यौन दुर्व्यवहारबाट बचाउन परिवारको भूमिका

घरपरिवारकै सदस्य वा स्कुलमा दुर्व्यवहार हुँदा किशोरीहरू चुप लाग्छन्, साना बालबालिकाहरूलाई त दुर्व्यवहार गरेको पनि थाहा हुँदैन, त्यसैले बुबाआमा र परिवारका सदस्यले उनीहरूलाई सम्भावित दुर्व्यवहारबारे शिक्षा दिनुपर्छ, प्रतिवाद गर्न सिकाउनुपर्छ

वैशाख २५, २०८२

अरुणा उप्रेती

The role of the family in protecting against sexual abuse

दुई वर्षअघि काठमाडौं नजिकैको एक जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई उनका ठूलोबुबाले बलात्कार गरे ।’ ती किशोरीका बुबा थिएनन्, आमा र छोरी ठूलोबुबाको घरमा बस्थे । ठूलोबुबाले बलात्कार गर्लान् भन्ने बालिकाले सोचेकी थिइनन् ।

ठूलोबुबाले अँगालो हालेर म्वाई खाँदा उनी खुसी नै हुन्थिन् । तर एक दिन घरमा कोही नभएका बेला बालिकालाई बलात्कार गरे । आमाले थाहा पाइन् र पुलिसमा खबर गरिन् । तर ती किशोरी त मानसिक रोगीजस्तै भइन् । त्यो थाहा पाएर हामीले उनलाई ‘अन्तरदृष्टि’ नामक संस्था काठमाडौंमा ल्यायौं । उनको मन र शरीरको उपचार गरेपछि उनी अहिले पढ्दै छिन् । ठूलोबुबा जेलमा छन् । 

‘घरमा काका, मामा, काकाका छोराहरू वा अन्य कुनै पुरुषहरू छन् भने बालिका र किशोरीहरूलाई उनीहरूबाट हुन सक्ने यौन दुर्व्यवहारबारेमा सचेत गराउनैपर्छ,’ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा भन्छन्, ‘स्कुलमा शिक्षकहरूले, घरमा बुबा वा दाजुका साथीहरू वा काकाहरूबाट यौन दुर्व्यवहार हुँदा कति जना बालिका र किशोरीहरूले पहिले त डराएर आमा वा बज्यैलाई भन्दैनन् ।’

किनभने प्रायः हाम्रो समाजमा घरका मानिसले घरका दिदीबहिनी वा भतिजीलाई यौन दुर्व्यवहार गर्दैनन्, उनीहरूको बीचमा पवित्र सम्बन्ध हुन्छ भन्ने भावना पाइन्छ । तर यस्ता समस्याहरू बारम्बार समाजमा देखिएका छन् । 

सबै घरमा यस्ता समस्या हुन्छन् भन्ने होइन तर बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार घरका मानिसबाट र रगतको नाताबाट पनि हुन सक्छ । यस्तो सम्बन्ध हुँदा कति किशोरीहरू गर्भवती भएर स्त्री रोग विशेषज्ञकहाँ आएका पनि छन् । मेरी स्त्री रोग विशेषज्ञ साथीले यस्तै एक घटना सुनाएकी थिइन्, ‘केही महिनाअघि मकहाँ १५ वर्षकी किशोरीलाई गर्भपतन गर्न ल्याइयो । उनको ५ महिनाको गर्भ रहेछ ।

उनकी दिदीले ल्याएकी थिइन् । दिदीलाई बाहिर पठाएर मैले किशोरीसँग कुराकानी गरें । त्यसपछि थाहा भयो, उनकी फुपूका श्रीमान्ले ती किशोरीलाई बलात्कार गर्दा रहेछन् । बाहिरबाट फुपाजुले ती किशोरीलाई निकै माया गरेको देखाउने र घरका मानिसले पनि ‘ऊ त फुपा र फुपूको छोरी नै भई’ भन्दारहेछन् । 

किशोरी ‘फुपाजुले बलात्कार गर्‍यो भनेर कसैलाई भन्यो भने पक्कै विश्वास गर्ने छैनन्’ भन्ने ठानेर सबै कुरा सहेर बसिन् । केहीअघि उनको महिनावारी रोकियो । तर ‘यस्तो त भई नै रहन्छ बढ्दो उमेरमा’ भनेर आमाले नै भनेपछि उनी चुप लागिन् । पछि उनको गर्भ रहेको कुरा आमा र दिदीलाई थाहा भयो । किशोरीले रुँदै भनेकी थिइन् । तर उनले उल्टै गाली खाइन् ।

घरका व्यक्तिले आफ्नो इज्जत बचाउन कसैलाई खबर नगरेर उनको गर्भपतन गर्न ल्याएका रहेछन् । अनि मैले दिदीलाई बोलाएर यस्तो घटना त पुलिसमा खबर गर्नुपर्ने भन्दा दिदीले चाहिँ ‘समाजमा इज्जत जाने र ती किशोरीको पनि जीवन बर्बाद हुने भएकाले पुलिसलाई खबर नगर्ने र जसरी भए पनि गर्भपतन गराइदिन’ आग्रह गरिन् । अनि मैले गर्भपतन गरिदिएँ ।’ 

काठमाडौंकी अर्की एक जना वरिष्ठ स्त्री रोग विशेषज्ञका अनुसार बालबालिका तथा किशोरीहरूलाई हातपात हुने र बलात्कार हुने समस्या बढ्दै गएको छ । 

सायद पहिला पनि यस्ता घटना हुन्थे होलान् तर ती बाहिर आउँदैन थिए । कतिपय स्कुलमा प्रधानाध्यापक वा अध्यापकले किशोरी वा बालबालिकालाई घरमा पढ्न बोलाएर वा स्कुलमा बढी समय राखेर यौन दुर्व्यवहार र बलात्कार गरेका घटनाहरू हुन्छन् । यसरी दुर्व्यवहार हुँदा किशोरीहरूको बानीव्यवहार परिवर्तन हुने, चुप लागेर बस्ने, पढाइको स्तर गिर्दै जाने हुन सक्छ । 

घरपरिवारका व्यक्ति वा स्कुलमा दुर्व्यवहार हुँदा किशोरीहरू चुप लाग्छन् । साना बालबालिकाहरूलाई त कसैले दुर्व्यवहार गरेको पनि थाहा हुँदैन । कतिपय ठाउँमा त बालबालिकाहरूलाई स्याहार्न राखेका युवा र वयस्क पुरुषहरूले बलात्कार गर्ने घटनाहरू पनि देखिएका छन् । त्यसरी नै किशोरीहरूलाई आफ्नै उमेरका काकाका छोरा, मामा, दाजु, भाइहरूले पनि माया गर्ने निहुँमा अँगालो मार्ने, गालामा म्वाई खानेजस्ता यौन क्रियाकलापहरू गरेका हुन्छन् ।

यदि किशोरीहरूलाई पहिले नै यसका बारेमा ज्ञान भयो भने यस्ता घटना कम हुन सक्छन् । घरका बाबु वा आमाले कसैले उनलाई ‘अभद्र व्यवहार गरेमा, उनको शरीरको कुनै पनि भाग छोएमा, चुम्बन गरेमा वा बलात्कार गर्न कोसिस गरेमा तुरुन्त कसैलाई आएर भनिहाल्नु’ भनी सिकाउनुपर्छ । कडा स्वरमा प्रतिवाद गर्नुपर्छ भनेर पनि सिकाउनुपर्छ ।

बालबालिकाहरू कतिपय अवस्थामा आफूलाई के गरिरहेका छन् भन्ने कुरा नै बुझ्न सक्दैनन् । उनीहरूले सायद कसैले चिमोटेको, गालामा यौनको दृष्टिकोणले म्वाई खाएको आदि भन्न सक्दैनन् । त्यसैले बालिकाहरूलाई घरका ठूला व्यक्तिले विशेष सुरक्षा दिनुपर्छ । 

यस्ता समस्याहरू सहरमा मात्र होइन, गाउँघरमा पनि हुन सक्छन् । त्यसैले घरका व्यक्तिले किशोरीहरूलाई भयरहित वातावरणमा आफ्नो कुरा राख्न प्रेरणा दिन सक्छन् र दिनुपर्छ । किशोरकिशोरीहरूलाई यौन सम्बन्ध र प्रेम छुट्याउन गाह्रो हुन्छ । जसले यौन सम्बन्ध राख्छ, उसले आफूलाई प्रेम गर्छ र उसैसँग सम्पूर्ण जिन्दगी आनन्दसँग बित्छ भन्ने भावना हुन सक्छ ।

उनीहरूलाई सरसल्लाह दिने ठाउँ भएमा कतिपय किशोरीहरूले आफ्ना समस्या केलाउन सक्छन् र घरका मानिसलाई भन्न सक्छन् । त्यसैले आमा, दिदी, बुबाहरू सजग भएर आफ्ना छोरी, बहिनीलाई यस्तो यौन दुराचारबाट बचाउन सहयोग गर्नुपर्छ । 

अरुणा डा. उप्रेती जनस्वास्थ्यविद् तथा लेखक हुन् । उनी खाद्य, पाेषण, महिला अधिकार लगायतका बिषयमा लेख्छिन् ।

Link copied successfully