सौन्दर्य प्रतियोगिताले बदल्नुपर्ने धार 

सुन्दरता एक सामाजिक रूपमा निर्मित अवधारणा हो, जसले पितृसत्तात्मक शक्ति संरचनालाई सुदृढ पार्ने काम गर्छ

जेष्ठ २६, २०८२

सुशीला शर्मा

Beauty pageants have to change the trend

संस्कृति अनि पुँजीवादी उपभोक्ता संस्कृतिको घोर मिलन छ– अहिले विश्व बजारमा । यस्ता बजारमुखी संस्कृतिले बहुराष्ट्रिय कम्पनी या सौन्दर्य प्रशाधन कम्पनीले आफ्ना उत्पादनका साधन बिक्रीका लागि विशेषतः महिला लक्षित सौन्दर्य, फेसन कार्यक्रमको आयोजना गरिरहेका हुन्छन् ।

जो ती आयोजनामा सहभागी हुन्छन्, उनीहरूको त व्यक्तिगत छनोट र स्वतन्त्रताको कुरा होला तर सूचना र प्रविधिसँगै विकास भएका सामाजिक सञ्जालमार्फत गाउँ–सहर सबैतिर बस्ने निम्नवर्गीय, मध्यमवर्गीय सबै खालका बालिका, किशोरी, युवा महिला पनि ती सौन्दर्य प्रशाधन, फेसन र चमकधमकको दुनियाँमा आकर्षित भई नै हाल्छन् । 

अहिले व्यापक चर्चा भइरहेको ग्ल्यामर दुनियाँका बारेमा हेर्ने हो भने फिल्मी अभिनेत्रीहरूको कान्स फिल्म फेस्टिभलमा विशेष गरेर भारतीय अभिनेत्रीले लगाएका कपडा र गहनाको नै बढी चर्चा छ । कान्स फिल्म फेस्टिभलको चर्चासँगै अर्को चर्चा भनेको मिस वर्ल्डको हो ।

मिस वर्ल्डमा सहभागी एक बेलायती युवतीले भारतको हैदराबादमा भइरहेको उक्त प्रतियोगिता बीचमै छाडेको र प्रतियोगिता छोड्नुमा आफू लगायतका प्रतियोगीलाई आयोजकले प्रतियोगिताका लागि फन्ड उपलब्ध गराउने वयष्क पुरुषलाई खुसी बनाउनुपर्ने र आफूलाई सो कार्य गर्दा ‘वेश्या’ को फिलिङ भएको भन्ने समाचार आइरहेका छन् । 

हुन त मिस वर्ल्ड, मिस फलानो भन्ने जस्ता प्रतियोगिता पक्कै पनि उपभोक्तावादको नै एउटा नमुना हो, जहाँ महिला शरीर र सौन्दर्यलाई भरपूर उपयोग गरेर इच्छुक दर्शकलाई मनोरञ्जन गराइन्छ । यस्ता प्रतियोगितामा सम्बन्धित सुन्दरीले महिला शरीर र अनुहारमा विविध प्रशाधन लिपपोत गरेर आममहिलाभन्दा भिन्न भई सौन्दर्यका पारखी दर्शकसमक्ष प्रस्तुत हुनुपर्ने हुन्छ । 

ती बेलायती सुन्दरीले सौन्दर्य प्रतियोगिता र यौनकर्मी महिलाप्रतिको आफ्नो धारणा पनि सार्वजनिक गरेकी छन् । उनले भनेकी छन्, ‘भावनात्मक रूपले ती ‘वेश्या’ भनिएका महिलालाई चाहिँ कस्तो अनुभव हुँदो हो आफू संलग्न भएको पेसाप्रति या आफैंप्रति, जुन पेसाबाट उनीहरू जीवन गुजारा गरिरहेका छन् !’ 

आफ्ना खुसी, आफ्ना क्षमता सोकेश गर्ने स्वतन्त्रता महिलाको पनि स्वतन्त्रताभित्रै पर्छ । तर महिला स्वतन्त्रता र आफ्ना पेसा, रुचिहरू छनोट गरिरहँदा आफ्नो आत्मसम्मानमा चोट पर्‍यो भने, पेसा रुचिकर लागेन भने त्यसलाई छोड्नु, ती पेसा या प्रतियोगितामा भएका कमी–कमजोरी औंल्याउनु, खराब पाटोलाई सार्वजनिक गर्नु र त्यस्ता पेसा या प्रतियोगितालाई सही ट्र्याकमा ल्याउनु पनि एक जिम्मेवार महिलाको कर्तव्य हो । 

सौन्दर्य प्रतियोगिता, चलचित्र लगायतका फिल्डबाट केही सीमित महिलाले आफ्नो जीवनलाई आर्थिक प्राप्ति र नेमफेमले आलिसान जिन्दगी बिताइरहेको देखिए पनि अन्य प्रतियोगीको प्रतियोगितापछिको जिन्दगी गुमनाम नै रहन्छ । हुन त जुनसुकै प्रतियोगितामा जो सफल हुन्छन् या बनाइन्छन्, उनीहरूले नै पुरस्कार लिने हो । 

विभिन्न आन्दोलनमार्फत योगदान गरेकै कारण आजको समयमा महिला पनि देशको नागरिक हुन् भन्ने हैसियत राख्न पाएका छन् । अझै पनि कतिपय मुलुकमा युद्ध, संस्कार, धार्मिक पावन्दी आदिका कारण महिलाको हैसियत पूर्ण मानवका रूपमा चित्रित हुनै पाएको छैन । 

समाजवादी नारीवादीहरूले सौन्दर्य प्रतियोगीलाई आलोचनात्मक रूपमा हेर्छन् । उनीहरूको तर्क छ कि ती प्रतियोगिताले पितृसत्तात्मक मापदण्डलाई बलियो बनाउँछन् र महिलालाई वस्तुनिष्ठ बनाउँछन् । महिलालाई उनीहरूको शारीरिक रंगरूपलाई सीमित पार्ने, सौन्दर्य मापदण्ड लागू गर्ने, यस्ता मापदण्ड कहिलेकाहीँ महिलाको आत्मसम्मान र कल्याणका लागि हानिकारक पनि हुन सक्छन् । समाजवादी नारीवादीहरूले सौन्दर्य प्रतियोगितालाई पुँजीवादी प्रणालीसँग जोडेर विश्लेषण गर्छन् । 

सौन्दर्य प्रतियोगितामा महिला फेरि पनि वस्तुकरण र नियन्त्रणमा नै परेर पुरुषका लागि महिला भनेको सुन्दरी हुनु हो, ग्ल्यामरस हुनु हो भनेर अनुमोदन गराएको भान हुन्छ । महिला, युवतीलाई सुन्दरी हुन दिइएका मापदण्डले के सबै प्रकारका महिलालाई समेट्छ त ? अपांगता भएका महिला, किसान महिला, श्रमिक महिला, भिन्न रंगका महिला ती मान्यतामा पर्छन् ? मापदण्डका नाप नक्सामा नपरेका महिला यसमा समेटिन्छन् त ?

यस्ता सवाल पनि उठ्ने गर्छन्, सीमान्तीकृत, ती वर्गका महिलाहरू सुन्दर हुँदैनन् र ? के प्रतियोगितामा छानिएका या सहभागी भएका महिला मात्र संसारभरका महिलामध्येबाट ‘सुन्दर’ भएका हुन् ? यस्ता कैयौं सवाल यी सौन्दर्य प्रतियोगिताले उब्जाउने गर्छ । सुन्दरता एक सामाजिक रूपमा निर्मित अवधारणा हो, जसले पितृसत्तात्मक शक्ति संरचनालाई सुदृढ पार्ने काम गर्छ ।

पुँजीवाद र पितृसत्ता अनि उपभोक्तावादको अन्तरघुलनले संस्कृति र सभ्यताको सिम्बोलका रूपमा पनि महिलालाई नै ढाल बनाएर प्रस्तुत गरेको छ । उदाहरणका रूपमा हालसालैको इन्डिया–पाकिस्तान द्वन्द्वमा प्रयोग गरिएको ‘अपरेसन सिन्दुर’ अनि त्यसैलाई इन्डियाको महान् संस्कृति र विवाहित महिलाको बलियो सौन्दर्य प्रशाधनका रूपमा पूर्व विश्वसुन्दरी ऐश्वर्या रायले कान्स फिल्म फेस्टिभलमा सिउँदोमा सिन्दुर लगाएर उपस्थित भएकोलाई नै लिन सकिन्छ । महिलाको सौन्दर्यमा महिलामात्रैको संलग्नता छैन र यसमा एउटा संरचना नै हाबी भएको हुन्छ भन्ने यस्ता थुप्रै उदाहरण छन् । 

सौन्दर्य प्रतियोगिताहरू प्रायः सौन्दर्य र प्रतिभा प्रदर्शन गर्ने प्लेटफर्मका रूपमा प्रस्तुत गरिए पनि धेरैजसो प्रतियोगिता पुरुष दर्शकलाई आकर्षित गर्ने गरी डिजाइन गरिएका हुन्छन् । जहाँ प्रतियोगीहरूको शारीरिक आकर्षण र पुरुषको नजरलाई ध्यानमा राखेर उनीहरूले कसरी प्रदर्शन गर्छन् भन्ने आधारमा मूल्यांकन गरिन्छ । यस्ता सौन्दर्य प्रतियोगिताले महिलाको आकांक्षा र अवसरलाई बृहत् रूपमा खुल्न नदिई परम्परागत लैंगिक भूमिकालाई नै बढावा दिन्छन् ।

सौन्दर्य प्रतियोगिता एक विश्वव्यापी ट्रेन्ड नै बनिसकेको अवस्थामा यसमा हुने अवास्तविक सुन्दरताको मापदण्ड र वस्तुकरणको आलोचना महिलावादी दृष्टिकोणबाट पनि हुनुपर्ने जरुरी छ । महिलाको सौन्दर्य र यस्ता सौन्दर्य प्रतियोगिताका लागि हुने संरचनागत राजनीतिक दाउपेचबारे महिलाले नै बुझ्नु र परख गर्नुपर्ने हुन्छ । 

२१ औं शताब्दीका शिक्षित सौन्दर्य प्रतियोगी युवतीले हाल विश्वका ११ राष्ट्रमा भइरहेका आन्तरिक र बाह्य द्वन्द्व अनि युद्धहरूमा बिनागल्ती ज्यान गुमाइरहेका अबोध बालबालिका, महिला, भोकमरी र मानवताको विषयमा आफ्ना अवधारणा र आवाज पनि उठाउँछन् कि ? महिला सौन्दर्यलाई आयोजकहरूले ब्युटी विथ ब्रेन पनि भन्ने गरेका छन् । हेर्दै जाउँ महिला सौन्दर्य प्रतियोगिताको धार कतै परिवर्तन हुँदै जाला कि ! 

सुशीला शर्मा कान्तिपुरमा लैंगिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully