वायुमण्डलमा कृत्रिम अक्सिजन पठाएर श्वास फेर्नुपर्ने अवस्था आउनबाट जोगिन हरेक नागरिकको जीवनशैली पर्यावरणमैत्री बनाउन राज्यले नेतृत्वकर्ता र अगुवाको भूमिका निर्वाह गर्नुपर्छ
प्राणी र वनस्पति जीवित बनाउने नै श्वासले हो । श्वासको अवस्था र उपलब्धताले पाउने जीवको परिचय जति महत्त्वपूर्ण छ, खासमा त्यो महत्त्वअनुसार यसको संरक्षणमा ध्यान नजानु विडम्बनापूर्ण छ । पृथ्वीको अस्तित्वमा वायु अर्थात् हावाको जुन उपलब्धता छ, त्यसको शुद्धतामा आउने अवरोधहरू र सिर्जित खराब अवस्थालाई प्रदूषण भन्ने गरिन्छ । यो प्रदूषणको अवस्थाले नै वायु अर्थात् हावाको अवस्थालाई बिगार्ने काम गर्छ ।
प्राणीलाई चाहिने अवस्थाको वायु अर्थात् अक्सिजन उपलब्ध नहुनु र वनस्पतिलाई पनि आवश्यक वायु व्यवस्था नहुने अवस्था ब्रह्माण्डीय चिन्ताको अवस्था हो । प्राणवायु मानिने हावाको शुद्धतामा सिर्जना भएको अवरोध अर्थात् प्रदूषणका कारण आजकाल मानव जातिको बहसको विषय बनेको छ, श्वासका लागि सकस ।
काठमाडौं विश्वकै प्रदूषित सहरका रूपमा लगातार एक दुई नम्बरमा परिरहेको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआईका अनुसार प्रदूषित सहरको शीर्ष स्थानमा रहिरहेपछि ब्रह्माण्डीय चिन्ता र चिन्तनको विषयका रूपमा यसले स्थान पाइरहेको छ । संसद्, सरकार, विषयगत मन्त्री र मन्त्रालयका अधिकारीहरूका अगाडि कसरी यस्तो प्रदूषित भयो हाम्रो सहर ? भन्ने प्रश्नहरू उठिरहेका छन् । एक्यूआई २ सयभन्दा माथि जानुलाई नै खतरनाक हावाको रूपमा लिइने गरिन्छ । नेपाल फागुन–चैतको याममा खतराउन्मुख रहेर केही दिनयता लगातार २ सयमाथि रहेको छ । यसरी प्राणवायु अक्सिजनको सहज आपूर्तिमा समस्या हुने र वायुमण्डल प्रदूषित हुने अवस्थाले मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोग भएका नागरिकको जीवन नै जोखिममा पर्ने अवस्था आएको छ । मानव तथा प्राणी एवम् वनस्पतिसमेत सकसपूर्ण अवस्थामा रहेको प्रस्टै हुन्छ ।
वायुमण्डलमा कार्बन डाइअक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्बन, नाइट्रस अक्साइड, नाइट्रोजन अक्साइड, अमोनिया, सल्फर डाइअक्साइड, सिसा, कार्बन मोनोअक्साइड लगायतका तत्त्वहरूको वृद्धिले वायुमण्डललाई प्रदूषित बनाउँछ । यसरी वायुमण्डलमा जम्मा हुने यी पदार्थहरू विशेष गरी हावाले उडाएर ल्याउने हुँदा यो सिजनमा वायुमण्डल यसरी प्रदूषित हुने गर्छ ।
आवासीय बस्तीहरूमा नियमित घरायसी प्रयोगबाट निस्कने धूवाँ, आवादी जग्गामा नयाँ खेतीबालीको व्यवस्थापनका सिलसिलामा हुने धूलोधूवाँजन्य क्रियाकलाप, सहरबजारमा हुने सवारीसाधनका कारण उत्पन्न धूवाँलगायत प्रदूषणका कारण हुन् । अझ यो सिजनमा हुने डढेलो प्रदूषणको मुख्य कारक हो । डढेलोका कारण वनजंगल तथा वन्यजन्तु आदिको विनाश र यससँगै डढेलोबाट निस्कने प्रदूषित वाष्प तथा धूवाँले पर्यावरणमा धेरै कोणबाट असर पार्छ ।
पर्यावरणको सुरक्षा चक्रका महत्त्वपूर्ण पक्षहरूमा हुने नोक्सानी तथा इकोसिस्टममा हुने खल्बलाहटले पनि पर्यावरणलाई असर पारिरहेको हुन्छ । यसरी वायु प्रदूषणका अवस्था र कारणहरू अध्ययन गर्दा हाम्रो आफ्नै कारणले गर्दा नै यो प्रदूषण भइरहेको छ । प्रदूषण कुनै रुख, बोटबिरुवा, जंगली जनावरका कारण पनि भएको छैन । मानिसको विकसित हुने होड, पर्यावरण र प्रकृतिमाथिको विजय प्राप्त गर्ने प्रतिस्पर्धा र आवश्यकता प्राप्तिको चाहनाले निम्त्याएको अवस्था नै प्रदूषण तथा वातावरणीय विनाशको कारण हो ।
हाम्रा जीवनशैलीमा सजिलोका लागि भएका प्रायः प्रयत्नहरू प्रदूषणका कारण बनेका छन् । हामीले कोइला, तेल र प्राकृतिक ग्यासको प्रयोग गरेर जीवनशैली सहज बनाएका छौं । यसको प्रयोगले उद्योगधन्दा विकास गरेका छौं । हामी आर्थिक रूपले सम्पन्न र सुदृढ भएका छौं तर यो सँगै हरितगृह ग्यासको उत्सर्जन बढेर हाम्रो श्वासप्रश्वासलाई नै सकसपूर्ण बनाएको छ । हामीले प्रयोग गर्ने एसी, फ्रिज लगायतका विद्युतीय उपकरणबाट क्लोरोफ्लोरो कार्बन उत्पन्न भइरहेको छ ।
जसले ओजोन तहलाई पातलो बनाउँदै लगेको छ भने ओजोन तहको सुरक्षाकवचका कारण अस्तित्वमा रहेका प्राणी र वनस्पतिलाई जोखिममा पारिरहेको छ । सौन्दर्य प्रसाधनका सामग्रीहरू, हेयर डाई, पेन्ट, ब्याट्री, डिजेल तथा पेट्रोलमा पाइने सिसाजन्य पदार्थले वायुमण्डलमा जुन तहमा प्रदूषण थपेको छ, त्यसको प्रभाव अत्यासलाग्दो छ । विशेष गरी छालाको क्यान्सर, मस्तिष्कमा पर्ने असरहरू तथा आँखा र पाचनप्रणालीमा समेत निरन्तर असर परिरहेको छ । यो क्रम आधुनिकता, विकास र स्तरीय जीवनशैलीले बढिरहेको छ । यस्ता सामग्रीहरूको गुणस्तर परीक्षण लगायतका आवश्यकताका सवालहरूले पनि नयाँ किसिमका सामाजिक समस्याहरू निर्माण गरिरहेको अवस्था छ ।
हाम्रो सामाजिक अभ्यास आधुनिकतासँगै वातावरणविरोधी भइरहेको छ । प्लाष्टिक तथा कागज लगायतका नकुहिने फोहोरहरू बढिरहेका छन् । मानवीय आवश्यकता तथा दैनिक उपभोग्य सामग्रीहरू आधुनिकतासँगै कागज र प्लाष्टिकका झोला तथा बट्टाहरूमा प्याकिङ हुने गर्दा यसको प्रयोग बढेको छ । यसलाई सबै ठाउँमा वैज्ञानिक ढंगले नष्ट वा पुनः प्रयोग गर्ने अभ्यास छैन । जथाभावी नष्ट गर्ने वा गलाउने प्रयत्नले सल्फर डाइअक्साइड जस्ता ग्यास निस्केर वायु मण्डलमा मिसिन्छ । जसका कारण क्यान्सरको प्रकोप बढिरहेको छ ।
यी अवस्थाहरूबाट जोगिन वातावरणीय सचेतना तथा हावा सुरक्षा सचेतना हुन जरुरी छ । यो पृथ्वीलाई सग्लो राख्न र सग्लो नै अर्को पुस्तालाई हस्तान्तरण गर्न वायुमण्डलको सुरक्षादेखि स्वच्छ हावाको संकल्प आवश्यक छ । प्रदूषण कम गर्न सकिने उपायहरूको अवलम्बन गर्न आवश्यक छ । वायु प्रदूषणका कारण हुने दीर्घकालीन अवसरहरू र यसबाट जोगिनका लागि गर्न सकिने प्रयत्नहरूबारे आम रूपमा बहस हुन आवश्यक छ ।
स–साना कामहरू जुन हरेक व्यक्तिले आफूबाट सुरु गर्न सकिने र संकल्प गर्ने हो भने निकै ठूलो परिवर्तर्न ल्याउन सकिन्छ । एउटा घरमा नै एकभन्दा बढी सवारीसाधनहरू दैनिक प्रयोग हुने अवस्थालाई न्यूनीकरण गर्न घर अफिस ओहोरदोहोर समय व्यवस्थापन गरी प्रदूषण कम गर्न सकिन्छ । सम्भव भएसम्म ठूलो सवारीसाधनलाई सार्वजनिक सवारीसाधनका रूपमा प्रयोग गर्ने नीति बनाएर प्रदूषण कम गर्न सकिन्छ । विद्युतीय सवारीसाधनको प्रयोगले पनि प्रदूषण कम गर्न सकिन्छ । घरमा एसी, फ्रिज, हिटर, कुलर जस्ता विद्युतीय उपकरणलाई कम प्रयोग गरेर कार्बन कम उत्सर्जन गर्न सकिन्छ । घरायसी तथा आवादी जैविक फोहोरलाई बाल्नुको सट्टा कम्पोस्ट बनाएर दोहोरो फाइदा लिन सकिन्छ ।
वातावरण प्रदूषणको चाप बढिरहँदा हामी प्लाष्टिक र कागज प्रयोग गरेर समर्थन वा विरोध, सद्भाव आदिको प्रचारप्रसारमा प्रयोग गरिरहेका छौं । हाम्रो अभ्यास मोटरसाइकल तथा गाडीको र्याली निकालेर विरोध वा समर्थन जनाउनेछ । यसले पनि वातावरणमा निकै नकारात्मक असर परिरहेको छ । समर्थन वा विरोधको शैली पनि वातावरणमैत्री बनाउन आवश्यक छ । आज प्रदूषणजन्य क्रियाकलापहरूलाई पुनर्परिभाषित गर्नुपर्ने अवस्थासमेत आएको छ ।
नेपाली सन्दर्भमा हामीले खुला स्थान, सडकपेटी वा सार्वजनिक स्थानमा झोला पोकामा फोहोर जथाभावी फ्याँक्नेहरूलाई मात्रै फोहोर गरेको मान्यौं । त्यस्ता क्रियाकलापलाई लक्षित गर्दै कानुनहरू बनायौं र दण्ड जरिवानाको व्यवस्था गर्यौं । तर अब प्रदूषणको परिभाषा बदलेर सार्वजनिक स्थानमा कागज, प्लाष्टिकको प्रत्यक्ष अप्रत्यक्ष उत्पादन गर्ने, डिजेल पेट्रोलबाट सिसा तथा मोनोअक्साइड जस्ता घातक तत्त्वहरू उत्पादन गर्नेहरूलाई पनि प्रदूषण गर्नेको परिभाषामा समेट्नुपर्छ । वातावरण प्रदूषकलाई गरिएको कारबाहीको व्यवस्थामा समेत सामयिक परिमार्जन गरिनुपर्छ । वातावरणीय क्षतिको क्षतिपूर्तिको व्यवस्था हुने गरी प्रदूषकलाई जरिवाना तोक्ने व्यवस्था गर्नुपर्छ ।
आम रूपमा सचेतना र संगठित अभ्यासले मात्रै वायु प्रदूषणविरुद्धको अभियान सफल हुन सक्छ । आजको पुस्ताले केही दिन वा हप्ता जुन सकस व्यहोर्नुपर्ने अवस्था निर्माण भयो भोलि त्यो अवस्था दैनिकी बन्ने खतरा छ । वायुमण्डलमा कृत्रिम अक्सिजन पठाएर नागरिकले श्वास फेर्नुपर्ने अवस्था आउनबाट जोगिन आज हरेक नागरिकको जीवनशैली पर्यावरणमैत्री बनाउन राज्यले नेतृत्वकर्ता र अगुवाको भूमिका निर्वाह गर्नुपर्छ । एउटा विकासको योजना १० वर्ष ढिला हुँदैमा वा त्यो विकास नहुँदैमा जति नागरिकलाई असर पर्छ, त्योभन्दा कैयौं गुणा बढी क्षति त्यो योजना बन्दा हुन्छ भने त्यस्तो वातावरण विनाशक योजना बन्द गर्ने हिम्मत पनि आजको नागरिकमैत्री शासकको जिम्मेवारी हो । यसतर्फ गम्भीर भएर सोच्नु बुद्धिमानी हुन्छ । –बराल प्रतिनिधिसभामा एमालेकी सचेतक हुन् ।
