राष्ट्रपति भइसकेको व्यक्ति दलीय राजनीतिमा सक्रिय हुन मिल्ने कि नमिल्ने भन्ने किटान गरेको छ कि छैन भनेर संविधानका पृष्ठहरू पल्टाउनुभन्दा यो नैतिकताको प्रश्न हो ।
काठमाडौं अझै पनि शक्ति संघर्षको नाभिस्थल हो । सिद्धान्त र व्यवहारमा तीव्र स्खलन नेपाली राजनीतिकै एक हिस्सा बनिसकेको छ । त्यसैले सत्तावृत्तमा जुन कथ्य प्रसारित गरिएको हुन्छ, यथार्थ त्योभन्दा भिन्न हुन सक्छ । जे बोलिएको हुन्छ, त्यो गरिएको हुन्न ।
जे भित्र–भित्र गरिएको हुन्छ, त्यो बोलिएको हुन्न । राजनीतिक लाभहानिको जोड–घटाउबीच दल र नेताका द्वैध चरित्र उजागर हुँदै रहन्छ । यस्तोमा काठमाडौंलाई पत्याउन गाह्रो, नपत्याए सुख पनि नहुने ।
सम्भावनाहरूको खेल हो काठमाडौं । तर कुनै पनि सम्भावना स्थायी हुँदैनन् । त्यसैले काठमाडौं निरन्तर संघर्षको मैदान पनि हो । काठमाडौंका बारेमा यस्तो पनि सुनिने–सुनाइने गरिन्छ । कुनै बेला कसैको झोलाबाट शक्ति निस्किन्थ्यो भने कुनै बेला बाह्य शक्तिको गोजीबाट । तर झोला र गोजी दुवै संघर्ष नै हुन् । राजनीतिक शक्ति संघर्षमा जुन सरल देखिन्छ, प्रकारान्तरमा त्यो यस्तो राजनीतिक–ज्यामितिको सरल रेखा बनिदिन्छ जहाँ दुई बिन्दुबीचको दूरी सबभन्दा लामो हुन्छ ।
अवधि महाकाव्य रामचरित मानसमा एउटा प्रसंग छ । वनवास सकेर राम अयोध्या फर्किएका छन् । नगरवासीहरू उनको एक झलक पाउन अधीर छन् । रामले यो कुराको भेउ पाइहाल्छन् । भनिन्छ, त्यस उपरान्त उनी यस्तो यत्न गर्छन्, सबैलाई लागोस् कि राम प्रत्येक व्यक्तिलाई दर्शन दिइराखेका छन् । तुलसीदासले यही अवस्थाको वर्णन गर्दै लेखेका छन्, ‘अमित रूप प्रकटे तेहि काला जथा जोग मिले सबहि कृपाला ।’ यो त लोकमानसमा व्याप्त रामकथा हो । तर राजनीतिको खेल मैदानमा एउटै पात्रले सबैलाई छकाउन सक्दैन । एक दिन मन्दगतिमै सही राजनीतिकर्मीले रोजेको गोरेटो उजागर भइहाल्छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्ताहरूसँग भेट्न एमालेसँग अनुमति लिनु नपर्ने स्पष्ट पारेकी छन् । उता एमालेका शक्तिशाली अध्यक्ष एवं गठबन्धनका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले बाहिरबाट दलभित्र ढुंगा हान्ने कोसिसप्रति असहमति राखेका छन् । कतिपयलाई लाग्छ, ओली र भण्डारीको अहिलेको अवस्थिति त्यस्तो सरल रेखाका रूपमा छन् जहाँ दुई बिन्दुबीचको दूरी लामो छ । एमाले राजनीतिमा विद्याको सक्रियतालाई अझै पनि जटिल पहेलीका रूपमा बुझ्नेहरू कम छैनन् । मौजुदा प्रधानमन्त्रीको पूर्वराष्ट्रपतिको दलीय राजनीति प्रवेशबारे भित्री मनसाय के छ ? उनीबाहेक अरू कसले अर्थ्याउन सक्छ ?
गणतन्त्रले आफ्नो राष्ट्रपतिका लागि बहुविध लगानी गर्दछ । राष्ट्रपति बन्न पुगेका व्यक्ति र संस्थालाई राज्यसँग प्राप्त हुन आएको तथ्यजाँचसहितको सूचना, राजकीय गोपनीयता, सैन्य सामर्थ्यबाट परिचय, व्यक्तित्व निखार्न सर्वोत्तम प्रबन्ध, निरोगिताका लागि बहुविकल्पी व्यय अर्पित गर्दछ । यसो गर्नुका पछाडि केही विशिष्ट लक्ष्य हुन्छ । जनताका जोकोही सन्तति जब राष्ट्राध्यक्ष बन्न पुगेका हुन्छन्, तिनबाट निर्धारित कार्यकालमा उच्चतम सेवा राष्ट्रले प्राप्त गर्न सकोस् । निवृत्तपश्चात् सबैलाई जोड्ने साझा विरासत लिएर देखिऊन् भन्ने अपेक्षा हुन्छ । यो राष्ट्रपति संस्थासँग जोडिएर आउने युगधर्म हो । शीतलनिवास मुलुकको प्रगतिका लागि बुद्धिमता, अखण्डता र प्रतिबद्धताको प्रतीक बन्नुपर्ने गणतान्त्रिक भरोसा हो ।
राष्ट्रपतिबाट निवृत्तपश्चात् सुरक्षा, भरणपोषण, सचिवालय निर्माण, उपचारजस्ता पक्षलाई ध्यानमा राखिनुका पछाडि पनि यिनै मनसाय हुन् । कोही राष्ट्रपति बनेपछि ग्रहण गरेका अनुभव, प्राप्त पहिचान र गुरुत्व, अनुशीलन गरेका विरासत, विविधतायुक्त समाजबाट आर्जिएको स्विकार्यता आदि ती व्यक्तिका निजी सामर्थ्यजस्तो देखिए पनि मूलतः त्यो उपलब्ध हुन आएको राष्ट्रिय मानवीय पुँजी हो । गणतन्त्र मिथ्या अन्धविश्वासमा टिक्दैन । यो तर्क, तथ्य, संवाद, समझदारी र संवैधानिकताबाट चल्छ । तसर्थ निवृत्त राष्ट्रप्रमुखबाट आम नागरिकले केही मूल्य–मान्यताको आस गर्नु बेठीक होइन ।
राष्ट्रपति भइसकेको व्यक्ति दलीय राजनीतिमा सक्रिय हुन मिल्ने कि नमिल्ने भन्ने किटान गरेको छ कि छैन भनेर संविधानका पृष्ठहरू पल्टाउनुभन्दा यो नैतिकताको प्रश्न हो । केही अघि उपराष्ट्रपति भइसकेका व्यक्ति फर्किएर दलीय चक्रव्यूहका विनयी योद्धा बनिसकेकै छन् । कसैले रोक्न सकेन ? कतै छेकवार लागेन ? राज्य प्रदत्त सेवा सुविधा लिन छाडे भन्ने तर्क तेर्सिएला । राजनीति गर्नेहरू सोझो बाटो हिँड्दैनन् । बांगोटिंगो, तलमाथि हिँड्नुलाई छलाङ लगाए भनेर व्याख्या गरिन्छ । पूर्वउपराष्ट्रपतिको दलीय राजनीतिको अवतार अचानक भएको होइन । वैयक्तिक रोजाइको पनि एक मर्यादा हुन्छ ।
फेरि फर्कौं विद्या भण्डारीतर्फ । उनले भर्खरैको चीन यात्रामा आफूलाई एमाले गणका रूपमा उभ्याइन् । यतिखेर खड्गप्रसादको भृकुटी संकेतबिना एमालेभित्र पात पनि हल्लिँदैन । यस्तोमा पूर्वराष्ट्रपतिको सवारीमन्त्रीका रूपमा मन्त्रीमण्डलका एक एमाले सदस्यलाई पठाइयो । उसो त अहिले एकअर्कालाई शिष्ट झटारो हानिँदै छ । भण्डारी राज्यको सर्वोच्च पदमा केवल जननेता मदन भण्डारीको उत्तराधिकारको बर्को ओढेर पुगेकी होइनन् । जगजाहेर छ, यो एमालेका सर्वोच्च सेनापति खड्गप्रसादको दृढ निश्चयको परिणाम थियो । स्वाभाविक तवरमा त्यो पदमा उक्लिने पालो दलित नेता रामप्रित पासवानको थियो । तर दलभित्रको मत्स्य न्यायले विद्या भण्डारीको आरोहणले इतिहास रच्यो । एमालेको आन्तरिक जीवनमा खड्गप्रसाद–विद्या यी दुईको पछिल्ला दशकहरूमा अविचलन सहयात्रामा अनेकौं कीर्तिमान रचिएको छ ।
भण्डारीको राजनीतिक सक्रियतालाई कतिपयले एमालेका बहालवाला दलपतिको प्लान बी भनेर व्याख्या गर्छन् । आउँदो विधान अधिवेशनबाट उमेरको हदम्यादसम्बन्धी तगारोलाई निफन्ने । स्वास्थ्य अनुकूलता रहिरहे फेरि एमालेको लगाम लिने । अहिलेको अवस्थामा अर्को भीम रावल बन्न कोही तयार छैन । अहिलेदेखि नै समयको पदचाप बुझी झ्याली पिट्नेहरू आ–आफ्नो शैलीमा रचनात्मकता देखाउन थालिसके । अर्को थरीले माधव नेपालको तेजोवध गरेपश्चात् वाम एकताको अमूर्त मार्गचित्रका नाममा विद्या भण्डारीको एमालेभित्र पुनरोदय हुने दाबी गर्छन् । एमालेभित्रका एकसे एक योद्धाहरू निःसर्त गोलबन्द हुने ‘साझा छहारी, विद्या भण्डारी’ नै नियति स्वीकार गर्लान् । स्थापित नेतृत्वलाई यदाकदा आफैंले तानेर माथि ल्याएका पात्रबाट खतरा हुन थाल्छ, त्यस्तोमा दन्तबझान भावी युद्धघोषको सूचक पनि हुन सक्ने विश्लेषण गर्नेहरू काठमाडौंको सत्ता करिडोरमा कम छैनन् ।
कहिले आफू एमालेसँग अभिन्न रहेको बताउने त कहिले सो पार्टीका कार्यकर्तालाई भेट्न कसैको इजाजत लिनु नपर्नेजस्ता वक्तव्य भण्डारीबाट आउँछ । यस्तोमा कैफी आजमीको एक गीति पंक्ति सान्दर्भिक छ, ‘मिलो न तुम तो हम घबराए, मिले तो आंख चुराए, हमें क्या हो गया है ।’ आजको दिनमा एमाले र भण्डारीको सम्बन्ध के छ ? यो केवल कुनै अमूक दलभित्रको आन्तरिक विषय हुन सक्दैन । एमाले गणतन्त्र ल्याउने एक मुख्य पांग्रो हो, यो वर्तमान संविधान ल्याउने एक प्रमुख कर्ता हो । एमालेले मुलुकलाई आफूबाट दीक्षित एक राष्ट्रपति दिएको छ । तसर्थ एमालेले चाहेको र सोचेको के हो ?
अलमल केन्द्रित एमाले राजनीति अगाडि बढिरहँदा आशा गर्ने ठाउँ धेरै देखिन्न । समाजलाई चाहिने स्वायत्त स्थान यो पार्टीले आफ्नोतर्फबाट दिन सकेनन् भने प्रकारान्तरमा उनीहरू स्वयं त्यस प्रक्रियाको कोपभाजनमा पर्ने जोखिम हुन्छ । प्रत्येक पद, पात्र र पृष्ठभूमिकालाई आफ्नो दलीयकरणको झोला बोकाउने अभीष्ट राजनीतिक संस्कृतिकै रूप लिन थालेको छ । दलीयकरणले सार्वजनिक जीवनलाई पनि प्रभावित गरिरहेको छ । विद्याको एमालेमा सक्रियकरणले एक उकुसमुकुस बढाइरहेको छ । दुन्दुभी बजाउन तम्तयार एमालेगणले अब मुख फोर्नै पर्छ । सक्रियकरण र यसको आडमा हुर्किएको संरक्षणवादी राजनीतिक अभ्यास देखे–भोगे पनि यसबारे बोल्न एमाले जस्तो गणतन्त्रवादी पार्टीलाई के–कस्तो किसिमको त्रासले बाँधेको छ ?
विद्या भण्डारीले के गर्ने ? उनी कुन ‘वैचारिकी’ को निर्माणमा लागेकी हुन् ? उनी कुन मूल्य–मान्यतालाई स्थापित र संस्थागत गर्नका लागि वचनबद्ध छिन् ? एक बलियो वाम पार्टी, वाममय नेपाल र अन्ततः एक थान वामी संविधान ल्याउने सपना कसैले देख्न सक्छ । कसैले संयोजन गर्न सक्छ । आफूलाई समर्पित गर्न सक्छ । तर निर्मम भएर स्विकार्नुपर्छ, यो संवैधानिक प्रवाहले एक पूर्वराष्ट्रपतिको सक्रियताबाट हुने कल्पना पनि गर्न सक्दैन । खुलमखुला गणतन्त्रमाथि त्यसकै शपथ खाएका व्यक्तिबाट प्रहार हुँदा अन्य गणतन्त्र मान्ने राजनीतिक शक्तिहरूको यस्तो मौनता पक्कै पनि गतिशील नेपाली समाज निर्माणका लागि सहयोगी हुन्न । सिंगो देश, राज्य र समाजलाई दलीयकरण गर्न चाहने समूहको बोलवाला बढ्दै गएको समयमा कुनै ‘कम्फर्ट जोन’ मा उभिएर ‘सेलेक्टिभ एक्टिविज्म’ गर्न सकिँदैन । दल र विचारभन्दा माथि देशलाई मानेर अभिभावकत्व दिइसकेका पात्रले आफ्नो त्यो ओज, वजन विसर्जित गर्न थाल्नु भनेको कुनै अमूक पात्रको पतन मात्र हुँदै होइन । त्यसैले यहाँ भन्न खोजिएको छ, यो त गणतान्त्रिक समाजको वैचारिकी निर्माणको ‘नट–बोल्ट’ कहीँ न कहीँ खुकुलो भएकै छ ।
यतिखेर राजावादी कित्ताबाट तर्क उठेको छ, दल र विचारभन्दा माथि रहेका व्यक्ति केवल ‘राजा’ हुन् । त्यसैले फर्किए त राजा बेस । विद्या भण्डारीको अवैचारिकीले राजावादी तर्कलाई पोषित गरिरहेको छ । गणतन्त्र मन पराउने जनताको अपेक्षालाई, तिनको भावनालाई आघात पुर्याइरहेको अवस्थालाई उनले कसरी लिने ? यो त त्यो उच्च आसनमा बसिसकेको व्यक्तिले आफैं देखाउनुपर्ने परिपक्वता किन उभार लिन नसकेको होला ? संस्थाहरूको निर्माण, त्यसको स्विकार्यता र निरन्तरता एक दिनमा विकसित हुँदैन, स–साना डेगहरूले नै कालान्तरमा अनुकरणीय परम्परा बसाउँछ । भण्डारी राजनीतिमा फर्किने कुरा नियम–कानुनको कोणबाट मात्रै हेर्ने विषय हुँदै होइन । गणतन्त्र त एक कोरिएको रेखालाई केरमेट नगरी स्वयंद्वारा एक उन्नत मानकको रेखा कोर्नु हो । राष्ट्रपति पद र संस्था निरपेक्ष हुन्छ, यो दल, क्षेत्र, भूगोलभन्दा देशको हुन्छ, सबैको हुन्छ । सामाजिक सेवाका क्षेत्रमा प्रशस्त काम गर्ने अवसर छँदै छ । एक पूर्वराष्ट्रपतिका लागि, त्यहाँ आफूले आर्जन गरेको सामाजिक पुँजीको प्रयोग गरे हुन्छ नि । म्याडम ! दलको हुने कि देशको ?
