जलवायु परिवर्तनको भूराजनीतिक आँधीबेहरी 

वर्तमान मानवजाति जलवायु परिवर्तनको चपेटामा पर्नुको अहं कारण आफैंले विकास गरेको प्रविधिले हो । सोको समाधान पनि आफैंले भविष्यमा गर्ने अविष्कार र अनुसन्धानमा निर्भर गर्दछ ।

जेष्ठ २८, २०८२

डा. कृष्णप्रसाद ओली

The geopolitical storm of climate change

वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा थुपि्रँदै जाँदा पृथ्वीमा जलवायु परिवर्तनको प्रकोप रोक्न झन् गाह्रो हुँदै गएको छ । यसले गर्दा पृथ्वीको सालाखाला तापक्रमको महत्त्वपूर्ण सीमा नाघी महासंकट निम्तिँदै छ । उदाहरणका लागि पृथ्वीको औसत तापक्रम ३ सेन्टिग्रेड डिग्री वा सोभन्दा बढी पुगेमा त्यसले ‘पुनरावृत्ति चक्र’ निर्माण गर्छ ।

जसकारण पुनः सो चक्रको प्रभाव कम गर्न वा घटाउन एकदमै गाह्रो हुन्छ । त्यसका परिणामहरू भौतिक प्रभावभन्दा पर पुगी सिधै सामाजिक–आर्थिक क्षेत्रमा अवरोध पर्‍याउनुका साथै विश्व अस्थिरता र द्वन्द्वतिर धकेलिने सम्भावना बढी हुन्छ । जसको प्रभाव राजनैतिक निर्णय र भू–राजनीतिमा पर्छ । यस्तो अवस्थाले जलवायु परिवर्तनको मुद्दा कुन दिशातिर धकेलिन्छ भन्न गाह्रो छ ।

वर्तमान विश्व भू–राजनीति नकारात्मक जलवायु परिवर्तनको प्रभाव नियन्त्रण गर्न कति सहयोगी हुन्छ, निश्चित भन्न गाह्रो छ । यस्तो खतराको घण्टी बजेको वा बज्ने बेलामा देशहरू एक्लै पनि जलवायुको प्रभावबाट बच्न आफ्नै कार्यक्रमहरू बनाउनुका साथै कार्बन उत्सर्जन न्यूनीकरणका विविध उपायहरू अपनाउन सक्छन् । जलवायु परिवर्तन उत्कर्समा पुग्न लाग्दा आउन सक्ने सम्भावित भू–राजनीतिक प्रभावबाट बच्न अन्तर्राष्ट्रिय संस्थाहरूले तयारी गर्नुपर्ने देखिन्छ ।

जलवायु परिवर्तनको मुद्दालाई हालसम्म विश्वका सरकारहरूले भावी सन्ततिको चिन्ताका रूपमा लिएका छन् । त्यसकारण ‘जलवायु परिवर्तनको भू–राजनीति नयाँ अर्थव्यवस्था कायम गर्न मौका खोज्ने, कम कार्बन ऊर्जाको बजार खोज्ने र सोलाई धान्ने प्रविधिको खोजी र विकास, सोका लागि चाहिने सरसामान र स्रोतको पहुँचको सुनिश्चितता गर्ने तथा ऊर्जा रूपान्तरण गर्दा आउने सम्भावित खतरा र त्यसमा हुने आर्थिक भारतिर मात्र ध्यान गएको छ । 

वर्तमान अवस्था हेर्दा जलवायु परिवर्तनको सोचेभन्दा बढी प्रभाव पारेको देखिन्छ । उदाहरणका लागि, हालै भए र गरेका शोधहरूले यस्तो चेतावनी दिएका छन् । आईपीसीसीले तय गरेको २ डिग्रीमुनिको औसत तापक्रम रहने कुरा पूर्णरूपमा उल्लंघन हुन लागेको छ । त्यसको फलस्वरूप ग्रिनल्यान्डको हिमतह १९९० को तुलनामा ६ गुना बढीले पग्लिइरहेको छ ।

यसैगरी, हाम्रो हिमालय र तेस्रो ध्रुवमा पनि यस्तै प्रभाव परिरहेको छ । हिमनदीहरू पग्लिइरहेका छन् । यी र यस्ता भौतिक प्रक्रियाहरू अपरिवर्तनीय छन् । जसका कारण सम्पूर्ण क्षेत्रीय भूपरिधिमा नै परिवर्तन आई आन्ध्र महासागरको ‘एटलान्टिक मेरिडिलन ओभरटर्निङ सर्कुलेसन’ मा नै प्रभाव पर्न गएको अध्ययनहरूले देखाएका छन् । यो त्यस्तो सामुद्रिक पद्धति हो, जसले विशाल समुद्रका धारहरूबाट तातोपानीलाई महासागरको उत्तरी भागमा लैजाने काम गर्छ, सो कार्यमा कमी हुँदै आएको छ । 

यसले गर्दा समुद्रको तापक्रम र कार्बन भण्डारण गर्ने क्षमातामा कमी हुनुका साथै दक्षिणी गोलार्द्धमा वर्षा हुने क्रममा नकारात्मक प्रभाव पारेको पाइएको छ । यसरी जलवायु परिवर्तनको प्रभाव अत्यधिक खराब हुँदै जाँदा जलवायुसँग अन्तरसम्बन्धित भू–राजनीति अप्रत्याशित तरिकाबाट सकारात्मक रूपमा परिवर्तन हुन सक्छ । फलतः यस्ता घटनाहरूको महत्त्वपूर्ण पाटोचाहिँ वर्तमान विश्वमा भइरहेको ‘जीवाश्म इन्धन उत्पादन, प्रशोधन र प्रसारण र तिनको संरक्षण र सम्वर्द्धन कम हुन गई, कार्बन उत्सर्जनमा कटौती भई सम्भावित घोर भौतिक संकटहरू कम हुन जाने छन् ।

त्यसले विश्व राजनीतिमा नै प्रभाव पार्न गई ठूलो मात्रामा जलवायु परिवर्तनको प्रभाव रोक्न प्रभावकारी सहयोग र समन्वय हुन्छ । साथै, राष्ट्रहरूबीच उनीहरूले गरेका कार्बन उत्सर्जन कम गर्न र ‘कार्बन तटस्थता’ तिर जान जिम्मेवार ढंगले लाग्छन् । फलतः कार्बन उत्सर्जनबाट हुने र भइरहेको जलवायु परिवर्तनलाई सम्बोधन गर्न अझ गहकिलो किसिमले शोधकार्यहरू राष्ट्रहरूले अगाडि बढाउनेछन् ।

उदाहारणका लागि, वायुमण्डलमा थुप्रिएको कार्बनडाइअक्साइड हटाउन अथवा कार्बन उत्सर्जन कम वा बन्द गर्ने प्रविधिको विकास र विस्तार, हाल सुरु भएका भू–इन्जिनियरिङ प्रविधिमा लगानी, सौर्य विकीरण व्यवस्थापन इत्यादि कार्यहरू प्रभावकारी रूपले अगाडि बढ्नेछन् ।

वर्तमान मानवजाति जलवायु परिवर्तनको चपेटामा पर्नुको अहं कारण आफैंले विकास गरेको प्रविधिले हो । सोको समाधान पनि आफैंले भविष्यमा गर्ने अविष्कार र अनुसन्धानमा निर्भर गर्दछ । कार्बन उत्सर्जन कम गर्न हालसम्म देखिएका २ वटा पद्धति छन् । एउटा प्रकृतिमा आधारित समाधान र अर्को कृत्रिम पद्धति । पहिलोअन्तर्गत वृक्षरोपण, पुनःवृक्षरोपण, सिमसार संरक्षण, मरुभूमीकरण रोक्ने र इकोसिस्टमको पुनर्भरण गर्ने पर्दछन् ।

कृत्रिम प्रविधिमा वायुमण्डलबाट सिक्दै कार्बन कब्जा गर्ने गरी भण्डारण गर्ने, जैविक ऊर्जाको विकास र भण्डारण, सौर्य, वायु, जल ऊर्जा इत्यादि हुन् । यीमध्ये प्रकृतिमा अधारित परिणाम सबैभन्दा राम्रो देखिएको छ । यसले रूखबिरुवाहरूबाट कार्बन कब्जा गर्ने र दुवै कार्बन न्यूनीकरण र अनुकूलनमा सहयोग गर्नुका साथै स्थानीय र अन्तर्राष्ट्रिय रूपमै फाइदा पुर्‍याउँछ ।

यो पद्धतिले कार्बनडाइअक्साइड सोस्ने र भण्डारण गर्नुका बाबजुद जैविक विविधतामा वृद्वि, स्थानीय सामाजिक र आर्थिक विकासमा सहयोग तथा जलीय चक्रमा स्थायित्व र दिगोपना दिन्छ । सिमसारको संरक्षणबाट तटीय क्षेत्रहरूको ‘इकोसिस्टम’ मा पुनरावृत्ति भई, जैविक विविधतामा वृद्विका साथै स्वस्थ माटोको निर्माण हुन गई जलचक्रमा पनि सकारात्मक प्रभाव पार्छ ।

कृत्रिम प्रविधि एउटा यस्तो रासायनिक प्रक्रिया हो, जसबाट वायुमण्डलमा बसेको कार्बनडाइअक्साइड निकालेर पृथ्वीमा भण्डारण गर्ने र अर्कोचाहिँ बोटबिरुवाहरू भष्म पार्ने र सोबाट उत्सर्जित कार्बन माटोमा भण्डारण गर्ने । यी प्रविधिहरू परिपक्व र सम्भावना बोकेका छन् र यिनको प्रयोग सुरु भइसकेको छ । भू–इन्जिनियरिङ, जसमा हरितगृह ग्यास उत्सर्जन कम गर्नुभन्दा सम्पूर्ण वातावरणमा नै परिवर्तन ल्याउने गरिन्छ । जस्तै : सन रेडिएसन म्यानेजमेन्ट ।

आकाशमा स–साना धूलाका कणहरू टुसाएर तापक्रम घटाउने, पृथ्वीको परावर्तन क्षमतामा वृद्वि गर्नुका साथै ‘स्पेस’ मा ठुल्ठूला प्रत्यावरणीय चिजहरू राखेर सूर्यको ताप आकाशतिरै फर्काउने, यसका साथै बादल र कुहिरोको सम्मिश्रणमा परिवर्तन ल्याई तापक्रम घटाउनेजस्ता प्रयास भइरहेका छन् । 

आजको भू–राजनीतिक अवस्था भनेको सहयोगभन्दा प्रतिस्पर्धामा बढी छ । जब जीवाश्म ऊर्जाको उत्खनन, प्रशोधन, प्रयोग र त्यसबाट लिने फाइदाको कुरा छ सबै शक्तिराष्ट्रहरू त्यसको पछि छन् । हालसम्म विकसित नवीन ऊर्जाको स्थायित्वका लागि पनि जीवाश्म ऊर्जाको प्रयोग भइरहेको छ । वैकल्पिक ऊर्जामा केही विकास भए पनि ‘जीवाश्म’ ऊर्जामा भू–राजनीतिको प्रभाव अहं छ ।

जलवायु परिवर्तनको प्रभावबाट विश्वमा विशाल मानवीय क्षति र भौतिक प्रलयकारी घटनाहरू घटिरहेका छन् । यसैगरी, जलवायु परिवर्तनको जोखिमबारे नवीनतम शोधहरू र तिनलाई सम्बोधन गर्ने प्रविधिहरूको पनि विकास भइरहेको छ । विकसित देशहरूमा ‘नेगेटिभ इमिसन टेक्नोलोजी, जियोइन्जिनियरिङजस्ता प्रविधिहरू जलवायु जोखिम न्यूनीकरणसम्बन्धी रणनीतिभित्र पार्न थालेका छन् ।

सबै प्रयासहरूका बाबजुद विश्वको सालाखाला तापक्रम २ डिग्रीमुनि राख्ने भनिए पनि अब भविष्यमा हुने र हुन सक्ने भयंकर जलवायु घटनाहरूले विश्वको क्षेत्रीय भू–राजनीतिलाई प्रभाव पार्न लागेको छ । त्यसका लागि विश्वमा दरिलो संस्थागत विकासको आवश्यकता छ । जसले विपद्कालीन अवस्थामा हुने भू–राजनीति र राष्ट्र–राष्ट्रबीच सहयोग र सहकार्य गर्न सक्षम र समन्वयात्मक भूमिका निर्वाह गरोस् ।

भविष्यमा जलवायु परिवर्तनको प्रकोप रोक्न कार्बन उत्सर्जन न्यून गर्ने कार्यमा बाहेक वायुमण्डलमा कार्बन वृद्वि हुने कुनै पनि कार्य राष्ट्रहरूले एक पक्षीय रूपमा गरेमा, त्यस्ता प्रवृत्तिले अरू देशहरू र उनीहरूका राष्ट्रिय स्वार्थ र उद्देश्यमा आघात पार्दछन् । त्यसकारण वर्तमानमा ऊर्जा रूपान्तरणका लागि स्वच्छ ऊर्जाका स्रोत र ऊर्जा उत्पादन तथा प्रयोगमा सुधार गर्न अपरिहार्य भएको छ । जति छिटो स्वच्छरहरित ऊर्जामा देशहरू जान्छन् उत्ति नै जलवायु परिवर्तनको प्रभावबाट हुन आउने भू–राजनीतिक संकट पनि कम हुँदै जानेछ ।

–ओली चीनका लागि नेपाली राजदूत तथा वातावरणविद् हुन् । 

डा. राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वअध्यक्ष ओली चीनका लागि नेपाली राजदूत हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा वातावरण विज्ञका रुपमा काम गरेका थिए ।

Link copied successfully