पीडैपीडामा बाँचेका सुदूरका महिला

सुदूरपश्चिममा प्रत्येक घरमा केही न केही पीडा सहेरै महिलाहरू बाँच्न विवश छन् । कहीं घर नजिकै अस्पताल छैनन् । कतै अस्पताल भए पनि त्यहाँ पुग्न यातायातको सुविधा छैन । महिनावारी बार्नुपर्ने र अझै पनि छाउगोठमा सुत्नपर्ने अलग्गै किसिमका पीडा पनि उनीहरूले बेहोरिरहेका छन् ।

जेष्ठ १८, २०८२

मञ्जु भट्ट

A woman from far away who lived in agony

काठमाडौँ — सुदूरपश्चिम प्रदेशको बैतडीमा रहेको पर्यटकीय क्षेत्र त्रिपुरासुन्दरी मन्दिरबाट पैदलै हिँडेर बढीमा १५ मिनेटमा पुगिने एउटा गाउँ छ । यस गाउँका धेरैजसो महिला अहिले पनि विभिन्नखाले शारीरिक पीडामा बाँच्न बाध्य छन् । गत वर्ष मात्रै झन्डै दुई वर्ष थला परेर एक जना ठूलीआमा बितिन् । 

जिल्ला अस्पतालले पेटको थप उपचारका लागि प्रदेश अस्पताल धनगढी रेफर गरे पनि पहाडी भूभागमा सामान्य खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका छोराको आर्थिक अवस्थाले त्यहाँसम्म पुर्‍याउन नसक्ने भएपछि घरको आँगनमै उनी मृत्यु कुर्न बाध्य हुनुपर्‍यो । केही वर्षदेखि एकल जीवन बिताइरहेकी सोही घरकी कान्छीआमाको पनि गत वर्ष स्याउला काट्ने क्रममा रूखबाट लडेर मृत्यु भएको थियो ।

माथिल्लो घरकी काकीको घाँस काट्न जाँदा बाटोमा चिप्लेर खुट्टा भाँचियो । जिल्ला अस्पताल बैतडीमा उपचार गराउँदा सन्चो भएन । दुई–तीन चोटि भारतको पिथौरागढ अस्पताल पुर्‍याउँदा पनि सन्चो हुन सकेको छैन । विगत डेढ वर्षदेखि थोरै हिँडडुल गरे पनि खुट्टा सुन्निने तथा दुख्ने हुँदा उनले गाउँमा काम गरेर खान सक्ने अवस्था छैन । खाना पकाउनेदेखि गाईबस्तुलाई कुँडो र पानी दिने सबै काम काकाले गर्छन् । सोही गाउँकी एक जना भाउजू केही महिनाअघि रूखबाट लडिन् । बाख्राका लागि स्याउला काट्ने क्रममा रूखबाट खोलाको ढुंगामा बजारिँदा एउटा हात भाँचियो भने कम्मरमा ठूलो चोट लाग्दा एक महिनासम्म शौचालयसमेत हिँडेर जान सकिनन् । महेन्द्रनगरबाट आफन्तले कमोडसहितको ह्वीलचेयर बैतडी पठाउनुपर्‍यो । जिल्ला अस्पताल गोठालापानी जाँदा ‘हातको अपरेसन गर्‍यो भने मात्रै सिधा हुन्छ, नत्र पट्टी बाँधे पनि बाङ्गो हुन सक्ने’ कुरा डाक्टरले बताए । ठूलो रकम खर्च गरेर अपरेसनका लागि बैतडीबाट प्रदेश अस्पताल धनगढी धाउनुभन्दा बाङ्गो भए पनि ठिकै छ भन्दै उनी गाउँमै बसिन् । 

सोही गाउँकी एक जना महिलाले ६ महिनाअघि आत्महत्या गरिन् । ३० वर्षीया उनका दुई सन्तान थिए । झट्ट हेर्दा कुनै समस्या नदेखिए पनि डिप्रेसनमा बाँचिरहेको हुन सक्ने अनुमान चिकित्सकहरूको छ । 

सोही गाउँकी एक जना आमाको बाथ रोगका कारण एउटा आँखाको ज्योति गुमेको छ । जिल्ला अस्पतालमा बाथ रोगको उपचार हुन नसकेपछि छोरीले काठमाडौं लगेर उपचार गराएपछि त्यहींबाट औषधि मगाएर खाइरहेकी थिइन् । बेलाबेलामा रगतको जाँच गरेर औषधि थपघट गर्नुपर्ने भए पनि त्यो सुविधा गाउँमा नहुँदा उनले आँखाको ज्योति गुमाउनुपरेको चिकित्सकले बताए । ८० वर्षको उमेरमा त्यसै पनि हिँडडुल गर्न अप्ठेरो हुने र त्यसमाथि एउटा आँखाको ज्योति गुम्दा उनलाई पीडामाथि पीडा थपिएको छ । 

निःशुल्क उपचारका लागि सरकारले स्वास्थ्य बिमा सेवा उपलब्ध गराए पनि त्यो सेवा कसरी लिने, कहाँ गएर लिने भन्ने ज्ञान यस गाउँका कमैलाई छ । बिमा गर्नका लागि समेत रकम नहुने घरपरिवार पनि यस गाउँमा थुप्रै छन् । 

अल्जाइमर (बिर्सने रोग) का कारण कतिपय आमाले बुढेसकालमा झनै दुःख पाइरहेका छन् । तीन जना मेरै नाता पर्ने आमाहरू यो रोगको सिकार छन् । खाना खाएको पनि बिर्सने, शौचालय जानुपर्छ भन्ने थाहा नहुने, आफन्त नचिन्ने, घरै छोडेर हिँड्ने जस्ता समस्याले तिनका घरपरिवारका सदस्यसमेत समस्यामा पर्ने गरेका छन् । 

त्यस गाउँका एक जना दाइ सधैं रक्सी पिउँछन् । ३० वर्षदेखि रक्सी पिइरहेका छन् । उनको त्यो लत अहिलेसम्म छुट्न सकेको छैन । घरपरिवार उनको यो बानीले हैरान छ । रक्सीको लत छुटाउनका लागि पटक–पटक धनगढीमा रहेको सुधार केन्द्रमा धाउँदा पनि उनमा केही फरक परेको छैन । श्रीमतीका पीडा आफ्नै ठाउँमा छन् । निरन्तरको झैझगडा र चिन्तामा त्यस परिवारका दिन बित्ने गरेका छन् । 

बैतडीका विभिन्न ठाउँमा जिप चलाउने अर्का ड्राइभर दाइको परिवारको पीडा पनि कम दर्दनाक छैन । दिनकै हजारौं कमाउँछन् । तर रक्सीको यस्तो लत बसेको छ कि जिप चलाउँदै पनि उनी नसामा हुन्छन् । उनको घरपरिवारको एउटै अनुरोध छ– ‘यदि ठाउँठाउँमा राखेका चेकपोस्टमा मापसे जाँच हुने हो भने त सायद उनले रक्सी खाएर गाडी चलाउँदैनथे होला नि !’ यसरी रक्सी पिएर घरपरिवारलाई पीडा दिने यस गाउँमा उनी एक्ला होइन, थुप्रै छन् । 

सुदूरपश्चिमको एउटा सानो गाउँमा देखिएका यी केही प्रतिनिधिमूलक घटना हुन् । यहाँका प्रत्येक घरमा केही न केही पीडा सहेरै महिलाहरू बाँच्न विवश छन् । कहीं घर नजिकै अस्पताल छैनन् । कतै अस्पताल भए पनि अस्पतालसम्म पुग्न यातायातको सुविधा छैन । 

गत वैशाख २६ गते घाँस काट्न वनमा गएकी बाजुरकी एक जना ५० वर्षीया महिला लडेर घाइते भइन् । छातीमा गम्भीर चोट लागेकी उनको कोल्टी अस्पतालमा उपचार गराउँदा गराउँदै मृत्यु भयो । त्यसैगरी जेठ ९ गते बैतडीको सुर्नयाकी ३४ वर्षीया एक महिलाको घाँस काट्ने क्रममा भीरबाट लडेर घटनास्थलमै मृत्यु भयो । उनका सात वर्षीय र ६ महिनाका छोरा टुहुरा भए । 

हुन त महिलाका पीडा संसारका कुनै पनि ठाउँमा रहे पनि कम छैनन् । आफ्नो व्यक्तिगत जीवनलगायत घरपरिवार, बालबच्चा अफिसको समेत जिम्मेवारी सम्हालिरहेका छन् । तुलनात्मक रूपमा दुर्गमका महिलाका पीडा अलि फरक र बढी नै छन् । महिनावारी बार्नुपर्ने र अझै पनि छाउगोठमा सुत्नपर्ने अलग्गै किसिमका पीडा पनि उनीहरूले बेहोरिरहेका छन् ।

यातायातको सुविधा नभएका ठाउँमा वा अस्पताल जान नसक्ने बिरामीका लागि कहिलेकाहीं गाउँमै गएर स्वास्थ्य शिविर सञ्चालन गर्न सके यस्ता धेरै परिवार लाभान्वित हुने थिए । घरनजिकै सुविधासम्पन्न ठूला अस्पताल रहेका ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन्छन् । तर जहाँ त्यस्ता शिविरको साँच्चिकै आवश्यकता रहेको छ, त्यहाँ यस्ता शिविर पुगेको देखिँदैन । 

यदि जनताका पीरमर्का बुझ्नका लागि नै गणतन्त्र आएको हो, प्रदेश संरचनामा मुलुकलाई लगिएको हो भने त्यसै अनुसारको सेवासुविधा पनि जनतालाई उपलब्ध गराउनुपर्‍यो । बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्नुपर्‍यो । गाउँठाउँका समस्या पहिचान गरेर तिनको समाधानमा स्थानीय सरकार क्रियाशील हुनुपर्‍यो । यसो गर्न सकियो भने मात्रै बेरोजगारीका कारण डिप्रेसनमा जान लागेका, देश छोड्न बाध्य युवालाई आफ्नै गाउँठाउँमा रोक्न सकिन्छ । युवालाई ऋण होइन, विभिन्न तालिम र सीप सिकाएर गाउँदेखि सहरसम्मै रोजगारी सिर्जना गर्न सके घरमा एक्लै बस्न बाध्य महिलाका पीडा पनि कम हुन्थे कि !

मञ्जु भट्ट मञ्जु कान्तिपुरमा समसामयिक विषयमा लेख्ने गर्छिन् ।

Link copied successfully