सामाजिक सञ्जालमा ‘भ्युज’ को होडबाजी 

सन् २०२५ मा संसारभरमा झन्डै ५.२२ विलियन मानिसहरू अर्थात् कुल जनसंख्याको करिब ६० प्रतिशत मानिसहरूले विभिन्न सामाजिक सञ्जाल प्रयोग गर्छन् । हाल मानिसहरू सूचनाका लागि भन्दा आफ्नो पोस्टमा ‘भ्युज’ कसरी बढाउने भन्ने बढी चासो दिन थालेका छन् ।

वैशाख २२, २०८२

सुनिता गाइसी

Hoarding of 'views' on social media

परिवर्तित समाजको बहावमा चल्नु हामी सबैको बाध्यता बन्दै छ । त्यसैले मानिसहरू अनावश्यक तडकभडकको पछि लागेर आफ्नो वास्तविक धरातलबाट निकै टाढा पुग्दै छन् । मानवीय आवश्यकताहरूको सूची निकै लामो बन्दै गएको छ । तोतेबोली बोल्ने बच्चाले पनि मोबाइलमा कार्टुन नहेरी खाना खान मान्दैन । हामीले बालबालिकालाई गलत ढंगले हुर्काउँदै छौं ।

बालबच्चा मात्र नभई युवा, ज्येष्ठ नागरिकहरू पनि यसको लतमा दिनदिनै फसिरहेका छन् । युवाहरू मनोरञ्जन र केही मात्रामा आफ्नो अध्ययन र अन्य सूचना प्रवाहका लागि सामाजिक सञ्जालमा व्यस्त हुन्छन् । सामाजिक सञ्जालले नजनिँदो ढंगले मानिसहरूलाई आफ्नै परिवार, छिमेकी, नातागोता र समूहबाट छुट्याएर एक्लो बनाउँदै लगेको छ । 

युवाहरू विदेशिने क्रम बढेसँगै प्रौढहरू सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर टिकटकमा समय बिताउन थालेका छन् । विदेशबाट आउने छोराछोरी, नातिनातिनीले पनि कुरा गर्न सजिलो होस् भनी सामाजिक सञ्जालका एकाउन्टहरू खोलिदिने हुनेले प्रौढहरू पनि त्यसमा व्यस्त हुन थालेका छन् । कतिपयले त आफ्ना बाल्यकालका चाहनाहरू टिकटकमार्फत प्रस्फुटन गर्न थालेका छन् ।

उमेर पुगेका प्रौढहरू पनि कोही गाउने कोही नाच्ने, कोही कविता वाचन गर्ने त कोही ज्ञानगुणका कुराहरू सुनाउने गर्छन् । कतिपय भने भाइरल हुन अनावश्यक र असहज भिडियोहरू बनाई विकृति पनि फैलाइरहेका छन् । सामाजिक सञ्जालकै कारणले एकातिर मानिसहरूको लुकेको प्रतिभा प्रस्फुटन हुन सहयोग गरिरहेको छ भने अर्कोतिर भाइरल हुने लहरमा आफ्ना व्यक्तिगत कुरा देखाउने, सुनाउने अरूको भिडियोमा गालीगलौज गर्ने जस्ता क्रियाकलापहरू पनि त्यत्तिकै बढेको छ ।

यस्ता खालका क्रियाकलापले सामाजिक सम्बन्ध नराम्रो हुने गर्दछ । नेपाली समाजमा भएको परम्परागत मूल्यमान्यताले आदर, सम्मान र हेरचाहको कुरामा बढी जोड दिने गरेको छ । हाम्रो समाजले नै सानालाई आदर र ठूलालाई सम्मान गर्ने कुरा सिकाएको हुन्छ । आधुनिकीकरणको प्रभावले हाम्रो रहनसहन र संस्कारमा पनि विभिन्न विकृतिहरू देखा परेका छन् ।

यसले हाम्रो संस्कृतिभन्दा पनि विदेशी संस्कृतिको महत्त्वबारे चर्चा गर्ने गर्दछ । आजकल त सामाजिक सञ्जालकै प्रभावले विदेशीले मनाउने पर्व कहिले कसरी मनाउनेबारे विस्तृत जानकारी पाइन्छ । १०/१२ वर्षअघि नेपालमा भ्यालेन्टाइन डे, क्रिसमस डे लगायतका पर्वहरू मनाउने त्यति चलन थिएन । आफ्नो मौलिक पर्व रोधी भेजा, गुठी, ढिकुर, पर्म, मेला र हाटबजार इत्यादि लोप हुँदै गएका छन् । यसबारे हामी बेलैमा सचेत भई परम्परा, चाडपर्व जोगाउनुपर्दछ । 

कतिपय मानिसहरूले सामाजिक सञ्जालको सही प्रयोग गरी आफ्नो व्यापार व्यवसाय बढाइरहेका छन् । कतिपय टाइमपास गर्न मात्र यस्ता सञ्चारका साधनहरू चलाउने गर्छन् । सन् २०२५ मा संसारभरमा झन्डै ५.२२ विलियन मानिसहरू अर्थात् कुल जनसंख्याको करिब ६० प्रतिशत मानिसहरूले विभिन्न सामाजिक सञ्जाल प्रयोग गर्छन् । 

हाल मानिसहरू सूचनाका लागि भन्दा आफ्नो पोस्टमा ‘भ्युज’ कसरी बढाउने भन्ने बढी चासो दिन थालेका छन् । ‘भ्युज’का लागि समाजमा हिंसा बढाउने, अरूलाई होच्याउने, हेप्ने, छाडा शब्द बोल्ने क्रम पनि निकै बढेको छ । यसले बालबालिका, युवा सबैको मानसिकतामा समाजप्रति नकारात्मक भावनाको विकास गरेको भान हुन्छ । हाम्रो सामाजिक मूल्यमान्यतालाई भुलेर ‘भ्युज’, लाइक, कमेन्ट र सेयरका लागि यस्ता विकृतिहरू दिनदिनै बढ्दै गएको देखिन्छ ।

आफ्नो परिवारसँग बसेर हेर्न नमिल्ने भिडियो क्लिपहरू बनाउनेक्रम क्रमशः बढदै गएको छ । कतिपय महिलाहरूले चेतनामूलक सन्देशमूलक भिडियोहरू बनाई सबैमा सकारात्मक परिवर्तन ल्याउन अप्रत्यक्ष रूपमा सहयोग गरिरहनुभएको छ ।

घरमै बस्ने गृहिणी महिलाहरूले आफ्नो भान्सामा विभिन्न परिकारहरू बनाई, कौसी खेती गर्ने तरिकाहरू, आफूलाई आवश्यक परेको तरकारी सागपात आफ्नै कौसी वा करेसाबारीमा उत्पादन गरेका भिडियोहरू समाजमा अन्य महिला दिदीबहिनीहरूलाई पनि सेयर गरेर स्वावलम्बी बन्न प्रेरित गरिरहेका छन् ।

कतिपय महिलाहरू आफ्नो बालबच्चालाई कसरी हेरचाह गर्ने कस्तो खाना खुवाउने भन्नेबारेमा अत्यन्तै सुन्दर र चेतनामूलक भिडियो बनाई समाजमा महिलाहरूले चाहेमा सहजै र सरल हिसाबमा घरपरिवार चल्न सक्छ, अनावश्यक पारिवारिक खर्च पनि कम गर्न सकिन्छ भन्ने सन्देश भिडियोमार्फत दिइरहेका छन् । तर कतिपयले भने ‘भ्युज’ बढाउन शरीरका अंग देखाउने, लाइभ बसेर गिफ्ट पाउन छाडा बोल्ने जस्ता क्रियाकलापहरू बढ्दै गएका छन् । यस्ता क्रियाकलापले समाजमा नकारात्मक असर पार्दै गएको छ । 

सामाजिक सञ्जालको प्रयोग गर्दा सचेत हुनुपर्छ । आवश्यक कुराहरूलाई ध्यान दिने र अनावश्यक कुरा वा भिडियोहरूमा चासो दिई घण्टौं अल्मलिनुहुन्न । चेतनामूलक र सन्देशमूलक भिडियो मात्र सेयर गर्ने र ज्ञान सीप सिकाउने भिडियोहरू बनाउने गर्नुपर्दछ । अपलोड गर्ने भिडियो र फोटाहरूले अरूलाई नराम्रो असर नपरोस् भन्नेमा सहज हुनु जरुरी छ । 

–गाइसी ख्वप कलेजकी उपप्राध्यापक हुन् ।

सुनिता सुनिता गाइसी ख्वप कलेजमा प्राध्यापन गर्छिन्।

Link copied successfully