्छ । उनको एउटा कथा छ ः एउटा कुकुर मुखमा हड्डी बोकेर नदीमाथि तेर्स्याइएको काठेपुल तरिरहेको थियो । नदीको पानी कञ्चन थियो र टल्किएको थियो । त्यो टल्किएको पानीमा कुकुरले आफ्नै छाया देख्यो । छायामा उसले आफूभन्दा ठूलो कुनै कुकुरले निकै ठूलो हड्डी बोकिरहेको थियो । त्यो देखेर उसले सोच्यो – ओहो कति ठूलो हड्डी रहेछ ! खोस्नुपर्यो । त्यसपछि ऊ मुखको हड्डी छाडेर नदीमा हाम्फाल्यो, छायामा देखिएको हड्डी खोस्न । तर, त्यहाँ न अर्को कुकुर थियो न ठूलो हड्डी ! यसरी उसले भ्रमले वशिभूत भएर भुइँको टिप्न खोज्दा मुखको हड्डीसमेत गुमायो ।
नेपाली समाजलाई ठूलो चोक्टाको लोभ देखाएर कष्टसाध्य संघर्षबाट प्राप्त उपलब्धि पनि फुत्काउने जुन षड्यन्त्र चलिरहेको छ, होस्मा छ नेपाली समाज भने अवश्य पनि बुझ्ने नै छ । भुइँको टिप्ने लोभमा पोल्टाको सातु गुमाउनु हुँदैन । बरु बेहालत वर्तमानबाट निस्केर अघि बढ्न वर्तमानलाई विद्रुप बनाइरहेका ‘गल्लातन्त्र’ का तमाम गल्लाहरूबाट गणतन्त्रलाई मुक्त गराउँदै नागरिक दायित्व निर्वाह गर्ने दिशामा अग्रसर हुनुपर्छ ।
अँगुलीमालको देशना
देशका नागरिकलाई अनागरिक बनाएर बेच्नेहरू खुलेआम सार्वजनिक मञ्चमा उभिएर नागरिकलाई सामाजिक नैतिकताको भाषण सुनाउने दुस्साहस गर्न सक्ने र त्यस्तालाई मञ्चमा आसीन गराएर भाषण सुन्दै मखलेल भएर ताली बजाउनेहरूको खडेरी नपर्ने देश नेपाल मात्रै हो कि अन्त पनि छ यस्तो दुर्लभ सामाजिक सहनशीलताको उदाहरण ? खुलेआम गुठीको जग्गा मिलेमतोमा लुँड्याउने मानिस पटकपटक देशको अर्थमन्त्रीमा दोहोरिन्छन् । नागरिक तिनैलाई मत हालेर जिताउँदै चोरलाई चौतारीमा बसाउँछन् र फलाक्छन् – ‘देश भ्रष्टाचारको जालोमा जेलियो ।’ कस्तो दिगमिगलाग्दो दृश्य !
सत्ताबाहिर छँदा अरूलाई आदर्श, नैतिकता र इमानको ठुल्ठूला विद्वत् प्रवचन दिनेहरू सत्ता हात परेपछि नागरिकलाई अनागरिक बनाएर बेच्ने धन्दा चलाउँछन् । भिजिट भिसामा विदेश जानेसँग पैसा उठाउन आफ्नो सुविधाको मानिसलाई अध्यागमन प्रमुख बनाउने र अख्तियारले आफ्नो प्यादालाई समात्ने थाहा पाएपछि सरुवा गरेर जोगाउने मानिस अलिक अघिसम्म अरूलाई नैतिकताको देशना बाँडिरहेका थिए– ‘प्रश्न उठेपछि छानबिन हुनुपर्छ । छानबिन प्रभावित नहोस् भन्नका लागि पदबाट राजीनामा दिनुपर्छ ।’ आफूले राजीनामा दिनुपर्ने अवस्था आएपछि भन्दै छन्– ‘कर्मचारीमाथि प्रश्न उठ्दैमा मन्त्रीले राजीनामा दिनुपर्दैन । मैले आफ्नो योजनाबद्धतामा अध्यागमन प्रमुख बनाएको, ऊ समातिने सूचना आउनासाथ सरुवा गरेर जोगाएको मानिसले मेरो नाम पोलेको छैन । दोषी प्रमाणित भए राजनीति छाड्छु ।’
म दोषी प्रमाणित भए देशको कानुनमै नभएको फाँसी दिए हुन्छ भनेर मिति गुज्रिएको जनभावना दोहनको राजनीति अब पुरानो भयो । देशको कानुनअनुसार भ्रष्टाचारमा दोषी प्रमाणित भए जेल जानुपर्छ । भ्रष्टाचारमा जेल गएपछि गर्छु भनेर पनि सार्वजनिक राजनीति गर्न पाइँदैन । चुनाव लड्न पाइँदैन । सिन्डिकेटमा सत्ता हत्याएका नैतिकहीनहरूका लागि मात्रै देशको संविधानमा भिन्नै सुविधा छैन । अब यस्ता थोत्रा इमोसनल कार्ड बेचेर राजनीतिको गुजारा चलाउने टाट पल्ट्याई बबईतिर बगाइदिए हुन्छ, नेपाली समाजले किन्दैन ।
रूपचन्द्र विष्टले भनेका छन्– ‘अवसर नपाउन्जेलका सदाचारीहरू !’ अवसर पाएपछि पदको दऽरुपयोग गर्दै श्रम, पसिना बेच्न विदेश जानेहरूलाई नांगेझार पारेर लुट्न गिरोह परिचालन गर्नेहरू पदको दुरुपयोग गर्दै आफ्नो टाट पल्ट्याइलाई छोपछाप पार्न प्वाल परिसकेको त्रिपालको जोहो गर्दै छन् र परिचालित साइबर एजेन्टहरूको स्तरहीन रफ्फुको जोहो गरेर झनै नांगिँदै छन् । नागरिकलाई देशभित्रै रोजगारीको अवसर त जुटाउन सकेनन् नै, विदेश जान लाग्दासमेत लुटेर आफ्नो जीवन उजिल्याउनेहरू खुलेआम नेपाली समाजलाई नैतिकताको क्लास दिने दुस्साहस गर्छन् ।
के यी अंगुलिमालहरू नेपाली समाजको सहनशीलताको परीक्षा लिइरहेका छन् ? हुन त पारिजातले भनेजस्तै आन्दोलनका लागि समेत कसले भाडामा बोलाउला भनेर प्रतीक्षा गरिबस्ने, सायद ज्यालामा मात्रै लड्ने समाजको परीक्षा लिने नै मूढताको हो, चेतनाको के परीक्षा लिनु ? होइन भने नेपाली समाजको शिरमा लोकतन्त्रको ध्वजा उडाएर विभिन्न घृणित लुटमा सामेल मानिसहरू खुलेआम इमानको देशना बाँड्ने दुस्साहस कसरी गर्न सक्थे ? कृषिप्रधान समाजमा लुट, ठगी, भ्रष्टाचार, मिलेमतो, घूसखोरीलाई राष्ट्रिय पेसा बनाएर समाज दोहन गर्न हिम्मत गर्नेलाई सिंगो समाज नै विवेकमा टाट पल्टिए जसरी कसरी लोकतन्त्रको जिम्मा लगाउन तयार हुन्थे ?
‘निमित्त’ हरूको दबदबा
यतिबेर सत्तामा पुगेका ‘निमित्त’ हरूबाट भने देश नै जोगाउनुपर्ने अवस्था सिर्जना भएको छ । प्रधानमन्त्री भएका व्यक्ति मेरो नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णय मुख्यसचिव र मन्त्रीले गलत ब्रिफिङ गरेर भएको हुन सक्छ भन्दै आफू केवल ‘निमित्त’ भएको सार्वजनिक स्विकारोक्ति दिइरहेका भेटिइन्छन् । भारतमै अनेकन ठगी, जाली र नक्कली काम गरेको भनेर दर्जनौं मुद्दा खेपेको रामदेव–बालकृष्णको ‘मनी मेसिन’ पतञ्जलि आयुर्वेदलाई जग्गा दिने प्रकरणमा माधव नेपालले दिएको सार्वजनिक बयान नेपाली समाजलाई नै लज्जित बनाउने स्तरको छ ।
आफूलाई थाहा नभएको, अरूको ब्रिफिङ पत्याएर निर्णय गराएको, मन्त्रिपरिषद्को निणर्यमा अख्तियार नलाग्ने भएकाले राजनीतिक पूर्वाग्रह साँधिएको भन्नेजस्ता उनको बयानले नेपालको प्रधानमन्त्री पदमा ज्ञान, विवेक र राम्रो–नराम्रो निर्क्यौल गर्ने चेतना भएका मानिस होइन, अरूको इसारामा काम गर्ने चेतनाहीनहरू पदासीन भइरहेका छन् भन्ने असलियत उजागर गर्छ । उसै पनि उतिबेलै उनी प्रधानमन्त्री हुँदै सार्वजनिक रूपमा टिप्पणी भएको थियो – ‘माधव नेपालको रिमोट अन्तै छ ।’ माधव नेपालले अहिले आफैंले त्यसलाई पुष्टि गरेका छन् ।
यताको समयमा नेपाली राजनीति बिचौलियाहरूको दबदबामा फसेको छ । अनेकन भावभंगिमामा ताउरमाउर गर्दै सत्तासीन भइरहेकाहरू कमिसन एजेन्टहरूको ‘पब्लिक म्यानेजर’ बनिरहेका छन् । बालुवटार प्रकरणदेखि गिरीबन्धुसम्म, भुटानी शरणार्थी प्रकरणदेखि टेरामक्स काण्डसम्म, वाइडबडीदेखि यती ओम्नीसम्म, विमानस्थल घोटाला प्रकरणदेखि पतञ्जलि प्रकरणसम्ममा सत्ताधारी मण्डलीले आफूलाई कमिसन एजेन्टको निमित्तका रूपमा उभ्याएका छन् । निर्वाचनलाई जनअनुमोदित भएको भनेर जनतामा भ्रम छर्ने औजारका रूपमा उपयोग गर्दै बिचौलिया र दलालहरूको हितरक्षाको कार्यसम्पादकका रूपमा हाम्रा राजनीतिकर्मीहरू क्रियाशील रहेको अब छर्लङ्ग भएको छ ।
आफ्नो अयोग्यता र भ्रष्टाचारको बचाउमा अपराधलाई राजनीतीकरण गर्न प्रतिशोध गरिएको भन्ने सिरक ओढ्नु अब ‘न्यु नर्मल×’ भएको छ, उत्तिकै ‘क्लिसे’ पनि । देश र जनता संसारकै सबैभन्दा हिनतर र दरिद्र बन्दा नजागेको चिन्ता राजनीतिक पेसेवरहरू पक्राउ पर्दा देश पाकिस्तानको दिशामा गयो भन्दै प्रकट भएको छ । चिन्ता संवैधानिक अंगहरू पंगु भए, भन्नेमा होइन, अलिकति सक्रियता देखाए संवैधानिक अंगले भने– आफ्ना ‘गणपति’ हरू पक्राउ पर्लान् भन्नेमा छ ।न माधव नेपाल पक्राउ परेर नेपाल पाकिस्तान हुन्छ, न खड्गप्रसाद या पुष्पकमल या शेरबहादुर देउवा पक्राउ परेर नै । आ–आफ्नो स्वार्थ साँध्न देश र जनतामाथि दशकौं गिर खेल्दा पाकिस्तान नभएको देश राजनीतिक पेसेवर भएरै धनाढ्य उद्योगपतिलाई जित्ने ऐयाशीको जुगाड गर्न गरेको नीतिगत र आर्थिक लुटपाटको छानबिन गर्दा हुन्छ ?
बेहालत वर्तमानबाट अत्तालिएका नागरिकसँग प्रतिशोध साँध्दै पालैपालो म्युजिकल चेयरमा बसेर बिचौलियाको प्रबन्धक बन्दा पाकिस्तान नबनेको देश एउटा भ्रष्टले अर्को भ्रष्टलाई गिरफ्तार गर्दा रातारात पाकिस्तान बन्छ ? पाकिस्तानको हौवा फिँजाएर राजनीतिक पेसेवरहरूको लुटतन्त्रलाई जोगाउने घुमाउरो चलाखी गर्नुअघि समाज अब ‘फेब्रिकेटेट न्यारेटिब्स’ बाट भ्रमित हुँदैन भन्ने ख्याल गर्नुपर्छ । कमिसन एजेन्ट र राजनीतिक व्यवसायीसँग भाष्य वितरणको लाभमा मोलमोलाई गर्ने विचार निर्माता र बौद्धिक अवसरवादितालाई समाजले देश दोहन गर्ने भ्रष्टहरूकै मतियारका रूपमा बुझिरहेकै छ ।
उसै पनि अरूले अह्राएको, लगाएको काम गर्ने र आफ्नै विवेकले ठीक, बेठीक यकिन गर्न नसक्नेहरू जेल जाँदैमा गणतन्त्र कमजोर हुँदैन । गणतन्त्र केही थानलाई सर्वकालीन सम्भ्रान्तमा बढुवा गर्न र तिनको ऐयाशीको रक्षाको ग्यारेन्टी गर्न आएको होइन । तिनको लुटको स्वर्गमा आगो लाग्नु गणतन्त्रको धुरीबाट धूवाँ पुत्पुताउनु होइन । किनकि गणतन्त्र भनेको न ओली हुन् न देउवा या दाहाल या नेपाल या भट्टराई । न यिनलाई काँध थापिरहेका यिनका ‘झोले’ हरू नै । यी त गणतन्त्रको नाममा तरमारा बनिरहेकाहरू हुन् ।
गणतन्त्र सीमान्त मानिसहरूको जीवनको दुःख धुनका लागि समर्पित हुनुपर्नेमा मुठीभर राजनीतिक पेसेवरको ठगीखेलोमा परिणत भएकाले जनताको बलिदानीपूर्ण संघर्षले दरकिनार गरिएका पुरातन सामन्ती अवशेषहरूले बोली चर्को गर्ने अवस्था आएको हो । गणतन्त्र सत्तासीनहरूको स्वार्थमा साँध लगाउन छाडेर गरिखाने नागरिकको सहजताको औजार अर्जाप्ने आरन बन्नासाथ पुनरुत्थानवादीहरूको झुसिलो डकार आरनको गोलमा खाक हुनेछ ।
खाली खुट्टा हाँपझाँप गर्दै सलहझैं उर्लिएका मानिसको पदचापले पैदा गरेको आँधीले वंशवादी सामन्तीतन्त्रलाई यो देशको इतिहासको मूल पृष्ठबाट फुटनोटमा दरकिनार गरेको हो । बलिदानको भेल तरेर आएको गणतन्त्र वंशवादी सामन्त र तिनको चाकरी गरेर जीवन उजिल्याएका मानिसहरूले मुख मिठ्याउँदै किस्तीमा राखेर अनुचरलाई खर्चपानी बाँड्दैमा उल्टिनेवाला छैन । दलित, महिला, मधेशी, जनजातिहरूलाई अमानुस ठानेर आफूलाई विष्णु अवतार ठान्दै पाइतालामुनि दबाउने वंशवादी सामन्तहरूलाई समयको गति तीव्रत्तर तवरले अघि बढेको चेत भएको भए पञ्चायती आउटडेटेड वयोवृद्ध अघि सारेर नेपाली समाजको शिरमाथि सामन्तको दलन थोपर्ने प्रहसनको आयोजना गर्ने नै थिएनन् ।
आजको दिनको नेपाली समाजको कार्यभार न त गणतान्त्रिक ‘निमित्त’ हरू र तिनका आठपहरियाहरूको रक्षा गर्नु हो न त पुनरुत्थानको सपना देखेर मुख मिठ्याइरहेका सामन्तहरूको बहकाउमा लाग्नु नै हो । मुठीभर सत्ता सम्भ्रान्त, बिचौलिया र कमिसन एजेन्टहरूले विभिन्न आवरणमा अपहरण गरेर आफ्नो स्वार्थसिद्धिको हतियार बनाइरहेको गणतन्त्रलाई तिनको कब्जाबाट मुक्त गर्दै आम नागरिकको जीवनतिर फर्काउनु नै आजको पहिलो कार्यभर हो ।
श्रमजीवी वर्गको जनसंख्याको अनुपातमा शासकीय संरचनामा सहभागिता र हितरक्षाको साधन बन्न सक्दैन भने लोकतन्त्र ‘गल्लातन्त्र’ भन्दा बढ्दा केही हुन सक्दैन । जब गणतन्त्र गल्लातन्त्रमा बदलिन्छ, त्यसपछि भोलितिर अघि बढ्ने उज्यालो विकल्प नदेखेपछि समाज निराशाको गर्तमा फसेर अँध्यारो विगततिर चिहाउन थाल्छ । यसलाई बुझ्ने गरी अर्थ्याउने हो भने– जब समाजमा क्रान्तिकारी विकल्पको अभाव हुन्छ, त्यसपछि प्रतिक्रान्तिकारीहरूले त्यसको लाभ उठाउन आफूलाई विकल्पका रूपमा अघि सार्छन् र समाजलाई पुनरुत्थानवादी भुलभुलैयाको सिकार बनाउछन् । यो जालझेललाई भत्काउँदै तत्काल शासकीय व्यवस्थाका तमाम अवयवहरूमा वर्गीय उपस्थितिको सवाललाई मुद्दा बनाएर संघर्ष अघि बढाउनु जरुरी छ ।
यसैले बुर्जुवा जुवाघरमा विघटित भएको गणतन्त्रलाई शान्तिपूर्ण तवरले नागरिक गणतन्त्रमा बदल्न समाजमा वर्गीय जनगणना गर्ने र त्यही आधारमा सत्तासहभागिताको सुनिश्चितता गर्नु आजको नेपाली समाजको तत्कालीन कार्यभार हो । दीर्घकालीन रूपमा ‘पावर एलिट’ हरूले गल्लातन्त्रमा विघटन गराएको गणतन्त्रलाई उनीहरूको कब्जाबाट मुक्त गराएर भुइँमानिसहरूको हिततन्त्रमा बदल्न श्रमजीवी वर्गको सत्ता सहभागिता अनिवार्य छ । लिंग, क्षेत्र, समुदायको प्रतिनिधित्वको नाममा ‘पावर एलिट’ हरूलाई सत्ता व्यवस्थाको घोडा चढाउने परिपाटी भत्काउँदै तिनलाई उक्त घोडाबाट झार्न प्रतिनिधिमूलक होइन सहभागितामूलक व्यवस्थामा अग्रसर हुनुपर्छ । गणतन्त्रलाई न्यायपूर्ण बनाउन सामाजिक विविधताको सहभागिता जरुरी छ । अन्यथा यो इँटाभट्टामा जलेर खाक भइरहेको हाम्रो न्याय व्यवस्थाको प्रतिलिपिमा सीमित हुनेछ ।
इँटाभट्टामा दग्ध न्याय
जब आफ्ना फैसलामार्फत नागरिकमा अदालत आफ्नो मान स्थापित गर्न सक्दैन त्यसपछि आफ्नो अयोग्यता लुकाउन समाजलाई मानहानिको तरबार देखाएर तर्साउने कोसिस गर्छ । मानहानिको तरबारसँग डराएर मौनताको सिरक ओढ्न मञ्जुर नहुनेहरूले शिष्टतापूर्वक अदालतलाई भनिदिनै पर्छ – अनुहारमा फोहोर दलेर झिँगा भन्किँदा, तिम्रो अनुहारमा झिँगा भन्कियो भन्नेलाई तर्साउन मानहानिको तरबार उज्याउँदै नहिँड । तिम्रो मान तिम्रा फैसलाहरूबाट नागरिकमा स्वतः निस्सृत हुनुपर्छ । मलाई मान गर भन्दै धम्कीपूर्ण आदेश जारी गरेर सम्मान पाइँदैन । मान, इज्जत मागेर, त्रास देखाएर, धम्क्याएर पाइने चिज होइन ।
साराका सारा देखिजान्नेहरूले, साक्षीहरूले जिउँदो मानिस पोलेर मारेको भनिएको हत्यारालाई निर्दोष साबित गर्न या त न्यायाधीशले विवेक बेचेको हुनुपर्छ, या त दलको दलालहरू अदालत पुगेपछि मात्रै दल विशेषका मानिसहरूउपर न्यायाधीशले यो स्तरको करुणा देखाउन सक्छ । आलमको फैसला गर्ने न्यायाधीश २०७३ माघमा कांग्रेसको कोटाबाट न्यायाधीश बन्नु, देशको प्रधानमन्त्री भइसकेको/फेरि पनि बन्ने लाइनमा बसेका कांग्रेस सभापतिले सार्वजनिक मञ्चबाटै आलमलाई न्याय दिलाउन लागिरहेको छु भन्नु र तिनै कांग्रेसबाट नियुक्त न्यायाधीशको फैसलाबाट आलम निर्दोष साबित हुनु ! यस्तो खुलेआम न्यायको संयोग संसारमा अन्यन्त्र पनि कतै हुन्छ कि नेपाल मात्रै हो यस्तो नमुना ? अनि फैसलाको नाममा न्यायमाथि नांगोनाच देखाउनेहरूलाई सार्वजनिक मान पनि गर्दिनुपर्ने नागरिकले ?
एउटा पक्षको, पार्टीको झोला बोकेर न्यायाधीश भएको व्यक्ति न्यायाधीश हुनासाथ तपस्वीजस्तो निष्पक्ष र तटस्थ हुन्छ भन्नु नै समाजको विश्वासमाथिको धोका, जालसाजी र बेइमानी हो । अन्यथा, कांग्रेसी कोटाका न्यायाधीशले छानीछानी कांग्रेसी नेताहरू विजय गच्छदारदेखि अफताब आलमसम्मलाई निर्दोष देख्नु निष्पक्षतामाथि ठोक्किन आएको संयोग मात्रै कसरी हुन सक्छ ? राज्य व्यवस्थाका अवयवहरूको यस्तै विकृत कार्यसम्पादनले पैदा गरेको नागरिक वितृष्णाको बलमा ज्ञानेन्द्रवादीहरू चलमलाउन थालेको हेक्का राखेका छन् सत्ता संयन्त्रहरूले ? कि कसैलाई पनि मन परेको छैन गणतन्त्र र नागरिकमा वितृष्णा बढाउन जे–जे गर्न सकिन्छ त्यही गरिरहेको हो ?
दिग्भ्रम–२
टुंग्याउनुअघि फेरि पनि अर्को इसप कथा : एउटा काग रूखको हाँगोमा बसेर चिजको टुक्रा चुच्चोमा लिएर खाँदै थियो । तलबाट छट्टु स्याल त्यो देखेर लोभियो । उसले कागबाट चिज उछिट्याउने दाउ रचेर भन्यो– काग भाइ, तिम्रो स्वर कति कोकिल छ, कति सुरिलो छ । कृपया एउटा गीत गाइदेऊ न !
सबैले कागलाई कस्तो कर्कश स्वर भनेर गाली गरिरहन्थे । पहिलो पटक उसको स्वरको कसैले प्रशंसा गरिरहेको थियो । छट्टु स्यालको चाल नबुझेको काग स्यालको झूटो प्रशंसाले मखलेल भयो । त्यसपछि कागले गीत गाउन मुख खोल्यो । मुख खोल्नासाथ मुखको चिज भुइँमा झर्यो । भुइँमा झरेको चिज हत्तपत्त पक्डँदै स्याल टाप कस्यो ।
इतिहासको लामो समय जनताको नलीहाडसमेत चुसेर अट्टहास गरेकाहरू फेरि यस्तै जाली प्रपञ्चसहित जनताको हातबाट गणतन्त्र फुत्काउने र निरंकुशतन्त्रको ध्वजा फहराउने दिवास्वप्नसहित चल्मलाएका छन् । छट्टु स्यालको जस्तो झूटो प्रपञ्च बुझ्न सकिएन भने हामी हाम्रो भावी पुस्तालाई फेरि सामन्ती निरंकुशतन्त्रविरुद्ध संघर्ष गर्नुपर्ने बोझ बोकाइरहेका हुनेछौं ।
