त्यसो त यसअघि पनि ट्रम्पको ट्यारिफ–हमला खेपिसकेको चीन पुनः त्यो दोहोरिने कुराबाट बेखबर थिएन । ट्रम्पले युद्ध छेडेपछि यसबाट जोगिन उसले केही रणनीतिक बाटो अपनाएको देखिन्छ
चिनियाँहरू माओत्सेतुङलाई ‘महान् नेता’ मान्छन् । बेइजिङस्थित कम्युनिस्ट पार्टीको म्युजियममा माओको नेतृत्वमा चीनमा भएको सांस्कृतिक क्रान्तिका झलक आकर्षक ढंगले सजाएर राखिएको छ । तर, जब समृद्ध चीनको कुरा आउँछ, चिनियाँहरू उनको कुरा गर्न खासै रुचाउँदैनन् ।
चिनियाँहरू सांस्कृतिक क्रान्तिको त्यो अँध्यारो पाटो सम्झन चाहँदैनन् । उनीहरू ‘कन्फुसियस’ दर्शनका कुरा गर्छन्, बुद्ध सम्झिन्छन् अनि आर्थिक विकासका प्रणेता देङ सियाओ पिङका योगदानको चर्चा गर्छन् ।
विकास र समृद्धिको बाटोमा ‘दिन दुगुना रात चौगुना’ बढिरहेको चीनमा राष्ट्रपति सी चिनफिङको सबल नेतृत्वका कुरा पनि गर्छन् । विकास र समृद्धिका बखान गरिरहँदा कसैले माओबारे सोधिहाले तर्किंदै भन्ने गर्छन्, ‘विगतको संघर्षको इतिहास अब सम्झन आवश्यक छैन ।’
तर, यतिबेला परिवेश फरक छ । अहिले चीनमा राष्ट्रवाद जागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ट्यारिफ’ (रेसिप्रोकल भन्सार कर) लगाउने निर्णयपछि चिनियाँहरू माओलाई सम्झँदै छन् । चिनियाँ सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको झन्डै सात दशक पुरानो माओको भिडियो ‘क्लिप’ अहिले भाइरल भएको छ । जहाँ उनी ‘यो युद्ध जतिसुकै लामो भए पनि हामी झुक्ने छैनौं’ भन्दै गरेका सुनिन्छन् ।
माओको उक्त ‘क्लिप’ सन् १९५३ को हो, जतिबेला कोरियाली प्रायद्वीप युद्धग्रस्त थियो । उत्तर र दक्षिण कोरियाबीच युद्ध चल्दा चीन र रुस उत्तर कोरियाको पक्षमा उभिएका थिए भने अमेरिका दक्षिण कोरियाको पक्षमा थियो । माओले अमेरिकासँगको युद्धमा नझुक्ने भनेर गरेको त्यही भाषणको ‘क्लिप’ अहिले चिनियाँ सञ्चार र सञ्जालमा भाइरल भएको हो ।
सन् ५० को दशकमा यी दुई राष्ट्रबीच कहिले कोरियाली युद्ध त कहिले भियतनाम युद्धका कारण तिक्ततापूर्ण सम्बन्ध रह्यो । झन्डै साढे सात दशकपछि अहिले पनि यी दुईबीच उस्तै तिक्तता छ । फरक के मात्रै छ भने उतिबेला अमेरिकामा राष्ट्रपति ह्यारी एस ट्रुम्यान थिए, अहिले डोनाल्ड ट्रम्प छन् । त्यसबेला वर्चस्वको लडाइँ थियो, अहिले व्यापार युद्ध छेडिएको छ ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा फेरि व्यापार युद्ध छेडेपछि चीन त्यसरी नै अमेरिकाविरुद्ध खडा छ, जसरी माओ खडा भएका थिए । राष्ट्रपति सी चिनफिङले भनेका छन्, ‘चीनले आजको विकास अरूको सहयोगबाट होइन, आफ्नै कडा परिश्रमबाट आर्जेको हो । हामी कुनै पनि अन्यायपूर्ण दमनसँग डराउँदैनौं ।’
अमेरिकाले ट्यारिफ लगाएपछि पहिलो पटक ११ अप्रिलमा बोल्दै सी चिनफिङले थप केसमेत भनेका छन् भने, ‘व्यापार युद्धमा कसैले जित्दैन । बरु संसारविरुद्ध जाँदा आफैं एक्लिँदै जान्छ ।’
तर, ट्रम्प बेपर्वाह छन् । उनलाई संसारले अमेरिकालाई कसरी हेरिरहेछ, कुनै चासो छैन । उनी आफ्नो अहंकारहरू अरूमाथि लाद्न प्रेरित छन् । २० जनवरी २०२५ मा दोस्रो पटक राष्ट्रपतीय पदभार ग्रहण गर्दै ट्रम्पले ‘अमेरिका फर्स्ट’ नीति उद्घोष गरेर ट्यारिफ युद्ध दोहोर्याउने छनक दिइसकेका थिए । मार्चमा उनले क्यानडा र मेक्सिकोमाथि प्रहार गरे, ट्यारिफ दर २५ प्रतिशत बढाएर । ती राष्ट्रसँग केही दिन जुहारी चल्यो । क्यानडाले प्रतिवाद गर्दै काउन्टर ट्यारिफ लगायो । अन्ततः उनले ट्यारिफ बढाउने आफ्नो निर्णय पुनर्विचार गर्दै स्थगन गरेका थिए ।
अप्रिल लागेपछि उनले पुनः चीन, भारत, दक्षिणपूर्वी एसियालगायतका विभिन्न देशमाथि ट्यारिफ दर बढाए । त्यसले विश्व अर्थबजारमा ठूलो तरंग ल्यायो । सेयर बजार प्रभावित भए । एप्पललगायतका ठूला अमेरिकी कम्पनी प्रभावित हुन थालेपछि उनले पुनः ९० दिनका लागि यो ट्यारिफ शुल्क स्थगन गरेका छन् ।
कम्प्युटर, स्मार्ट फोन, विभिन्न इलेक्ट्रोनिक डिभाइस आदिमा घोषणा गरेको ट्यारिफ हटाएका छन् भने बाँकीमा थप बढाउँदै लगेका छन् । अप्रिल २ मा ३४ प्रतिशत बढाएर ५४ पुर्याएका ट्रम्पले त्यसपछि पटक–पटक थपेर बितेका तीन सातामा २ सय ४५ प्रतिशत पुर्याएका छन् । चीनले जवाफमा १ सय २५ प्रतिशत पुर्याएको छ ।
यसबीच ट्रम्प यतिधेरै अस्थिर देखिएका छन् कि हरेक नयाँ दिन उनले के निर्णय गर्छन्, अनुमान गर्न कठिन छ । जे सनक चढ्यो, उनी त्यही गर्दै आएका छन् । ट्रम्प दोस्रो पटक राष्ट्रपति भएको सय दिन कटेको छ । यसबीच घरेलुदेखि परराष्ट्र मामिलासम्मका उनका कैयौं निर्णय अलोकतान्त्रिक छन्, कति विवादास्पद छन् ।
उनका अभिव्यक्ति/प्रस्तुतिहरू महाशक्ति राष्ट्रको राष्ट्रपतिको पदीय मर्यादासँग मेल नखाने खालका छन् । ट्रम्पका यी व्यवहार र निर्णयपछि विश्व अर्थव्यवस्था अब कता जाने हो भन्ने अन्योलग्रस्त छ । यद्यपि, उनी भने निर्धक्क भन्दै छन्, ‘चीनसँग केही साताभित्रै महत्त्वपूर्ण सम्झौता हुनेछ ।’
तर, चीन ट्रम्पले सोचेजस्तो देखिँदैन । ट्रम्पले अनेक चकचक गरिरहँदा यता राष्ट्रपति सी भने आफ्नै हिसाबले ‘ट्यारिफ–युद्ध’ विरुद्ध विभिन्न रणनीति अख्तियार गर्नमा जुटेका छन् । यसबीच चीनले आफ्नो ‘पोजिसन’ फेरेको छैन । उसले निरन्तर एउटै कुरा गरेको छ, जो राष्ट्रपति सीले भन्दै आएका छन् ।
ट्रम्पका हरेक निर्णयपछि बेइजिङस्थित विदेश मन्त्रालयका प्रवक्ताले त्यसको जवाफ दिने गर्छन् । र, त्यो जवाफ एउटै हुन्छ । प्रवक्ता लिन जियानले अमेरिकाको ट्यारिफ युद्धबाट चीन नडराएको र त्यसको प्रतिवाद गर्न तयार भएको बताए । उनले भनेका छन्, ‘यो युद्ध अमेरिकाले सुरु गरेकाले यसको जिम्मेवारी उसैले लिनुपर्छ र वार्ताबाट समाधान खोज्ने हो । संवादमा आपसी हित, सम्मान र समानताका आधार हुनुपर्छ । नचाहिँदो धम्की, दबाब र ब्ल्याकमेल बन्द गरिनुपर्छ ।’
चीनले एकातिर वार्ताको ढोका खुलै राखेको छ भने अर्कोतर्फ अमेरिकी ट्यारिफ हमलाबाट आफूलाई कसरी जोगाउने भन्ने रणनीति पनि कोरिरहेको छ । त्यसो त यसअघि पनि ट्रम्पको ट्यारिफ–हमला खेपिसकेको चीन पुनः त्यो दोहोरिने कुराबाट बेखबर थिएन । ट्रम्पले युद्ध छेडेपछि यसबाट जोगिन उसले केही रणनीतिक बाटो अपनाएको देखिन्छ । जस्तो कि :
पहिलो, अमेरिकाले ट्यारिफ दर बढाएपछि चीनले त्यसको प्रतिवाद गर्दै ट्यारिफ बढायो । अप्रिल २ मा अमेरिकाले ५४ प्रतिशत र त्यसपछि पुनः बढाएर १०४ पुर्याएपछि चीनले जवाफमा अमेरिकालाई ८४ प्रतिशत ट्यारिफ लगायो । त्यसपछि अमेरिकाले १ सय २५, त्यसपछि थप २० र अर्को पटक १०० थपेर २४५ प्रतिशत ट्यारिफ पुर्याएको छ भने चीनले १ सय २५ प्रतिशत । यसबीच चीनले आफ्ना एयरलाइन्सहरूलाई अमेरिकी विमान कम्पनी बोइङबाट जहाज वा अरू पार्ट्स केही पनि नकिन्न भनेको छ ।
त्यस्तै, ऊर्जा, सैन्य प्रयोजनका सामग्री, स्मार्टफोन, इलेक्ट्रोनिक डिस्प्ले आदि बनाउन प्रयोग हुने दुर्लभ धातु ‘रेयर अर्थ’ को निकासी रोकिदिएको छ । रिपोर्टहरूका अनुसार, विश्वबजारमा यो ‘रेयर अर्थ’को निकासी चीन एक्लैले ८० प्रतिशतभन्दा ज्यादा गर्ने गरेको छ ।
बोइङ जहाज, डिभाइस खरिद नगर्ने अनि ‘रेयर अर्थ’को निकासी रोक्दाको असर अमेरिकी अर्थतन्त्रमा व्यापक पर्ने अर्थविद्हरूको ठम्याइ छ । प्लेन, गाडी, अटोमोबाइल आदिसँग सम्बन्धित सामानको भाउ बढ्ने र सेमीकन्डक्टर कम्पनीहरू प्रभावित हुनेछन् । अर्थात् चीनले अमेरिकाले ट्यारिफ दर बढाएपछि ‘टिट फर ट्याट’ अर्थात् प्रतिरोधको रणनीति अपनाएको छ ।
दोस्रो, अमेरिकाले व्यापार युद्ध छेडेपछि चीनले ढिलो नगरी आफ्ना छिमेकलाई विश्वासमा लिन चाहेको देखियो । निकै कम विदेश भ्रमण गर्ने राष्ट्रपति सी चिनफिङ अमेरिकाले ट्यारिफ बढाएलगत्तै दक्षिणपूर्वी एसियाली देशको भ्रमणमा निस्किए ।
त्यसअघि अप्रिल ८ र ९ मा बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको पूर्ण पोलिटब्युरो बैठकले छिमेकलाई साझा भविष्यका लागि आश्वस्त पार्न र नयाँ परिधीय कूटनीटिक अभ्यासको प्रयास थाल्ने निर्णय गरेको थियो । भ्रमणका क्रममा भियतनाम, मलेसिया, कम्बोडिया आदि देश उनको रोजाइमा पर्नुको एउटा कारण त्यही बैठकको मार्गनिर्देशन थियो ।
त्यस्तै दोस्रो कारण थियो, ती देशमाथि पनि अमेरिकाले चर्को ट्यारिफ सन्दर्भ । ती पनि अमेरिकी ट्यारिफको चपेटामा परेका छन् । यो सन्दर्भमा ती राष्ट्रको भ्रमण गरेर सीले व्यापार युद्धमा सबै एकै मोर्चामा रहेको राजनीतिक सन्देश दिन खोजेका हुन् ।
खुला बजार अर्थतन्त्रको वकालत गर्दै आएको अमेरिका आफैंले विश्व व्यापार संगठनको न्यूनतम मूल्यलाई समेत कुल्चेर ट्यारिफ आतंक सिर्जना गरेपछि चीन बहुपक्षीय व्यापार प्रणाली, आपूर्ति शृंखला, खुला वातावरणको वकालतका लागि अग्रसर भएको हो । राष्ट्रपति सीले आसियानका तीन मुलुकको भ्रमणलाई उच्च महत्त्व दिए । क्षेत्रीय शान्ति र स्थिरताका कुरा गरे । यी सबैसँग चीनले व्यापारिक साझेदारी, दुई देशीय व्यापार र लगानी प्रवर्द्धनका कुरा गरे ।
आपसी भाइचारा बढाउने र अझ भियतनाममा चीनजस्तै कम्युनिस्ट शासन भएकाले समाजवादी लक्ष्यमा सँगै अघि बढ्ने कुरा गरे । यी सबैका अन्तर्यमा चाहिँ चीनको मुख्य चासो अमेरिकाको ट्यारिफ आतंकविरुद्ध मोर्चाबन्दी कस्नु थियो, आफ्ना यी व्यापारिक साझेदारलाई जोड्नु थियो अनि बजार विस्तारको रणनीतिको कार्यान्वयन थियो ।
सीको भ्रमण सकिएपछि बेइजिङमा पत्रकारहरूसँग चीनका विदेशमन्त्री वाङ यीले सार खिच्दै भने, ‘क्षेत्रीय सहकार्य र सहअस्तित्वलाई राष्ट्रपति सीको भ्रमणले नयाँ उचाइ प्रदान गरेको छ ।’
तेस्रो, चीनसँग व्यापार युद्धका असर कम गर्न आफ्नो पैसा युआनलाई सस्तो बनाउने विकल्प पनि छ । यसलाई पनि उसले रणनीतिका रूपमा अख्तियार गर्न सक्ने बताइन्छ । यसो गर्दा उसका उत्पादनहरू सस्तिन्छन् र अन्तर्राष्ट्रिय बजारमा सहजै खपत हुनेछन् ।
यो सन् २०१८ को व्यापार युद्धका बेला पनि युआन कमजोर भएका कारण चीनले राहत महसुस गरेको थियो । यद्यपि, ट्रम्पले भने चीनलाई आफ्नो विशाल निर्यात उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा सस्तोमा पुर्याउनका लागि युआनलाई कमजोर पार्ने गरेको आरोप लगाएका थिए ।
चौथो, सन् २०१८ मा व्यापार युद्ध खेपको अनुभवका हिसाबले चिनियाँहरू सम्भावित ट्यारिफ द्वन्द्व हुन सक्ने अनुमानका आधार तयारीमै थिए । तसर्थ, चीनले घरेलु माग प्रणालीलाई विकास गर्ने रणनीति पनि लिएको छ । ठूलो जनसंख्या भएको चीनले घरेलु माग प्रणालीको विकास गर्दै अमेरिकाबाहेकको विश्व बजारमा आफ्ना उत्पादनको विस्तार गर्ने रणनीति पनि लिएको छ ।
सबैभन्दा मुख्य कुरा, चीनले यस पटक पनि व्यापार युद्धकै बीचबाट आफ्नो शक्ति थप बढाउन सक्ने रणनीति लिएको देखिन्छ । व्यापार युद्धबाट चीन प्रभावित नहुने होइन । राष्ट्रपति सी स्वयंले यो व्यापार युद्धबाट कसैले नजित्ने भन्नुको अर्थ चीन यसबाट प्रभावित हुनेछ । चीनको निर्यात अर्थतन्त्रमा यसले असर पार्ने छ । तर, सन् २०१८ पछि अझै बलियो रूपमा उभिएको चीनले यस पटक पनि आफूलाई विश्व अर्थतन्त्रमा अझ अगाडि लैजाने रणनीति लिएको छ ।
पेकिङ युनिभर्सिटीका प्राध्यापक याओ ताङ भन्छन्, ‘ट्रम्पको ट्यारिफ आतंकले दोस्रो विश्वयुद्धपछिको आर्थिक/व्यापरिक सन्तुलनको अवस्थाको अन्त्य गरेको छ । हामी ‘प्वाइन्ट अफ नो रिटर्न’को अवस्थामा पुगेका छौं । निश्चय पनि यो व्यापार युद्धबाट चिनियाँ र अमेरिकी दुवै अर्थतन्त्रमा असर पर्नेछ । यद्यपि, चीनले घरेलु वित्तीय अवस्थालाई सन्तुलनमा राख्दै पूर्ण स्तरको व्यापार युद्धका लागि तयार हुनुको विकल्प छैन ।’
खासमा अमेरिकाले सुरु गरेको यो ट्यारिफ युद्धको अन्तर्य अथवा मूल प्रश्न हो, ‘अबको विश्व अर्थतन्त्रको लिडर को हुने ?’ अमेरिका दोस्रो विश्वयुद्धपछि विश्व परिदृश्यमा उदाएको शक्ति हो । दोस्रो विश्वयुद्धमा जर्मनीको पराजय र बेलायतको ओर्लिंदो अवस्थाले अमेरिका अगाडि आउने अवस्था बन्यो । त्यसमाथि सोभियत संघको पतनपछि अमेरिका महाशक्ति राष्ट्रका रूपमा रहँदै आएको छ । अर्कोतिर साढे चार दशकमै विकास र समृद्धिको उचाइ हासिल गर्दै गरेको चीन छ । अमेरिकाको ‘महाशक्ति’ मा आर्थिक रूपमा उदाइरहेको चीन चुनौतीका रूपमा उभिएको छ ।
विभिन्न आर्थिक सर्वेक्षणहरूले सन् २०५० सम्ममा चीन आर्थिक महाशक्ति बनिसक्ने प्रक्षेपण गर्दै आएका छन् । र, अमेरिकाले चीनको उदयलाई पचाउन सकिरहेको छैन । ऊ चीनलाई आर्थिक रूपमा शक्तिशाली राष्ट्र हुनबाट रोक्न चाहन्छ । चीन भने आर्थिक प्रगतिको बाटोमा अग्रसर भई नै रहेको छ । यही गतिमा चीनको आर्थिक विकास अघि बढ्दा अमेरिकालाई उछिन्ने प्रक्षेपणहरू भइरहँदा अमेरिका भने व्यापार घाटा अनि दक्षिणपन्थी लोकप्रियतावादमा फस्दै गएको छ ।
खुला बजार र लोकतन्त्रको ‘मसिहा’ ठान्ने अमेरिका यिनकै न्यूनतम मूल्यहरूको धज्जी उडाउँदै छ । ट्रम्पका गैरजिम्मेवार व्यवहारले यो विश्वमञ्चमा एक्लिँदै जाने जोखिम छ । यही बेला चीन सबल अर्थतन्त्र र प्रविधिको विकास खास गरी पछिल्लो ‘डिपसिक’को सफलताले हौसिएको छ र विश्वको नम्बर १ अर्थतन्त्र बन्ने महत्त्वाकांक्षामा बढिरहेको छ । महाशक्तिमा टिकिरहने र चीनलाई रोक्ने अमेरिकाको स्वार्थ अनि उसलाई उछिन्ने चीनको महत्त्वाकांक्षाका बीच विश्व अर्थतन्त्र भने अन्योलको पिङमा झुलिरहेको छ ।
