भ्रान्त युवा र राजनीति

युवालाई राजनीतिक दलहरूको प्रचारको साधन होइन, आलोचनात्मक चेत र परिवर्तनको संवाहक बनाइनुपर्छ । सामाजिक सञ्जालमा अन्ध समर्थनभन्दा विवेकपूर्ण विश्लेषण, सहमत–असहमत बहस र विचार निर्माणको संस्कृति स्थापनाका लागि काम गर्ने संरचनाको विकास नै आजको गन्तव्य हो ।

जेष्ठ ९, २०८२

सञ्जीव कार्की

Misguided youth and politics

आजका युवा उल्झिएका, भ्रान्त र दिशाविहीन छन् । उनीहरूमा साहस, ऊर्जा र सपना छन् । तर, त्यसलाई दिशा दिने स्पष्ट सोच र संरचना छैन । युग गतिशील छ, प्रविधिमा तीव्र परिवर्तन भइरहेको छ, राजनीतिक परिस्थितिहरू अनिश्चित छन् र सामाजिक मूल्यहरूमा विचलन र विघटन हुन लागेको छ ।

यस्तो विषम परिस्थितिमा युवापुस्ता दिशाहीन, निराशा र आक्रोशको भुमरीमा फसेको जस्तो देखिन्छ । युवामा आएको भ्रान्ति र निराशाको गणितीय उत्तर सजिलो छैन तर असम्भव पनि होइन । शिक्षा, समाज, राज्य र स्वयं युवा नेतृत्व र समाज मिलेर ठोस नीतिगत, व्यावहारिक र मूल्यात्मक परिवर्तनका प्रयासहरू गर्न सकियो भने लक्ष्य भेदन गर्न सकिन्छ ।

राजनीति भनेको जनजीवनको नीति हो । जसले जनताको जीवनस्तर, सम्मान र अवसर निर्धारण गर्छ । युवामा यो चेतना जगाउनु आवश्यक छ कि राजनीतिप्रति तटस्थ रहनु स्वयं पनि राजनीतिक विकल्प हो र त्यो प्रायः शोषक र अन्यायीको पक्षमा हुन्छ । राजनीति भनेको आफू सम्बद्ध क्षेत्रमा यथोचित सक्रियता र कर्तव्य पालना हो । कर्तव्यसँग नीति, नैतिकता, जवाफदेही र विश्वसनीयता जोडिएर आउँछ ।

राजनीतिक सचेतना भनेको ‘कसलाई भोट दिने ?’ मात्रै होइन, ‘किन दिने ?’, ‘कस्तो नीति ठीक ?’, ‘को गलत छ ?’ र ‘मैले के गर्न सक्छु ?’ भन्ने प्रश्नको उत्तर खोज्ने बिन्दु हो । युवालाई स्कुलदेखि नै लोकतन्त्र, संविधान, मानव अधिकार, समानता र सामाजिक न्यायका सन्दर्भमा सिकाइ हुनुपर्छ । विद्यालय र विश्वविद्यालयमा वैचारिक बहस, विद्यार्थी संसद्जस्ता अभ्यास गरिएमा लोकतान्त्रिक चेतना विकास गर्न मद्दत गर्दछ ।

युवालाई राजनीतिक दलहरूको प्रचारको साधन होइन, आलोचनात्मक चेत र परिवर्तनको संवाहक बनाइनुपर्छ । सामाजिक सञ्जालमा अन्ध समर्थनभन्दा विवेकपूर्ण विश्लेषण, सहमत–असहमत बहस र विचार निर्माणको संस्कृति स्थापनाका लागि काम गर्ने संरचनाको विकास नै आजको गन्तव्य हो ।

व्यावसायिक शिक्षाको अभावमा उच्च शिक्षाको प्रमाणपत्र बोकेर युवा बेरोजगार बन्ने परिस्थिति अन्त्य गर्ने प्राविधिक योग्यता आजको खाँचो हो । नेपालका लाखौं युवा आज खाडी, मलेसिया, कोरिया र युरोप–अमेरिकाका सपनासँगै जीवन संघर्ष गरिरहेका छन् । नेपालमा अवसर छैन भन्ने तिनको धारणा यथार्थसँग जोडिएको गहिरो पीडा हो । त्यसबाट उन्मुक्ति दिने बाटो भने यही देशभित्रै प्राविधिक सीप र स्वरोजगारको क्रान्तिमा छ भन्ने विश्वास जगाउन जरुरी छ ।

युवालाई केवल डिग्री होइन, सीप चाहिन्छ । कृषि, पर्यटन, सूचना प्रविधि, निर्माण, स्वास्थ्य, डिजाइन, मिडिया, हरित ऊर्जालगायत क्षेत्रमा आधारित व्यावसायिक तथा प्राविधिक शिक्षालाई मुख्य धारमा ल्याउनुपर्छ । सरकार र निजी क्षेत्र मिलेर युवाका लागि स्टार्टअप प्याकेज, सस्तो ऋण, कर छुट, तालिम र व्यवसाय परामर्श, बजार सुनिश्चितता र सहजीकरणको आवश्यकता छ ।

बौद्धिकता सोच्ने, प्रश्न उठाउने, समाधान खोज्ने र सिर्जनशीलताको अभ्यास गर्ने क्षमता हो । अहिलेको युवापुस्ता सूचना प्रविधिमा सजग छन्, तर सामाजिक सञ्जालको छिटो, सतही र सनसनीपूर्ण संसारमा डुबेर गहिराइ र विश्लेषण क्षमता गुमाइरहेको पाइन्छ । युवालाई गहिरो अध्ययन, बहस र बौद्धिक अभ्यासमा लगाउनुपर्छ ।

सिर्जनात्मक अभ्यासले उनीहरूलाई नयाँ आयाम र आकार दिन सहयोग गर्छ । पुस्तक पढ्ने संस्कार विकास गर्नुपर्ने बेला आएको छ । स्कुल–कलेजमा नियमित ‘बुक रिभ्यु’, ‘बहस कार्यक्रम’ र ‘बौद्धिक गोष्ठी’ अनिवार्य गरिनुपर्छ । साहित्य, नाटक, फिल्म, चित्रकलाजस्ता माध्यमहरूलाई युवाको चेतना विस्तारको साधन बनाउनुपर्छ । युवाले लेख्ने, भोग्ने र बोल्ने संस्कृतिको विकास हुनुपर्छ । दलीयकरणले ध्वस्त शिक्षालाई आलोचनात्मक, सिर्जनात्मक र विवेकको प्रज्ञान क्षेत्रमा बौद्धिक पहलमानी गर्ने पवित्र स्थलमा रूपान्तरण गर्नुपर्छ ।

सम्मान, सहिष्णुता, श्रमशीलता, इमानदार, अनुशासन र करुणाको अभ्यासद्वारा शिक्षित र दीक्षित हुने परिपाटी शिक्षा संस्कार र जीवनमा आवश्यक छ । परिवारबाट थालिएको मूल्यको शिक्षा, विद्यालयमा संस्थागत संस्कार र समाजमा आदर्श व्यक्तिको अनुकरणले युवालाई शिष्ट, सौम्य, अनुशासित र नेतृत्वदायी क्षमताको निर्माण गर्दछ ।

वर्तमान विश्वपरिस्थिति संस्कारको नाममा अन्धविश्वास होइन, विवेकयुक्त मानववादी मूल्यहरूको प्रस्तावक र नैतिकताको मानक अभ्यास खोज्दछ । यस प्रकारको जनशक्ति उत्पादन केन्द्र शैक्षिक र अनुसन्धानकर्ता निकायहरू हुन् । यस्ता निकायको नेतृत्व उच्च नैतिकता र आदर्श बोकेका शैक्षिक अग्रणीहरूद्वारा हुनुपर्छ । समाजमा नेतृत्व गर्नेहरू नै नैतिक रूपमा सबल भए नैतिक अनुकरणीयता अपरिहार्य बन्दछ ।

निर्माण गर्ने, सिर्जनात्मक, रचनात्मक, प्रतिस्पर्धी, सहयोगी र उदार पुस्ता उत्पादन आजको प्रमुख आवश्यकता हो । युवालाई यथार्थको धरातलमा उभ्याएर सपनाको आकृतिलाई व्यवहारको क्यानभासमा उतार्ने बनाइदिनुपर्छ । युवामा विद्रोहको आगो र रचनाको आँखा हुनुपर्छ ।

राजनीतिक चेत, प्राविधिक सीप, बौद्धिक दृष्टि र जीवन मूल्यका आधारमा मात्रै हामीले भ्रान्त युवा पुस्तालाई एक सक्षम नागरिकमा रूपान्तरण गर्न सक्छौं । संस्कारयुक्त युवा भनेको केवल शिष्ट र नरम बोल्ने मात्र होइन, निर्णयमा गहिरो सोच राख्ने, व्यवहारमा संयम अपनाउने र असहमतिलाई पनि सम्मानपूर्वक सम्बोधन गर्न सक्ने ल्याकत भएको बौद्धिक र तार्किक शक्ति हो । असहमत पक्षमा पनि ज्ञानको स्थानलाई उच्च मूल्यांकन गर्ने सामयिक चेत भएको युवा हो । 

सञ्जीव कार्की

Link copied successfully