भैरव दाइ माने चरैवेति चरैवेति

भैरव दाइको सम्झना आउँदा मनमा चरैवेति चरैवेतिको आदर्श अघि लाएर सडकमा नित्य हिँडिरहेको सानो मान्छेको तस्बिर देखापर्छ । लवाइ, खबाइ, बोलाइ र व्यवहारमा सादगीपनयुक्त मानिसको आदरयोग्य तस्बिर हो त्यो ।

चैत्र २६, २०८१

खगेन्द्र संग्रौला

Bhairav ​​Dai Mane Charaiveti Charaiveti

भैरव दाइले धरती स्पर्श गरे १९८५ सालमा, मैले २००२ सालमा । उमेरको अन्तर भए पनि हाम्रो जीवनमा कति कुरा मिल्दा रहेछन् । भैरव दाइका दाजुभाइ–दिदीबहिनी थुप्रै रहेछन्, मेरा पनि थुप्रै थिए । भैरव दाइका शब्दमा हामीले ‘आमाको एकसरो स्नेह’ पाएनौं । बालकै छँदा आफूमुनिका भाइ–बहिनीको हेरचाह गर्नुपर्‍यो ।

हामी दुवैका आमाका भागमा कामैकाम पर्थ्यो । काम गर्ने बेलामा आमा सधैं अगाडि, खाने बेलामा सधैं पछाडि । भैरव दाइका बा रहेछन् पुरोहित, मेरा बा थिए जोतिसी । छोरालाई पुरोहित बनाउने भैरव दाइका बाको रहर, मलाई जोतिसी बनाउने मेरा बाको रहर । तर न भैरव दाइ पुरोहित भए न म जोतिसी भएँ ।

भैरव दाइको जन्म भयो भक्तपुरको गुन्डुमा । पायक पर्ने ठाउँमा इस्कुल थिएन । भैरव दाइको परिवार बसाइँ सर्‍यो दधिकोटमा । नयाँ बासस्थान पर्‍यो इस्कुल जाइआई गर्न भ्याइने ठाउँमा । भैरव दाइ संस्कृत पाठशालामा भर्ना भए । पछि भैरव दाइ पत्रकारितामा लागे । छोरालाई पुरोहित बनाउने रहर बासँगै छुट्यो । म इस्कुल जाने उमेरको हुँदा गाउँमा एबीसीडी घोटाउने इस्कुल खुल्यो । र, छोरालाई जोतिसी बनाउने रहर बासँगै छुट्यो ।

बाल्यकालमा भैरव दाइ बाको पछि लागेर कर्मकाण्डमा दत्तचित्त भइसकेका थिए । त्यही बाटोमा लागेर पूरापूर पुरोहित बनेका भए भैरव दाइलाई असहज अनुभूति नहुँदो हो । तर मेरो मनोदशा फरक थियो । जोतिसप्रति मेरो मनमा अरुचि पैदा भएको थियो । कारण थियो जोतिसी बाको मलाई ननिको लाग्ने व्यवहार । ग्रहदशा हेराउन कोही खाली हात आउँथे, कोही आउँथे अलिकता चामल र आनासुकी पैसो लिएर । ठूलाबडा प्रायः खाली हात आउँथे, सामान्यजन चामल र दक्षिना लिएर आउँथे । सामान्यजन जब खाली हात आउँथे, बा तिनको सातो लिन्थें । ती कि घर गएर केही लिएर आउँथे कि कहिल्यै आउँदैनथे । बाको जोतिसमा ननिको लाग्ने अर्को एउटा कुरा थियो । बा बिहा गर्न केटाकेटीका ग्रहदशा मिले नमिलेको हेर्थे । र, भन्थे– यिनका ग्रहदशा मिलेनन्, यिनको बिहा हुँदैन । ग्रहदशा हेराउने चतुरे अर्को दिन चामल–पैसा लिएर हाजिर हुन्थ्यो । हेराउने र हेर्नेको साउतीको भाकामा कुरो हुन्थ्यो । अनि बा ग्रहशान्ति गराएर बिहा गर्ने बाटो खोलिदिन्थे । त्यो ‘ग्रहशान्ति’ बाका जोतिसको जाली धन्दा जस्तो लाग्थ्यो । त्यसैले मलाई बाको अप्रिय धन्दाबाट उम्किन मन थियो । आङ्ग्ल भाषाका पढ्ने इस्कुल खुल्यो र बाको जाली जोतिसबाट उम्केर म इस्कुलतिर भागें । 

000

भैरव दाइकी सजातीय जीवनसंगिनी परिन् नर्स, मेरी अन्तरजातीय जीवनसंगिनी पनि नर्स परिन् । भैरव दाइ र सुशीला भाउजूमाझ एकअर्काको रुचि र कर्ममा दख्खल नदिने वाचा भएछ । जमुना र मेरोबीचमा पनि यस्तै वाचा भयो । भैरव दाइका शब्दमा हामी जोइपोइमा यदाकदा ‘कच्याककुचुक’ भइरह्यो । कहिले त बोलचालै बन्द भयो । ‘कच्याकुचुक र बोलचाल बन्दपछि’ हाम्रो माया झनै गहिरो भइरह्यो । कच्याकुचुक र माया, माया र कच्याकुचुक यी दुई तत्त्वको द्वन्द्व र मेलको घेरोमा हाम्रो दाम्पत्य जीवनले फेरो मारिरह्यो । परिवारलाई न भैरव दाइले उति धेरै समय दिएछन्, न मैले दिएँ । दिन मन नलागेर होइन, जागिरधन्दा र सामाजिक दायित्वको पछि लाग्दा भ्याउँदै नभ्याएर । 

000

भैरव दाइ जन्मथलो राजधानी सहरको छेवैमा । मेरो जन्मथलो पर्‍यो दूर पूर्वको पान्थर जिल्लामा । भूगोलको यो भेद हाम्रो जीवनमा ससाना सरसुविधा पाउनु र नपाउनुको कारण बन्यो । भैरव दाइले दस–बाह्र वर्षको उमेरमै जुत्ता लाउन पाएछन् । दसैंमा दाइ असनमा गएर कपडाका जुत्ता किन्दा रहेछन् । जुत्तालाई पाँच–सात सुका पर्दोरहेछ । भैरव दाइभन्दा चौध वर्षपछि जन्मेको म । मैले सत्र वर्षको हुँदा बल्ल चप्पल पड्काउन पाएँ । ऊ बेला राजधानी र छेउछाउमा बोरा, ढोड, चित्रा वा नर्कटले बारेको पाइखानामा दिसा–पिसाप गर्ने चलन चलेको रहेछ । सँगालेर मल हाल्न घरका छिँडीमै टिनमा दिसा–पिसाप गर्ने चलन रहेछ । मेरो भेगतिर पाइखाना र छिँडी–हगानको कल्पनै पुगेको थिएन । हामी सबै खुला ठाउँ फेरिफेरि दिसा गर्थ्यौं । झारपात वा ढुंगाले दिसा पुछ्थ्यौं । गुदद्वार र हातमा माटो दल्थ्यौं । बाको आफ्नै हगनगौंडी थियो । घर अगाडि अलि पर मुन्तिर सुलुत्त ठाडो फरेको ढुंगो थियो । बा अँध्यारोमा लुकेर त्यही ढुंगोमा टुत्रुक्क बसेर दिसा गर्थे । राजधानी र छेउछाउमा टिनको ट्वाकमा पानी लिएर दिसा गर्न गइँदो रहेछ । बा हामीलाई लोटामा पानी बोकाएर जान्थे । 

000

भैरव दाइको बिहाका दुईवटा रोचक कुरा छन् । दाइको पहिलो बिहा भएछ बाह्र वर्षको उमेरमा । हुनेखानेले बिहामा पन्चै बाजा घन्काउँथे । पन्चै बाजामा पर्थे नरसिंगा, सनै, झ्याम्टा, टेम्को र दमाहा । भैरव दाइको कुम्ले बिहामा ट्याम्कोमात्र बजाइएछ । किनभने भैरव दाइको परिवारका बालीघरे दमाईका घरमा ट्याम्को रहेछ । ट्याम्कोको ज्याला बालीभित्रै परेछ । पन्चै बाजाको सट्टा त्यो एक्लै बजेको ट्याम्को गरिबीको निसानी थियो । जमुना र मेरो बिहामा त एक्ले ट्याम्को पनि बजाइएन । 

भैरव दाइको बिहापछि पहिली भाउजू माइतबाट आइनछिन् । भाउजूका बा रहेछन् हलचल गर्न नसक्ने कुँजो अवस्थाका । भाउजूको रोजाइ जोइप्रतिको प्रेमभन्दा बाप्रतिको कर्तव्य प्रमुख भएछ । भाउजू नआउँदा भैरव दाइलाई अर्को बिहा गर्ने लेठो आइलागेछ । दाइ २००९ सालमा नेपाल कम्निस्ट पार्टीको सदस्य भएका रहेछन् । कम्निस्ट पार्टीको सदस्यताले दोस्रो बिहाको बाटो छेकेछ । कानुनी पारपाचुकेको चलन चलेको थिएन क्यार । भैरव दाइलाई परेछ फसाद । कम्निस्ट पार्टीका नेता पुष्पलाललाई भेटेर भैरव दाइले दुःख पोखेछन् । दाइको मर्का बुझेर पुष्पलालले खसुक्क भनेछन्— ‘सुटुक्क बिहा गरे हुन्छ ।’ कमरेड पुष्पलालको अनुकम्पाले भैरव दाइ र सुशीला भाउजूको सुटुक्क जोडा बाँधिएछ । 

000

भैरव दाइ परे निष्कपट र सोझा मान्छे । बोलीबाटै चिनिने । दाइले एक प्रसंगमा प्वाक्क भनेका छन्— ‘त्यसबेला म प्रतिक्रियावादी थिएँ ।’ प्रसंग ‘जयतु संस्कृतम्’ आन्दोलनको हो । संस्कृतको इज्जत र भाउ बढाउन तीनधारा पाठशालामा आन्दोलन सुरु भयो । विद्यार्थी भैरव दाइ पनि लागे आन्दोलनमा । शुराहरू आन्दोलनमा सडकैसडक कुदे, काँतर भैरव भाइ पेटीपेटी हिँडे । पछि यसो सम्झिँदा भैरव दाइ आफ्नै नजरमा प्रतिक्रियावादी ठहरिए । विद्यार्थी आन्दोलनमा भैरव म पनि ‘प्रतिक्रियावादी’ रहेछु । आन्दोलनमा शुराहरू अघिअघि कुद्थे, गणेश रसिक र म हातमा ढुंगा बोकेर पछि लाग्थ्यौं । पुलिसले अगाडि धावा बोल्यो कि दुई ‘प्रतिक्रियावादी’ले टोपी हातमा लिएर ठोके टाप !

आन्दोलनको बलमा शास्त्रीले बीएसरह, आचार्यले एमएसरह मान्यता पायो । बीएको भाउ पाएका शास्त्री भैरव दाइ २०१२ सालमा लोक सेवा लडेर लिखित र मौखिक जाँचमा पास भए । तर सेक्सन अफिसर बन्न पाएनन् । भैरव दाइले नौ सालमा लिएको नेपाल कम्निस्ट पार्टीको सदस्यतालाई सरकारले जागिर नपाउने कसुर मान्यो । प्रतिक्रियावादी सत्ताले ‘भूतपूर्व प्रतिक्रियावादी’ भैरव दाइलाई जागिरबाट वञ्चित गर्‍यो । 

पछि भैरव दाइले ‘हालखबर’मा जागिर पाए । मासिक तलब थियो सय रुपियाँ । जागिरसँगै दाइले जागिरे साइकल पनि पाए । साइकल चढेर सुरु भयो भैरव दाइको पत्रिकारिताको यात्रा— चरैवेति चरैवेति अर्थात् हिँडिरहूँ, हिँडिरहूँ । भैरव दाइको काम थियो साइकल चढेर सूचनाको सिकार गर्न यता र उता कुदिरहनु । सूचनाका मुख्य स्रोत थिए, तराई कांग्रेसका नेता वेदानन्द झा, नेपाली राष्ट्रिय कांग्रेसका नेता डिल्लरमण रेग्मी र नेपाली कांग्रेसका नेता बीपी कोइराला । भैरव दाइ समाचार खोज्न यी तीन नेताकहाँ दिनदिनै धाइरहन्थे । नेता झा, रेग्मी र कोइरालाका नजरमा समाचार छापिदिने भैरव दाइको इज्जत बढ्यो । पछि त यी नेता भैरव दाइलाई खोज्न थाले । अखबारमा राजनीतिक समाचार उतिसाह्रो छापिँदैनथे । छापिन्थे केवल बाढी, पैरो, आगलागी, झाडापखाला, आऊँ, दादुरा, अतिवृष्टि, अनावृष्टिका समाचार । जब मन्त्रिपरिषद् फेरिन्थ्यो त्यो भने घच्चीको राजनीतिक समाचार बन्थ्यो । 

000

‘हालखबर’ बन्द भयो र बन्द भयो भैरव दाइको गरिखाने धन्दा पनि । २०१८ सालमा भैरव दाइले पाए २६ महिने पहिलो सरकारी जागिर । जागिर थियो जनगणना अधिकृतको । जनगणना गर्न दाइ खटिए कालापानी भेगको लिपुलेकतिर । दाइ भन्छन्— जहाँ जन छैनन्, त्यहाँ केको जनगणना गर्नु ? गणनाविहीन गणना गरेर दाइले बजाए २६ महिनाको जागिर । २०२१ सालमा भैरव दाइले राससको जागिर पाए । भैरव दाइले यो जागिर एक्काइसै वर्ष खाए । भैरव दाइकै शब्दमा देखेको र भएको साँचो कुरा लेख्न नपाइने, कुरा मिलाएर ढाँट्नुपर्ने जागिर । बजारमा नुन, चिनी, मट्टीतेल छैन, छ भनेर ढाँट्नुपर्ने । भैरव दाइले ढाँटेर जागिर खाए । भैरव दाइले यसरी ढाँटे— उद्योग वाणिज्य मन्त्रालयका अनुसार बजारमा नुन, चिनी, मट्टीतेलको अभाव छैन ।

एक्काइस वर्षपछि राससको जागिरबाट भैरव दाइ वाक्क भएछन् । उनलाई स्वतन्त्र मान्छे भएर नढाँटी जिउन चलेछ । भैरव दाइले त्यागिदिए राससको ढाँट्नैपर्ने जागिर । जनमत संग्रहमा ‘सुधारिएको पञ्चायत’ले जित्यो भनियो । भैरव दाइका दृष्टिमा पञ्चायतमा केही सुध्रिएको थिएन । यो शाही ढाँटकर्मविरुद्ध भैरव दाइलाई केही बोल्न मन लाग्यो र प्वाक्क भनिदिए— ‘सुधारिएको पञ्चायत’को एसियाली मापदण्ड मन्त्रिपरिषद्को ठगीखाने भाँडो हो । यत्ति कुरा लेखेबापत भैरव दाइ १० महिना झ्यालखानामा थुनिए । 

000

अंग्रेजी नजान्नु भैरव दाइको वृत्ति विकासको बाटोमा बाधक बनेछ । एक पटक भैरव दाइले अतिथिको अंग्रेजी बोलाइ देवनागरीमा उतारेर कमाल गरेछन् । कुरो पत्याइसक्नु रोचक छ । राष्ट्रसंघका महासचिव उ थान्ट नेपाल भ्रमणमा आएछन् । समाचार टिप्न राससका भैरव दाइलाई खटाइएछ । भैरव दाइ खटिन त खटिए, 

आङ्ग्लभाषी अतिथिको बोलाइ टिप्नेचाहिँ कसरी ? भैरव दाइले उ थान्टको अंग्रेजी देवनागरीमा खराखरी उतारेछन् । त्यो भाषणलाई अंग्रेजी जान्ने कसैले अनुवाद गरी झक्की समाचार बनाएछन् । अंग्रेजी फुट्टी नजान्ने भैरव दाइले उ थान्टको अंग्रेजी कसरी देवनागरीमा उतारे हुनन् ? सम्झँदा हाँस उठेर आउँछ ! 

000

भैरव दाइका कर्महरू उज्यालोको खोजी र बाँडचुँड गर्ने यत्नजस्ता लाग्छन् । २०२८ सालमा भैरव दाइ हुम्ला पुगे । हुम्लेली जीवनलाई भैरव दाइले नजिकबाट नियाले । साधारणतया फरिया टालेर लाइँदैन । तर हुम्लेली नारीले पत्रमाथि पत्र टालेका फरिया लाएका देखिए । भैरव दाइको हृदय पग्लियो । जता हेर्‍यो, हुम्लेली जनजीवनमा गरिबी, दुःख र अन्धकार छ । कम्तीमा पनि एउटा अन्धकारबाट जुम्लेली जीवनलाई मुक्त किन नगरुँ ? भैरव दाइका मनमा विचार फुर्‍यो । त्यो थियो हुम्लामा सोलार बत्ती बाल्ने विचार । भैरव दाइले घरगन्ती चार हजार रुपियाँ उठाए । सरकारबाट केही रकम हात लाग्यो । हुम्लामा सोलार जडान भयो र अँध्यारा साढे बाइस सय घरमा झिलिमिली उज्यालो बाँडियो । 

२०५५ सालमा सुरु भयो भैरव दाइको ‘उहिले बाजेका पालामा’ । यो अनुभव प्रसार गर्ने माध्यम बन्यो सामुदायिक रेडियो सगरमाथा । पाका मानिसहरूको अवसानसँगै अलप हुने अनुभवलाई भैरव दाइले जनजनका कानसम्म पुर्‍याए । त्यो नलेखिएको जनइतिहासलाई जनस्मृतिमा जिउँदो राख्ने अब्बल जुक्ति थियो । भैरव दाइको पाकाहरूका मन पघार्ने कलाले जादुमय काम गर्‍यो । यो पनि एक प्रकारले उज्यालोको खोजी र बाँडचुँड गर्ने यत्न हो । भैरव दाइको ‘कुरोकन्थो’ हो यही यत्नको अर्को प्रकरण ।

*२०४६ सालको जनआन्दोलन सुस्त गतिमा चल्दैथियो । फुकिढल आन्दोलन पञ्चायत शासकको बुटमुनि दबिएर चकनाचुर हुने खतरा थियो । भैरव दाइका चित्तमा एउटा जुक्ति फुर्‍यो । शुष्क र सुस्त जनआन्दोलनलाई त्राण दिने जुक्ति थियो त्यो । भैरव दाइको सम्झनामा केही हेभिवेट नाम आए । ती थिए यदुनाथ खनाल, शम्भुप्रसाद ज्ञवाली, डाक्टर महेन्द्रप्रसाद आदि । यी महानुभावलाई अघि लगाएर पशुपतिनाथमा प्रार्थना गर्न पाए कति राम्रो हुँदो हो ।

तर यी हेभिवेटले मान्लान् र ? तै तै एक वचन बिन्ती किन नगरुँ ? भैरव दाइले करजोरी बिन्ती गरे— हेभिवेट महोदय, जनआन्दोलन खतरामा छ । राज्यको बुद्धि फिरोस् भनेर पशुपतिनाथसँग प्रार्थना गर्दा निरंकुश शासकको चित्तमा केही प्रभाव पर्दो हो कि ? हेभिवेटहरू अघि लागे र प्रार्थना पूरा भयो । ज्ञानशाहीले पक्राउ गरी दुःख देला भन्ने डर थियो । हेभिवेटहरूको व्यक्तित्वको ओजको कारण होला, केही अनिष्ट भएन । त्यो प्रार्थना धूमिल आन्दोलनका लागि उज्यालो खोज्ने जुक्ति थियो ।

000

एउटा चिन्ताले भैरव दाइलाई चिन्तनरत तुल्यायो । मानिसको आयु बढ्दो छ, प्रियजनहरू उडेर कताकता जाँदाछन् । बुढेसकालको दारुण दुःख घटाउने कसरी ? अशक्त र क्लान्त वृद्धवृद्धाको इच्छामरण एउटा उपाय होला कि ? इच्छामरणलाई मान्यता दिने कानुनी व्यवस्थाको माग पो गर्ने कि ? स–साना प्रकाशनका कुनाकानीमा प्रकाशित भैरव दाइको यो विचार फराकिलो वृत्तमा फैलिन पाएन । फैलिन नपाउनु विचारको प्रासंगिकता नहुनु होइन । कतिफयले इच्छामरणको विचारमा त्रूरता देख्लान् । यथार्थमा यो कल्याणकारी विचार हो । यो विचार पनि जीवनमा उज्यालोकै खोजी हो । 

भैरव दाइलाई जीवन र समाजलाई सुन्दर बनाउन केही न केही गरिरहन मन लाग्ने । यसै मेसोमा भैरव दाइलाई असी साललाई नढाँट्ने साल बनाउन मन भएछ । भैरव दाइले आग्रहको लयमा घोषणा गरे— असी सालमा कसैले नढाँटोस् । सबैले एक वर्ष नढाँट्नु चिन्तन र संस्कृतिमा स्वस्थ परिवर्तनको सुरुआत हुन सक्छ । भैरव दाइको नढाँटूँ भन्ने आग्रह मुख्यतः शासकहरूप्रति लक्षित थियो । रवि लामिछानेको जस्तो चामत्कारिक वक्तृत्व र तुफानी वाक्प्रवाहको अस्त्र हुँदो हो त भैरव दाइको यो आग्रह ठक्कर दिने गरी शासकहरूका कानमा पुग्दो हो । तर भैरव दाइको मन्द गतिको सानो स्वर कतै पुगेन । विडम्बनावश, शासकहरूले असी सालमा सायद अरू वर्षभन्दा बढी नै ढाँटे । 

*सच्याईएकाे ।

खगेन्द्र साहित्यकार संग्रौला मुलत: सामाजिक न्याय र लोकतन्त्र विषयमा लेख्छन् । उनका बाल्यकालका पदचापहरू, जुनकिरीको संगीत, आफ्नै आँखाको लयमा, संग्रामबहादुर सार्की लगायतका कृतिहरु प्रकाशित छन् । उनले अंग्रेजी साहित्यका विभिन्न कृतिकाे नेपाली अनुवाद पनि गरेका छन् ।

Link copied successfully