महाराज ! रैती हुन इन्कार छ 

जुन मान्छे स्वयं कसैको रैती बन्न तयार छ, उसले देश र समाजलाई कसरी सार्वभौम र समृद्ध बनाउँछ ? जो देशको मालिक भएर पनि प्रजा बन्न तयार छ, उसले कसरी देशको प्रतिष्ठा बढाउँछ ?

चैत्र २५, २०८१

केशव दाहाल

Maharaj! Refuse to be a Raiti

राष्ट्रपति रामचन्द्र पौडेललाई अहिलेसम्म पाँच पटक भेटेको छु । एक पटक कांग्रेस नेता र त्यसपछि राष्ट्रपतिका रूपमा । शीतल निवासमा उहाँसँगको पहिलो भेट अप्रत्याशित थियो । केही लेखक, स्तम्भकारसँग उहाँले शीतल निवासमा भेट्न चाहेपछि पुगेको थिएँ ।

मेरो बोल्ने पालो आयो, प्रारम्भमै भनें– ‘राष्ट्रपतिज्यू मलाई कुनै विशेष सम्बोधन गर्न आउँदैन । बोल्दा शिष्टाचारमा तलमाथि परे, कृपया माफ गर्नुहोला ।’ मुस्कुराउँदै उहाँले भन्नुभयो– ‘सम्बोधन त फगत औपचारिकता हो । खास कुरा हो, प्रेम र आदर । म पनि एक साधारण परिवारबाट आएको मान्छे हुँ । राजनीति गरें, दुःख–सुःखका आफ्नै पहाड चढेर यहाँ आइपुगें । मलाई थाहा छ, यो पद अस्थायी हो र म पनि फर्किने त्यतै हो, जहाँ आम मान्छे छन् । म साधारण मान्छे हुँ र एक जना साधारण मान्छेको भागमा पर्ने इज्जत, आदरभाव र प्रेमको सम्बोधन भए मलाई पुग्छ ।’ 

उहाँसँगको मेरो पाँचौं भेट भने गत चैत १४ गते भयो । एक सान्त र सरल भेट । भेटमा हामी ‘नागरिक प्रथम’ अभियानका केही साथीहरू थियौं, जो मुलुकमा विद्यमान राजनीतिका अप्ठ्याराहरू उहाँलाई सुनाउन चाहन्थ्यौं । हामीसँग थिए– राजनीति, राजकाज, सुशासन, जनजीविका, स्टेट क्राफ्टिङ, नेसन बिल्डिङ, नागरिक सर्वोच्चता, समृद्धि र स्वाभिमानका कुरा । वस्तुतः त्यो भेट थियो, प्रथम नागरिकसँग आम नागरिकको भेट । तर त्यहाँ न त कुनै अतिरिक्त सम्बोधन थियो, न त थियो कुनै दकस र भक्ति । त्यो थियो, एक विश्वासपूर्ण र आत्मीय भेट । बोल्न सिक्नु पनि नपर्ने, उभिन र झुक्न पनि नपर्ने । 

भेटघाटलाई सजिलो बनाउँदै भन्नुभयो– ‘म संवैधानिक राष्ट्रपति हुँ । मेरा सीमाहरू छन् र ती सीमाहरूलाई सम्मान गरेरै म आफ्नो भूमिका निर्वाह गर्न चाहन्छु ।’ एक जना पाको र परिपक्व मान्छेजस्तो हुनुपर्छ, उहाँको कुरा त्यस्तै थियो । न त चुलिँदो अहंकार, न त अतिरिक्त सत्ता र शक्तिको मोह । पूरापूरा लोकतान्त्रिक र अभिभावकीय थियो उहाँको व्यवहार । 

शीतल निवासबाट फर्किंदै गर्दा सहरमा भने चैत १५ मा राजावादीहरूले गर्ने प्रदर्शनको गाइँगुइँ चल्दै थियो । त्यसै क्षण मेरो मनमा केही प्रश्न आए । जस्तो, राष्ट्रपतिको ठाउँमा त्यो दिन मैले राजा भेटेको भए, त्यो भेट कस्तो हुन्थ्यो होला ? सायद मैले बक्सियोस् भन्न सिक्नुपर्थ्यो होला र बातबातमा भन्नुपर्थ्यो होला– मौसुफ, सरकार, जो निगाह, जो आदेश आदि । अर्थात्, मैले राजालाई यसरी सम्बोधन गर्नुपर्थ्यो होला, जुन शब्दहरूले मलाई बातबातमा मेरो हैसियत र सीमा बताऊन् । त्यसै क्षण मेरो मनमा थप प्रश्न आए, देशमा राष्ट्रपति हुनु भनेको के हो ? र, राजा हुनु भनेको के हो ? मलाई लाग्यो, यी प्रश्नमा निहित सैद्धान्तिक र राजनीतिक अर्थ निकै गहिरा छन् । 

प्रश्नहरूको प्रारम्भ

देशमा राजा वा राष्ट्रपति हुनुको फरक के हो ? यो बहसको प्रारम्भ हुन्छ, देश, राज्य, राजनीति, सरकार र नागरिकलाई हेर्ने दृष्टिकोण, त्यसको वैचारिकी, अर्थ, परिभाषा र साइनोबाट । जस्तो, राजावादी ‘स्कुल अफ थट’ ले भन्छ– ‘यो देश राजाले बनाए । देश भन्नु पनि आखिर राजा भन्नु नै हो । देश र राजा अभिभाज्य हुन्छन् ।’ तर गणतन्त्रवादी ‘स्कुल अफ थट’ ले भन्छ– ‘नागरिक छन्, त्यसैले देश छ । देश भनेको नागरिक हो र उही नै देशको मालिक हो ।’ राजनीतिमा आउने यी दुई यस्ता फरक दृष्टिकोण हुन्, जसले त्यसपछि सबै कुरालाई फरक पार्दै लैजान्छन् । र, एउटा दृष्टिकोणले पुर्‍याउँछ राजाको दरबार र अर्कोले पुर्‍याउँछ राष्ट्रपतिको आँगन । 

जस्तो राजावादीहरू ठान्दछन्, राजा जन्मजात यो देशको भूपति हो । ख्वामित हो । र, यो देशका नागरिक हुन्, फगत रैती । जसरी देश, माटो, हिमाल र पहाडका मालिक राजा हुन्, त्यस्तै रैतीहरूका मालिक पनि उनै हुन् । राजा ईश्वर हुन्, अरू भक्त । राजा कृपानिदान हुन्, अरू याचक । उनी ख्वामित हुन्, अरू सेवक । राजा मौसुफ हुन्, अरू प्रजा । राजावादीहरू ठान्छन्, यो देशमा पहिले राजा आए । युद्ध लडे । शत्रुका रगतले खुँडा र खुकुरी धोए र देश बनाए । त्यसैले राजा नै देशका निर्माता हुन् । त्यसैले त रोज्जा खेत राजाका । रोज्जा बारी, खर्क, जंगल र बगैंचा राजाका । टार, बेंसी, उपत्यका र चरिचरन राजाका । हाम्रा सुन्दर छोरी र बलिया छोराहरू राजाका । सहर, चोक–चोकमा ठडिएका दरबार राजाका । राजावादीहरू राजाको स्तुति गाउँछन् र भन्छन्– इतिहासका रक्षक राजा । नागरिकका पालनहार राजा । उनीहरूलाई लाग्छ, रैतीहरूले दरबारतिर हेरेर स्वस्ति गर्नुपर्छ । भक्ति गाउनुपर्छ । बक्सिस थाप्नुपर्छ । जयजयकार गर्नुपर्छ । किनभने प्रजाको तन, मन, धन राजाको । राज्य राजाको । सरकार राजाको । हाम्रो इज्जत राजाको । हाम्रो स्वाभिमान राजाको । हाम्रो रगत, पसिना, श्रम सबै–सबै राजाको । प्रजाको न त निजी सपना हुन्छ, न त स्वाभिमान, न त आत्मसम्मान । यी सबै राजाका । राजा हुनु सबैथोक हुनु हो र रैती हुनु आफूलाई सम्पूर्णतः राजामा समर्पित गर्नु हो । 

शासकहरूले इतिहासको यसरी व्याख्या गरे कि, भनियो– यो देश राजाहरूले बनाए । स्कुलमा त्यही भनियो । कलेजमा त्यही भनियो । सेनाले त्यही भन्यो । प्रहरीले त्यही भन्यो । मन्त्री र हाकिमले त्यही भने । गीत र कथाहरूले त्यही भने । सनैसनै मान्छेहरूलाई विश्वास हुँदै गयो कि यो देश राजाहरूले नै बनाएका हुन् । एक दिन राजाको असली सेवकले घोषणा गर्‍यो– ‘राजासँग जन्मजात राजकीय अधिकार हुन्छ । राजाको सार्वभौमसत्ता सबैभन्दा माथि हुन्छ । त्यसैले राजा संविधानभन्दा माथि हुन्छन् । किनभने राजा ईश्वर हुन् । राजा मौसुफ हुन् । राजा श्री ५ हुन् । र, ती सर्वव्यापी, सर्वशक्तिशाली राजाको देशमा बस्ने निरीह मान्छे तिमीहरू फगत रैती वा प्रजा हौ । प्रजा हुनु राजाको चरणमा शरणगत हुनु हो ।’ यसरी राजाले राजदण्ड समाते र त्यो प्रजाको ढाडमा बर्सन थाल्यो । यस्तो भयो कि, ठोक्नु राजाको धर्म, सहनु प्रजाको कर्म । प्रश्न नगर्नु र हरदम मुस्कुराउनु प्रजाको कर्तव्य भयो । अपमान गरून्, जेल कोचून् वा भकुरून्, ख्वामितको भक्ति गर्नु प्रजाको इमान । राजा कोर्रा चलाउने, प्रजा सहने । राजा चारपाटा मुडेर नागरिकलाई भन्ज्याङ कटाउने, प्रजा सहने । प्रजाले न त मनलाग्दो रुन पाउँथ्यो न त हाँस्न । प्रजासँग दरबारले निर्धारण गरिदिएको निष्ठा र नैतिकताको घेरा थियो । प्रजा त्यसको सीमाभित्र कैद थिए । राजाको जयजयकार गर्नु र दाम चढाउनु प्रजाको काम थियो । 

यो राजावादी स्कुलले निर्माण गरेको वैचारिकी थियो । जसले भन्यो– ‘राजा छन्, त्यसैले देश छ ।’ के आजको आधुनिक र लोकतान्त्रिक युगमा पनि कोही यो वैचारिकीलाई स्वीकार गर्न सक्छ, जसले नागरिकलाई फगत रैती वा प्रजा ठान्दछ ? अवश्य नै, कोही यसलाई स्वीकार गर्छ भने ऊ राजावादी हो । जसले यसलाई इन्कार गरेर नागरिक स्वतन्त्रता र सर्वोच्चताको सपना देख्छ, ऊ हो गणतन्त्रवादी । मलाई लाग्छ, राजा र राष्ट्रपतिको फरक प्रारम्भ हुन्छ, यही वैचारिक बिन्दुबाट । 

चेतनाको उज्यालो

अब थोरै मान्छेको चेतनाभित्र पसौं र त्यसभित्र निहित उज्यालो नियालौं । समयको प्रवाहसँगै आम मान्छेले स्वतन्त्रताको सपना देख्न थाल्यो । उसले आफ्नो मनलाई सोध्यो र चर्को स्वरमा चिच्यायो– ‘म न त रैती हुँ, न प्रजा । म एक सार्वभौम नागरिक हुँ । म देशको मालिक हुँ । म राज्यको मालिक हुँ ।’ यसरी आम मान्छेभित्र स्वतन्त्रता र मुक्तिको आगो सल्कियो । र, लोकतन्त्रको नयाँ स्कुल खुल्यो । जसले राज्य, राजनीति र शासकीय प्रभुत्वको परम्परागत मान्यतालाई चुनौती दिँदै भन्यो– ‘यो देशको मालिक राजा हैन । देश, राज्य र राजनीतिको मालिक हो नागरिक । त्यसैले राजामा हैन, नागरिकमा राजकीय शक्ति र सार्वभौमसत्ता निहित हुन्छ ।’ नागरिकले अझ चर्कोसँग भन्यो– ‘म छु, त्यसैले देश छ । म छु, त्यसैले राज्य छ । म छु, त्यसैले राजनीति, पार्टी र सरकार छ । अतः आफ्नो शासक (सेवक) कसलाई छान्ने, त्यो मेरो सार्वभौम अधिकार हो ।’ अर्थात्, नागरिक देशको मालिक हो । नागरिक इतिहास, वर्तमान र भविष्यको मालिक हो । नागरिक सर्वोच्च हुन्छ र नागरिकभन्दा माथि कोही पनि हुँदैन । 

यसरी नेपाली राजनीतिमा नवीन चेतना जागृत भयो । नागरिक चेतना । स्वतन्त्रताको चेतना । सार्वाभौमिकताको चेतना । यही चेतनाको आलोकमा आन्दोलन भए । राजाको हातबाट शासकीय सर्वोच्चता र सार्वभौमसत्ताको श्रीपेच खोसियो । अर्थात्, नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो । आफूलाई देशको राजकीय सत्ता र सार्वभौमसत्ताको स्वामी ठान्ने वंश परम्परा सत्ताको शिखरबाट झर्‍यो र नागरिकको लाइनमा उभिन आइपुग्यो । यसको सांकेतिक अर्थ के भने, नागरिकले रैती वा प्रजा हुन इन्कार गरे र आफूलाई सर्वोच्च, सार्वभौम र स्वतन्त्र घोषणा गरे । त्यसैको एउटा बिम्ब हो राष्ट्रपति । त्यसैको सर्वोच्च अभिव्यक्ति हो राष्ट्रपति । 

विचार गरौं त, हामी रैतीबाट प्रजा हुँदै नागरिकसम्म आइपुग्न हिँडेको बाटोको लम्बाइ कति होला ? हामीले रैतीबाट नागरिक बन्न बगाएको रगत र पसिनाको मूल्य कति होला ? हाम्रा पुर्खा र हामी स्वयंले त्यसका लागि गरेको त्याग र बलिदानको मूल्य कति होला ? के अब फेरि हामी रैती हुने ? के हामी फेरि उतै फर्किने, जहाँबाट हामीले परिवर्तनको जंघार तरेका थियौं ? यो हाम्रो बाटो होइन र यसले हाम्रो नागरिक गरिमालाई कहिल्यै उँचो बनाउँदैन । किनभने नागरिक हुनु भनेको तीन वटा कुरा हुनु हो । पहिलो, स्वतन्त्र हुनु हो । दोस्रो, सार्वभौम हुनु हो । तेस्रो, स्वाभिमानी हुनु हो । राजा खोज्नेहरू जो अहिले भीडमा देखिन्छन्, उनीहरूलाई न त स्वतन्त्रताको बोध छ, न त आफ्नो सार्वभौमिकताको बोध छ । न त उनीहरूलाई नागरिक हुनुको सामर्थ्य र गरिमा थाहा छ, न त शक्ति । उनीहरू जो राजावादी हुन्, उनीहरूभित्र आफैंलाई बाँध्ने बन्धनहरू छन् । सोचौं त, जुन मान्छे स्वयं कसैको रैती बन्न तयार छ, उसले देश र समाजलाई कसरी सार्वभौम र सम्बृद्ध बनाउँछ ? जो देशको मालिक भएर पनि प्रजा बन्न तयार छ, उसले कसरी देशको प्रतिष्ठा बढाउँछ ? स्वयं दासतामा बाँधिएको मान्छे, ऊ कसरी नागरिक ? 

प्रश्न उही आउँछ, के हामी यो देश फगत राजाहरूले बनाएको भन्ने जाली कुरा स्वीकार गर्छौं ? के यो देशको रक्षा फगत एक थान राजाले गर्नेछन् भन्ने हाम्रो विश्वास हो ? के राजा हाम्रा पालनहार हुन्, ख्वामित हुन् र विष्णुका अवतार हुन् ? के हामी आफ्नो स्वतन्त्रता कुनै व्यक्तिको पाउमा समर्पण गर्न तयार हौं ? के हामी हाम्रो सार्वभौम अधिकार र स्वाभिमान कसैलाई बन्धक दिन तयार हो ? के अब फेरि हामी उतै फर्किने हो, जहाँबाट लडेर हाम्रो पुर्खाहरूले रैतीको हतकडी चुडाएका थिए ? अवश्य नै हाम्रो राजनीतिमा संकट होला । तर लोकतन्त्र स्वयंले आफ्ना खराबीहरू निर्मूल गर्दै लैजानेछ । तर बाटो मोडिने छैन । अन्यथा, नर्कतिर हिँडेर स्वर्ग कसरी पुगिन्छ ?

पूर्वराजालाई सम्बोधन 

शीतल निवासबाट निस्कँदै गर्दा एक पटक मैले राष्ट्रपतिलाई सोधेको थिएँ– ‘एउटा साधारण मान्छे राष्ट्रपति हुनुको अर्थ के हो ?’ उहाँको जवाफ थियो– ‘राष्ट्रपति हुनु भनेको, नागरिक समानता र सर्वोच्चताको स्विकारोक्ति हो । प्रत्येक नागरिकको स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानको प्रतीक हो राष्ट्रपति । यो म रामचन्द्र पौडेल होइन । यो संस्था हो ।’ मनमनै मैले गमें, यही प्रश्न मैले राजालाई सोधेको भए त्यसको जवाफ के हुन्थ्यो होला ? के राजाले आफूलाई म नागरिकभन्दा विशेष होइन भन्न सक्थे होलान् ? इतिहासले भन्छ, आफ्नो वंश विशेष, आफ्नो जात विशेष, आफ्नो धर्म विशेषको आत्मरति र अहंकार नै राजशाहीको चरित्र हो । किनभने उनीहरू सोच्छन्– राजा हुनु सबैभन्दा श्रेष्ठ हुनु हो । त्यसैले नै हुनुपर्छ राजावादीहरू ठान्दछन्– ‘राजतन्त्र सर्वोच्चताको प्रतीक’ हो । तर राष्ट्रपति ? राष्ट्रपति स्वयं त्यो पदको परिभाषा दिँदै भन्नुहुन्छ– ‘राष्ट्रपति भनेको नागरिक शक्ति, स्वाभिमान र स्वतन्त्रताको प्रतीक हो ।’ 

अस्तिको भेटघाट सकिएर छुट्टिँदै गर्दा राष्ट्रपतिले भन्नुभयो– ‘मैले दलहरूलाई भनेको छु, मसँग कुनै विशेष फेवर नखोज्नुहोला । म संविधानले दिएको सीमाभन्दा फरक सोच्न पनि सक्दिनँ । आखिर मैले यहाँ बस्ने केही दिन हो । त्यो समयसम्म म यसरी बस्न चाहन्छु, जसले यो संस्थाको गरिमा र नागरिक सर्वोच्चताको भावनालाई स्थापित गरोस् । जसले गर्दा यो संस्थालाई हेरेर नागरिकले राजा र राष्ट्रपतिबीचको भेद स्वयं थाहा पाउन सकून् । जब म यहाँबाट निस्कनेछु, मेरो माटो र बाटो त्यही हुनेछ । मेरो घर त्यही हुनेछ । मैले बिताउने रात र दिन त्यही हुनेछ । म राजा हैन र आजन्म राष्ट्रपति पनि रहने छैन । यो सबै अस्थायी हो र अस्थायी हुनु नै यसको सुन्दरता हो ।’ 

राष्ट्रपतिको कुरा सुनेपछि मलाई लाग्यो, यही हो राजा र राष्ट्रपतिको फरक । राजा स्थायी शक्ति हो । जो आफूलाई सार्वभौमसत्ता र राजकीयसत्ताको मालिक ठान्दछ । राष्ट्रपति यस्तो उदात्त पद हो, जो नागरिकमा निहित सार्वभौमसत्ता र राजकीयसत्तालाई जोगाउन चाहन्छ ।

एउटा साधारण मान्छेको स्वतन्त्रता र आत्मगौरवबारे जब म सोचिरहेको थिएँ, त्यति नै बेला मलाई लाग्यो, पूर्वराजा ज्ञानेन्द्र नहिँड्नुपर्ने बाटोमा हिँड्दै छन् । उनी स्वयं तिर्सनाको यस्तो अक्करमा हिँड्दै छन्, जसले उनलाई कहिल्यै गन्तव्यमा पुर्‍याउँदैन । बरु उल्टो, उनीभित्र जागृत हुन सक्ने नागरिक चेतना र आत्मगौरवसमेत नष्ट गर्छ । त्यसैले म सप्रेम उनलाई भन्न चाहन्छु, महोदय, नागरिक हुनुको स्वतन्त्रता र आत्मगौरव बोध गर्नुहोस् र राजा बन्ने सपनाबाट विश्राम लिनुहोस् । उमेरको ख्याल गर्नुहोस् र तीर्थव्रतमा मन लगाउनुहोस् । एक सार्वभौम नागरिक हुनुको आनन्द अपरिमित हुन्छ महोदय, त्यसको मजा लिनुहोस् । र, जो तपाईंको दायाँबायाँ बसेर राजनीतिको रोटी सेक्न चाहन्छन्, उनीहरूलाई आफ्नो आँगनबाट बिदा दिनुहोस् । देशमा जे हुँदै छ, हजार कमजोरीका बाबजुद पनि लोकतन्त्रको बीउ उम्रँदै छ । तपाईं निर्मल निवासको अट्टालिकामा बसेर त्यसको अपरिमित सुन्दरतालाई परख गर्नुहोस् । जनिगरी महाशय, तपाईं सान्त हुनुहोस् र हामी नागरिकलाई पनि सान्तसँग निदाउन दिनुहोस् । 

पूर्वराष्ट्राध्यक्षका रूपमा तपाईंलाई अत्यन्तै सम्मान गर्दै फेरि भन्छु, महोदय, एक साधारण मान्छेले भोग्ने जीवनको आनन्द लिनुहोस् । के तपाईंले काठमाडौंको पुरानो गल्लीमा पसेर योमरी र लखामरी खानुभएको छ ? के तपाईंले आफ्नी वृद्धा मातालाई घुमाउन चारधाम लानुभएको छ ? के तपाईं सपरिवार काठमाडौंका शिल्पी वा मण्डला नाटकघरमा गएर नाटक हेर्नुभएको छ ? महोदय, के तपाईंले खुला चौरस्तामा उभिएर हावासँग बात मार्नुभएको छ, सुसेला बजाउनुभएको छ ? एक्लै जुनेली रातमा गुनगुनाउनुभएको छ ? अथवा, आफ्ना केटाकेटीलाई सँगै राखेर उनीहरूलाई गाउँखाने कथा सुनाउनुभएको छ ? जीवनमा लिनुपर्ने मजा धेरै छन् महोदय । ती सबै छोडेर स्वार्थी राजावादीहरूको उलामालामा तपार्इं किन लाग्नुहुन्छ ? उनीहरूलाई तपाईंका काँधमा चढेर जुन सत्तामा पुग्नु छ, त्यो त तपाईंले उहिल्यै देखेको कुरा होइन ? त्यसको फेरि मोह किन ? र, त्यसका लागि नेपाली नागरिकको स्वतन्त्रता र सार्वभौमिकतामाथि अझै किन घोडा कुदाउने ? हामी नागरिकलाई यसैमा आनन्द छ प्रभु, आउनुहोस्, तपाईं पनि सार्वभौम नागरिक हुनुको मजा लिनुहोस् । यो अद्भुत आनन्दको कुरा हो । 

केशव केशव दाहाल राजनीतिक-सामाजिक अभियान र लेखनमा सक्रिय छन् । राजनीतिक विश्लेषक र साहित्यकार दाहालकाे उपन्यास मोक्षभूमिले पद्मश्री साहित्य पुरस्कार पाएकाे थियाे ।

Link copied successfully