सरकार ! खोइ वृद्धाश्रम ?

उमेरले नेटो काटिरहेका वृद्धवृद्धाका साझा समस्या सम्बोधन गर्न अब भत्ताले मात्रै पुग्दैन, ज्येष्ठ नागरिकका लागि सरकारले अभिभावकत्व निर्वाह गर्नु पनि जरुरी छ

जेष्ठ २२, २०८२

कल्पना नेपाल आचार्य

Government! Lost old age home?

काठमाडौँ — मेरा एक जना बालसखाको एकाबिहानै फोन आयो । उनको बोलीमा निराशपन मिसिएको थियो । मैले सोधें, ‘किन, सन्चो छैन र ? बोली त निकै निराशलाग्दो छ त ?’ उनी भावुक बनिन्, ‘हेर न ! भएका दुवै सन्तान पनि बिदेसिए । छोरी क्यानडा र बाबु अमेरिका गएको पनि लामै समय भयो । म त कति अभागी रहेछु । यहाँ बिरामी पर्दा अस्पतालसम्म लैजाने मान्छे पनि छैनन् ।’ 

केही दिनअघि श्रीमान् बिरामी भएको र उनलाई अस्पतालसम्म पुर्‍याउन साह्रै समस्या परेको कुरा पनि उनले सुनाइन् । बल्लतल्ल अस्पतालसम्म पुर्‍याएर छोराछोरीलाई फोन गर्दा ‘कति पैसा चाहिन्छ ममी, हामी पठाइदिन्छौं’ भन्ने कुराले उनलाई निकै गहिरो चोट पुर्‍याएको रहेछ । ‘उल्टै रिसाउँछन् भन्या । हाम्रो संसार अब यहीं बस्यो । फेरि हाम्रा बच्चाको भविष्यका लागि पनि नेपाल फर्किने कुरा नगर्नूस्,’ उनले आफ्नो दिक्दारी पोख्दै भनिन्, ‘घर किन्दाको लोन, गाडीको लोन तिर्नका लागि वर्षौं लाग्छ । अब त यताको सुविधामा बानी परिसक्यो । कहिलेकाहीँ बिरामी भइहालिन्छ त । धेरै आत्तिनुपर्ने जरुरी छैन । पेन्सन छँदै छ, नपुगेको भन्नु हामी पैसा पठाइदिइहाल्छौं पो भन्छन् त ।’ 

आखिर जीवन के रहेछ त ! सन्तानका लागि मरिमेटियो तर जीवनको उत्तरार्द्धमा आफ्नो साथमा कोही छैन । सात समुद्रपारि अरूको देशमा आफ्नोपन, संस्कार छैन, मान्छे मेसिनजस्तै भएको छ । श्रीमान् श्रीमतीको भेट एक हप्तामा हुन्छ । एउटा जागिरमा जाँदा अर्को फर्किन्छ । तर, पनि उनीहरू त्यसैमा खुसी छन् । उनीहरूलाई यहाँ फर्किनै मन छैन । वृद्धवृद्धा बाआमासँग बस्न मन छैन । 

‘मेरो पनि हालत त उही हो । भएका दुई छोरी पनि बाहिर छन्,’ मैले उनलाई ढाडस दिँदै भने, ‘तिम्रो र मेरो समस्या उस्तै छ । अब हामी बुढेसकालमा मिलेर एउटै वृद्धाश्रममा बस्नुपर्छ ।’ मलाई धेरै साथीभाइले भन्ने एउटै कुरा छ, ‘साथी तिमी त सरकारी जागिरे मान्छे, बुढेसकालमा सरकारले हेर्ला नि है ।’ 

छोराछोरी विदेशमा भएका, गाउँको सम्पत्ति बाँझो पल्टिएको, पेन्सन र बैंकमा पैसा भएर पनि एकमुठी तातो पानी दिने मान्छे नभएकाहरूका बारेमा राज्यले सोचिदिनुपर्ने बेला आएन र ? अरू केही नभए पनि कमसे कम सुविधासम्पन्न, पहुँचयुक्त वृद्धाश्रम बनाउने भनी कानुन निर्माणका लागि अभियान चलाउने हो कि ? बरु आफ्नो भएको सम्पत्ति सरकारले नै लेओस् तर वृद्धवृद्धाका लागि उचित लालनपालन गर्ने व्यवस्था गरिदेओस् ।

यो त सहरिया परिवारको कुरा भयो । गाउँलेका दुःख अझ विकराल छन् । खुसी खोज्न विदेश पसेको सन्तान ऋण तिर्नका लागि वर्षौंदेखि पसिना बगाइरहेको छ, उता खुसीको प्रतीक्षामा पाखोबारी कुरेर बाटो हेरिरहेका दूरदराजका आवाजविहीन वृद्धवृद्धाका आँखा टट्याइरहेका छन् । 

ज्येष्ठ नागरिकले सम्मानित र मर्यादित जीवनका लागि कानुनबमोजिम आफ्नो हकअधिकार प्राप्त गर्न नसकेको परिणाम पनि हो यो । वैदेशिक रोजगारीकै कारण कतिपय ज्येष्ठ नागरिक एक्लो बन्दै गएको र कतिपयका आफ्ना सन्तानलाई सम्पत्ति दिँदा बिचल्ली भएको अवस्था पनि छ । ज्येष्ठ नागरिकले सम्पत्तिकै कारण सन्तानबाट दुर्व्यवहारको सिकार भइरहेका गुनासा पनि छन् । संभ्रान्त परिवारभित्रको पीडा उस्तै दर्दनाक छ । छोराछोरी व्यापार व्यवसायमा व्यस्त हुने, नाति–नातिनी अध्ययनका लागि कलेजतिर जाने । एकछिन घरमा जम्मा हुँदा सबैका हातमा विद्युतीय उपकरण हुने । ज्येष्ठ नागरिकसँग बोल्ने, मनको कुरा सुनिदिने कोही हुँदैन । एक्लोपनका कारण डिमेसिन्या, डिप्रेसनको सिकार भई आत्महत्यासमेत गरेका प्रतिनिधिमूलक घटना पत्रपत्रिकामा बग्रेल्ती देख्न सकिन्छ ।

ज्येष्ठ नागरिक अनुभवका खानी, सामाजिक मूल्य मान्यता एवं विकास निर्माणका जिउँदो इतिहास हुन् । यिनीहरूलाई क्षमताका आधारमा स्थानीय सीप, प्रविधिसँग जोडेर सक्रिय बनाउनु जरुरी छ । सरोकारवाला निकायले ज्येष्ठ नागरिकको अधिकार संरक्षणको विषयमा समयमै संवेदशील भएर प्राथमिताका आधारमा आवश्यकता पहिचान गरी नीति, योजना, कार्यक्रम र बजेटले जोड्नु जरुरी छ । 

केही महिनाअगाडि मेरो स्कुले साथी जो अहिले अमेरिकामा छन्, उनले आफ्नो दुःखेसो पोख्दै भनेकी थिइन्, ‘हेर् न साथी यहाँ त मलाई समय कटाउन पनि साह्रै गाह्रो छ ।’ यसो बाहिरतिर घुम्न जाऊँ भने कोही चिन्दैनन् । भाषा बुझिँदैन । कसैलाई कसैको मतलब छैन । सबैथोक नौलो छ । छोरा–बुहारी ड्युटीबाट आउँदा रात बिहानको पत्तो हुँदैन । बरु यहाँ त वरपर भए पनि आफ्नोपन छ । पर्दा जुनसुकै स्थानको भए पनि सहयोग हुन्छ । उनको अन्तिममा एउटै भनाइ थियो, ‘हामी बुढाबुढीको उचित लालनपालन र स्याहारसुसार गर्ने व्यवस्था सरकारले मिलाए त आफ्नै माटोमा फर्किएर बस्ने थियौँ । यहाँ त एक दिन पनि मलाई महिनाजस्तो लाग्न थाल्यो ।’ वास्तवमा उमेरले नेटो काटिरहेका वृद्धवृद्धाका साझा समस्या सम्बोधन गर्न अब भत्ताले मात्रै पुग्दैन, ज्येष्ठ नागरिकका लागि सरकारले अभिभावकत्व निर्वाह गर्नु पनि जरुरी छ ।

नेपालमा ज्येष्ठ नागरिकको संख्या कुल जनसंख्याको १०.२१ प्रतिशत अर्थात् २९ लाख ७७ हजार ३ सय १८ छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्भाव्य उमेरको जनसंख्या ५.२३ प्रतिशत छ । अर्कोतर्फ भएका बलिया पाखुरी, प्रतिस्पर्धी दिमाग दैनिक करिव २५०० सयको हाराहारीमा बिदेसिएका छन् । सरकारले युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गरी टिकाउन सकेन । राजनीतिक दलहरू कुर्चीकै लागि लडिरहेका छन् । देश र जनताको विषयमा सोच्ने समय कसैलाई छैन । 

जनसंख्याको वार्षिक औसत वृद्धिदर ०.९२ प्रतिशत रहँदा ज्येष्ठ नागरिकको वार्षिक वृद्धिदर ३.५ प्रतिशत रहेको छ । प्रजनन दर घट्दै गइरहेको छ भने औसत आयु बढिरहेको छ । यसले निकट भविष्यमा नै नेपाल पनि वृद्ध समाजमा परिणत हुन सक्ने अवस्थालाई संकेत गर्दछ । सन्तान भएर पनि एक्लो भएका ज्येष्ठ नागरिक, असहाय, अशक्तको हकमा सुविधासम्पन्न वृद्धाश्रम दिवा सेवाको व्यवस्था गरी सम्मानति र मर्यादित रूपमा बाँच्न पाउने व्यवस्था गर्न अब ढिला भइसकेको हो कि ! 

–आचार्य मानव अधिकार अधिकृत हुन्

कल्पना

Link copied successfully