संस्कृत नै संस्कृति र संस्कार हो । यो भाषा पूर्वीय दर्शनको संवाहक हो । एक समग्र जीवन पद्धति पनि हो । यसले जीवन जिउने कला मात्र होइन, भयरहित भएर बाँच्न पनि सिकाउँछ ।
सबै भाषाको जननीका रूपमा रहेको संस्कृत भाषा देववाणी, देवभाषाका रूपमा चिनिन्छ । यसलाई विश्वको प्राचीनतम् एवं समृद्ध भाषाका रूपमा लिइन्छ । साथै नेपाली भाषाको जननी संस्कृत भाषा हो । संस्कृतको ज्ञानबिना नेपाली भाषा पनि शुद्ध बोल्न र लेख्न कठिन पर्छ ।
पश्चिमा देशहरूको सिको गर्ने क्रममा आफ्नो मातृभाषाको जननीका रूपमा रहेको संस्कृत भाषाका बारेमा हामीलाई सामान्य जानकारीसमेत नभएको अवस्था छ । पश्चिमा देशका अध्येताले हाम्रा वेद, पुराण र उपनिषद्माथि अध्ययन गरेका छन् । कैयौं अंग्रेजले यस भाषाको अध्ययन र अनुसन्धानमा आफ्नो ध्यान केन्द्रित गरेका छन् । इस्कोनजस्ता अन्तर्राष्ट्रिय धार्मिक संस्थाले यो भाषाको जगेर्ना गर्ने प्रयास गर्दै आएको पाइन्छ ।
सन् १८९३ तिर सिकागो सम्मेलनमा स्वामी विवेकानन्दले हिन्दु धर्म र संस्कृत भाषाको महिमा र गाथाबारे अमेरिकामा प्रवचन गरेपछि यस भाषाबारे चासो र चिन्ता बढ्न थालेको हो । आधुनिक विज्ञानले पत्ता लगाएका अद्भुत सिद्धान्तहरू संस्कृतमा लेखिएका हाम्रा पुराना ग्रन्थमा कल्पना गरिएका थिए । सनातन वैदिक धर्ममा गर्भाधानदेखि अन्त्येष्टि पर्यन्त षोडश संस्कार संस्कृतमा नै हुन्छन् । चार वेद, अठार पुराण, मनु, याज्ञवल्क्य, पाराशर, अत्रि आदि स्मृतिहरू, षटदर्शन आदि शास्त्रहरू ज्ञान विज्ञानका अभूतपूर्व ग्रन्थहरू हुन् ।
मेरी १५ वर्षीया छोरीको प्रश्न हुन्छ–
‘आमा ! किन हामीलाई संस्कृत भाषाको अध्ययन अध्यापन गराइँदैन ? के मैले मेरो मातृभाषाको जननीका बारेमा जान्न र सिक्न पाउँदिनँ ?’ म यस्ता प्रश्न सुनेर भावुक भई नाजवाफ बन्छु । यस्तो महत्त्वपूर्ण मार्गदर्शनका सम्बन्धमा अहिलेका सन्ततिले ज्ञान आर्जन गर्न पाइरहेका छैनन् । किन हाम्रा नीतिहरूमा संस्कृतको संरक्षण गर्ने विषयमा बहस र छलफल हुन सकिरहेको छैन ? समस्याको मूल जड के हो ? गुरुकुल, संस्कृत विद्यालय तथा महाविद्यालयमा संस्कृतका विभिन्न विधामा प्राथमिकताका आधारमा खोज अनुसन्धान हुन सक्दैन । यस विषयमा तीनै तहका सरकारले संवेदनशील हुन त्यत्तिकै जरुरी छ ।
आजको २१ औं युगको मध्यतिर ढल्किरहेको पश्चिमा मुलुकको प्रभाव कृत्रिम बौद्धिकता र यान्त्रिक युगमा ढल्केको छ । हाम्रो समाज आफ्नो मातृभाषा पितापुर्खाले बोलेका, जगेर्ना गरेका देववाणीको अनुसरण, अध्ययन र अनुसन्धानको बाटोतिर अग्रसर हुन जरुरी छ ।
संस्कृत भाषालाई आज पनि कैयौंले आफ्नो जीवनमा समाविष्ट गरेको पाइन्छ । प्रातः जागरणकालदेखि शयन बेलासम्म संस्कृत भाषाद्वारा नै वैदिक कर्म गर्ने गर्छन् । जुन धर्म, कर्म, ज्ञान, शिक्षा, तपस्या र भक्तिको आशय केवल संस्कृत शिक्षामा नै निहित छ । मानिसले आफूलाई सभ्य र सुसंस्कृत असल व्यक्ति ठहर गर्न संस्कृत शिक्षा सहयोगी बन्न सक्छ ।
संस्कृत नै संस्कृति र संस्कार हो । यो भाषा पूर्वीय दर्शनको संवाहक हो । एक समग्र जीवन पद्धति पनि हो । यसले जीवन जिउने कला मात्र होइन, भयरहित भएर बाँच्न पनि सिकाउँछ । जीवनमा साक्षात्कार प्राप्त गर्न र मोक्ष प्राप्तिको निमित्त पनि यो उत्तिकै फलदायी छ । यो जीवनदर्शन हो, यसले मानवलाई हिँड्ने बाटो पहिल्याउँछ ।
विभिन्न ज्योतिषशास्त्र सम्बन्धित सम्पूर्ण गणना क्रमहरू र मानिसका जन्म कुण्डलीलगायतका विभिन्न महत्त्वपूर्ण ज्ञानहरू केवल संस्कृत शिक्षाको अध्ययन अनुसन्धानबाट आर्जन गर्न सक्छौं । संस्कृत भाषा जसले बुझ्छ उसको मानव जीवन सरल, सहज बन्न सक्छ । यो भाषा मनुष्यको मानव जीवन र जगत्को भलोमा अग्रसर छ । मानिसलाई सभ्य, मर्यादित, कर्तव्य, इमानदारी र सदाचारी गुणी बनाउनका लागि मनुष्य जीवनमा संस्कृत शिक्षाको अध्ययन, अध्यापन हुन अत्यन्तै जरुरी छ । आजको पुस्तालाई संस्कृत भाषाको अध्ययन अध्यापन गर्न पाउने अवसर प्रदान गर्नु पनि उत्तिकै जरुरी छ ।
