सत्तामा पुग्नबाहेक अरू कुरामा रुचि नहुने, निहित स्वार्थपूर्तिका लागि जो–जससँग पनि जस्तोसुकै सम्झौता हुने तर मुलुक बनाउन, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न पटक्कै मिल्न नसक्ने संस्कार हुनु वर्तमान वा भाबी पुस्ता, कसैको पनि हितमा हुँदैन
योजना आयोगले तोकेको रकमको सीमा (सिलिङ) भन्दा थोरै कम गरी अर्थमन्त्रीले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेका छन् । यो चालु आर्थिक वर्षको बजेटको दाँजोमा १ खर्ब ३ अर्ब ८१ करोडले बढी छ । पूर्ववर्ती सरकारले चालु आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएकामा राजस्व संकलन कम र खर्च गर्न नसकेका कारण १ खर्ब २५ अर्बले घटाएको थियो । यसलाई हेर्दा यस आवको दाँजोमा आगामी आवका लागि साधारण खर्च केही घटेको र पुँजीगत तथा वित्तीय व्यवस्थापन खर्च बढेको देखिन्छ ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन र तेस्रो ठूलो अर्थतन्त्रउन्मुख भारत दुई छिमेकीको आर्थिक प्रगतिबाट नेपालले व्यावहारिक अनुभव लिनु आवश्यक हुन्छ । निजी क्षेत्रलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने, मुलुकलाई कृषिप्रधान मात्रै होइन, प्रविधिप्रधान पनि बनाउन सकिने सोच विस्तार भइरहेका बेला सूचना प्रविधिलाई प्रोत्साहन गर्ने, स्टार्टअप व्यवसायलाई प्राथमिकता दिनेजस्ता प्रावधान राम्रा छन् । तर खुद्रा–मसिना कुराले वाञ्छित फड्को मार्न सक्दैन ।
४ हजार ६ सय ५४ वटा सम्भाव्यता नभएका विकास आयोजनाहरू घटाइनु स्वागतयोग्य छ । तर ३ करोडका योजना मात्र राख्ने कुरा बजेटमा मात्र सीमित रह्यो । पाँच महिनाअघि सरकारले लागू गरेको चारपांग्रे नयाँ गाडी नकिन्ने मापदण्ड उल्लंघन भएको छ । तीन महिनाअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सार्वजनिक खर्च पुनरावलोकन आयोगका सुझाव कार्यान्वयन गर्न र अनुत्पादक तथा चालु प्रकृतिका खर्च कटौती गर्न सुझाएको थियो । तर यस बजेटले यी सबै सुझाव, मापदण्ड, महालेखा परीक्षक कार्यालयका उल्लेखित कैफियत र सिंहदरबार परिसरमै करिब ६ सय गाडी मर्मत गरी चलाउन सकिने वास्तविकतालाई बेवास्ता गर्दै नयाँ गाडी खरिदका लागि साढे दुई अर्ब रुपैयाँ राखेको छ । केन्द्रका ४० निकाय र मातहत कार्यालयका करिब २ हजार २ सय गाडी मर्मत गरी चलाउन सकिने वा लिलाम गर्नुपर्ने ठहर नगरी थुपारेर राखिएको छ । यसरी जनताले तिरेको करको दुरुपयोग भइरहेको छ ।
पुँजीगत खर्चतर्फ पहिलो पटक ४ खर्बभन्दा बढी (झन्डै २१ प्रतिशत) विनियोजन गर्नु सकारात्मक छ । तापनि विकास परियोजना आर्थिक वर्षको प्रारम्भमै सुरु गरिने, ठेक्कापट्टालगायत ‘प्रोक्योरमेन्ट’ का काम छिटो–छरितो किसिमले भई आर्थिक वर्षको अन्त्यभित्र गुणस्तरका विकास परियोजना सम्पन्न हुने र विनियोजित रकम उत्पादनशील रूपले खर्च हुने, बजेटको अपेक्षा आजसम्मका दृष्टान्तले कार्यान्वयनको सम्भावना देखिन्न । ‘असारे विकास’ को नाम पाएको र अन्तिम चरणमा मनपरी रकमान्तर गर्दै वर्षको अन्त्यतिर हतार–हतारमा खर्च गर्ने परम्पराबाट मुलुक मुक्त हुन सकेन । विकास प्रशासन भ्रष्टमात्र छैन, अक्षम र खर्च गर्ने क्षमतारहित छ । तैपनि खर्च गर्ने क्षमता बढाउने संकल्प बजेटमा देखिन्न । तसर्थ पुँजीगत खर्च विनियोजित भएअनुरूप लक्षित कार्यमा सदुपयोग हुने आशा गर्न सकिँदैन । खर्च भइहाले पनि बजेटले लिएको ६ प्रतिशत आर्थिक वृद्धिदरको सम्भावना देखिन्न ।
यथास्थितिमा १३ खर्ब बढी राजस्व संकलन हुने न्यून सम्भावना छ । अर्थतन्त्रमा नसमेटिएको आर्थिक गतिविधिको हिस्सा, कुल गार्हस्थ्य उत्पादनको झन्डै ३८ प्रतिशत भनिन्छ । ‘करको दायरा फराकिलो बनाउने, कर कानुनमा समयानुकूल सुधार र सरलीकरण गरी स्वैच्छिक कर सहभागिता बढाउने’ उल्लेख छ, तर उपलब्धि हासिल हुने कसरी ? ‘अनौपचारिक अर्थतन्त्र’ (कालोधनको चलखेल) अनियन्त्रित रूपमा फस्टाउँदै आएको छ । यस्ता अवैध धन्दाले प्रश्रय पाउँदा बिचौलिया फस्टाएका छन्, राजस्व निर्धारणमा समेत बिचौलिया हाबी हुन्छन् भन्ने चर्चा भइरहन्छ । यसरी चलिरहेको अवैध धन्दालाई दृढतापूर्वक नियन्त्रण र करको दायराभित्र ल्याउन सकिन्न । भन्सार राजस्व मुलुकको कुल राजस्व संकलनसरह भएकाले हाम्रो अर्थतन्त्र आयातमुखी छ । आगामी वर्षमा यो क्रम अझ बढ्नेछ ।
विकासको महत्त्वपूर्ण साधन रहेको, झन्डै ५४ अर्ब वैदेशिक अनुदान बजेटमा अपेक्षित छ । वर्तमान अमेरिकी नीति र बढ्दो सैन्य होडबाजीको परिस्थितिमा सो अनुरूपको अनुदान जुट्ने सम्भावना देखिन्न । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋण चुलिँदै गएको वर्तमान अवस्थामा आगामी वर्षको खर्च धान्न ५ खर्ब ९५ अर्ब ६६ करोड (वैदेशिक २ खर्ब ३३ अर्ब ६६ करोडभन्दा बढी र आन्तरिक ३ खर्ब ६२ अर्ब रुपैयाँ) ऋण थप्ने प्रस्ताव बजेटमा छ । अर्कातिर, नेपाल फाइनान्सियल एक्सन टास्कफोर्सको सघन निगरानी (ग्रे–लिस्ट) मा परेको र भ्रष्टाचारको सूचीमा माथि पर्दै गएको अवस्थामा छ । वैदेशिक ऋण लिएर पोखरा विमानस्थलजस्ता परियोजना रच्ने, कुल लागतको आधाभन्दा बढी हिस्सा भ्रष्टाचार गर्ने र दण्डहीनताको अवस्थाले अझ जटिलता थप्नेछ ।
भ्रष्टाचारका एकपछि अर्का झन्झन् ठूला काण्डहरू आइरहेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचारमा नेपाललाई दक्षिण एसियाकै अग्रणी मुलुकको दर्जामा राखेको छ । ६२ खर्बको अर्थतन्त्र रहेको मुलुकमा प्रतिवर्ष झन्डै १ खर्बले बेरुजु थपिएर १२ खर्बभन्दा माथि पुगेको छ । आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब जुटाउने अठोटले सरकारी खर्च बढ्ने र निजी क्षेत्रको लगानी संकुचन हुँदै जाने आर्थिक विसंगति, जसलाई अर्थशास्त्रीहरूले ‘क्राउडिङ आउट इफेक्ट’ भन्ने गर्छन् । उपलब्ध तरलताको ठूलो हिस्सा राज्यले उपभोग गरेपछि निजी क्षेत्र तरलता प्राप्त गर्न र उद्योग–धन्दा सञ्चालन गर्न विमुख हुनेछन् । आन्तरिक ऋणको प्रचलित औसत ब्याजदर ६.१४ प्रतिशत छ । वैदेशिक ऋणमा प्राय: १.१५ प्रतिशत मात्रै छ । यस (साँवा–ब्याज भुक्तानी) का निम्ति देशले विनियोजन गर्नुपर्ने रकम आकासिँदै जानेछ ।
विदेशी विनिमय सञ्चिति चुलिँदै गइरहेको छ । राजा मिदासको पौराणिक कथाझैं हामी ढुकुटी गणना गरेर अर्थतन्त्रमा आयात सुधार भन्दै आत्मरतिमा छौं कि ? उपलब्ध सञ्चितिलाई वित्तीय पुँजीका रूपमा परिचालन गर्ने, आर्थिक समृद्धि उच्च तह र स्तरीय लगानीको अवधारणाका आधारमा प्रतिफलमुखी लगानी गर्ने योजना बजेटमा उल्लेख हुनुपर्ने थियो ।
ग्रामीण नेपाल बस्तीविहीन र उजाड हुने क्रम बढ्दै छ । ‘समय गुजार्ने र काल पर्खिने’ उखानझैं वृद्धवृद्धाबाहेक नयाँपुस्ता वैदेशिक रोजगारीको लहरमा हराइरहेका छन् । मुलुकभित्रै सम्मानपूर्वक जीविकोपार्जन गर्न सकिन्छ भन्ने अनुभूति युवापुस्तामा पटक्कै छैन । राज्यबाट उनीहरूमा यस्तो भरोसा बढाउनुपर्ने अनिवार्यता छ । मुलुकको गति र प्रगतिका ऊर्जा भनिने युवाहरूलाई स्वदेश फर्काउने र मुलुकभित्रै रत्याउने आत्मसम्मानपूर्ण रोजगारीको सुनिश्चितता बजेटले दिनुपर्छ । ‘दुई वर्षमा धान उत्पादन र चामलमा आत्मनिर्भर बन्ने र कृषियोग्य जमिन बाँझो राख्न नपाउने’ जस्ता कार्यक्रम निर्विवाद र चुनौतीपूर्ण छन् । २१ प्रतिशत निरपेक्ष गरिबीको रेखामुनिका वञ्चित तथा सीमान्तीकृत, खासगरी ग्रामीण जनसमुदायलाई न्यूनतम आय र जीवनयापनका आधारभूत साधन जुटाउन सहजीकरण गर्ने, सामाजिक सुरक्षा र न्यायको प्राथमिकता नै समाजवादउन्मुख अर्थतन्त्र हो । गरिबीको महासागरमा कहीँकतै झुल्किने समृद्धिको टापु नै विकास होइन ।
बजेटमा ‘बेरोजगारी समस्या दिगो रूपमा समाधान गर्न श्रम बजारको मागअनुसार युवा जनशक्तिको सीप र दक्षता विकास गरिनेछ’ भन्ने लेखिएको छ । जनशक्तिको माग हुन कल–कारखाना खोलिनुपर्छ र यसका लागि निजी उद्यमीबाट भरपूर ऋणको माग हुनुपर्छ । निरन्तर घट्दो ब्याजदरका बावजुद बैंकहरूसँग ऋणयोग्य रकम थुप्रिँदै गएको छ । हामीले पछिल्ला पुस्तालाई कस्तो राजनीतिक, सामाजिक र आर्थिक संस्कार छाडेर जाने ? लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्ने तर विरोध वा आलोचना सहन नसक्ने, वैचारिक उत्कृष्टता र स्वस्थ प्रतिस्पर्धाको सट्टा अमर्यादित भाषा र स्थुल शक्तिलाई योग्यताको आधार बनाउने, मृतआत्माको शान्तिका लागि भइरहेको प्रार्थनासभामा ढुंगामुढा गर्ने, जनताको मन जित्नेभन्दा कब्जा र जालझेलमा जोड दिने हो भने सभ्य समाजले हाम्रो इतिहास कसरी लेख्ला ?
सहअस्तित्व र सहकार्यबिना मुलुक बन्न सक्दैन । सत्तामा पुग्नबाहेक अरू कुरामा रुचि नहुने, निहित स्वार्थपूर्तिका लागि जो–जससँग पनि जस्तोसुकै सम्झौता हुने तर मुलुक बनाउन, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न पटक्कै मिल्न नसक्ने संस्कार हुनु वर्तमान वा भावी पुस्ता, कसैको पनि हितमा हुँदैन । एउटै बजेटले मुलुकमा विद्यमान सारा समस्या, चुनौती र जटिलताको अन्त्य हुनुपर्छ भन्ने सोच गलत हुन्छ । तर बजेटले सही दिशा लिन र समाधानको बाटो समात्न सक्छ । अर्थतन्त्रको नेतृत्व लिनेको सबैभन्दा महत्त्वपूर्ण त्रिगुण अठोट, इच्छाशक्ति र इमानदारी हो । ‘कान पवित्र गर्न बजेट सुनाइएको होइन’ भन्ने अर्थमन्त्रीका प्रयासलाई सकारात्मक रूपमा लिँदै मुलुकको बिग्रँदो आर्थिक परिवेशमा प्रस्तुत विचार रचनात्मक सुझावको अर्थमा बुझेमा सही हुनेछ ।
