राजनीतिक, आर्थिक, भौगोलिक तथा सैन्य सम्बन्धका पहेलीका कारण पूरै पश्चिम एसिया नै युद्धतर्फ धकेलिने सम्भावना छ ।
रुस–युक्रेन तथा इजरायल–हमास युद्धले विश्राम पाउने बाटो नसुल्झिरहेका बेलामा विश्वभरकै शान्तिप्रिय मानिसलाई अर्को सम्भावित युद्धले चिन्तित बनाएको छ । इरानको आणविक कार्यक्रमले आफ्नो अस्तित्व नै जोखिममा पर्ने विश्लेषण गर्दै इजरायलले हवाई हमला गरेसँगै द्वन्द्वको अर्को शृंखला सुरु भएको छ ।
इजरायलले ‘आत्मरक्षा’ लागि आवश्यक भन्दै सुरु गरेको आक्रमणमा इरानी सेनाका प्रमुख मोहम्मद बाघेरी, इरानी रिभोलुसनरी गार्ड्सका प्रमुख हुसेइन सलामी, वरिष्ठ कमान्डर घोलम अली रसिदलगायतको ज्यान गएको छ । आक्रमण गरिएको स्थानमा नटान्जस्थित युरेनियम प्रशोधन केन्द्र पनि पर्छ, जहाँ ६ जना आणविक वैज्ञानिक मारिएका छन् । त्यस्तै, महिला र बालबालिकासहित ७० भन्दा बढी सर्वसाधारणले ज्यान गुमाएको इरानी पक्षले बताएको छ । इजरायलले दुर्भाग्यपूर्ण अवस्था भोग्नुपर्ने चेतावनी दिएको इरानले बदलास्वरूप बलिस्टिक क्षेप्यास्त्रसमेत प्रहार गरेको छ । आक्रमण, प्रत्याक्रमण लम्बिँदै गए क्षतिका विवरण बढ्दै जानेछन् । साथसाथै युद्धमा थप देश पनि जोडिँदै जानेछन् । राजनीतिक, आर्थिक, भौगोलिक तथा सैन्य सम्बन्धका पहेलीका कारण पूरै पश्चिम एसिया नै युद्धतर्फ धकेलिने सम्भावना छ ।
पश्चिम एसियामा युद्ध र अशान्तिको इतिहास निकै लामो छ । यद्यपि सन् १०४८ मा इजरायलको स्थापनापछि भएका युद्धहरू बेलाबेला सन्दर्भमा आइरहन्छन् । सन् १९४८ मै इजरायल–अरब युद्ध भएको थियो । जसमा इजरायलको स्थापनाको विपक्षमा रहेका इजिप्ट, जोर्डन, इराक, सिरियालगायतले इजरायलमाथि आक्रमण गरेका थिए । सन् १९५६ मा इजरायल, बेलायत र फ्रान्सले इजिप्टमाथि आक्रमण गरेका थिए । सन् १९६७ मा इजरायलसँग इजिप्ट, जोर्डन र सिरिया लडेका थिए ।
त्यस्तै, सन् १९८८ मा इरान र इराकबीच युद्ध भएको थियो । सन् १९९० मा इराकले कुवेतमाथि आक्रमण गरेर कब्जा नै गर्यो । यसले खाडी युद्ध निम्त्यायो र कुवेतलाई पनि स्वतन्त्र बनायो । गाजा युद्ध त नियमित घटनाक्रम नै बनेको छ । सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले सुरु गरेको प्रत्याक्रमण अझै जारी छ । इजरायल र इरानले पटकपटक प्रोक्सी युद्ध लडेका छन् । इरानले इजरायललाई दबाबमा राख्न प्यालेस्टाइनको हमास, लेबनानको हेजबुल्लाह, यमनको हुथीजस्ता इजरायलविरोधी समूहलाई सघाउँदै आएको छ । गत वर्ष इरानले इजरायलतर्फ मिसाइल आक्रमण गरेको थियो । पश्चिम एसियामा गृह तथा बाह्य युद्धका अनेकौं चोटपटक छन् । इजरायल–इरान द्वन्द्वले त्यसलाई थप बल्झाउने र कचल्ट्याउने सम्भावना छ ।
पश्चिम एसियाको झन्डै आठ दशकको इतिहासले साबित गरेको छ, द्वन्द्वले कहिल्यै समाधान ल्याउँदैन । द्वन्द्व जितेर न कोही सधैं बलियो बनिराख्न सक्छ, न हारेर कोही चुप बसिरहन सक्छ । बरु बालबालिका, महिला, सर्वसाधारणदेखि सैन्य समूहमा आबद्धको मृत्यु, घाइते, बेपत्ता, विस्थापन, बिछोड, भौतिक क्षति, खानादेखि बसोबासको अभाव, शिक्षा–स्वास्थ्य विच्छेद, महँगी जस्ता अनेकौं नकारात्मक असर तत्कालै देखिन्छ । दीर्घकालीन असर त कैयौं पुस्तासम्मले भोग्नुपर्छ ।
मुख्यतः बदलाभावका कारण युद्धको चक्र बलियो बनिरहन्छ । युद्धमा संलग्न देशका नागरिकले मात्रै होइन, त्यसइतरका र टाढाटाढाका देशले समेत आर्थिक र राजनीतिक संकट भोग्नुपर्ने हुन सक्छ । विश्वव्यापीकरणको अवसरस्वरूप अहिले श्रमदेखि शिक्षासम्मका उद्देश्य बोकेर हरेक देशका नागरिक हरेक देशमा पुग्ने स्थिति छ । सन् २०२३ मा हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको र विपिन जोशी अझै बेपत्ता रहेको प्रसंगले जहाँसुकै हुने युद्ध वा तनावले टाढाका देशका नागरिकले समेत प्रभाव भोग्नुपर्ने यथार्थ उजागर गर्छ ।
युद्धलाई अन्त्य गर्ने र शान्तिको वकालत गर्ने संसारभरको पहल कामयाबी हुन सकेको छैन । तर पनि युद्धमा लगानी गर्ने बजेट शिक्षा, स्वास्थ्य, विकास निर्माण, मानव कल्याणमा लगाउने हो भने सम्बन्धित देश मात्रै होइन, विश्व नै लाभान्वित हुने थियो । विश्वभरका देश थप विवेकी हुन्थे, थप हार्दिक हुन्थे । क्षेत्रीय शान्ति हुन्थ्यो, विश्व शान्ति हुन्थ्यो । त्यसैले पनि प्रभावशाली देश र तिनका शासकले इजरायल–इरानलाई संयमित बनाउन पहल गर्नुपर्छ । द्वन्द्वको आगोमा घिउ थप्नु हुँदैन । कम्तीमा अहिलेको तनावलाई यथास्थितिमा रोक्न पहल गर्नुपर्छ । इजरायल–इरान द्वन्द्व नेपालीको पनि प्रत्यक्ष सुरक्षा सरोकारको विषय हो । खासगरी इजरायलमा नेपालीको उपस्थिति छ । इरानले प्रत्याक्रमण सुरु गरेकाले त्यहाँ रहेका नेपालीको सुरक्षाबारे सरकारले चासो व्यक्त गर्नुपर्छ । इजरायली अधिकारीसँग आफ्नो सरोकार व्यक्त गर्नुपर्छ ।
