पूर्वराजा र राजभक्तका दुःख

पूर्वमौसुफलाई मेरो सविनय सल्लाह छ- इतिहासको मसानघाटमा सेलाइएको वंशतन्त्र फर्किनु वीरबलको खिचडी पाक्नुजस्तै हो, १० वर्षको छँदा मैले कथामा वर्णित वीरबलको पकाउन रूखमा झुन्ड्याइएको खिचडीको कसौंडी देखेको थिएा, अहिले ८० वर्षको उमेरमा यसो हेर्छु, कसौंडी रूखमा झुन्डिएको झुन्डियै छ

वैशाख २४, २०८२

खगेन्द्र संग्रौला

Sorrows of former kings and royal devotees

आफ्नै मति र कर्मले सिंहासन ढाल्नु र आफैं आफूलाई सिंहासनमा फर्काइमाग्नु, यो कस्तो विडम्बना π यो विडम्बनामा पूर्वराजा ज्ञानेन्द्रको असीम दुःख छ । उथलपुथलकारी समयको र व्यवस्थाको प्रगतिको चेत नहुनु पूर्वराजा र निजका भक्तगणको दुःख हो । अविराम समय वंशतन्त्रलाई इतिहासको मसानघाटमा थन्क्याएर लोकतन्त्र हुँदै गणतन्त्रमा पुगिसक्यो, पूर्वराजा ज्ञानेन्द्र र भक्तगण मृत वंशतन्त्रको शवमै अड्किए ।

वंशतन्त्रको सडित शवमा अड्किँदा तिनको सोचमा लेउ लाग्यो, तिनको मति भ्रमित भयो र तिनको संवेदना जड भयो । पूर्वराजा र भक्तगण मिथ्या श्रेष्ठतासूचक ‘माथि’ को भ्रममा लठ्ठ भए । अहिले यी त्यही ‘माथि’ को राग अलापिरहेछन्— ‘भुइँमान्छेभन्दा ‘माथि विष्णुका औतार‘, ‘व्यवस्थाभन्दा ‘माथि देश’, ‘कानुनभन्दा ‘माथि तीनकुने विध्वंशका अग्रदूत ।’ यो अहंकारमय ‘माथि’ मा पूर्वराजा र भक्तगणको अथाह दुःख छ ।

 पूर्वराजा कहिले आफ्नो व्यापारिक लाभको आंकलन गर्दै थिए, कहिले आफ्नै चिया बगानमा चुरोटको सर्कोसँग हावा खाँदै थिए, कहिले नागार्जुन दरबारमा आनन्दी मुद्रामा कालिजको मासु र मदिरा ज्युनार गर्दै थिए । ख्वामितको दर्शन गर्न आएको एक भक्तले बिन्ती चढायो, ‘महाराज ! वार कि पारको मौका आयो ।

सिंहासन कि यसपाला फर्किन्छ कि कहिल्यै फर्किँदैन । अगाडि लागिबक्स्योस् प्रभु, हामी भक्तगण पछाडि छौं ।’ सिंहासन फर्किने आस मरिसकेको पूर्वराजाको चित्तमा हठात् प्रलोभन जाग्यो, अहंकारले शिर उठायो र निरंकुशताको नसा बौरियो । पूर्वराजाले भने— ‘मैले बुझेँ । ठीक छ, मैले गर्नुपर्ने म गर्छु, तिमीहरूले गर्नुपर्ने तिमीहरू गर । जो लाग्ने खर्चको चिन्ता नगर ।’

जब पूर्वराजा देशको दशा र जनताको अवस्थाउपर गम खान थाले, निजको हृदय धुरुधुरु रोयो । यो रुवाइ पूर्वराजाको मौसमी नाटकीय अभिनय हो । पूर्वराजाका भक्तगणले सिंहासन फर्काउने डिङ हाकेको सोह्र वर्ष भयो । पूर्वराजा यसैगरी रोएको पनि सोह्रै वर्ष भयो ।

सम्चारे भक्त भनेर गयो— ‘यसपाला कि वार कि पार, महाराज’ पूर्वराजालाई झ्याट्ट तुलसी गिरीको आद आयो । अफसोच, असल नोकर गिरी गइहाले ! गिरी नहुँदाको रिक्त स्थानमा नवराज सुवेदी खडा भए । खुँखार पञ्च नवराज पूर्वराजाका परामर्शदाता भए, जण्ड दुर्गा प्रसार्इं जनकमान्डर भए । अघोषित उप–जनकमान्डर भए मिस्टर रवीन्द्र मिश्र । सुरु भयो अब पूर्वराजालाई विलुप्त सिंहासनमा फर्काउने विध्वंश ।

 दुर्गाले प्रहरीजनलाई गाडीले कुल्चिने नाटक मञ्चन गरे । रवीन्द्रले माइकमा कुर्लिँदै भीडलाई अघि बढ्न उक्साए । दुर्गाको करिबन कुल्चाइ र रवीन्द्रको उत्तेजक उक्साइले विध्वंशको नाटकमा चमत्कार गर्‍यो । उक्त चमत्कारमा तोडफोड, आगजनी र लुटको जगजगी भयो । तीनकुनेको विध्वंशमय जगजगीको सिर्जनामा नेपथ्यमा कसकसको हात हुँदो हो, म जान्दिनँ । यो विध्वंशमा दुर्गा र रवीन्द्रको भयावह योगदानको प्रमाण भएर भिडियो रेकर्डको दृश्य र गर्जन लोकसामु प्रत्यक्ष छ ।

तीनकुने विध्वंशका नाइके जब पक्राउ परे, अर्को दुःख सुन्नमा आयो । दुःखको मुहान श्रेष्ठता र अहंकारसूचक उही ‘माथि’ हो । आफ्नो कृत्यद्वारा आमन्त्रित दुर्नियति स्वीकार गरेर होला, फौजदारी कसुरमा पक्रिइएका दुर्गा हतकडी लाएर शान्त र मौन रहे । तर उही कसुरमा पक्रिइएका रवीन्द्रका हातको हतकडी रवीन्द्र स्वयं र पूर्व राजाका भक्तगणमाझ कोकोहोलोको विषय बन्यो ।

फौजदारी अपराधको कसुरमा पक्राउ पर्ने जोकोहीलाई हतकडी लाइन्छ, हैन र ? अभियुक्तको मनोवृत्ति र परिस्थिति हेरी हतकडी लाउने–नलाउने निर्णय फाँटवाला प्रहरी अधिकृतको हुन्छ, हैन र ? हो भने फौजदारी अपराधको अभियोगमा पक्राउ परेका रवीन्द्रका हातको हतकडीलाई ज्यादती मानिनु किन ? विध्वंशको प्रेरक राजभक्त कानुनभन्दा ‘माथि’ हुन्छ ? 

अभिव्यक्ति स्वतन्त्रताको अर्थ विध्वंश स्वतन्त्रता किमार्थ होइन ? कुनै पनि राजनीतिक व्यवस्थाले आफ्नो विनाश हेतु उठ्ने हातमा निःसन्देह हतकडी लाउँछ । आफूले ध्वंश गर्न खोजेको व्यवस्थासँग ध्वंशकले प्रेमिल व्यवहारको आस गर्नु कति उचित हो ? गणतन्त्रको विनाशमा हात उठाउनु र त्यही गणतन्त्रबाट करुणाको अपेक्षा गर्नु आफूलाई भुइँमान्छेभन्दा ‘माथि’ को ठान्ने राजभक्तको दुःख हो । 

पूर्वराजा र राजभक्तहरूमा आत्मविरोधी विचारहरूको गन्जागोल छ । एक मुखले यी गणतन्त्रको विनाश र वंशतन्त्रको पुनःस्थापन भन्दै कुर्लिन्छन् । उही मुखले उही बेला यी सत्तासीन शासकका नाउँ काडेर ‘फलानो चोर देश छोड’ भन्छन् । अनि उही मुखले उही बेला यी संविधानमा राजा अटाउने ठाउँ बनाइपाऊँ भनी उनै ‘चोर’ सँग बिन्ती गर्छन् ।

पीडनको घटना पीडकले छिटै बिर्सन्छ, पीडितले पीडनको पीडा जीवनभरि सम्झिरहन्छ । आफ्नो निरंकुश फौजी शासनमा टेलिफोन लाइन विच्छेद गरी यी ‘चोर’ लाई घरघरै थुन्ने यिनै पूर्वराजा हुन् । अखबारका सम्पादकीय टेबुल कब्जा गरी मिसिनगनले सम्पादकीय लेखाउने यिनै पूर्वराजा हुन् ।

नागरिकको मनोबल चुरचुर पारेर आतंकको शासन चलाउन सडकमा ट्यांक कुदाउने यिनै पूर्वराजा हुन् । पूर्वराजाद्वारा पीडित यी ‘चोर’ ले संविधानमा उनै पीडक पूर्वराजा अटाउने ठाउँ बनाइदेलान् र ? ठाउँ बनाइदेओ भनी बित्थामा हात पसार्नु ‘पूर्व राजा र निजका भक्तगणको अपार दुःख हो ।

पूर्वराजाका भक्तका धाकधक्कु सुन्दा मलाई उदेक लाग्छ । धाकधक्कुको लबजमा यी भन्छन्— ‘निर्मल निवासदेखि नारायणहिटी दरबार टाढा छैन । चलाइदिउँ त मौसुफ ज्ञानेन्द्रको सवारी ?’ यस्तो लाग्छ मानौं निर्मल निवासबाट पूर्वराजाको सवारी चलाएर नारायणहिटी दरबार बाहिरी गेटमा पुर्‍याएपछि मृत वंशतन्त्र सिंहासनमा स्वतः फर्किन्छ । डर लाग्छ, बालबत् बुद्धि भएका भक्तले पूर्वराजालाई नारायणहिटीको गेटबाहिर कुर्सीमा आसीन गराएर एक्लै छाडिदिए भने...! लन्ठ भक्तहरूका सिंहासनप्रेमी वृद्ध ख्वाामित् यो बर्खामास असिना र पानीले साफ गोदिने पो हुन् 

कि ! पूर्वराजाका भक्तहरू विवेकद्वारा होइन, सनक, लहड र दम्भद्वारा सञ्चालित छन् । यी भक्तहरू लक्ष्यविहीन लक्ष्य, निशानाविहीन तारो र विचारविहीन विचारका पछाडि भौंतारिइरहेछन् । वर्तमानबोधी र भविष्यदर्शी विचारमा टाट पल्टिनु पूर्वराजा र भक्तहरूको भयंकर दुःख हो ।

पूर्वराजा स्वयं कत्तिको निष्ठावान् राजगद्दीभक्त हुन्, म जान्दिनँ । तर राजभक्तिको स्पर्धामा राजाको पाउ स्पर्श गर्न तँछाडमछाड गर्ने कोही पनि निष्ठावान् राजभक्तजस्तो लाग्दैन । यिनका लागि राजा र हिन्दुत्व केवल भर्‍याङ हुन् । यिनको दाउ हो, त्यो भर्‍याङ उक्लेर लाभदायी कुर्सीमा थपक्क आसीन हुनु । पूर्वराजाले पत्याएका पत्रु पञ्च नवराज सुवेदीको मनोकांक्षा नयाँ सन्दर्भमा पुरानो तुलसी गिरी बन्नु त होला ।

नत्र यो जर्जर बुढेसकालमा किन पूर्वराजाको पुच्छर भएर हल्लिरहेका ? अरू दुई/चार वृद्ध राजभक्त छन् । विचार र चरित्रका दृष्टिले यी छिप्पट शाही पञ्च हुन् । राजशाहीमा भोग गरेको सत्तास्वादको सम्झना यिनका चित्तमा ताजै होला ।

त्यसैले यिनमा नयाँ सन्दर्भमा पुरानो तुलसी गिरी वा कीर्तिनिधि बन्ने आकांक्षा कसो नहोला ? मध्यमवयी राजभक्तहरूमा ख्वामित्का टीकेमन्त्री बन्ने तीव्र तृष्णा कसो नहोला ? मनचिन्ते कल्पनामै सही सिंहासनमा वंशतन्त्र फर्किए के होला ? यी वृद्ध र अर्धवृद्ध राजभक्तहरूमाझ सत्ताका लाभका पद हत्याउने झिंगेदाउमा मारामार पो होला कि ?

लाग्छ, सबैजसो राजभक्त राजा र हिन्दुत्वको घन्ट बजाउने निहित स्वार्थका सिकारी हुन् । राजभक्त महलमा मण्डले हुँदै खारिएका दुई दह्रा सिकारी छन् । यिनमा राजाको कृपापात्र बन्ने उग्र होडबाजी चलिरहन्छ । यी सिकारी वंशतन्त्र फर्किहाले सत्ताको दह्रो आसन हत्याउने दूरदर्शी दाउमा छन् । यी दुई खग्रास सिकारी हुन्– कमल थापा र राजेन्द्र लिङ्देन ।

सत्तामुखी अवसरवादको कलामा यिनले विशारद प्राप्त गरेका छन् । वंशतन्त्रको चर्चा चुलिएको वर्तमानमा यी दुई पात्र भयंकर राजभक्त प्रतीत हुन्छन् । मानौं कि यिनलाई गणतन्त्रको सरकारमा छिर्ने छिद्र प्राप्त भयो । अब यी के गर्लान् ? एक थान मन्त्री पदको अगाडि ‘उप’ को पगरी गाँसिए राजभक्तिलाई इक्षुमतीमा सेलाएर सत्ताको तर मार्न यिनले गणतन्त्रको ध्वजामुनि सभक्ति शपथ खानेछन् ।

नजिर आँखै अगाडि छ त ! जन्ड राजवादी मानिएका शूरवीरको राजभक्तिको दशा यस्तो छ भने ठिनेमिने भक्तको राजभक्तिका के कुरा गर्नु ? पूर्वराजालाई लाग्दो हो, अहिले जनजनका नजरमा मप्रतिको आकर्षण बढ्दो छ । समस्त जगत्का दृष्टि ममाथि केन्द्रित छन् । पूर्वराजालाई यस्तो लाग्नु अस्वाभाविक होइन । रेस्टुराँ, नाइट क्लब, डान्स बार, सिनेमा हल वा मठमन्दिरमा गयो, निहुरिएर आफूसँग सेल्फी खिच्न मन गर्नेहरू वरिपरि झुम्मिन्छन् ।

पूर्वराजाप्रतिको यो आकर्षणका कारण निजको बौद्धिक सामर्थ्य र नैतिक सद्गुण, उदारता र परोपकारिता किमार्थ होइन । ज्ञानेन्द्र शाह अपुताली राजा नै भए पनि आखिर राजा भएका त हुन् कि ! राजा पीडित प्रजाका डरले दरबार वरिपरि गगनचुम्बी पर्खाल खडा गरी अनेक सुरक्षा घेराभित्र गुप्तबास गर्ने रहस्यमय जीव हो । यो रहस्यको कारण राजाप्रति आम जनमानसमा स्वाभाविक कतूहल पैदा हुन्छ । रहस्यको दुलोबाट राजा फुत्त प्रकट हुँदा कुतूहल मेट्न राजाका वरिपरि मानिस झुम्मिनु कुन नयाँ कुरा हो र ?

पूर्वराजाका वरिपरि मानिस झुम्मिनुको कारण अर्को पनि छ । गणतन्त्रको मौलो गाड्ने संग्राममा अहंभूमिका खेल्ने नेता कालान्तरमा सत्तासीन भए । सडकमा छँदा ती भुइँमान्छेका हितैषी साथी थिए, सत्तारोहरणपछि ती शनैःशनैः टोपीधारी राजामा रूपान्तरित भए ।

फलतः जनदृष्टिमा ती निकै अलोकप्रिय र अनाकर्षक दृष्टिगोचर भए । पूर्वराजा र भक्तगणका भ्रमित दृष्टिमा गणतन्त्रका शासकको अलोकप्रियता स्वतः राजाको लोकप्रियता हुन गयो, गणतन्त्रका शासकप्रतिको जनविकर्षण स्वतः राजाप्रतिको आकर्षण हुन गयो ।

पूर्वराजाको यो मिथ्या लोकप्रियता र जनआकर्षणबाट अर्को विराट् भ्रम पैदा भयो । गणतन्त्रका नेताहरू बद्नाम भए, पूर्वराजाको यत्रतत्र नामैनाम भयो । तसर्थ गणतन्त्रलाई ढालेर वंशतन्त्रलाई फर्काउने ऐन मौका यही हो । नतिजा स्वरूप तीनकुनेमा विध्वंशको भयावह नाटक मञ्चन गरियो । र, उक्त विध्वंशको ऐनामा वंशतन्त्रको कुरूप अनुहार छर्लङ्गै प्रतिविम्बित भयो । 

...

अहिले राजभक्त महलका साइबर सेनाको बिगबिगी र जगजगी छ । साइबर सेना वास्तवमा भाँड मनोवृत्तिद्वारा सिर्जित भाँड सेना हुन् । यिनमा केही थोरै स्वतःस्फूर्त र स्वयंसेवी होलान्, बाँकी सबै प्रायोजित र ज्यालादारी होलान् । साइबर सेनाको काम आफ्ना ख्वामित्को भक्तिभजन नगाउने जोकोही माथि अरिङ्गालको गोलोझैं खनिनु हो ।

राजभक्त साइबर सेना अन्य पक्षको अनर्गल निन्दा गर्छ, निजको चरित्रहत्याको चेष्टा गर्छ, कुट्ने–काट्ने ध्वाँस दिएर निजको तेजोवध गर्छ, मुख थुन्छ र समाजमा सांस्कृतिक प्रदूषण प्रवाहित गर्छ । अभद्र, अशिष्ट, अमर्यादित र दुच्छर भाषाको प्रयोगमा राजभक्त साइबर सेनाले भयानक कीर्तिमान कायम गरेको छ । यसको ताजा उदाहरण अभिनेत्री सुरक्षा पन्त हुन् । अभिनेत्री पन्तले पारसपुत्र हृदयेन्द्रबारे गरेको टिप्पणीमा अमर्यादा र अपमान लेसमात्र पनि ध्वनित हुँदैन ।

सुरक्षा पन्तका दुई टिप्पणी हुन्– ‘हृदयेन्द्रले कला क्षेत्रमा आउनु राम्रो हुन्छ’, ‘राजा बनाउने व्यवस्था संविधानले स्वीकार गरेको छैन’ । राजभक्तगणले सुरक्षाका मुखबाट सुन्न चाहेको हुँदो हो— ‘हृदयेन्द्र राजा बन्न सर्वथा लायक छन् । राजतन्त्रको जय होस्’ सुरक्षाले यसो नभन्दा राजभक्त साइबर सेना उनीमाथि यसरी खनिए कि तिनका वचनमा प्रकट भएको अभद्रता, अशिष्टता, अमर्यादा र अपमान शब्दातीत छ ।

नागरिकको रोजाइ, स्वतन्त्र अभिव्यक्ति र भिन्न मत राजभक्तहरूका परम शत्रु हुन् । राजभक्तहरू अहिल्यै यति क्षुद्र, दुष्ट र असहिष्णु छन् । कदाचित राजतन्त्र फर्किहाले यी कति क्षुद्र, दुष्ट र असहिष्णु होलान् ? राजभक्त अरिङ्गाल सेनाको मति र कर्मको ऐनामा पूर्वराजाको अनुहार राम्रो देखिएन ।

...

तीनकुने विध्वंशपछि राजभक्त महलका सर्वाधिक सशक्त र अभद्र दुर्गा प्रसाईं हिरासतमा प्याकिस भए । दुर्गावरिपरि झुम्मिएको झल्ला भीड घर फर्क्यो । राजभक्तको गोलो साँगुरियो, दम सुस्त भयो, र अब यो विसर्जनतर्फ उन्मुख छ । वास्तवमा तीनकुनेको वीभत्स विध्वंशकै क्षणमा राजभक्तको आन्दोलन तुरिएको थियो । त्यसपछिको लुरे लखरखलर केवल अवसानपछिको कर्मकाण्ड हो । 

...

मेरो यो लेखनीको मनसाय पूर्वराजा ज्ञानेन्द्रका दुःख बढाउनु होइन, सके घटाउनु हो । पूर्वमौसुफलाई मेरो सविनय सल्लाह छ— इतिहासको मसानघाटमा सेलाइएको वंशतन्त्र फर्किनु वीरबलको खिचडी पाक्नुजस्तै हो । दश वर्षको छँदा मैले कथामा वर्णित वीरबलको पकाउन रूखमा झुन्ड्याइएको खिचडीको कसौंडी देखेको थिएँ । अहिले ८० वर्षको उमेरमा यसो हेर्छु, कसौंडी रूखमा झुन्डिएको झुन्डियै छ । खिचडी नपाकेर थकित र आजीत वीरवल रूखको फेदबाट गायब भएका छन् । वंशतन्त्रको दुःख पनि त्यस्तै हो । यो पाक्दैन, मान्यवर !

पूर्वराजाको सिंहासनको अतृप्त तृष्णाबाट निसृत दुःखहरूले मलाई चीनका अन्तिम बादशाह पू यीको सम्झना गरायो । बादशाह पू यी जब सत्ताच्युत भए, तिनको अर्को औतार सुरु भयो । त्यो नागरिकतर्फ रूपान्तरणको औतार हो । पू यीले यो रूपान्तरणको कष्टकर र साथसाथै आनन्ददायी प्रक्रियाको अति रोचक वर्णन गरेका छन् । यो वर्णन पू यीको आत्मकथा ‘फ्रम इम्पेरर टु सिटिजन’ मा लिपिबद्ध छ ।

पूर्वराजालाई खान–लाउनको दुःख छैन । बरु सम्पत्तिको पौल कसरी सम्हाल्नुको दुःख होला । उमेर अवसानतिर ढल्किँदो छ । वंशतन्त्र फर्काउने वीरबलको किस्सालाई बिसाएर पूर्वराजाले पू यीले झैं आत्मकथा लेखे कति राम्रो हुन्थ्यो ! आत्मकथाको शीर्षक ‘फ्रम किङ टु सिटिजन’ राखे भएकै छ । पूर्वमौसुफको यो आत्मकथा पूर्वबादशाह पू यीको झैं आत्मस्वीकृतिको कथा होला । मरिजाने जुनीमा यो आत्मकथा पूर्वमौसुफको अमरत्वको कथा पनि त होला । 

पूर्वमौसुफ ज्ञानेन्द्र ! वंशतन्त्र नाउँको कहिल्यै नपाक्ने खिचडीको पछाडि लागेर आत्मपीडक भई आफूलाई कति सताउनु हुन्छ ? मेरो पुनः सविनय निवेदन छ— यावत् सांसारिक झैझमेला त्यागेर लागौं अब वानप्रस्थतिर !

खगेन्द्र साहित्यकार संग्रौला मुलत: सामाजिक न्याय र लोकतन्त्र विषयमा लेख्छन् । उनका बाल्यकालका पदचापहरू, जुनकिरीको संगीत, आफ्नै आँखाको लयमा, संग्रामबहादुर सार्की लगायतका कृतिहरु प्रकाशित छन् । उनले अंग्रेजी साहित्यका विभिन्न कृतिकाे नेपाली अनुवाद पनि गरेका छन् ।

Link copied successfully