के दोस्रो विश्वयुद्धताका यहुदीहरूलाई हिटलरले दिएको चोट र आज इजरायलले प्यालेस्टिनीहरूलाई दिएको चोटको दुखाइ एउटै होइन ?
काठमाडौँ — आतंकवाद कति क्रूर हुन्छ र यसको कुनै सीमा हुँदैन भन्ने दृष्टान्त वैशाख ५ मा कान्तिपुरमा प्रकाशित तस्बिरले देखाउँछ । त्यो तस्बिर मार्च २०२४ मा इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेपछि भाग्दै गरेको अवस्थामा बम विस्फोटमा परेर दुवै हात गुमाएका ९ वर्षीय प्यालेस्टिनी बालक महमुद अजौरको थियो ।
हवाई आक्रमण हुन थालेपछि भाग्दै गर्दा उनका बुवाआमा पछि छुटेकाले उनीहरूलाई अगाडि आउनका लागि लिन जाँदै गर्दा उनी विस्फोटमा परेका थिए । विस्फोटमा उनको एक हात चुँडिएको र अर्को हात कामै नलाग्ने भएपछि अस्पतालमा काटिएको थियो । जब उनी होसमा आए, उनले आफ्ना दुवै हात नभएको थाहा पाए । त्यसपछि उनले आफ्नी आमासँग भनेका थिए, ‘आमा ! अब म तपाईंलाई कसरी अँगालो हाल्न सक्छु ?’
यी शब्दले सायद जोकसैको हृदयलाई नछोइरहन सक्दैन होला । एक आमा हुनुको नाताले जब मैले त्यो तस्बिर देखें र उक्त बालकका यी शब्द पढें, मेरो मुटुमा गाँठो पर्यो, हृदय छियाछिया भयो । बिहानै पत्रिका हातमा लिएर आँखाको डिलभरि आँसु पार्दै मेरो श्रीमान्ले भान्साको टेबुलमा पत्रिका राख्दै भन्नुभयो, ‘मैले त भन्न सक्दिनँ, लौ तिमी आफैं पढ युद्धको खबर !’ प्रायः बिहान म भान्सामा काम गरिरहँदा पत्रिकाका खबर उहाँ आफैं पढेर सुनाउने गर्नुहुन्थ्यो ।
प्यालेस्टिनी फोटोग्राफर समर अबु एलौफले खिचेको यो तस्बिर ‘वर्ल्ड प्रेस फोटो अफ द इयर’ घोषित भएको छ । यो त एक उदाहरण मात्र हो । ७ अक्टोबर २०२३ मा इजरायलमा हमास आतंककारीले आक्रमण गरेर निर्दोष नागरिकको हत्या गरेपछिको जवाफी कारबाहीमा इजरायलले गाजामा लगातार नरसंहार नै मच्चाएको छ र सो नरसंहारमा यो लेख तयार पार्दासम्म ५३ हजार बढीको मृत्यु भएको र १ लाख २० हजार बढी घाइते भएका छन् । मृत्यु हुने र घाइते हुनेहरूमा अधिकांश महिला र बालबालिका छन् । त्यस दिन हमास आतंककारीले १ हजार २ सय जनाको हत्या गरी २ सय ४० जनालाई बन्धक बनाई लगेका थिए । उक्त आक्रमणमा नेपाली विद्यार्थी पनि परेको र तीमध्ये विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ ।
यता इजरायलले बन्धक रिहाइका लागि भन्दै लगातार हवाई आक्रमण गरेर गाजालाई ध्वस्त पारिरहेको मात्र छैन, निर्दोष प्यालेस्टिनी नागरिकको निरन्तर हत्या गरिरहेको छ । घाइतेको अवस्था अत्यन्त दयनीय छ । आतंकवादी लुकेको बहानामा विद्यालय र अस्पताललाई बमले उडाइएको छ । बालबालिकाहरू आफ्ना घरका भग्नावशेषमा बसेर रोइरहेका दृश्य हेर्न सकिँदैन । आक्रमणको त्रासले रुँदै भाग्दै गरेका बालबालिका, घाइते र मृत्यु भएका बच्चाहरूलाई काखमा च्यापेर रोइरहेका प्यालेस्टिनी आमाबाबुहरू, इजरायलले नाकाबन्दी गरेपछि भोकमरीले छटपटाएका प्यालेस्टिनी बालबालिकाका अवस्थाले न संयुक्त राष्ट्रसंघलाई पिरोलेको छ न त ‘मलाई युद्ध मन पर्दैन, म विश्वमा शान्ति चाहन्छु’ भनिरहने सर्वशक्तिशाली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै छोएको छ ।
यतिबेला ट्रम्प युद्धविरोधी अभिव्यक्ति दिँदै हिँडेको देखिन्छ । आफैंले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई रुसविरुद्ध उचालेर युक्रेनलाई ध्वस्त बनाइसकेपछि त्यहाँको बहुमूल्य खनिज हात पार्ने लालसासहित अब बल्ल युद्धविरामको मध्यस्थता गर्न तम्सेका देखिन्छन् । तर गाजाको नरसंहार र इजरायलको मानवताविरोधी अपराधप्रति उनको कत्ति पनि चासो छैन । हुन त आतंकवाद कसैका लागि पनि स्विकार्य छैन, तर यसो भन्दैमा सम्पूर्ण प्यालेस्टिनीहरूलाई आतंकवादीजस्तो गरी व्यवहार गरिनु र हत्या गरिनु किमार्थ उचित होइन । प्यालेस्टिनीहरूको अस्तित्व नामेट पार्न खोज्नुअघि इजरायलीहरूले सम्झनुपर्ने थियो कि कसरी हिटलरले जर्मनीबाट यहुदीहरूको नरसंहार गरे र कसरी यहुदीहरू आफ्नो अस्तित्व जोगाउन भाग्दै आएर इजरायल कब्जा गरी बसे । के दोस्रो विश्वयुद्धताका यहुदीहरूलाई हिटलरले दिएको चोट र आज उनीहरू (इजरायल) ले प्यालेस्टिनीहरूलाई दिएको चोटको दुखाइ एउटै होइन ? यसर्थ गाजामा शान्तिका लागि पनि इजरायलले हमाससँगको युद्ध रोक्नुपर्छ र यसका लागि राष्ट्रसंघले हस्तक्षेप गर्नैपर्छ । अनि राष्ट्रसंघलाई आफ्नो पकडमा राखेका अमेरिकी राष्ट्रपति ट्रम्पले यसमा पहल गर्नैपर्छ ।
विश्व आज आतंकवादको चपेटामा परेर थिलथिलो भइरहेको छ । गत अप्रिल २२ मा भारत शासित कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भयो । हिन्दु भएकै कारण छानीछानी आमाकै अगाडि छोराको, पत्नीका अगाडि पतिको गोली हानी हत्या गरियो । यसै आक्रमणमा बुटवलका सुदीप न्यौपानेलाई पनि आफ्नी आमा र बैनीका अगाडि गोली हानेर मारियो । भर्खर बिहे गरेर हनिमुन मनाउन गएका एक भारतीय जोडीमध्ये पत्नीकै अगाडि पतिलाई गोली हानेर अलग गरिदिए । यस क्रूर आततायी घटनापश्चात् भारतले बदलास्वरूप पाकिस्तानमाथि आक्रमण गर्यो भने पाकिस्तानले भारतमाथि जवाफी आक्रमण गर्यो । यी दुई देशबीच युद्ध सुरु हुने देखिएपछि नेपालमा पनि युद्धको संत्रास र चिन्ता सुरु हुन थाल्यो । किनकि धेरै नेपाली युवा भारतीय सेनामा भर्ती भएका छन् र यदि युद्ध भएमा अघिल्लो मोर्चामा खटाइने सैनिक तिनै नेपाली हुनेछन् । युद्धमा गएपछि कि मार्छन् कि मारिन्छन् । जसले गर्दा उनीहरूसँग आश्रित परिवार र तिनका आमाबाबुहरूमा रुवाबासीको अवस्था सुरु भयो । कसोकसो तत्काललाई युद्ध टर्यो र नेपालीले पनि शान्तिको सास फेर्न पाए । आतंकवादले नेपालीलाई जहाँ गए पनि छोडेको छैन । कहिले इराकमा निर्दोष युवालाई गोलीको सिकार बनाइन्छ, कहिले इजरायलमा त कहिले कश्मीरमा । जहाँ युद्ध हुन्छ, त्यहाँ नेपाली युवालाई तिनको गरिबीले पुर्याएकै छ । रुस–युक्रेन युद्धमा अहिलेसम्म ७३ जना नेपाली युवाले ज्यान गुमाइसकेका छन् ।
यो लेख लेखिरहँदा मेरा आँखाअगाडि युद्धमा दुवै हात गुमाएको प्यालेस्टिनी बालक उभिएको छ । बमले ध्वस्त भएका घरका भग्नावशेषमा बसेर रोइरहेका र भग्नावशेष खोतल्दै केही खोजिरहेका युक्रेन र गाजाका बालबालिका, आक्रमणको त्रासमा आफ्ना आमाबाबुसँगै सकीनसकी भाग्दै गरेका बालबालिका, आफ्नो थातथलो छोडेर शरणार्थी बन्न बालबच्चा च्यापेर अर्को देश भाग्दै गरेका मानिस, एक छाक खानका लागि सिलावरको थाल लिएर शरणार्थी शिविरमा तँछाडमछाड गरिरहेका कुपोषणग्रस्त बालबालिकाका दारुण तस्बिर नाचिरहेका छन् र ती तस्बिरले मेरा आँखा भिजाइरहेका छन् ।
