तालिमलाई उद्यमशीलतासँग कसरी जोड्ने ?

पछिल्लो समय प्रशिक्षार्थीहरूमा उद्यमशीलतासँगै बजारीकरणसम्बन्धी आधारभूत ज्ञानको कमीले स्थानीय तहलगायत प्रदेश सरकारले दिने गरेका तालिमहरू उपयोगी हुँदाहुँदै पनि यस्ता तालिमहरू फलदायी बन्न सकेका छैनन् ।

वैशाख १२, २०८२

मधु राई

How to link training with entrepreneurship?

अघिल्लो महिना विराटनगर महानगरपालिका–११ ले एउटा स्थानीय संस्थासँग सहकार्य गरी सातदिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न गर्‍यो । उक्त तालिम अवधिमा २० जना सहभागीहरूले झन्डै सय थानभन्दा बढी सेनेटरी प्याड बनाए ।

प्रशिक्षक मालती आचार्यले ती प्याडहरू नेपाल घरेलु तथा साना उद्योग महासंघअन्तर्गत महिला समितिले नारी दिवसको उपलक्ष्यमा आयोजित एकदिने प्रदर्शनीमा बिक्री गर्न सहभागीहरूलाई प्रोत्साहित गरिन् र केही थान बिक्री पनि भयो ।

सेवामूलक होस् वा उत्पादनमूलक, पछिल्लो समय प्रदेश र स्थानीय तहहरूले विभिन्न संघसंस्थासँग समन्वय र सहकार्य गरी युवा तथा महिलाहरूलाई स्वरोजगार बनाउन लामो छोटो अवधिका तालिमहरू सञ्चालन गर्दै आएका छन् । बहुसंख्यक सहभागीहरूले उद्यमशीलतासम्बन्धी आधारभूत कुराहरू थाहा नपाएर तालिमको उपादेयता र यसको महत्त्व त्यति धेरै बुझेको देखिँदैन ।

अझ दुःखलाग्दो कुरा त तालिम आयोजक संस्थाहरूले पनि यस्ता तालिम प्राप्त सहभागीहरूलाई उद्यमशीलतासम्बन्धी चाहिने आधारभूत कुराहरू बुझाउन वा उद्यम व्यवसाय थाल्दा चाहिने आधारभूत कुराहरूबारे अवगत गराउन सकेको देखिँदैन । त्यसैले अधिकांश तालिमहरूबाट प्राप्त ज्ञानलाई प्रशिक्षार्थीहरूले उद्यमशीलतासँग जोड्न सकेका छैनन् ।

उद्यमी तयार गर्न उद्यमशीलताका आधारभूत ज्ञानबारे तालिम आयोजक संस्थाहरूले प्रशिक्षार्थीहरूलाई बुझाउन जरुरी छ । हुन त तालिम लिने सबै उद्यमी नै बन्छन् भन्ने हुँदैन । उद्यमी बन्नका लागि उद्यम वा व्यवसायसम्बन्धी आधारभूत कुराहरू थाहा पाउनुपर्ने हुन्छ । स्थानीय तथा प्रदेशले सञ्चालन गर्ने कतिपय यस्ता तालिमहरू एउटै प्रशिक्षार्थीले दोहोर्‍याइतेर्‍याइ लिइरहँदा पनि उनीहरू स्वरोजगार बन्न सकेका छैनन् ।

अर्को मुख्य कुरा कतिपय तालिम आयोजक संस्थाहरूले पनि तालिमका लागि के कस्तो प्रशिक्षार्थी चाहिन्छ भन्ने मापदण्ड बनाउन सकेको देखिँदैन । त्यसमाथि प्रशिक्षार्थीहरू आफैं पनि आफूले के कस्तो तालिम लिँदा उद्यम व्यवसाय गर्न सकिन्छ भन्ने कुराको भेउ पाउन सकेका छैनन् । यसरी आफ्नो रुचि थाहा नपाउँदा पनि प्रशिक्षार्थीहरू आफै रनभुल्लमा परेको देखिन्छ । हुन पनि हो यस्ता प्रशिक्षार्थीहरूकै कारण पछिल्लो समय जुनसुकै तालिमहरू अनुत्पादक बन्दै गएको देखिन्छ ।

गत आर्थिक वर्षको अन्तिम महिनामा साना तथा मझौला व्यवसायी महासंघ जिल्ला कार्यसमिति मोरङले प्रदेश सरकारको सहयोगमा विराटनगर ११ र १२ का झन्डै ५० जना महिलाहरूलाई मोती र क्रिस्टलको मालालगायत झोला बनाउने दसदिने तालिम दियो ।

एउटा स्थानीय सहकारीमा आबद्ध तालिम प्राप्त दुई जना सहभागीलाई एक जना मनकारी सदस्यले बीउपुँजी दिएर केही महिना तालिममा पाएको सीपलाई निरन्तरता दिए । उद्यमशीलतासम्बन्धी आधारभूत ज्ञानको कमीले उनीहरूले आफ्नो सीपलाई उद्यमसँग जोड्न सकेनन् । एक जना सहभागीले अर्को साथीसँग मिलेर मालाहरू बनाइरहेका छन् । तर माला बजारसम्म पुग्न सकेको छैन ।

खासमा उद्यमशीलतासम्बन्धी तालिमअन्तर्गत नै आफ्नो उत्पादन र सेवाको कसरी बजारीकरण गर्ने भन्ने विषय पनि समेटिएको हुन्छ । पछिल्लो समय प्रशिक्षार्थीहरूमा उद्यमशीलतासँगै बजारीकरणसम्बन्धी आधारभूत ज्ञानको कमीले स्थानीय तहलगायत प्रदेश सरकारले दिने गरेका तालिमहरू उपयोगी हुँदाहुँदै पनि यस्ता तालिमहरू फलदायी बन्न सकेका छैनन् । 

प्रदेश र स्थानीय तहहरूले दिने गरेका अधिकांश तालिमहरू फलदायी हुन नसके पनि पछिल्लो समय कतिपय वित्तीय संस्थाहरूले भने उद्यमशीलतासम्बन्धी लामो छोटो अवधिका तालिमहरू आयोजना गर्दै आएका छन् । त्यसो त नेपाल घरेलु तथा साना उद्योग महासंघले सातै प्रदेशमा आफ्ना शाखाहरूमार्फत उद्यम व्यवसायसम्बन्धी तालिमहरू दिने गरेको धेरै भयो । यस्तै महासंघमा आबद्ध उद्यमी तथा व्यवसायीहरूले वस्तु उत्पादन मात्र गरेका छैनन्, कतिपयले सयौंलाई रोजगारीसमेत दिएका छन् ।

खासमा स्थानीय तहहरूले दिने गरेका तालिमलाई उद्यमशीलतासँग जोड्न जरुरी छ । किनभने उद्यमशीलतासम्बन्धी आधारभूत ज्ञानले नै प्रशिक्षार्थीहरूमा उद्यमी बन्न अभिप्रेरित गर्छ । यस्तै गुगलका कार्यकारी अधिकृतसमेत रहिसकेका तथा वर्तमान अवस्थामा अमेरिकी विज्ञानका निर्देशक एरिक स्किम्डकै शब्द सापटी लिएर भन्ने हो भने ‘उद्यमी भनेका ती व्यक्तिहरू हुन्, जसले यो संसार फरक र असल बन्न सक्छ भन्ने विश्वास गर्छन् । यसका लागि उनीहरूले आफ्नो जीवनका उर्वर समय र अर्थ खर्चेर लाखौं रोजगारी सिर्जना गर्न सक्छन् र अर्बौं सम्पत्ति आर्जन गर्न सक्छन् ।’

विश्व परिदृश्यमा यस्ता उद्यमीहरूको फेहरिस्त निकै लामो बन्छ । हामीकहाँ पनि पछिल्लो समय उद्यमीहरूले समाजमा आफ्नो दरिलो उपस्थिति जनाइरहेका छन् । यस्ता उद्यमीहरूकै कारण पनि पछिल्लो समय उद्यम तथा उद्यमशीलताबारे निकै चर्चापरिचर्चा हुन थालेको छ ।

यस्तै केहीअघि मात्र सम्पन्न पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीलगायत संघीय मन्त्री, सांसद तथा सरोकारवालहरूले रोजगारी सिर्जना गर्न पनि उद्यमशीलताको विकास हुनुपर्ने कुरामा विशेष जोड दिएका थिए । खासमा संघीयमन्त्री र सांसदहरूले मात्र हैन, प्रदेश र स्थानीय सरकारले पनि उद्यमशीलताले मात्र देशलाई विकास र समृद्धिको शिखरमा पुर्‍याउन सक्छ भन्ने गाँठी कुरा बुझ्न जरुरी छ । 

मधु मधु राई शैक्षिक अभियन्ता हुन् । उनी शिक्षा, शैक्षिक वातावरण, सिकाई लगायतका समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully