वायुमण्डलमा ‘रातो झन्डा’

२०२५ को मार्च महिनामा नै वायुमण्डलमा दैनिक औसत कार्बनडाइअक्साइडको घनत्व ४३० पीपीएमभन्दा बढेको पाइएको छ, सम्भवतः पृथ्वीको ३० लाख वर्षमा यो पहिलो पटक होला

वैशाख १७, २०८२

डा. कृष्णप्रसाद ओली

A 'red flag' in the atmosphere

विश्व तापमानको वृद्धि कम गर्ने विषयको बहस सुरु भएको दशकौं बितिसक्यो । यो बीचमा विश्व तापक्रमको वृद्धि र यसले जलवायुमण्डलमा पारेको असर र वायुमण्डल प्रदूषण मापन गर्ने केन्द्रहरू स्थापना भए । प्रभावलाई रोक्न विश्वभरि नै धेरै प्रयासहरू भए र भइरहेका छन् ।

त्यस्ता प्रयासहरूका बाबजुद विश्वमा औद्योगिक क्रान्ति सुरु हुनपूर्व अर्थात् ‘जीवाश्म इन्धनको’ अत्यधिक प्रयोगभन्दा अगाडिको वायुमण्डलमा कार्बनडाइअक्साइड (सीओ–टु) को मात्राभन्दा जीवाश्म ऊर्जाको प्रयोगपछि अत्यधिक बढेको पाइएको छ ।

वर्तमानमा मानवीय क्रियाकलापबाट कार्बनडाइअक्साइडको उत्सर्जन मानव इतिहासमा नै सबैभन्दा बढी पाइएको छ । हालै प्राप्त वैज्ञानिक तथ्यांकअनुसार सन् १८५० लाई आधार वर्ष मान्ने हो भने हाल वायुमण्डलमा कार्बडाइअक्साइडको मात्रा १८२ प्रतिशतले बढेको छ । बढ्नेक्रम जारी छ । त्यसको विस्तृत अध्ययन र विश्लेषण बेलायतस्थित विश्व स्रोत संस्था वर्ल्ड रिसर्च इन्स्टिच्युटले गरेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय कानुन प्रतिपादनका बाबजुद कार्बनडाइअक्साइड उत्सर्जन गर्ने प्रमुख राष्ट्रहरू संयुक्तराज्य अमेरिका, चीन, भारत, युरोपियन युनियन, रसिया, जापान, ब्राजिल, इन्डोनेसिया, इरान र क्यानडाजस्ता राष्ट्रहरूले दरिलो कदम नचलाए वायुमण्डलमा कार्बनडाइअक्साइडको घनत्व घटाउन असम्भवजस्तै छ । 

पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको घनत्वको वैज्ञानिक मापनको १९५६ देखि अमेरिकाको हवाईस्थित ‘माउना लावो’ मापन केन्द्र स्थापनाका भएसँगै सुरु गरिएको थियो । सो केन्द्रको हालैको मापनअनुसार २०२५ को मार्च महिनामा नै वायुमण्डलमा दैनिक मापनको कार्बनडाइअक्साइडको घनत्व ४३० पीपीएमभन्दा बढेको पाइएको छ । यो नै एउटा मापन केन्द्र हो, जसले पृथ्वीको सबैभन्दा लामो समयको वायुमण्डलीय कार्बनडाइअक्साइडको घनत्व मापन गरेर तथ्यांक राखेको छ ।

अन्तर्राष्ट्रिय ‘क्रोयोस्फियर’ सम्बन्धी काम गर्ने संस्था ‘इन्टरनेसनल क्रोयस्फियर क्लाइमेट इनिसिएटिभ (आईसीसीआई) एउटा अर्को संस्था हो, जो पृथ्वीको हिमाच्छादित भूभागको संरक्षणमा लागिपरेको छ । यो संस्थाको अध्ययनअनुसार हालैमा हाम्रो वायुमण्डलमा कार्बनडाइअक्साइडको घनत्वको मुख्य थ्रेसहोल्ड ४३० पार्टस पर मिलियन (पीपीएम) नाघेको बताइएको छ ।

औसत दैनिक वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा ४३० पीपीएम नाघ्न लागेको सम्भवतः पृथ्वीको ३० लाख वर्षमा यो पहिलो पटक होला । जसले जीवाश्म इन्धनबाट हुने उत्सर्जनको कारण जलवायु परिवर्तनको प्रकोपमा रातो झन्डा देखाउनुको साथै अझ अत्यधिक खतराको बाटोतिर धकेलेका छ । यो कुरा आईसीसीआईको प्रतिवेदनमा पनि उल्लेख छ ।

विश्व वायुमण्डलको ‘ग्लोबल एयर रिपोर्ट २०२४’ अनुसार वायु प्रदूषणका कारण २०२१ मा विश्वमा ८.१ मिलियन मानिसको मृत्यु भएको थियो । जसमा भारतमा मात्रै करिब २.१ मिलियन मानिसहरूको मृत्यु भएको बताइएको छ । दक्षिण एसियाका अरू देशहरूमा पनि वायु प्रदूषणवाट मृत्यु हुनेको संख्या धेरै छ । वायु प्रदूषणका अलावा तापक्रम वृद्धिका कारण अरू समस्याहरू पनि देखा परेका छन्।

वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढेको कारण पृथ्वीको ध्रुवीय र मध्यमान समुद्री क्षेत्रमा रहेका सामुद्रिक, प्राणीहरूमा सामुद्रिक जलको रसायनमा परिवर्तन भई अत्यन्त हानिकारक प्रभावहरू देखिन लागेका छन् । उत्सर्जित कार्बनडाइअक्साइडमध्ये करिब २५ प्रतिशतजति समुद्रमा नै घुलिने हुँदा समुद्रमा ‘कार्बोनिक एसिड’ बन्न गई सामुद्रिक प्राणीहरूको खाद्यशृंखला र उनीहरूको हड्डी र खबटा बन्ने प्रक्रियामै नकारात्मक प्रभाव पर्ने कुरा अध्ययनहरूले देखाएका छन् ।

हिमालय र तिब्बती पठारमास्थित हिउँ र पहाडहरूले विश्वको जलवायु पद्धतिलाई सुचारु रूपले राख्न अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेका छन् । यहाँ अवस्थित विशाल अग्ला पर्वतमालाहरू जसमा र जसको वरपर हिमनदी, हिउँ र पर्माफ्रस्ट बसेका छन् । तिनीहरूको सञ्जालबाट धेरै नसा नदीहरूको उत्पत्ति भएको छ । त्यस्तो एक अर्कामा निर्भर अति नै जोखिमयुक्त ‘क्रोयोस्फियर’ आज धरापमा पर्न गएको छ ।

इसिमोड र यूएनडीपीको अध्ययनअनुसार हिमनदीहरूको पिण्डमा २००९ देखि २०१९ सम्ममा करिब ६५ प्रतिशत घटेको देखाएको छ । यसैगरी नेपालका अन्तरदेशीय नदीहरूका स्रोत रहेका करिव ४७ हिमतालहरू भविष्यमा फुट्ने सम्भावनामा रहेका छन् । यसरी हिमाल र हिमनदीहरू पग्लिँदा केवल स्वच्छ पानीको अभाव, ऊर्जा उत्पादन र सिँचाइमा हुने प्रभावमा मात्र सीमित नरही रोग–व्याधिहरू आउन सक्ने सम्भावना पनि छन् ।

यसैगरी, हिमालय र ध्रुवीय क्षेत्रमा रहेमा असंख्य हिमनदी र हिउँलगायत स्थायी रूपले जमेर रहेका क्षेत्रका वातावरणहरूमा (हिमनदी र पर्माफ्रस्ट) लाखौं करोडौंको संख्यामा रहेका सूक्ष्म जीवहरू निष्क्रिय छन् । हिमाल र हिमनदीहरू पग्लिनुका साथै तिनीहरू आफू जमेर बसेको कैदखानाको अवस्थाबाट लाखौको संख्यामा निस्किई अन्य पारिस्थितिकीय प्रणाली र मानव बस्तीहरूमा पसी कहिल्यै नदेखिएका रोगहरू आउन सक्ने सम्भावनाको खतरा बढेको छ । 

मानव र अन्य जैविक विविधताको रक्षाका लागि अनवरत कार्य गरिरहेका उपयोगी सूक्ष्म जीवहरू, हिउँ पग्लिएका अवस्थामा बाँच्न नसकी अन्य घात हुने सम्भावना पनि अध्ययनहरूले देखाएका छन् । निष्क्रिय रहेका रोगजनक सूक्ष्म जीवहरू जमेर रहेका ठाउँहरूमा हजारौ र लाखौं वर्षहरूदेखि रहेका हुन्छन् । हिउँ र हिमनदी पग्लिँदै गएपछि तिनीहरू बाहिर निस्कन्छन् । 

स्वास्थकर्मीहरूको अध्ययनअनुसार हालसम्मका महामारीहरू प्रायः दुई ठूला कारणहरूले हुने गरेका थिए । मानव जातिहरूको नयाँ ठाउँमा अतिक्रमण गरी बसोबास गरेका कारण नयाँ रोगव्याधि आउँथ्यो । त्यस्तै आफ्नो बासस्थानबाट विस्थापित भई मानव बसोबास गर्ने ठाउँमा आउजाउ गर्ने जंगली जनावरहरूसँगको उठबस र लसपसका कारण महामारी आएका थिए ।

हाल आएर अर्को तेस्रो कारणको कुरा उठिरहेको छ, त्यो भनेको निष्क्रिय रहेका रोगजनक सूक्ष्म जीवहरू र मानव जातिबीचको सम्भावित अन्तरक्रियामा वृद्धि । यो अवस्था खासगरी प्राकृतिक छेकवारहरू, जसले सदियौंदेखि मानव निर्मित र प्राकृतिक पर्यावरणीय पद्धतिलाई अलग राखेको थियो । पर्यावरणीय छपनीको काम गर्दथ्यो । त्यसलाई हामीले बिगार्‍यौं र ध्वस्त पार्‍यौं ।

त्यही छेकवारको अवस्था पृथ्वीका ध्रुवीय क्षेत्र, हिमाल, हिमनदीहरूको थियो । जो विश्व तापक्रमको वृद्धिसँगै द्रुत गतिमा पग्लिइरहेको छ । लाखौं वर्षदेखि अहंरूपमा सुप्त अवस्थामा निष्क्रिय भई थिचिएर बसेका सूक्ष्म जीवहरूको जल तथा स्थलक्षेत्रका वातावरणमा हुन गइरहेको र हुन जाने विस्तारका कारण भविष्यमा अन्य नयाँ महामारीहरू आउने सम्भावना अझ बढेको छ ।

यी सबै अवस्था ल्याउने कारक तत्त्व भनेको हरितगृह ग्यास वृिद्ध नै हो । यसकारण हरितगृह ग्यास उत्सर्जन घटाउनुबाहेक अन्य विकल्प देखिँदैन । खासगरी हरित र स्वच्छ ऊर्जाका क्षेत्रमा धेरै कार्यहरू सुरु भएका छन् । उदाहरणका लागि युद्धस्तरमा विकसित भएको स्वच्छ ऊर्जा उत्पादन प्रविधिमा विकास, विद्युतीय सवारीसाधन, लो अल्टिच्युड टेक्नोलोजी, ड्रोन प्रविधिको विकास, हाइड्रोजनको भण्डारण र ट्रान्स्पोर्ट, उद्योगमा हरित ऊर्जाको प्रयोग आदिले के देखाउँछ भने, वर्तमान जलवायु परिवर्तनको प्रभाव न्यून गरी पूर्णरूपमा कार्बन तटस्थतामा जाने प्रतिबद्धतामा राष्ट्रहरू लागेको देखिन्छ ।

उदाहरणका लागि, स्वच्छ ऊर्जा प्रवर्द्धन र विकासका लागि चीनले नवीन ऊर्जा, आणविक ऊर्जा, विद्युत् प्रसारण, विद्युत् भण्डारण, विद्युतीय यातायात साधन र रेल्वेमा ठूलो लगानी गरेको छ । औद्योगिकलगायत यातायात क्षेत्रहरूमा कार्बन फुटप्रिन्ट घटाउन, नवीन प्रविधि विकासमा छलाङ मारेको छ । स्वच्छ ऊर्जा विकासमा 

सन् २०२३ मा मात्र धेरै लगानी गरिएको थियो । सो लगानीबाट १.६ खरब डलर आम्दानी भएको थियो । यस्तैगरी, भारत सरकारले पनि स्वच्छ ऊर्जामा जोड दिँदै आएको छ । सन् २०३० सम्ममा सम्पूर्ण ऊर्जा खपतको ५० प्रतिशत जीवाश्म इन्धनभन्दा स्वच्छ ऊर्जावाट प्राप्त गर्ने र विस्तारै पूर्ण स्वच्छ ऊर्जामा जाने अठोट गरेको छ । स्वच्छ ऊर्जा प्रविधिमा द्रुतगतिको नवीन अविष्कार र त्यस्तो ऊर्जाको उत्पादन लागतमा कमी आउन लागेको हुँदा जीवाश्मा ऊर्जाबाट स्वच्छ ऊर्जामा फड्को मार्न लामो समय नलाग्ने अध्ययनहरूले देखाएका छन् ।

विस्तारै हिमनदी र हिमाल पग्लँदै सकिने त्रासदीपूर्ण दुःखद् घटना देख्नु नपरोस् र सामुद्रिक रसायनमा परिवर्तन आई सामुद्रिक प्राणीको अवसान नहोओस् भन्नेतर्फ सबै कार्बन उत्सर्जक राष्ट्रहरू शीघ्र लाग्नुपर्ने आवश्यकता छ । यसका लागि चीन, भारत, रुस, युरोप, ब्राजिल र अन्य देशहरू लागिपर्न थालेका छन् ।

प्रमुख औद्योगिक देशहरू अगुवा भएर हरित र स्वच्छ ऊर्जा प्रवर्द्धनमा लागेमा जीवाश्म ऊर्जालाई विस्थापित गर्ने वैकल्पिक स्वच्छ ऊर्जामा ठूलो अनुसन्धान भई पृथ्वीको रक्षा र मानव निर्मित वैश्विक सभ्यता चिरकालसम्म रहनेछ । यसो नगरे हामीले हाम्रा हिमाल हिमनदी पुनः देख्ने कुरा सपना मात्र हुनेछ, किनभने हिमाल हिमनदी र क्रोयोस्फियर बनाउन पृथ्वीले करोडौ वर्ष खर्चिएको छ र यो बिग्रिएपछि पुनः निर्माण गर्न अति गार्‍हो हुन्छ ।

–वातावरणविद्समेत रहेका ओली चीनका लागि नेपाली राजदूत हुन् ।

डा. राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वअध्यक्ष ओली चीनका लागि नेपाली राजदूत हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा वातावरण विज्ञका रुपमा काम गरेका थिए ।

Link copied successfully