उनी कांग्रेस वा कम्युनिस्ट पार्टीका अरू कतिपय नेता–कार्यकर्ताहरूझैं झुक्यानमा परेर वा लहैलहैमा लागेर प्रजातान्त्रिक आन्दोलनको जोखिमपूर्ण प्रक्रममा सहभागी भएका थिएनन् । उनले सोची–विचारीकन रोजेको संघर्षको बाटो थियो त्यो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, प्रजातन्त्रको दियालोलाई निभ्न नदिन शततः संघर्षशील संगठन नेपाल विद्यार्थी संघका संस्थापक सदस्यहरूमध्ये एक, कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका पूर्वसभापति एवं पूर्वमन्त्री तीर्थराम डंगोलको क्यान्सर र मधुमेह रोगबाट यसै वैशाख महिनाको १३ गते ७५ वर्षको उमेरमा काठमाडौं कुलेश्वरस्थित आफ्नै घरमा देहावसान भयो ।
दुई–तीनथरीका कडा रोग लागेका कारण डंगोल केही वर्षदेखि निक्कै खराब स्वास्थ्य–स्थितिसँग जुझ्दै आएका थिए । जसले उनको राजनीतिक सक्रियतालाई उल्लेख्य किसिमले सीमित गराइदिएको थियो ।
त्यसै पनि पछिल्लो कालखण्डमा कांग्रेस पार्टीमा तीर्थरामजस्ता लप्पनछप्पन नजान्ने, सरल हृदय, स्वच्छ, स्वाभिमानी र नैष्ठिक व्यक्तिको प्रासंगिकता लगभग समाप्त भइसकेको छ ।
कांग्रेस नामक उज्यालो विरासत भएको त्यो ऐतिहासिक पार्टीको वर्तमान नेतृत्व पंक्तिको सोच, संस्कार, कार्यशैली र निर्णय–पद्धतिमा जुन किसिमको स्वार्थकेन्द्रीयता, संकीर्णता र गुटपरकताको प्रभुत्व कायम भएको छ– त्यसको आलोकमा हेर्दा तीर्थरामहरू भूमिकाविहीन बन्न पुग्नु स्वाभाविक नै भएको छ । हुन पनि
ठ्याक्कै त्यस्तै नै भयो । तीर्थरामलाई संगठनभित्र रहन सक्ने उनको भूमिकाबाट हटाइयो र सधैंका लागि गुमनामीको अन्धकारतिर धकेलियो । उनी स्वयं पनि पार्टीमा आएको सैद्धान्तिक र नैतिक विचलन देखेर आजित भइसकेका थिए, त्यसैले उनले करिब डेढ दशकदेखि स्वैच्छया कांग्रेस काठमाडौं जिल्ला समितिबाट मात्र होइन, राष्ट्रिय राजनीतिको परिदृश्यबाट समेत आफूलाई अलग राख्दै आएका थिए ।
राजनीतिसँग कुनै पनि प्रकारको सरोकार नभएको परम्परावादी किसान (ज्यापू) परिवारमा जन्मेका डंगोलले प्रतिबन्धित अवस्थामा रहेको राजनीतिक संगठन कांग्रेसले प्रजातन्त्र पुनर्बहालीको लक्ष्य राखेर गरिरहेको सिद्धान्तनिष्ठ राजनीतिको कठिन बाटो समातेर राष्ट्रिय राजनीतिको विशाल फलकमा आफ्नो दह्रो उपस्थिति स्थापित गर्नुलाई कुनै दैवी चमत्कारभन्दा कम मान्न मिल्दैन ।
उनको व्यक्तित्वको उचाइ साँचो अर्थमा स्वनिर्मित हो । उनले त्यो उचाइ शिक्षाप्रतिको विशेष लगाव, साहित्यको गहन अध्ययन र देशको आर्थिक–सामाजिक–राजनीतिक वस्तुस्थितिको गहिरो विश्लेषणपछि उठाएको सही कदमको फलस्वरूप प्राप्त गरेका थिए । उनले वलिदानी दृढसंकल्पका साथ कांग्रेसले त्यतिबेला गरिरहेको प्रतिपक्षी राजनीतिको कंटकाकीर्ण बाटो पछ्याएका थिए ।
उनी कांग्रेस वा कम्युनिस्ट पार्टीका अरू कतिपय नेता–कार्यकर्ताहरूझैं झुक्यानमा परेर वा लहैलहैमा लागेर प्रजातान्त्रिक आन्दोलनको जोखिमपूर्ण प्रक्रममा सहभागी भएका थिएनन् । उनले सोची–विचारीकन रोजेको संघर्षको बाटो थियो त्यो ।
एसएलसी परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि त्रिचन्द्र कलेजमा भर्ना हुनु नै उनको जीवनको यात्रालाई नयाँ मार्गचित्रतर्फ मोडिदिने कारण बन्न पुगेको थियो । देश निरंकुशतन्त्रको अँध्यारोमा डुबेको समय थियो त्यो । विसं. २०१७ साल पुस १ गते ‘कु’ गरेर राजा महेन्द्रले सार्वभौम भइसकेका नेपाली नागरिकलाई फेरि एकपल्ट आवाजविहीन रैती बनाइदिएको त्यस अन्धकारमय समयमा त्रिचन्द्र कलेज नै देशभरिको एउटा मात्र त्यस्तो ठाउँ थियो, जहाँ विद्यार्थीहरू अधिनायकवादी राज्यव्यवस्था र त्यसका नायकका विरुद्ध यदाकदा आवाज उठाउने गर्दथे ।
त्यहाँ विद्यार्थीहरू वैचारिक रूपले प्रजातन्त्रवादी र वामपन्थी खेमामा विभाजित त थिए, तर राजाको निरंकुश शासनको विरोधको मुद्दामा भने जहिले पनि एकै ठाउँमा उभिएका हुन्थे । तीर्थराम डंगोलको हकमा सुखद संयोग यो रह्यो कि उनी नियतिले नै डोर्याएर हुनुपर्छ प्रजातन्त्रवादी खेमामा जोडिन पुगे ।
त्रिचन्द्र कलेजमा अध्ययनरत रहँदा नै उनको त्यति बेलाका जल्दाबल्दा प्रजातन्त्रवादी छात्र–नेताहरू– शिवबहादुर खड्का, शेरबहादुर देउवा, मार्सल जुलुम शाक्य, दमन ढुंगाना, विपिन कोइराला, देवेन्द्र नेपाली, मछिन्द्र पाठक आदिसँग घनिष्ठता कायम भयो । कालान्तरमा कतिपय अवसरमा तीर्थरामका सहकर्मी हुन पुगेका ध्यानगोविन्द रञ्जित र पंक्तिकार लेखक त उनका समकक्षी छात्र नै थियौं ।
कांग्रेस पार्टीको छात्र विभागका रूपमा नेपाल विद्यार्थी संघको विधिवत् गठन हुनुअगावै प्रजातन्त्रवादी विद्यार्थीहरूको समूहका प्रभावशाली सदस्य बनिसकेका तीर्थराम विसं. २०२७ साल वैशाख ६ गते नेवि संघको स्थापना हुँदा त्यसका संस्थापक सदस्यहरूमध्ये एक थिए । र, त्यसै अवसरमा पञ्चायती प्रशासनले उनलाई पहिलो पटक गिरफ्तार गरेर, केही दिन थुनेर छोडिदिएको थियो ।
नेवि संघको उद्घाटन त्यतिबेला काठमाडौमा रहेका कांग्रेसका एक मात्र ठूला नेता कृष्णप्रसाद भट्टराईबाट भएको थियो । त्यति नै बेला तीर्थरामलाई कृष्णप्रसादले नोटिसमा लिएका थिए । पछि २०३४ सालमा प्रतिबन्धित कांग्रेस पार्टीको काठमाडौं जिल्ला कार्यसमितिको गठन गर्दा भट्टराईले तीर्थरामलाई त्यस कार्यसमितिको कोषाध्यक्षको पदमा मनोनित गरेका थिए ।
त्यो कार्यसमिति वीरनाथ कर्माचार्यको सभापतित्वमा गठन गरिएको थियो । कालान्तरमा तीर्थराम कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको सभापति पनि चुनिएका थिए ।
पटक–पटक गरी करिब ४ वर्ष राजबन्दीको जीवन बिताएका तीर्थरामको राजनीतिक जीवनमा पहिलो महत्त्वपूर्ण मोड २०४४ सालमा आयो, जतिबेला पञ्चायतको आउटपोस्ट कब्जा गर्ने रणनीतिअन्तर्गत स्थानीय निकायहरूको चुनावमा भाग लिन लागेको कांग्रेसले उनलाई काठमाडौं नगर पञ्चायतको उप–प्रधानपञ्च पदको उम्मेदवार बनायो ।
पार्टीद्वारा काठमाडौंमा उम्मेदवार तोक्ने पूर्ण अधिकार दिइएका सर्वमान्य नेता गणेशमान सिंहले प्रधानपञ्चमा हरिबोल भट्टराई र उप–प्रधानपञ्चमा तीर्थराम डंगोललाई उम्मेदवार तोकेका थिए । काँठक्षेत्रका जैसीबाहुन हरिबोल भट्टराई र सहरभित्रका ज्यापू तीर्थराम डंगोलको यो जोडीले पञ्च र कम्युनिस्ट दुवै पक्षका उम्मेदवारहरूलाई भारी मतले हराइदिएको थियो ।
काठमाडौं महानगरमा रहेका करिब ३५ हजार ज्यापू मतदाताहरूमध्ये राम्रै बहुमतले आफ्नो समुदायको सुपठित, योग्य र इमानदार सुपुत्र र उसको साथीका पक्षमा मतदान गरेका थिए । तीर्थराम डंगोलले त्रिभुवन विश्वविद्यालयबाट एमए पास गरेका थिए ।
हरिबोल र तीर्थरामको जोडीले काठमाडौंको नगरप्रशासन लामो समयसम्म चलाउन भने पाएन । हरेक सालको पुस १ गते पञ्चहरूले मनाउँदै आएको श्री ५ महेन्द्र तथा पञ्चायती संविधान दिवसलाई प्रजातन्त्रको हत्या भएको दिन भन्दै २०४४ सालको त्यो दिवस बहिष्कार गरेका कारण उनीहरू दुवै निलम्बनमा परे ।
भट्टराई र डंगोलको त्यस जोडीको करिब ८ महिने कार्यकाललाई नजिकबाट हेरेको, देखेको व्यक्तिका रूपमा म निर्धक्कसँग भन्न सक्छु– केन्द्रीय सरकार र नगरपञ्चायतका करिब सबै नै वडा सदस्यहरूबाट असहयोग हुँदाहुँदै पनि उनीहरूले राम्रै काम गरेका थिए ।
खासगरी सार्क समिटका लागि तीर्थरामको नेतृत्वमा नगर पञ्चायतका कर्मचारीहरूले नगरको सरसफाइको काम जुन उच्चस्तरमा गरेका थिए, त्यो प्रशंसायोग्य थियो । नगर पञ्चायतको प्रेस सल्लाहकारका हैसियतले त्यो टिमसँग जोडिएको म तीर्थराम डंगोलको व्यावसायिक दक्षताबाट अत्यन्तै प्रभावित भएको थिएँ ।
२०५६ सालमा काठमाडौंबाट प्रतिनिधिसभाको चुनाव जितेर स्वास्थ्यमन्त्री बनेका तीर्थरामले त्यहाँ पनि कुशलता र इमानदारीका साथ आफ्नो कर्तव्य र जिम्मेवारीको निर्वाह गरेका थिए ।
तीर्थरामले ‘काठमाडौं कांग्रेस र तीर्थराम’ शीर्षकको पुस्तकका उनले उल्लेख गरेको एउटा प्रसंगले नेपाली नेताहरूको प्रवृत्ति प्रतिविम्बत गर्छ । उनले भनेका छन्– ‘म जति पनि देशहरू पुगें, ती देशहरू ईश्वरले बनाएका होइनन्, मान्छेले नै निर्माण गरेका हुन् । नेताहरूले बनाएका हुन् । नेताहरूको महत्त्वाकांक्षामा जनताको विश्वास र भरोसा मिलेर बनेको हो । अझ भनौं, आत्म–शक्तिले बनेको हो । नेतृत्वको क्षमता र योजनाले बनाएको हो । हाम्रा नेताहरू कहिले देशलाई स्विट्जरल्यान्ड बनाउँछु भन्छन्, कहिले सिंगापुर तर आजसम्म नेपाल बनाउँछु कसैले भनेनन् ।’
