किन भइरहेको छ मान्छे मात्रै निर्यात ?

हामीभन्दा केही अघि वा केही पछि, हामी जस्तै अविकसित रहेका कतिपय देशहरूले आफ्नो आर्थिक र सामाजिक जीवनमा व्यापक परिवर्तन ल्याइसक्दा पनि हामी किन जहाँको तहीं छौं ?

जेष्ठ ३१, २०८२

किशोर नेपाल

Why are people only being exported?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालै पार्टी कार्यालयमा आयोजित समारोहमा नेपालले मानिस निर्यात गर्नुपरेको अवस्थाको चित्रण गर्दै प्रकट गर्नुभएका विचार शब्दशः सम्झनामा त छैन । तर, उहाँको भनाइको आशयको सम्झना छ, ‘हामीसँग निर्यात गर्ने अरू कुनै स्रोत छैन । त्यसैले मानिस निर्यात गर्नुपर्‍यो ।’

नेपालका लागि मानव निर्यात पहिलो र अन्तिम सत्य होइन । राणाकालीन नेपालमा पनि युद्धकलामा पोख्त नेपालीहरू लाहोर, बर्मा र मलाया पुग्थे । पश्चिम नेपालका युवाहरू बग्रेल्ती भेटिन्छन्, भारतको मुम्बई सहरमा । रोजगारीका लागि विदेश जानु ठूलो कुरा होइन । तर, सलहको समूहजस्तो हजारौं मानिस देश छाडेर पलायन हुनु कुनै पनि देशका लागि राम्रो लक्षण पक्कै होइन ।

केही दशकयता संघीय नेपालको राजधानी काठमाडौंलगायत नेपालका केही प्रसिद्ध सहरको कायाकल्प भएको छ । भौतिक र व्यापारिक प्रयोजनका हिसाबले यी सहरहरूको विकास सन्तोषजनक रहे पनि यो विकास चिरस्थायी होइन । यो प्रकारको सहरी विकासले स्थानीय तन्नेरीलाई काम दिन सकेको छैन । पूर्वदेखि पश्चिमसम्मका सहरहरूमा ठूला बजार, ठूला बस स्टप, सिँगारिएका नाचघर र थरीथरीका भान्साघर, पार्टी प्यालेस, ठूला बार, ठूला रेस्टुराँहरूको बिगबिगी छ । सहरहरूको कायापलट भएको छ । अलिकति आर्थिक महत्त्व पनि बढेको छ । तर, यी सहरहरू वैदेशिक रोजगारीबाट छोटो समयका लागि घर फर्किने तन्नेरी लक्षित छन् ।

देशमा आमूल राजनीतिक परिवर्तनका दुई दशक बिते । सहर, बजार र परिवेश फेरिए । तर, इतिहास पुरिइसक्यो । वर्तमानले अहिलेसम्म आफ्नो पहिचान स्थापित गर्न सकेको छैन । पछिल्ला केही दशकदेखि काठमाडौं सहर आर्थिक, सामाजिक एवं ऐतिहासिक परिवर्तनको संक्रमणमा छ । समाजको अनुहार बदलिँदै गएको छ । तर, सामाजिक संस्कार र स्वभावमा खासै परिवर्तन देखिएको छैन ।

यस्तै अवस्थामा हुनुहुन्छ कांग्रेस सभापति देउवा । आफ्नो जवानीको प्रारम्भदेखि नै सुदूरपश्चिममा कांग्रेसको राजनीति ‘खेल्दै’ लामो समय संघर्षमय जीवन बिताउनुभएका देउवाको यो वाणी उदेकलाग्दो थियो । तीस वर्ष लामो सक्रिय राजतन्त्रपछि, २०४६ को जनआन्दोलनका शीर्ष नेताहरू बीचको कलहमा उहाँले कांग्रेसभित्र मध्यमार्गी धारको नेतृत्व गर्ने मौका पाउनुभएको थियो । पहिलो निर्वाचित प्रधानमन्त्रीका रूपमा गिरिजाप्रसाद कोइरालाले अकस्मात् गराउनुभएको मध्यावधि निर्वाचनमा कांग्रेसको पराजयपछिको समयमा, न्यायिक र संसदीय जोड–घटाउ मिलाएर देउवा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । त्यसपछि पटक पटक प्रधानमन्त्री हुनुभएका देउवा अहिले ‘प्रतीक्षारत’ प्रधानमन्त्रीका रूपमा ‘सत्ताको साँचो’ कुरेर बस्नुभएको छ । 

उहाँलाई स्पष्ट थाहा छ– हामीभन्दा केही अघि वा केही पछि, हामी जस्तै अविकसित रहेका कतिपय देशहरूले आफ्नो आर्थिक र सामाजिक जीवनमा व्यापक परिवर्तन ल्याइसक्दा पनि हामी किन जहाँको तहीं छौं ? हामी कसरी मानिस निर्यात गर्नुपर्ने नियतिमा पुग्यौं ? यसको व्याख्या अलिकति तितो र अलिकति टर्रो हुनेछ । शब्द र कुशब्दहरूको जञ्जालले आकाश ढाकिएको अहिलेको समयमा यो प्रश्नको उत्तर खोज्नु समीचिन हुने छैन । कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीका रूपमा निर्दलीय व्यवस्थामा विश्वास गर्ने पञ्चदेखि देशमा सशस्त्र आन्दोलनका माध्यमले परिवर्तनको ठूलो आँधीबेहरी ल्याउने माओवादीसम्म, सबैसँग मिलेर काम गरिसक्नुभएको छ । नेपालमा प्रतिस्पर्धात्मक राजनीति सुरु भएदेखि अहिलेसम्म, सभापति देउवाले जति अवसर अरू कुनै पनि पार्टीका नेताले पाएका छैनन् ।

तर, लाजमर्दो कुरा के भने, आमूल परिवर्तनको दुई दशकपछि आएर देउवा भन्दै हुनुहुन्छ– हामीसँग मानिसबाहेक निर्यात गर्ने अरू केही छैन । यो लाचार भनाइको एउटा मुख्य कारण उहाँ र उहाँका समकालीन दुई नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै हुनुहुन्छ ।

देशमा संसदीय लोकतन्त्रको प्रारम्भ हुनुभन्दा पहिलेदेखि नै विकासका नाराहरू घन्किन थालेका हुन् । त्यो बेला देशको सन्तुलित विकासका लागि राजाको सदिच्छाअनुसारका योजनाहरू बन्ने र बिग्रिने गर्दथे । विभिन्न जिल्लामा एक्लाएक्लै र संयुक्त रूपमा एकीकृत विकास आयोजनाको घोषणा हुने गर्दथ्यो । राजा स्वयं ती विकास आयोजनाको निरीक्षणका लागि क्षेत्रीय भ्रमणहरूमा जाने गर्दथे । ती राजकीय भ्रमणहरूको खासै औचित्य देखिँदैनथ्यो । राजाबाट बक्स भएका ‘निर्देशन’ अलपत्र पल्टिने गर्दथे । देश गरिबको गरिब नै थियो । आफ्नो क्षुद्र स्वार्थहरूको पोषणमा लागेका कर्मचारीहरू कश्मीरबाट स्याउ किनेर ल्याउँथे र ‘जुम्लामा फलेका स्याउ’ भनेर राजालाई टक्य्राउँथे ।

राजा वीरेन्द्रले यो कुरा नबुझेका थिएनन् । तर, उनले पनि गर्न सक्ने केही थिएन । व्यक्तिगत हिसाबले यसबाट राजा वीरेन्द्रले एउटैमात्र लाभ हासिल गरेका थिए । उनको चयन पेरिसमा आयोजित अतिकम विकसित राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलनको अध्यक्षका रूपमा भयो । उनी गरिब देशहरूको सर्वोच्च नेताका रूपमा स्थापित भएपछि नेपालीहरूको मान–सम्मान नबढ्ने त कुरै थिएन । सबभन्दा अनौठो कुरा, राजा वीरेन्द्रका पालामा सुरु भएका विकासको ‘डोब’ अहिले कतै देखिँदैन ।

विगत दशकहरूमा नेपालमा उपल्लो वर्गको एलिटको जस्तो कुलीनतन्त्रको हिसाबले, शासन चलिरहेको छ । यो गलत शैली हो भन्ने अनुभूति हाम्रो नेतृत्व वर्गमा आजसम्म पनि आएको छैन । जनताले चाहेको जस्तो देशमा नयाँ किसिमको आर्थिक, राजनीतिक पद्धति चाहिएको छ । गाउँलाई पहिलो प्राथमिकता दिनुपर्छ । संसदीय लोकतन्त्रको स्थापनापछि नेपालमा ‘विकासको लहर’ फैलिएको पनि हो । तर, उदार अर्थतन्त्र र निजीकरणको नीति लागू भएपछि फैलिएको विकास र पुनर्निर्माणको लहर अहिले चिरस्थायी रहन सकेन । त्यो विकास अहिले शिथिल भएको छ । उतिबेला जनताको सुविधाका नाममा खुलेका नयाँ बाटा–घाटा सम्भारको अभावमा कचल्टिएर बसेका छन् । पानी पँधेरा भत्किएका छन् । सरकारले जनतालाई नुन–तेलसम्म पनि भरथेग गर्न सकेको छैन । 

आकारले चिटिक्क परेको सानो, प्राकृतिक हिसाबले रमाइलो, सगरमाथाको शिखरका रूपमा रहेको देश अहिले हरेक हिसाबले अस्तव्यस्त रहेको छ । विकास बजेटको व्यापक दुरुपयोग भएको समाचारको कुनै अभाव छैन । तर, विकास कहाँ भएको छ र कहाँ पुगेर अलमलिएको छ ? सभापति देउवा र उहाँको पार्टीले त्यसको समीक्षा गर्न भ्याएका छैनन् । धेरै पर जानु पर्दैन, देउवाले आफू प्रधानमन्त्री भएका बेला सुरु भएको महाकाली योजना अहिले कुन हैसियतमा रहेको छ ? त्यसैको विवेचना गरेर मनन गरे पुग्छ । जलस्रोतको धनी भनेर कहलिएको देशका अधिकांश भागमा अहिले पनि ‘उज्यालो’ र ‘खानेपानी’ जनता भुलाउने नारा मात्र बनेको छ ।

यो सत्य हो, जलस्रोतको धनी भनेर कहलिएका हामी नेपालीहरू गरिबीको जाँतोमा पिसिएका छौं । कामका लागि नयाँ नयाँ गन्तव्यको खोजीमा रहेका हाम्रा युवा जनशक्तिले पाएको दुःख र वेदनाको आर्तनाद जताततै गुन्जिइरहेको छ । विकासका काममा भ्रष्टाचार र बेइमानी त निरन्तर छँदै छ । अहिले चलेको ‘मानव निर्यात व्यवसाय’ सरकार चलाउनेहरूका लागि धन कमाउने अर्को दह्रो स्रोत बनेको छ । आफूलाई ‘स्थायी सरकार’ बताउने कर्मचारीतन्त्रको लपेटमा परेका छन नेताहरू । सनातन संस्कृतिको यो वाणी ‘धनात् धर्मः ततो सुखम’ नेता र बिचौलिया दुवैको नित्य बन्दना बनेको छ । 

देश विकासका लागि हाम्रा नेताहरू नयाँ नयाँ सपना बुन्न व्यस्त छन् । कांग्रेसको लोकतान्त्रिक समाजवाद, एमालेको बहुदलीय जनवाद र माओवादीको जनवादी समाजवादका सिद्धान्तहरू अस्तव्यस्त भएका छन् । ती नाराहरूले अहिलेका तीन प्रमुख नेता तथा शासक– देउवा, ओली र दाहाल, आफ्नो असक्षमताको भारी बोक्न तयार देखिएका छैनन् । नेतृत्व पंक्तिमा उभिएका नयाँ नेताहरू सामाजिक सञ्जालले परिवर्तन ल्याउने उत्साहमा डुबेका छन् ।

शेरबहादुर देउवाले २०४६ सालको परिवर्तनदेखि आजसम्म सांसद भएर, सरकार प्रमुख भएर, प्रतिपक्षमा बसेर, सरकारको विरोध गरेर, आफ्नो भोट नपुग्दा अरूसँग हात मिलाएर, जसरी तसरी सरकारको निर्माण र विनिर्माण गर्दै आउनुभएको छ । देशमा संवैधानिक प्रजातन्त्रको पुनर्बहालीपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्नुभयो । त्यसपछि पालैपालो गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, फेरि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला, फेरि शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई सबै नेतृत्वको तहमा आइसक्नुभयो । तर परिवर्तन ? परिवर्तन त केही भएको देखिएको छैन । देश उही छ, मान्छेमा आस र त्रास उस्तै छ । हाल प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । परिवर्तनहरू त भएका छन् । तर, यत्रो ठूलो युगान्तकारी परिवर्तनपछि आएको सरकारका गृहमन्त्री संसद्को रोस्ट्रममा उभिएर आफूलाई आफैं शुद्ध तुल्याउन खोज्दछन् ।

यो अवस्थामा कांग्रेस सभापति देउवाले मात्र होइन, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले पनि आफ्ना कार्यकर्ताहरूसँग विचार–विमर्श गरेर पाइला चलाउनुपर्दछ । अहिलेको पुस्ता परम्पराको अवलम्बन गर्ने नेतृत्व होइन, नयाँ विचार र नयाँ मान्यताअनुरूप काम गर्ने नेतृत्वको खोजीमा छन् । आफ्ना कार्यकर्तालाई खेताला सम्झिने र म नै सर्वोपरि सत्य हुँ भन्ने भ्रम पालेर रमाउने नेताहरू आफैं बढारिन्छन् । यो सत्यलाई कसैले झूटो सावित गर्न सक्दैन ।

किशोर किशोर नेपाल वरिष्ठ पत्रकार हुन् । उनी साहित्यका अलवा राजनीति र समाजका विविध आयामबारे लेख्छन् । उनको ‘मेरो समय’, ‘मिडिया:सिद्धान्त, सूत्र र प्रयोग’, ‘नेपालका निधि’ जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully