गणतन्त्र सुदृढीकरणका उपाय

गणतन्त्रको सफलताका लागि केवल औपचारिक संरचना र संवैधानिक व्यवस्था मात्र पर्याप्त हुँदैन, गणतान्त्रिक मूल्य र मान्यताको अभ्यास दैनिक जीवनमै झल्किनुपर्छ

जेष्ठ १४, २०८२

नरेन्द्रजंग पिटर

Measures to strengthen the republic

२०६३ वैशाख ११ को राति साढे ११ बजे राजा ज्ञानेन्द्रले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरे । यो घोषणा केवल संवैधानिक कदम नभएर युगान्तकारी परिवर्तनको सूचक थियो । एक दिनअघि अनेकौं नागरिक ‘आतंककारी’ को दर्जामा थिए, भोलिपल्ट ‘नागरिक’ भए । यो परिवर्तन कागजी मात्र थिएन, यो जनचेतनाको क्रान्ति पनि थियो ।

२०६५ जेठ १५ मा संविधानसभाले गणतन्त्रको घोषणा गर्दा नेपाली समाजको गहिरो परम्परा र मान्यतामा हलचल आयो । राजतन्त्रको अन्त्यले नेपाललाई नयाँ पहिचान र सम्भावना दियो । यो केवल सत्ताको हेरफेर नभएर सामाजिक चेतनाको उत्कर्ष थियो । गणतन्त्रले नेपाललाई समावेशी, समानतामूलक र उत्तरदायी शासनको बाटोमा डोर्‍यायो ।

अहिलेको राजनीतिक नेतृत्व महेन्द्रमाला पढेर हुर्किएको पुस्ता हो । महेन्द्रमालाले बनाएको न्यारेटिभ भनेको बहुदलीय व्यवस्थाका कमजोरीको अतिरञ्जित चित्रण गर्दै एकदलीय राजतन्त्रको सुन्दरताको महिमा गान गर्नु थियो । तर गणतन्त्रले स्थापित गरेको नेतृत्व समूह र राजनीतिक दलहरूले त्यो इतिहासबाट शिक्षा लिन सकेनन् । इतिहास कठोर हुन्छ– त्यसले शिक्षा त दिन्छ नै, तर शिक्षा नलिनेहरूलाई कठोर सजाय पनि दिन्छ । हो, आज नेपालमा गणतन्त्रले केही चुनौतीको भने अवश्य सामना गरिरहेको छ ।

राजनीतिक पार्टी र मूल नेतृत्वमा स्वस्थ राजनीतिक संस्कृति नहुँदा शासकहरू श्रीपेच बेगरका राजाजस्ता देखिएका छन् । पार्टीभित्र लोकतान्त्रिक अभ्यास नहुँदा नेताहरू लहडीजस्ता बनेका छन् । दीर्घकालीन सोच नहुँदा नीति निर्माण र अभ्यास फितला भए । सत्तामा पुग्न र टिकिरहन ‘जे गर्दा पनि हुन्छ’ भन्ने न्यारेटिभ तयार गरियो ।

यस अतिरिक्त दलहरूभित्रको आन्तरिक द्वन्द्व र सत्ताको लोभले गणतन्त्रको मर्ममाथि नै प्रहार हुन पुग्यो । नेताहरूले व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिँदा जनहित ओझेलमा पर्‍यो । नीतिगत बहसभन्दा व्यक्तिगत स्वार्थ र फाइदाले दलहरूलाई निर्देशित गर्न पुग्यो । संघीयता, समावेशिता र विकेन्द्रीकरणको पूर्ण कार्यान्वयन अझै बाँकी छ । स्थानीय तहमा शक्तिको दुरुपयोग र भ्रष्टाचारले गणतन्त्रको आधार कमजोर बनायो ।

समानुपातिक निर्वाचन प्रणाली राजनीतिक दास उत्पादन गर्ने माध्यम बन्न पुग्यो भने राजनीति परिवारको सत्ता सिँढी बन्दा संविधानको मर्म कायम हुन सकेन । भ्रष्टाचार, कुशासन र जवाफदेहिताको अभावले जनताको विश्वास घट्दै गयो । जनताले गणतन्त्रबाट अपेक्षित परिवर्तन महसुस गर्न सकेनन् । शासक वर्गको अपारदर्शी व्यवहार र जनताप्रतिको उदासीनताले विश्वासको खाडल बढाएको छ ।

रोजगारी र अवसरको अभावले युवाहरूमा राजनीतिप्रति वितृष्णा बढ्न थाल्यो । लाखौँ युवा विदेश पलायन भए, जसले गणतन्त्रको भविष्यलाई जोखिममा पारेको छ । देशमा रहने युवाशक्तिको राजनीतिप्रतिको विरक्तिले सचेत नागरिकको अभाव बढाउँदै छ । विरोधको स्वरलाई दबाउने र आलोचनालाई निषेध गर्ने प्रवृत्तिले लोकतन्त्रको आधारशिला कमजोर बनाएको छ । यी समस्या गणतन्त्रको असफलता नभई यसको सञ्चालन प्रणालीका कमजोरी हुन् । सत्ताको विकेन्द्रीकरण भए पनि मूल्य र चरित्रमा ‘राजतन्त्र’ प्रतिको सोच अझै जीवित छ ।

गणतन्त्रलाई बलियो बनाउन केही कदम चाल्नै पर्छ । राजनीतिक इच्छाशक्ति भनेको नैतिक पँॅुजीमा आधारित हुन्छ । नेतृत्वले लोकतान्त्रिक मूल्यप्रति पूर्ण समर्पण देखाउनु जरुरी छ । दलहरूले आन्तरिक लोकतन्त्रलाई बलियो बनाई पारदर्शी र जवाफदेही नेतृत्व विकास गर्नुपर्छ । दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर अल्पकालीन फाइदाभन्दा माथि 

उठ्नुपर्छ । शिक्षा, स्वास्थ्य, न्याय र सार्वजनिक सेवामा सर्वसाधारणको पहुँच सुनिश्चित हुनुपर्छ । भ्रष्टाचार नियन्त्रण र सुशासनले जनविश्वास पुनःस्थापना गर्न सकिन्छ । सार्वजनिक संस्थानहरूको पुनर्गठन र सुदृढीकरणले जनजीविकामा सकारात्मक परिवर्तन ल्याउन सक्छ ।

गणतन्त्रलाई जीवन्त राख्न सोच्ने, बहस गर्ने, र जिम्मेवारी लिने युवाशक्ति आवश्यक छ । युवाहरूलाई राजनीति र नीति निर्माणमा सहभागी गराउनुपर्छ । युवा प्रतिभालाई राजनीतिमा आकर्षित गर्न र टिकाउन नवीनतम सोच र अवसरको सिर्जना गर्नुपर्छ । संसद्, न्यायालय र आयोगहरू स्वतन्त्र, पारदर्शी र प्रभावकारी हुनुपर्छ । यी संस्थाहरूले जनताको हितमा काम गर्नुपर्छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको शक्ति सन्तुलन र नियन्त्रण कायम हुनुपर्छ । सजग, आलोचनात्मक र उत्तरदायी नागरिकबिना कुनै शासन प्रणाली सफल हुँदैन । नागरिक शिक्षामार्फत जनतालाई आफ्नो अधिकार र कर्तव्यप्रति सचेत बनाउनुपर्छ । सामाजिक सञ्जाल र सूचना प्रविधिको उचित प्रयोगले नागरिक सचेतना बढाउन सकिन्छ । 

नेपालको गणतन्त्र प्राप्ति सजिलो थिएन । २ सय ३७ वर्षको राजतन्त्रपछि जनताले आफ्नो भविष्य आफैं बनाउने अधिकार प्राप्त गरेका हुन् । तर, यो अधिकारको रक्षा निरन्तर सजगता र अभ्यासबाट मात्र सम्भव छ । गणतन्त्रसँगै आएको आशा अझै अधुरो छ । सशक्त संस्था, समावेशी शासन र नागरिक सहभागिता अझै अपूर्ण छन् ।

गणतन्त्र केवल संवैधानिक संरचना होइन, यो चेतनाको निरन्तर अभ्यास हो । इतिहासले हामीलाई सिकाएको छ– ‘सत्ताले देश बनाउँदैन, चेतनाले बनाउँछ ।’ आज जब विगतका विरासत, वर्तमानका भ्रम र भविष्यका सम्भावनाबीच नेपाल उभिएको छ, गणतन्त्रलाई जीवन्त राख्ने जिम्मेवारी हामी सबैको हो । गणतन्त्रको सफलताका लागि केवल औपचारिक संरचना र संवैधानिक व्यवस्था मात्र पर्याप्त हुँदैन ।

गणतान्त्रिक मूल्य र मान्यताको अभ्यास दैनिक जीवनमा झल्किनुपर्छ । प्रसिद्ध राजनीतिक दार्शनिक अब्राहम लिंकनले भनेजस्तै ‘जनताको, जनताद्वारा, जनताका लागि शासन’ गणतन्त्रको मूल सार हो । यो सार कायम राख्न हरेक नागरिकको सक्रिय सहभागिता र उत्तरदायित्व आवश्यक छ । नेपालको गणतन्त्रले पनि यही मूल भावनालाई व्यावहारिक रूपमै आत्मसात् गर्नुपर्छ ।

वास्तवमा गणतन्त्र एक निरन्तर प्रक्रिया हो, एक यात्रा हो, जसमा समय–समयमा उकाली–ओराली, चुनौती र अवसर आउँछन् । गणतन्त्रलाई सुदृढ बनाउन नेतृत्व, नागरिक, र संस्थाहरूले संयुक्त प्रयास गर्नुपर्छ । यो नेपालको इतिहासको सबैभन्दा ठूलो अवसर हो, तर यसको सफलता हाम्रो सजगतामा निर्भर छ । हामीले आज गरेका निर्णय र अभ्यासले भोलिको नेपालको स्वरूप निर्धारण गर्नेछ । गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु हाम्रो सामूहिक कर्तव्य र ऐतिहासिक जिम्मेवारी पनि हो ।

नेपालको गणतन्त्र पनि एक ऐतिहासिक कोसेढुंगा मात्र होइन, यो निरन्तर विकसित हुँदै जाने प्रजातान्त्रिक संस्कृतिको आरम्भ हो । प्रत्येक नेपालीको सक्रिय सहभागिता र सचेत प्रयासले मात्र गणतन्त्रको मूल भावना जीवन्त रहन सक्छ ।

नरेन्द्रजंग पिटर राजनीतिक विश्लेषक हुन् ।

Link copied successfully