अहिले भइरहेको प्रकृति दोहन, वातावरण विनाश र जैविक विविधता नाश हुँदै फैलिएको विष खन्चुवा कृषि चेतको उपज हो । यसको प्रभावले हावा, पानी, माटो र खाना मात्र छैन, समाज र राजनीति झनै विषाक्त भएको छ । यसले बाँच्नका लागि खाना र खानाका लागि खेतीपाती गर्ने किसानी संस्कृतिलाई पाखा लगाएको छ ।
मानिसले खेती गर्नु र बस्तुभाउ हुर्काउनुको मुख्य प्रयोजन बाँच्नका लागि खानेकुराको बन्दोबस्त गर्नु हो । किसानीको हजारौं वर्षको यात्रामा सयौं ठक्कर र हन्डर खाँदै यहाँसम्म आइपुग्दा किसानका लागि भने यो खानेकुरा उब्जाउनुमा मात्र सीमित रहेन । आज उनीहरूका लागि खानाको बन्दोबस्त, सामाजिक सेवाको उद्यम र प्रकृतिसम्मत जीवन पद्धतिको एकमुष्ट सार बन्यो ।
खेती कर्म गरेर नै किसानले खानेकुराका साथै अन्य सबै आर्थिक, सामाजिक व्यवहार चलाउनुपर्छ । खेतीपाती मात्र गरेर आफ्नो सबै व्यवहार चल्न नसक्ने भएपछि भने किसान क्रमशः खेतीपातीबाट टाढिँदै जान विवश भए ।
उनीहरूले सबैभन्दा पहिला खेतीपातीको जिम्मा परिवारका महिला र अन्य सदस्यलाई लगाएर बाहिर निस्के । योसँगै आफ्ना सन्ततिलाई यसबाट सधैंका लागि निस्कन सुझाए । यो किसानले खेतीपातीबाट सबै व्यवहार चल्न नसक्ने भएपछि अपनाएको बाध्यात्मक कदम हो ।
सम्पूर्ण समाजको खानाको बन्दोबस्त मिलाउने सामाजिक उद्यमी किसानलाई यो बाध्यतामा पर्न नदिन सघाउनुपर्ने समाज (राज्य, बजार र नागरिक) ले उल्टै उनीहरूलाई हेला–होचो गर्दै उपेक्षा गरिरह्यो र यो आजपर्यन्त जारी छ । खासगरी प्रकृतिको दोहनमा आधारित कृषि चेतले खेतीपाती र यो कर्म गर्ने किसान दुवैलाई हेर्ने सोच र व्यवहारमा ठूलो फेरबदल ल्याएको छ । यसले प्रकृतिसम्मत कृषिलाई निर्वाहमुखी र किसानीलाई निमुखाको पेसा भन्दै विगत ८ दशकदेखि बाँच्नका लागि गरिने आत्मनिर्भर खेतीपाती र यो कर्म गर्ने किसानी संस्कृतिको मर्ममाथि निरन्तर प्रहार गरिरहेको छ ।
हाम्रो देशका बहुसंख्यक साना र श्रमिक किसानमा आधारित कृषि क्षेत्र निरन्तर पलायनको यात्रामा छ । सरकार र सरोकार समूह यो वास्तविकतालाई बेवास्ता गर्दै खन्चुवा कृषि चेत थोपरिरहेका छन् । परम्परागत प्रकृतिसम्मत कृषि पद्धतिलाई उन्नत बनाउनुको साटो यसलाई धारेहात लगाउँदै आधुनिक, औद्योगिक र व्यावसायिक खेतीको रटान लगाइरहेका छन् ।
यिनै शब्दजालको सहारा लिएर प्रकृति र वातावरण तहसनहस बनाउँदै दलाल पोस्ने कृषिका संरचना, नीति र कार्यक्रममा जोड दिँदै आएका छन् । अर्को अर्थमा, हाम्रो परिवेशमा कृषि उन्नत बनाउने उपयुक्त प्रकृतिसम्मत उत्पादन ढाँचा र रणनीति छोडेर सरकार र कृषि विकास साझेदारहरूले पैसा फलाउने झोले किसान मात्र उक्साएका छन् ।
परिणाम सबैका सामु छर्लङ्ग छ । अहिले आयातित र विषाक्त खेतीपातीले सबैका भान्सामा विषाक्त र पत्रु खानाको बोलवाला छ । खाद्यमा परनिर्भरता झनै बढ्दै गएको छ । यसले हाम्रो स्वाभिमान राष्ट्रिय सुरक्षासमेत धरापमा पर्दै गएको छ । किसान घरबार चलाउने आम्दानीको खोजीमा भौंतारिएको छ । खेतबारी बाँझै भएर मिचाहा झार, झाडी र वन्यजन्तु बढेसँगै गाउँघर आतंकित छ ।
भूमिहीन किसान जोत्ने जमिनको खोजीमा आन्दोलित छन् । पुरुष पलायन भएका घरपरिवारका महिलाले खेती कर्मको बोझ धानेका छन् । यो कुरा त्यतिमा मात्र सीमित छैन । हावा प्रदूषित छ । पानी बिलाएको छ । माटो मरिरहेछ । मलका नाममा कृत्रिम रसायनको बिगबिगी छ । नपुंसक बीउले एकछत्र राज गरेको छ ।
किसानको आम्दानी, रोजगारी र अर्थतन्त्र उकास्न अपनाउनुपर्ने उत्पादन प्रणाली, कृषि उद्यम, बजार व्यवस्थापन गर्ने सबै सोच उपभोग संस्कृतिमा आधारित छन् । ६ दशक पार गरेको भूमि सुधारको अन्त्यहीन यात्रा भूमिको लुटपाटसँगै जारी छ । खेतीयोग्य जमिनमा खेती छैन । पाखापखेरामा समेत खेती गर्ने भूमिहीन श्रमिकसँग जमिन छैन । कृषि जमिन जोगाउने र श्रमिक किसानलाई खेतीयोग्य जमिन उपलब्ध गराउने प्रतिबद्धता छैन ।
जमिन हुनेले खेती गर्दैन । बाँझो जमिन उपयोग गर्ने सुरसार छैन । महिलाले कृषि धानेका छन् । तर कृषिमा महिला उद्यमशीलता बढाउन महिलामैत्री बनाउने कुनै सोच छैन । जलवायु जोखिमसँगै बढेको वातावरणीय फेरबदल अनुकूलको स्थानीय बीउबिजन, बस्तुभाउ जोगाउने र उन्नत बनाउने अनुसन्धान र परीक्षण छैन । आयातित विषाक्त खाना खान बाध्य सहरियाको रोइलो मात्र छ ।
यसलाई सम्बोधन गर्न प्रश्न उठाउने चिन्तन छैन । वातावरण स्वच्छ बनाउने प्रयत्न छैन । बिलाउँदै गरेको पानी जतन गर्ने कार्यको खोजी छैन । माटोमा प्रांगारिक पदार्थ पुनर्भरण गर्ने, पुनर्जीवित गर्ने र जोगाउने पहल छैन । राष्ट्रियता नै धरापमा पार्ने गरी विकराल बन्दै गएको खाद्य संकट सामना गर्ने कुनै तयारी छैन ।
हुन त अहिले सरकारी अधिकारी र कगजपत्रले जलवायु सम्बोधन, खाद्यान्न तथा बीउ बचत गर्ने र विषादी नियन्त्रण गर्ने कुरा सरकारको प्राथमिकतामा रहने दोहोर्याएका छन् । त्यसो त सरकारी दस्ताबेजहरू, नेता र अगुवाका भाषणमा यी कुरा उल्लेख भएको अहिले मात्र होइन, बन्दै गरेको कृषि नीतिमा समेत लाजगाज यसका केही प्रस्थान बिन्दु उल्लेख गरिएको छ । तर अहिलेको औद्योगिक कृषिको ढाँचामा दलाल पोस्ने बेथिति बसाएका यिनले कृषि सपार्न लाग्लान् भन्ने कुरामा विश्वास गर्ने कुनै आधार भने देखिँदैन । यो कुरा चार दशकको लामो अनुभवले सिद्ध भइसकेको छ ।
कृषि सपार्न आधुनिक, औद्योगिक र व्यावसायिक कृषिको एकोहोरो रटान लगाइएको छ । आधुनिकीकरणका नाममा कृत्रिम मल विषादी, नपुंसक र खनिज ऊर्जामा आधारित यान्त्रीकरणलाई मात्र सूत्र बनाइएको छ । कृत्रिम मलले माटो मारेको, विषादीले माटो पर्यावरण र मानिसलगायत सबै प्रजातिको स्वास्थ्यमा गम्भीर प्रभाव पारेको छ ।
यस्तो कृषिले विषाक्त खानेकुरा र उपचार गर्ने अस्पतालको व्यापार र नाफा मात्र बढाएको छ । आयातित बीउले किसानको लागत बढाएको, उनीहरूलाई परनिर्भर बनाएको, खानेकुराको गुणस्तर र विविधता घटेको छ । यान्त्रीकरणले श्रमिक किसानको रोजगारी खोसेको, प्रकृतिको विविधता मासेको र समग्र वातावरण प्रदूषित भएको छ । बाह्य स्रोत र प्रविधिमा आधारित यान्त्रीकरणले आम नेपालीलाई ऋणको भारी बोकाएको छ । यस्ता यन्त्र बाँड्न अनुदानको दुरुपयोग मात्र भएको छैन, यी यन्त्र चलाउने खनिज ऊर्जाले वातावरणसमेत प्रदूषित छ ।
त्यस्तै, समृद्ध नेपाल र सुखी नेपालीका नारा लगाउने सबैले कृषिको औद्योगिकीकरणलाई मूल मन्त्र बनाएका छन् । मैदानी औद्योगिक कृषि विकासको नक्कल हाम्रो विविधतापूर्ण समाज र भूगोलमा मेल नखाएकै कारण कृषि उन्नत नभएको हो ।
कृषि उत्पादनका जगमा मात्र उद्यम र उद्यमशीलता विकास हुन्छ । किसानले घरबारसमेत चलाउन नसक्ने भएर छोड्न बाध्य भएको कृषि क्षेत्रको उत्पादनले खान नपुगेर अन्य देशबाट बेसाहा खोजेर जेनतेन भान्सा चलेको छ । यस्तो अवस्थामा औद्योगिकीकरणको रटान हास्यास्पद छ । बरु खाद्य उत्पादनमा आत्मनिर्भर मात्र हुन सके अहिलेको आयात घटाउन सकिन्छ । तुलनात्मक लाभका लागि कृषि उपजको व्यापार गरेर व्यापार घाटा केही हदसम्म कम गर्न सकिन्छ ।
त्यसैगरी धेरै लगानी गरेर धेरै फलाउने र बेच्ने कुरालाई कृषि विकासको एकसूत्र बनाएर यसैलाई व्यावसायिक कृषि भनिएको छ । यसले खानाका लागि खेतीपाती गर्ने सामान्य किसान उपेक्षित र अपमानित छन् । हाम्रो परम्परागत खेतीलाई उन्नत बनाउने कुरै हुँदैन । सानैदेखि विकासे खेती राम्रो हो भनेर पढाइन्छ । यसमाथि व्यापक यान्त्रीकरण भएका मैदानी विकसित देशको हवाला दिँदै किसानको संख्या घटाउने भाषण गरिन्छ । यान्त्रीकरण गरी ठूलो क्षेत्रमा व्यावसायिक खेती गर्ने कुरा बहुसंख्यामा रहेका साना किसानको आम्दानी र रोजगारी खोस्ने जालझेल मात्र हो ।
समग्रमा उच्च बाह्य स्रोत र लगानी, कृत्रिम रसायन र विषादीका भरमा रहेको अहिलेकै जस्तो औद्योगिक कृषि प्रणाली अपनाएर नेपालको कृषि सप्रिँदैन । यसमाथि, थपिँदै गएका वातावरणीय तथा खाद्य संकटको सामना गर्न हाम्रो परिवेश र सन्दर्भमा उपयुक्त कृषिको ढाँचा र सोही अनुरूपको नीति र कार्यक्रमको अवलम्बन कृषि पुनर्जीवित गर्ने एक मात्र बाटो हो । तर क्षणिक लाभको निहित स्वार्थको आत्मरतिमा अलमलिएका कृषिका नीति निर्माता र बौद्धिक जमातले अहिलेकै अवस्थामा यस्तो बाटो समाउलान् भन्ने आस गर्न सकिँदैन ।
अहिले भइरहेको प्रकृति दोहन, वातावरण विनाश र जैविक विविधता नाश हुँदै फैलिएको विष खन्चुवा कृषि चेतको उपज हो । यसको प्रभावले हावा, पानी, माटो र खाना मात्र होइन, समाज र राजनीति झनै विषाक्त भएको छ । यसले बाँच्नका लागि खाना र खानाका लागि खेतीपाती गर्ने किसानी संस्कृतिलाई पाखा लगाएको छ । यो चेतले कृषि कर्मलाई खानेकुरा फलाउनेभन्दा पैसा फलाउने पेसा बनाएको छ । यी आधारभूत सत्य बुझ पचाउँदा खाना मात्र होइन, प्रकृतिसमेत संकटग्रस्त बन्दै छ ।
यस्तो पैसा फलाउने सोच खन्चुवा कृषि चेतको परिणाम हो । यसले मानिसलाई धेरैभन्दा धेरै संग्रहमा प्रतिस्पर्धा र उपभोग गर्न उक्साएको छ । यो कुरा मानिसका लागि मात्रको भोगचलन र उपभोग बढाउन पृथ्वीभरि फैलिएको मानव बस्ती र कृषि क्षेत्रले देखाउँछ ।
अहिले नै आधा पृथ्वीमा कृषि क्षेत्र विस्तारित छ । तर एक अर्ब मानिस भोकै छन् । लाखौं प्रजातिको बासस्थान र उनीहरूको सहकार्यबाट सञ्चालित प्रकृतिसम्मत खाद्यचक्र व्यवस्थित नगरे पृथ्वीको वहन क्षमताले अहिलेको खन्चुवा चेतले माग गरेको जस्तो मानिसका लागि मात्र असीमित उपभोगका लागि पर्याप्त स्रोत उपलब्ध हुन सक्दैन ।
तसर्थ, समय छँदै पृथ्वी नै निल्न आतुर खन्चुवा कृषि चेत फालेर बाँच्नका लागि गर्ने खेतीपातीको विवेक नफर्काए खाद्य संकटको अन्त्यहीन यात्रा अझ भयावह हुने निश्चित छ । एकछिन विचार गरौं त, अहिलेको जस्तो खन्चुवा कृषि चेत र व्यवहारले जब यस पृथ्वीको सबै हावापानी विषाक्त हुन्छ, माटो मर्छ, बीउ लोप हुन्छ, खेती गर्ने सीप हराउँछ, अन्त कतै अर्को ग्रहबाट खाना आउँदैन, तपाईंकै जीवनमा त्यस्तो भए के होला ?
