मानवताको चोटपटक बल्झाउने युद्धको अर्को शृंखला

राजनीतिक, आर्थिक, भौगोलिक तथा सैन्य सम्बन्धका पहेलीका कारण पूरै पश्चिम एसिया नै युद्धतर्फ धकेलिने सम्भावना छ ।

असार १, २०८२

सम्पादकीय

Another series of wars that aggravate the wounds of humanity

रुस–युक्रेन तथा इजरायल–हमास युद्धले विश्राम पाउने बाटो नसुल्झिरहेका बेलामा विश्वभरकै शान्तिप्रिय मानिसलाई अर्को सम्भावित युद्धले चिन्तित बनाएको छ । इरानको आणविक कार्यक्रमले आफ्नो अस्तित्व नै जोखिममा पर्ने विश्लेषण गर्दै इजरायलले हवाई हमला गरेसँगै द्वन्द्वको अर्को शृंखला सुरु भएको छ ।

इजरायलले ‘आत्मरक्षा’ लागि आवश्यक भन्दै सुरु गरेको आक्रमणमा इरानी सेनाका प्रमुख मोहम्मद बाघेरी, इरानी रिभोलुसनरी गार्ड्सका प्रमुख हुसेइन सलामी, वरिष्ठ कमान्डर घोलम अली रसिदलगायतको ज्यान गएको छ । आक्रमण गरिएको स्थानमा नटान्जस्थित युरेनियम प्रशोधन केन्द्र पनि पर्छ, जहाँ ६ जना आणविक वैज्ञानिक मारिएका छन् । त्यस्तै, महिला र बालबालिकासहित ७० भन्दा बढी सर्वसाधारणले ज्यान गुमाएको इरानी पक्षले बताएको छ । इजरायलले दुर्भाग्यपूर्ण अवस्था भोग्नुपर्ने चेतावनी दिएको इरानले बदलास्वरूप बलिस्टिक क्षेप्यास्त्रसमेत प्रहार गरेको छ । आक्रमण, प्रत्याक्रमण लम्बिँदै गए क्षतिका विवरण बढ्दै जानेछन् । साथसाथै युद्धमा थप देश पनि जोडिँदै जानेछन् । राजनीतिक, आर्थिक, भौगोलिक तथा सैन्य सम्बन्धका पहेलीका कारण पूरै पश्चिम एसिया नै युद्धतर्फ धकेलिने सम्भावना छ । 

पश्चिम एसियामा युद्ध र अशान्तिको इतिहास निकै लामो छ । यद्यपि सन् १०४८ मा इजरायलको स्थापनापछि भएका युद्धहरू बेलाबेला सन्दर्भमा आइरहन्छन् । सन् १९४८ मै इजरायल–अरब युद्ध भएको थियो । जसमा इजरायलको स्थापनाको विपक्षमा रहेका इजिप्ट, जोर्डन, इराक, सिरियालगायतले इजरायलमाथि आक्रमण गरेका थिए । सन् १९५६ मा इजरायल, बेलायत र फ्रान्सले इजिप्टमाथि आक्रमण गरेका थिए । सन् १९६७ मा इजरायलसँग इजिप्ट, जोर्डन र सिरिया लडेका थिए ।

त्यस्तै, सन् १९८८ मा इरान र इराकबीच युद्ध भएको थियो । सन् १९९० मा इराकले कुवेतमाथि आक्रमण गरेर कब्जा नै गर्‍यो । यसले खाडी युद्ध निम्त्यायो र कुवेतलाई पनि स्वतन्त्र बनायो । गाजा युद्ध त नियमित घटनाक्रम नै बनेको छ । सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले सुरु गरेको प्रत्याक्रमण अझै जारी छ । इजरायल र इरानले पटकपटक प्रोक्सी युद्ध लडेका छन् । इरानले इजरायललाई दबाबमा राख्न प्यालेस्टाइनको हमास, लेबनानको हेजबुल्लाह, यमनको हुथीजस्ता इजरायलविरोधी समूहलाई सघाउँदै आएको छ । गत वर्ष इरानले इजरायलतर्फ मिसाइल आक्रमण गरेको थियो । पश्चिम एसियामा गृह तथा बाह्य युद्धका अनेकौं चोटपटक छन् । इजरायल–इरान द्वन्द्वले त्यसलाई थप बल्झाउने र कचल्ट्याउने सम्भावना छ ।

पश्चिम एसियाको झन्डै आठ दशकको इतिहासले साबित गरेको छ, द्वन्द्वले कहिल्यै समाधान ल्याउँदैन । द्वन्द्व जितेर न कोही सधैं बलियो बनिराख्न सक्छ, न हारेर कोही चुप बसिरहन सक्छ । बरु बालबालिका, महिला, सर्वसाधारणदेखि सैन्य समूहमा आबद्धको मृत्यु, घाइते, बेपत्ता, विस्थापन, बिछोड, भौतिक क्षति, खानादेखि बसोबासको अभाव, शिक्षा–स्वास्थ्य विच्छेद, महँगी जस्ता अनेकौं नकारात्मक असर तत्कालै देखिन्छ । दीर्घकालीन असर त कैयौं पुस्तासम्मले भोग्नुपर्छ ।

मुख्यतः बदलाभावका कारण युद्धको चक्र बलियो बनिरहन्छ । युद्धमा संलग्न देशका नागरिकले मात्रै होइन, त्यसइतरका र टाढाटाढाका देशले समेत आर्थिक र राजनीतिक संकट भोग्नुपर्ने हुन सक्छ । विश्वव्यापीकरणको अवसरस्वरूप अहिले श्रमदेखि शिक्षासम्मका उद्देश्य बोकेर हरेक देशका नागरिक हरेक देशमा पुग्ने स्थिति छ । सन् २०२३ मा हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको र विपिन जोशी अझै बेपत्ता रहेको प्रसंगले जहाँसुकै हुने युद्ध वा तनावले टाढाका देशका नागरिकले समेत प्रभाव भोग्नुपर्ने यथार्थ उजागर गर्छ ।

युद्धलाई अन्त्य गर्ने र शान्तिको वकालत गर्ने संसारभरको पहल कामयाबी हुन सकेको छैन । तर पनि युद्धमा लगानी गर्ने बजेट शिक्षा, स्वास्थ्य, विकास निर्माण, मानव कल्याणमा लगाउने हो भने सम्बन्धित देश मात्रै होइन, विश्व नै लाभान्वित हुने थियो । विश्वभरका देश थप विवेकी हुन्थे, थप हार्दिक हुन्थे । क्षेत्रीय शान्ति हुन्थ्यो, विश्व शान्ति हुन्थ्यो । त्यसैले पनि प्रभावशाली देश र तिनका शासकले इजरायल–इरानलाई संयमित बनाउन पहल गर्नुपर्छ । द्वन्द्वको आगोमा घिउ थप्नु हुँदैन । कम्तीमा अहिलेको तनावलाई यथास्थितिमा रोक्न पहल गर्नुपर्छ । इजरायल–इरान द्वन्द्व नेपालीको पनि प्रत्यक्ष सुरक्षा सरोकारको विषय हो । खासगरी इजरायलमा नेपालीको उपस्थिति छ । इरानले प्रत्याक्रमण सुरु गरेकाले त्यहाँ रहेका नेपालीको सुरक्षाबारे सरकारले चासो व्यक्त गर्नुपर्छ । इजरायली अधिकारीसँग आफ्नो सरोकार व्यक्त गर्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully