सरकारले विप्रेषण बढेको भन्दै खुसी व्यक्त गर्ने गरेको छ, तर विप्रेषणसँगै आउने स्वास्थ्य, सामाजिक र आर्थिक विचलनका बारेमा चासो दिएको पाइँदैन
गाउँघर मात्रै होइन, सहरी क्षेत्रमा पनि अचेल वैदेशिक रोजगारीमा नजाने व्यक्तिका घर भेट्टाउन मस्किल छ । वैदेशिक रोजगारीमा नगए आर्थिक अवस्था सुधार गर्नै नसकिने सोच हामीमा विद्यमान छ । वैदेशिक रोजगारीमा गएका सदस्यका घर अन्यका तुलनामा केही सुविधासम्पन्न देखिएका छन् । त्यसले पनि धेरैलाई वैदेशिक रोजगारीमा जाने लालसा बढाइरहेको छ ।
यहाँ खासै केही गर्न नसकेको र भविष्य पनि नदेखेको पछिल्लो पुस्ता वैदेशिक रोजगारीका लागि बढी आकर्षित छ । सामान्य लेखपढ गरेका ग्रामीण क्षेत्रका व्यक्ति पनि पछिल्लो समय वैदेशिक रोजगारीमा गइरहेका छन् । यहाँबाट अध्ययनका लागि भनेर गए पनि अन्ततः उनीहरूको ध्यान रोजगारीमै केन्द्रित छ । रोजगारीमा गएकाहरू घामपानी नभनी पैसा कमाउनतिर लागेका छन् । कतिपय घरखेत उकास्न पैसा कमाउनुपर्ने बाध्यतामा छन् भने कतिपय परिवारको सपना पूरा गर्न दसनंग्रा खियाएर विदेशी भूमिमा पसिना बगाइरहेका छन् ।
वैदेशिक रोजगारीमा जाने धेरैले त्यहाँ काम गर्दा अथवा खाँदा, बस्दा अपनाउनुपर्ने सावधानीका बारेमा समेत जानकारी लिएका हुँदैनन् । यहाँबाट वैदेशिक रोजगारीमा जानेलाई सचेत हुनुपर्ने विषयमा न व्यक्ति सचेत देखिन्छ, न त सरकारले नै यससम्बन्धी कुनै तालिम दिने गरेको छ । एकाध म्यानपावर कम्पनीबाहेक धेरै यस विषयमा गम्भीर बनेको पाइँदैन । नेपालबाट विभिन्न मुलुकमा वैदेशिक रोजगारीका लागि जाने व्यक्तिले विभिन्न खाले स्वास्थ्य समस्यालगायत अन्य समस्याबाट गुज्रिनुपरेका धेरै उदाहरण छन् ।
नेपालबाट गएका धेरै युवा पछिल्लो समय मिर्गौलासम्बन्धी रोग लिएर फर्किएका कतिपय समाचार हामीले हेर्ने, पढ्ने र सुन्ने गरेका छौं । पछिल्लो समय नेपालमा केही गर्न सकिन्न भन्ने भाष्य बनेको छ । नेपालमा सम्भावना नदेखेर आफ्नो अनि परिवारको सपना पूरा गर्ने ध्याउन्नमा युवाहरू घामपानी नभनी खट्दा विभिन्न खाले स्वास्थ्य समस्या देखिने गरेका हुन् । नेपालमा भन्दा गर्मी बढी हुने मुलुकमा गएका कतिपय युवा हावापानी, रहनसहनका बारेमा अनभिज्ञ रहँदा पनि समस्या हुने गरेको छ । बसाइँ, खानपिन, हावापानी नमिल्दा कतिपय वैदेशिक रोजगारीमा गएका युवा त्यसै नेपाल फर्किनुपरेका उदाहरण पनि थुप्रै छन् । यसरी विदेशमा स्वास्थ्य समस्याबाट पीडित भइसकेपछि अन्ततः उनीहरूलाई नेपाल फर्किनुको विकल्प रहँदैन । यसरी धन हैन रोग बोकेर नेपाल फर्किने प्रशस्त छन् ।
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा मिर्गौलाको समस्या लिएर पुग्ने धेरै युवा वैदेशिक रोजगारीबाट फर्किएका रहेको अस्पलालले जनाएको छ । कोही सुरुकै स्टेजमा थाहा पाएर फर्किएका छन् भने कोही अन्तिम स्टेजमा पुगेपछि फर्किएर उपचार गराइरहेका छन् । उनीहरू स्वास्थ्य समस्या लिएर नेपाल फर्किंदा परिवारमा थप चिन्ता बढाएको छ । अन्तिम अवस्थामा नेपाल फर्किएर उपचार गराउँदा परिवारमा चिन्ता मात्रै हैन, कमाएको सम्पत्ति पनि स्वास्थ्य उपचारमै सकिने भएपछि कतिपयको घरपरिवार नै बिल्लीबाठ भएका थुप्रै उदाहरण हामी देख्न पाउँछौं ।
कतिपय घरबार धितो राखेर र मिटर ब्याजमा ऋण लिएर पनि वैदेशिक रोजगारीमा गइरहेका छन् । त्यस्ता व्यक्ति पनि बीचमै फर्किएर उपचार गराइरहेका छन् । उनीहरूको परिवारको आशा अनि सम्पत्तिका नाममा भएको अलिकति जायजेथा पनि उकास्ने अवस्था छैन । परिवारको आर्थिक अवस्था सुधारेर सुनौलो भविष्यको कल्पना गरेका युवाहरूको सपना चकनाचुर भएको छ ।
नेपालबाट दैनिक हजारौंको संख्यामा युवाहरू अहिले वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्यांक छ । तीमध्ये कति त स्वास्थ्य समस्या भए पनि जाने गरेका छन् । स्वास्थ्य परीक्षणका लागि तोकिएका स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जाने कतिपयलाई समस्या हुँदाहुँदै पनि पठाउने गरेको चिकित्सकहरू नै बताउँछन् । नेपालबाट स्वास्थ्य परीक्षण गरेर वैदेशिक रोजगारीमा गएकामा पनि मिर्गौलासम्बन्धी समस्या देखिएपछि त्यहाँ पुग्नेबित्तिकै नेपाल फर्कनुपरेका उदाहरण प्रशस्त छन् । पछिल्लो समय वैदेशिक रोजगारीका लागि महिला र पुरुष जाने भए पनि मिर्गौलासम्बन्धी समस्या भएकामध्ये धेरै पुरुष रहेको अस्पतालका तथ्यांकले देखाएका छन् । मिर्गौलासम्बन्धी समस्याबाट पीडित भएर स्वदेश फर्किनेको आधा संख्या जनजाति समुदायको रहेको सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रको भनाइ छ ।
वैदेशिक रोजगारीका क्रममा खासगरी पुरुषसँगसँगै महिला पनि जान थालेपछि नेपाली समाजको पारिवारिक, सामाजिक र सांस्कृतिक अभ्यासमा तीव्र परिवर्तन हुन थालेको छ । दाम्पत्य जीवनमा विचलन आउने, विवाहेत्तर सम्बन्धमा आकर्षण बढ्नेजस्ता समस्या पनि उत्तिकै छन् । जसका कारण समाज, परिवार र व्यक्तिको मानसिक स्थितिमा नै विचलन आएको पाइएको छ । पुरुष वैदेशिक रोजगारीमा गएका घरका महिलाले विवाहित पुरुषसँग सामाजिक सञ्जालमार्फत सम्बन्ध बढाएका कारण घरबार नै बिग्रेका उदाहरण पनि देखिन थालेको छ । यस्तै महिला वैदेशिक रोजगारीमा गएका घरका पुरुषले दोस्रो विवाह गरेका र घरवार बिग्रेका धेरै उदाहरण हामी देख्न पाउँछौं । कतिपय अवस्थामा पुरुष विदेश गएका घरका महिलाले चरित्रहत्याको लाञ्छना पनि सहनुपरेको छ ।
वैदेशिक रोजगारीमा गएका व्यक्तिको स्वास्थ्यमा समस्या देखिए पारिवारिक विचलन आउने र वैदेशिक रोजगारीमा गएका व्यक्ति वा परिवारका सदस्यले बाटो बिराए पारिवारिक, सामाजिक सबै खाले जोखिम बहन गर्नुपर्ने भएकाले पनि व्यक्ति स्वयंले कुनै कदम चाल्नुपूर्व सयौं पटक सोच्नुपर्ने देखिन्छ ।
वैदेशिक रोजगारीको सकारात्मक प्रभावभन्दा बढी नकारात्मक प्रभाव समाजमा देखिएको छ । वैदेशिक रोजगारीले समाजका सक्षम, उर्वर र सिर्जनशील युवा जनशक्ति विदेश पलायन हुँदा कतिपय गाउँघर बालबालिका र वृद्धवृद्धा मात्र बस्ने थलो बन्दै गएका छन् । यस्ता गाउँघरमा कुनै आपतविपत् आइलागे पनि उद्धार गर्ने युवाको कमी छ ।
सरकारले विप्रेषण बढेको भन्दै खुसी व्यक्त गर्ने गरेको छ । तर विप्रेषणसँगै आउने स्वास्थ्य, सामाजिक र आर्थिक विचलनका बारेमा चासो दिएको पाइँदैन । वैदेशिक रोजगारीको प्रभावस्वरूप स्वास्थ्य समस्या, पारिवारिक संरचना र दाम्पत्यसम्बन्धमा देखिएको परिवर्तनलाई सकारात्मक तरिकाले व्यवस्थापन गर्न नसकिए यसको असर अझै गहिरो गरी फैलिँदै जाने र विकराल बन्ने निश्चित छ ।
