‘राइड सेयरिङ’ ले कमजोर बनाएको संघीयताको ‘राइट सेयरिङ’

संघीय सरकार स्वयं प्रदेश सरकारले ल्याएको नियमावली स्थगित गर्न सिन्डिकेट वा अन्य कुनै पक्षसँग सम्झौता गर्दै हिँड्छ भने प्रदेशले स्वीकार गर्ने कि नगर्ने ? गण्डकीको ‘राइड सेयरिङ’ प्रकरणले संघीयताको ‘राइट सेयरिङ’ (अधिकार बाँडफाँट) को मर्मलाई पनि कमजोर बनाएको छ ।

जेष्ठ २२, २०८२

सम्पादकीय

”Right sharing” of federalism weakened by ”ride sharing”

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार २०७४ मा आमनिर्वाचन सम्पन्न भएपछि तीन तहका सरकारले आ–आफ्नो अधिकार र जिम्मेवारी अभ्यास गर्दै आएका छन् । संघीयता भनेको तीन तहका सरकारले शासन गर्नु मात्र होइन, उनीहरूको क्षेत्रीय आवश्यकता र अधिकारअनुसार नीति निर्माण र कार्यान्वयन गर्ने स्वतन्त्रता पाउनु पनि हो ।

 तर, नेपालमा संघीय सरकारमा रहने मुख्य राजनीतिक दलको केन्द्रीकृत मानसिकता नबदलिएका कारण संघीयताकै मर्ममाथि बारम्बार प्रहार भइरहेको छ । पछिल्लो संस्करण हो– संघीय सरकारको हस्तक्षेपपछि गण्डकी प्रदेशले ल्याएको ‘राइड सेयरिङ’ नियमावली स्थगित हुनु । 

संविधानको भाग ५ को धारा ५६ देखि ६० सम्म राज्यको संरचना र राज्यशक्तिको बाँडफाँटसम्बन्धी स्पष्ट व्यवस्था छ । त्यहाँ संघ, प्रदेश र स्थानीय तीन तहको शासकीय सरंचनाको स्पष्ट विभाजन र अधिकारबारे उल्लेख छ । ती अधिकारलाई संविधानको अनुसूची–५ देखि ९ सम्म अझ स्पष्ट गरिएको छ ।

जसअनुसार कानुन र नीति निर्माण, कानुन कार्यान्वयनदेखि सार्वजनिक सेवा वितरणलगायतका क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहलाई स्वतन्त्र रूपमा काम गर्ने अधिकार छ । तर व्यवहारमा यी अधिकार प्रयोग गर्न अझै पनि प्रदेश र स्थानीय तहले पाएका छैनन् । काम गर्न खोज्दा कि त संघीय कानुन बाधक बनिरहेका छन्, कि संघीय सरकारको हस्तक्षेप भइरहेको छ ।

अहिले गण्डकी प्रदेशले आफ्नो प्रादेशिक आवश्यकताअनुसार सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित गर्न ‘राइड सेयरिङ’ सेवा नियमित गर्न चाहेको थियो । यसका लागि प्रदेशसभाले २०७६ मै बनाएको ऐनका आधारमा अहिले नियमावली जारी गरेको हो ।

संघीय सरकारले त यातायातसम्बन्धी कानुनसमेत ल्याउन सकेको छैन । प्रदेश सरकारले ल्याएको कानुन र नियमावलीको प्रतिरक्षा गर्नुको साटो यातायात व्यवसायीको सिन्डिकेटसामु घुँडा टेकेर संघीय सरकारले प्रदेशको नियमावली स्थगित गर्न पत्र पठायो । त्यही पत्रका आधारमा प्रदेशले नियमावली स्थगित गरेको छ । संघले प्रदेशको कानुन स्थगित गर्न सिन्डिकेटधारी यातायात व्यवसायीसमक्ष सहमति गर्ने र त्यही सहमतिलाई मानेर प्रदेशले आफ्नो कानुन थाती राख्नु दुवै स्वास्थ्यवर्द्धक अभ्यास होइनन् । 

विगतमा पनि बागमती सरकारले प्रदेश सेवा आयोग गठन, लुम्बिनी सरकारले कृषि विश्वविद्यालय स्थापना र मधेश सरकारले वनको अधिकार प्रयोग गर्न खोज्दा संघले हस्तक्षेप गरेको थियो । अझ, प्रदेशको नामकरणकै सम्बन्धमा समेत प्रदेशसभालाई राजनीतिक निर्देशन दिने अभ्यास नभएको होइन । प्रदेशसभाको दुई तिहाइले वैधानिक रूपमा नाम स्वीकृत गरे पनि त्यही नामबारे केन्द्रमा राजनीतिक सहमति भएपछि प्रदेशसभामा प्रक्रिया मात्र पुर्‍याइएको थियो ।

राजस्व बाँडफाँटको विषय त झन् स्थानीय तह, प्रदेश र संघबीच सधैंको कलहको बीउ बनिरहेकै छ । यी सबै घटनाक्रममा संघ हाबी हुँदै आएको छ । प्रदेश र स्थानीय तहलाई निरीह बनाइएको छ । संघीय निजामती विधेयक, संघीय प्रहरी विधेयक, विद्यालय शिक्षा विधेयक संघीय संसद्मा वर्षौंदेखि अलपत्र छन् ।

संघीय कानुन बनेपछि मात्र प्रदेश र स्थानीय तहले यसबारे आफ्ना कानुन बनाउने स्पष्ट व्यवस्था संविधानमा छ । तर, त्यो व्यवस्थाअनुसार संघले कानुन पास नगर्दा प्रदेश र स्थानीय तहले काम गर्नै पाएका छैनन् । संघीय संसद्मा अलपत्र परेका यस्ता विधेयकहरू अघि बढाएर प्रदेश र स्थानीय तहलाई सहजीकरण गर्नुको सट्टा उल्टै प्रदेशहरूले आफ्नो अधिकार क्षेत्रका विषयमा गरिरहेका अभ्यासमा समेत केन्द्रबाट वक्रदृष्टि लगाउने काम भएको छ । यसले संघीयताको मर्म र अभ्यासमै कुठाराघात भइरहेको छ । 

राणातन्त्र, राजतन्त्र, प्रजातन्त्र सबै कालखण्डमा नेपालले केन्द्रीकृत शासनको अभ्यास गर्‍यो । २०४७ पछिको प्रजातान्त्रिक कालखण्डमा विकेन्द्रीकरण भन्दै केही अधिकार तल स्थानीय निकायमा पुर्‍याइयो । तर, तल्लो तहका नागरिकले सुविधा पाउन सकेनन् । त्यसैले २०६३ पछि सुरु भएको गणतान्त्रिक शासनकालमा मुलुकलाई तीन तहको संघीय ढाँचामा बदली शासकीय अधिकार तल लैजाने संवैधानिक प्रबन्ध गरिएको हो ।

शक्तिको केन्द्रीकरण भएपछि त्यसको विकल्पमा संघीय प्रणाली ल्याइएको तथ्यलाई बिर्सेर अहिले यो व्यवस्थाकै ‘डिजाइनर’ भनिएका दल, तिनका नेता र सरकार प्रमुखहरूले कमजोर बनाइरहेका छन् । संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधीनस्थ ठान्ने र सरकारको नेतृत्व गर्ने दलहरूले आफ्नो पार्टीको शाखाजस्तो व्यवहार गरिरहेका छन् ।

प्रदेश र स्थानीय तहले स्वतन्त्र रूपमा काम गर्न थाले केन्द्रीय सत्ता कमजोर हुन्छ भन्ने मानसिकता छ । यस्तो सोच केन्द्रीकृत शासकीय संरचनाकै धङधङी हो । जसले संघीयताको जगलाई नै कमजोर पारिरहेको छ । 

प्रदेश र स्थानीय तहलाई आवश्यक स्रोत, जनशक्ति, नीति निर्माणको अधिकार र कार्यान्वयनको स्वतन्त्रता नदिई उनीहरूले कसरी जनताको सेवा गर्न सक्छन् ? सबै निर्णय केन्द्रमै हुने हो भने प्रदेश र स्थानीय तहका नाममा अर्बौं रुपैयाँ खर्च गर्नुको अर्थ के रह्यो ? संघीयता केवल भूगोलको बाँडफाँट होइन, यो जनताको अधिकार र सहभागिताको संरचना हो भन्ने संघले बुझ्न ढिलाइ गर्नु हुन्न ।

प्रदेश र स्थानीय तहलाई कामचलाउ र राजनीतिक स्वार्थका लागि प्रयोग गर्नु भनेको अन्ततः संघीय शासन प्रणालीलाई नै कमजोर बनाउनु हो । संघीय सरकार स्वयं प्रदेश सरकारले ल्याएको नियमावली स्थगित गर्न सिन्डिकेट वा अन्य कुनै पक्षसँग सम्झौता गर्दै हिँड्छ भने प्रदेशले स्वीकार गर्ने कि नगर्ने ? गण्डकीको ‘राइड सेयरिङ’ प्रकरणले संघीयताको ‘राइट सेयरिङ’ (अधिकार बाँडफाँट) को मर्मलाई पनि कमजोर बनाएको छ ।

संघीयता कमजोर भएको संघीय सरकारको हैकमले मात्र होइन, आफ्नै अधिकारलाई पनि अवमूल्यन गर्ने प्रदेशको प्रवृत्तिले पनि यसमा सहयोग गरेको छ । ‘राइड सेयरिङ’ प्रकरणले पनि यही तथ्यलाई प्रस्ट पारेको छ । यसरी अधिकारमा अतिक्रमण गर्ने र गर्न दिने दुवै प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । संघीय अधिकारलाई संविधानको पानामा मात्र सीमित गर्ने होइन, अभ्यासमा पनि जीवन्त बनाउनुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully