पहलगाम आक्रमणले थपेको सुरक्षा चुनौती

यदि भारत र पाकिस्तानबीच युद्धको अवस्था आए नेपाललाई त्यसको सीधा असर पर्नेछ, हाम्रो सुरक्षा रणनीति के हुने भन्नेमा गम्भीर हुनुपर्छ

वैशाख २२, २०८२

रमेश धमला

Security challenge added by Pahalgam attack

कश्मीरको पहलगाममा गत २२ अप्रिलमा एक नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको आतंकवादी हमलाले भारतलाई निकै झस्काएको छ । 

घटनालगत्तै भारतीय प्रधानमन्त्री मोदी साउदी अरबको भ्रमण छोट्याएर फर्किए । स्वेदश फर्किएकै दिन विमानस्थलमा विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारसहितको आकस्मिक बैठक राखे ।

त्यसपछि भारतले बदला लिने चेतावनी दिइसकेको छ । केन्द्रीय गृह मन्त्रालयले आफू मातहतका सबै सीमा सुरक्षा बलसँग निरन्तर बैठक र राणनीति बनाइरहेको छ । कश्मीरमा पनि उच्चस्तरीय सुरक्षा बैठकहरू निरन्तर भइरहेका छन् । विशेषगरी भारतसँग सीमा जोडिएका मुलुकहरूमा उच्च निगरानी बढाइरहेको छ । 

अहिलेको गठबन्धन सरकारसँग त्यति सहज नमानिरहेको भारतले पहलगाम आक्रमणपछि भने भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई नेपाल पठायो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र दोस्रो तहका नेताहरूसँग भेटेर भारतको पछिल्लो सुरक्षा परिस्थिति र नेपालको सीमा क्षेत्रमा कुनै कमजोरी नहोस् भन्नेमा सन्देश छोडेर गएका छन् । 

भारत यस पटक निकै गम्भीर छ । प्रधानमन्त्री मोदीले सुरक्षा सल्लाहकार बोर्डमा रअका पूर्वप्रमुख आलोक जोशीलाई पनि नियुक्त गरेका छन् । यसले भारत पहलगाम आक्रमणको योजनाबद्ध बदला लिने तयारीमा रहेको प्रस्ट हुन्छ । कश्मीरको पर्यटकीय स्थल र यातायातको सुविधा नभएको स्थानमा सुरक्षा चुनौतीको मूल्यांकन हुँदाहुँदै पनि त्यस दिन कसरी चुक भयो भन्ने समीक्षा पनि भारतमा चलिरहेको छ । 

आक्रमण भएको भोलिपल्ट कश्मीर क्षेत्रकै कमान्ड सम्हालेर भर्खरै मात्र अवकाशप्राप्त भारतीय सेनाका लेफ्टिनेन्ट जनरल डीपी पाण्डेले हरेक कुनामा सुरक्षाफौजको उपस्थिति हुन नसक्ने र सूचनाको पहिलो स्रोत स्थानीय नागरिक हुने भए पनि अप्रिल २२ मा कसरी सूचना चुक भयो भन्ने सोचनीय विषय भएको बताएका छन् ।

आक्रमणका लागि पर्यटकीय स्थल रोजिएको, निकै लामो रेकीपछि भाग्ने स्थान पनि तय गरेर हिन्दु र मुस्लिम छुट्याएर पहिलो पटक मारिएको उनको तर्क छ । जे होस्, अप्रिल २२ को घटनापछि भारत आफ्नो सुरक्षा अवस्थालाई लिएर निकै चिन्तामा देखिन्छ भने अर्को सार्क राष्ट्र पाकिस्तानसँगको सम्बन्धमा फेरि एक पटक निकै असहज परिस्थिति सिर्जना भएको छ । जुन दक्षिण एसियाकै सुरक्षाका लागि सुखद होइन । 

भारत अहिले आफ्ना सबै सीमा क्षेत्रबाट हुन सक्ने घुसपैठ नियन्त्रण गर्न उच्च सतर्क छ । जसको सबैभन्दा बढी चासो नेपालतर्फको सिमानामा पनि छ । नेपालसँगको खुला सिमानाका कारण पहलगाम आक्रमण गर्ने तथा त्यस समूहका कोही पनि शंकास्पदहरू उम्किन नपाउन् भन्ने भारतको सबैभन्दा चिन्ताको विषय छ । नेपालका लागि कश्मीरबाट नजिक रहेका पश्चिमी नाकाहरूमा भारतीय सुरक्षाफौजको तैनाथी उच्च छ । 

बंगलादेश र अफगानिस्तानको स्थिति 

भारत आफ्नो तनावमा छ भने यता बंगलादेशको राजनीति परिस्थितिले पनि दक्षिण एसियाको सुरक्षामै जोखिम निम्त्याइरहेको छ । गत २०२४ अगस्ट ५ मा बंगलादेशको आन्दोनलले शेख हसिनालाई देश छोड्न बाध्य पार्‍यो । हाल भारतको सुरक्षामा रहेकी हसिनाको निर्वासनलगत्तै भारतले बंगलादेशसँगको सीमा क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था थप बलियो बनाएको थियो । बंगलादेशमा हिन्दुहरूको आन्दोलन, छुट्टै हिन्दु राज्य माग्नेहरू पनि बंगलादेशमा सक्रिय छन् । म्यानमारबाट विस्थापित भएर आएका रोहिंग्याहरूको व्यवस्थापन पनि उत्तिकै जटिल बनिरहेको छ । 

बंगलादेशको परिस्थितिले पनि भारतसँगै नेपालको सीमा क्षेत्रमा चिन्ता थपिरहेकै छ । भारतले बंगलादेश र पाकिस्तानको सीमा सुरक्षाका लागि बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) तैनाथ गरेको छ भने नेपाल र भुटानको सीमा सुरक्षाका लागि एसएसबी तैनाथ छ । तर बंगलादेशबाट भागेर अथवा घुसपैठ भएर भारत आएकाहरूले नेपालसँगको पूर्वी नाका पनि दुरुपयोग गर्न सक्ने जोखिम उत्तिकै छ । दक्षिण एसियामा पाकिस्तान र भारतको तनाव, बंगलादेशको आन्तरिक समस्या दुवैले सबैभन्दा बढी सुरक्षा जोखिम निम्त्याइरहेको छ । 

सन् २०२१ अगस्ट १५ गते अर्को सार्क सदस्य राष्ट्र अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि देश छोड्नेहरूको संख्या ठूलो थियो । तालिवान सरकारलाई अहिले पनि संयुक्त राष्ट्रसंघले मान्यता दिएको छैन । अफगानिस्तानबाटै विस्थापित भएकाहरू खुला सिमानाको प्रयोग गर्दै नेपाल प्रवेश गरेका थिए । तालिवान सरकारले अहिले पनि दक्षिण एसियामा आफ्ना कारण कुनै सुरक्षा चुनौती हुँदैन भन्ने विश्वास दिलाउन सकेको छैन । अमेरिकी सेनाले अफगानिस्तानमा छोडेर गएको हतियार बिक्री गरिरहेको तथ्यहरू आइरहेका छन् । यी घटनाहरूले दक्षिण एसिया तथा सार्क मुलुकहरू अहिले सुरक्षाको जटिल अवस्थामा पुगेको देखाउँछ । 

खुला सीमाको जोखिम 

दक्षिण एसिया तथा सार्क मुलुकहरूमा बढ्दै गएको द्वन्द्वको प्रभाव नेपालको सीमा सुरक्षामा पर्नेछ । ती देशहरू दुई पक्षीय र आन्तरिक समस्या झेलिरहेका बेला आपराधिक समूहले नेपालको खुला सीमा दुरुपयोग नगरून् भन्नेमा सुरक्षा निकाय संवेदनशील छन् । सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बढाइरहेको छ भने नेपाल प्रहरी पनि उच्च सतर्कतामा देखिन्छ । 

तर पनि २४ जिल्ला भारतसँग सीमा जाडिएका छन् । ती सबै खुला सिमाना भएकाले पनि दक्षिण एसियाका अन्य देशबाट विस्थापित र भागेर आएकाहरू नेपाल प्रवेश गर्न सक्नेतर्फ विगतको भन्दा थप सतर्कता आवश्यक छ । यदि भारत र पाकिस्तानबीच युद्धको अवस्था आए नेपाललाई त्यसको सीधा असर पर्नेछ । त्यो अवस्थामा हाम्रो सुरक्षा रणनीति के हुने भन्नेमा गम्भीर हुनुपर्छ ।

सशस्त्र प्रहरीको एकल प्रयासले मात्रै सिमानाको सुरक्षा सम्भव नहुन सक्छ । सबैभन्दा बढी गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको भूमिका महत्त्वपूर्ण छ । सशस्त्र प्रहरी बलको निगरानी रहेको भन्दा फरक भित्रको बाटो प्रयोग गरेर नेपाल प्रवेश गर्न सक्ने सूचना राअविले संकलन गर्न सक्नुपर्छ ।

किनकि आपराधिक र आतंकवादले नेपालको सीमानाका प्रयोग गरेको भेटिए भारतले असन्तुष्टि देखाउने मात्रै होइन, नेपालकै आन्तरिक सुरक्षाका लागि पनि जोखिमपूर्ण हुनसक्छ । भारत सरकारले सैन्य कारबाहीको जिम्मेवारी सेना र अन्य सैन्य बललाई कारबाहीको निर्णय लिन स्वतन्त्रता प्रदान गरिसकेको छ । भारत र पाकिस्तानबीच कुनै सैन्य द्वन्द्वको स्थिति सिर्जना भयो भने पनि त्यहाँबाट विस्थापितहरूले खुला सिमाना भएकाले नेपालकै बाटो रोज्न सक्ने जोखिम छ ।

यूएनएचसीआरले नेपाल सरकारलाई बुझाएको तथ्यांकअनुसार गत माघ महिनासम्म १४ देशका १९ हजार ६ सय विदेशीहरू शरणार्थीको मान्यता खोजेर अहिले नेपालमा बसिरहेका छन् । जसमा अफगानी, इरानी, इराकी, म्यानमारका रोहिंग्या, पाकिस्तानी, सोमालियन, युक्रेनी, दक्षिण सुडानी र रसियनसमेत छन् । 

यसरी आउनेहरू सबैले कि नेपाल–भारतको खुला सीमा र हवाई सीमा नै प्रयोग गरेका हुन् । यसरी विस्थापित भएकाहरूले नेपाललाई सुरक्षित स्थानका रूपमा प्रयोग गर्नु नेपालको दीर्घकालीन राष्ट्रिय सुरक्षाका लागि निकै संवेदनशील छ । 

गल्ती नहोस् 

रसिया–युक्रेन र हमास–इजरायल युद्धले क्षेत्रीय सुरक्षा परिस्थिति निकै जटिल अवस्थाबाट गुज्रिरहेको छ । यहीबीचमा नेपालको सामुन्ने रहेका देशहरूमा पनि सुरक्षा अवस्था त्यति सहज छैन । यो अवस्थामा नेपालको सुरक्षा व्यवस्था बलियो बनाउन सुरक्षा संगठनले चाहेर मात्रै पुग्दैन, गृह मन्त्रालयको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ ।

सीमा जोडिएका जिल्ला र प्रदेशहरूमा पठाइने सुरक्षा अधिकृत र प्रमुख जिल्ला अधिकृत कस्तो छनोट हुन्छन् भन्ने विषयले त्यहाँको सुरक्षा अवस्था निर्धारण गर्नेछ । गृह मन्त्रालयले आफूनिकट व्यक्ति खोज्ने नाममा नेपाल प्रहरी अथवा सशस्त्र प्रहरी बलका जिल्ला प्रमुख र प्रदेश प्रमुखहरू कमजोर र अहिलेको परिस्थिति बुझ्न नसक्ने पठाउन दबाब दियो भने त्यसले निम्त्याउने परिणाम हामीले सबै भोग्नुपर्ने हुन सक्छ । 

अहिलेको अवस्थामा भारततर्फ सिमानामा कुनै सम्झौता र भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न सक्ने अधिकृत र प्रमुख जिल्ला अधिकारीहरू आवश्यक छ । – धमला कान्तिपुर टेलिभिजनका पत्रकार हुन् ।

रमेश रमेश कान्तिपुर टिभीका संवाददाता हुन् । उनी सुरक्षा मामिलाका बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully