जलवायु परिवर्तनले निम्त्याएको अस्तित्वको खतराका अतिरिक्त भूराजनीतिक विकासहरूले विश्वलाई थप अनिश्चित र विभाजित बनाउँदै छ, त्यसैले चुनौतीहरूको समाधान पहिल्याउन सँगै काम गर्ने कुरा महत्त्वपूर्ण छ
७५ वर्ष पहिले ९ मे १९५० मा ६ वटा देश फ्रान्स, जर्मनी, बेल्जियम, इटली, लक्जेम्बर्ग र नेदरल्यान्डस्ले आर्थिक सहयोग घोषणापत्रमा हस्ताक्षर गरेका थिए । त्यो युरोपियन युनियन (ईयू) स्थापनाको दिशामा पहिलो कदम भयो । अहिले ईयूमा २७ देश छन् ।
४५ करोड नागरिक ऐक्यबद्धता र सहायताको सिन्द्धातहरूको जगमा एकजुट छन् । बहुपक्षीयता अन्तर्राष्ट्रिय मापदण्डमा अभूतपूर्व चुनौती खडा भएको सन्दर्भमा अहिले यी सिद्धान्तहरू झनै बढी सान्दर्भिक भएका छन् ।
रुसले युक्रेनविरुद्ध थालेको गैरकानुनी र अकारण युद्ध तीन वर्ष पूरा भइसक्दा पनि चलिरहेको छ । यसले युरोप र विश्वलाई नै उल्लेख्य जोखिम पुर्याएको छ । राम्रो कमाइ र नागरिकता प्राप्तिका झूटो वाचाहरूबाट धोका खाएर दर्जनौं नेपालीहरूले समेत रुसको पक्षबाट लड्दा ज्यान गुमाएका छन् ।
ईयू युक्रेनविरुद्धको रसियन आक्रमकताको भर्त्सना गर्दछ । युक्रेनका लागि हामी दृढ र विश्वासिलो साझेदार भएका छौं । अन्तर्राष्ट्रिय समुदायको सार्वभौम सदस्यविरुद्ध रसियाको साम्राज्यवादी युद्धको विरोधमा युक्रेनलाई सहयोग गर्न हामी प्रतिबद्ध रहनेछौं । हामी ठूला र साना सबै देशहरूको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा समान अधिकार हुन्छ भन्ने विश्वास गर्छौं ।
यसैगरी, युरोप महादेशबाट टाढा रहेका धेरै देशहरूका लागि समेत ईयू भरपर्दो साझेदार हो । सन् २०२४ मा हामीले ईयू–नेपालबीच दौत्य सम्बन्धको ५० औं वर्ष मनायौं । यो आधा शताब्दीमा सदस्य राष्ट्रहरूसहित युरोप समूह (टिम युरोप) को रूपमा ईयू नेपालको दिगो र समावेशी विकासको आकांक्षामा सँगै उभिएको छ ।
ईयूले हालै सार्वजनिक गरेको ‘ग्लोबल गेटवे इनिसियटिभ’ अन्तर्गत हामी नेपाललाई केही महत्त्वका क्षेत्रहरू शिक्षा र हरित ऊर्जालगायतमा सहायता गर्नेछौं । ‘ग्लोबल गेटवे’ ले नेपालजस्ता विकासशील देशहरूको उद्यमशीलता अभिवृद्धि र दिगो उन्नति हासिल गर्न ईयू, सदस्य राष्ट्रहरू र वित्तीय संस्थाजस्तै युरोपियन इन्भेस्टमेन्ट बैंक र युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलमेन्टबाट स्रोत जम्मा गर्दछ ।
ईयू शिक्षा क्षेत्रमा नेपाल सरकारसँग दीर्घकालीन साझेदार रहँदै आएको छ । ‘ग्लोबल गेटवे’ अन्तर्गत ‘सबैका लागि गुणस्तरीय शिक्षा’ सञ्चालनमा छ । युरोप समूहले यस कार्यक्रममार्फत किशोरी, बालिका र सीमान्तकृत समुदायहरूको नेपालको शिक्षा क्षेत्रलाई थप समावेशी बनाउन, सबै तहका सरकारहरूमार्फत शिक्षा नीति कार्यान्वयन र शिक्षक तालिममा सहायता प्रदान गर्दछ ।
झन्डै ५० मिलियन युरोको हाम्रो अनुदान सहायताका तीन मुख्य स्तम्भहरू छन्– शिक्षामा समतामूलक तथा समावेशी पहुँच, आधुनिक र प्रभावकारी शैक्षिक विधि अवलम्बनका लागि शिक्षकहरूलाई तालिम र सबै तहका सरकारहरूमाझ समन्वय र साझेदारीमार्फत शिक्षा प्रणालीमा सुशासन अभिवृद्धि ।
हामीले नेपालसँग ऊर्जा क्षेत्रमा पनि साझेदारी गरेका छौं । हाम्रो ‘ग्लोबल गेटवे’ को ‘साउथ एसिया इनर्जी कनेक्टिभिटी’ परियोजनामार्फत नेपाललाई स्वच्छ ऊर्जा र समावेशी हरित वृद्धिका लागि सहायता गरेका छौं । यी दुवै युरोपमा धेरै नै उत्साहसाथ हेरिएका क्षेत्रहरू हुन् ।
हामीले सरकारी र निजी दुवै क्षेत्रहरूको सहभागितामा नवीकरणीय ऊर्जा र ऊर्जा किफायती समाधानहरूको प्रवर्द्धन र विकासका लागि ५० मिलियन युरो सहायताको प्रतिबद्धता जनाएका छौं । हामी यसअन्तर्गत उत्पादित ऊर्जा प्रभावकारी प्रसारण र वितरण प्रणालीमार्फत जुनसुकै जातजाति वा भूगोल सबै नेपालीहरूसम्म पुग्ने सुनिश्चित गर्न चाहन्छौं ।
उदाहरणको लागि, हालै सम्पन्न चिलिमे–त्रिशूली प्रसारण लाइनले नुवाकोट र रसुवा जिल्लाका सयौं परिवारहरूमा विद्युत् आपूर्ति गर्दछ । यसकारण हामी सन् २०३० सम्ममा सबैमा विद्युत् पहुँच सुनिश्चित गर्ने र सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने नेपाल सरकारको महत्त्वाकांक्षी लक्ष्य प्राप्तिमा सघाउन प्रतिबद्ध छौं ।
नेपालको अर्को प्राथमिकताको विषय जलवायु परिवर्तनका परिणामहरूको सम्बोधन गर्नॅ हो । उत्सर्जनमा नगन्य योगदानका बाबजुद नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा जोखिममा रहेको देशहरूमा पर्दछ । जलवायु उत्थानशीलता ‘ग्लोबल गेटवे इन्भेन्टमेन्ट’ योजनाको महत्त्वपूर्ण क्षेत्र हो ।
ईयूले नेपाललाई जलवायु परिवर्तनको असरहरूको सामना गर्ने नवीन विधिहरू तय गर्न सहयोग गर्नेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका किसानहरूलाई युरोपियन युनियनले कृषि क्षेत्रमा जलवायु परिवर्तनका असरहरूको सामना गर्न हरित उत्थानशील कृषि संरक्षण प्रणाली कार्यक्रममार्फत सहयोग गरिरहेका छौं ।
नेपाल र विश्वले नै यसअघि नभएका चुनौतीहरूको सामना गर्दै छन् । जलवायु परिवर्तनले निम्त्याएको अस्तित्वको खतराका अतिरिक्त भूराजनीतिक विकासहरूले विश्वलाई थप अनिश्चित ठाउँमा पुर्याएको छ । पहिले विश्वव्यापी रूपमा जोडिएको संसार अहिले समूहहरूमा विभाजित हुँदै छ ।
ईयू यस प्रकारको विभाजन रोक्न र सामुदायिकता, ऐक्यबद्धता र अन्तरआबद्धताको जगमा नयाँ विश्व मापदण्ड सुनिश्चित गर्न खडा भएको थियो । यसकारण दिगो सम्बन्ध निर्माण र अगाडि रहेका चुनौतीहरूको समाधान पहिल्याउन सँगै काम गर्ने कुरा यसअघिभन्दा बढी महत्त्वपूर्ण भएका छन् ।
नेपाल र ईयू लोकतन्त्र, मानव अधिकार र समानताजस्ता हाम्रा साझा मूल्यमान्यताहरूको सन्दर्भमा एकै ठाउँमा उभिनैपर्छ । यी मूल्यहरूले विगत ५० वर्षहरूमा हाम्रो मित्रताको जग निर्माण गरेका छन् । हामी सधैं सँगसँगै बलिया छौं ।
–लोरेन्जो नेपालका लागि युरोपियन युनियनका राजदूत हुन् ।
