अव्यवस्थाका ह्याचरी

राजा फर्काउने नाममा अव्यवस्थाको जुन व्यूह रचिएको छ, त्यसका ह्याचरी गणतन्त्रका लागि लड्ने दलहरू नै हुन्

चैत्र २१, २०८१

चन्द्रकिशोर

Hatchery of disorder

वीरगन्जका नागरिकहरूले ०६३ वैशाख १० गते एक महिलालाई सडक राष्ट्रपति घोषित गरे । यो जनआन्दोलनका क्रममा जनसामान्यद्वारा प्रकट गरिएको सर्वोच्च इच्छा थियो । ‘एक जुगमा एक दिन एकचोटि आउँछ’ भन्ने गणतन्त्रको प्रकटीकरणकालीन उद्घोष त्यसै उब्जिएको थिएन ।

यो कसैको निगाहमा बक्स भएको थिएन । जनमनको सपना थियो । नागरिकहरू नै राष्ट्रको अन्तिम निर्णयकर्ता हुन् । यसैले नेपालमा गणतन्त्र एउटा स्वाभाविक र सहज स्थापना हो । त्यो दिन वीरगन्जको जनभेलाले स्थापित गर्‍यो कि जनता भविष्यमा आउने राज्य पद्धतिका पनि स्रोत हुन् । क्रान्तिभूमि वीरगन्जले नेपालका प्रत्येक जनसंघर्षमा यसैगरी अग्रमान्यता स्थापित गर्दै आएको हो ।

त्यसको भोलिपल्ट विजय उत्सव मनाइयो । ०६१ माघदेखि सुरु ज्ञानेन्द्र शाही ढलेको थियो, जनताले जितेका थिए । वीरगन्जको विजय सभामा विभिन्न वक्ताहरू बोल्दै थिए । तलबाट मञ्चसम्म कहल्याइयो एक जना दलित आवाज पनि राख्नुपर्‍यो । तर सुनुवाइ भएन । केही घण्टा पहिला ठूलो संघर्षबाट प्राप्त भएको लोकतन्त्रलाई बलियो बनाउने भनेको प्रत्येक प्रक्रियामा वञ्चित समुदायको सहभागिताको खोजी हो । कुनै पनि पक्ष यस प्रक्रियामा सामेल हुन नसक्नु वा अलग हुनु भनेको नवजात लोकतन्त्रलाई कुपोषित गर्ने कुराको संकेत थियो । यो विषय संकेत मात्र बनेन, यथार्थ बनेर देखियो । 

लोकतन्त्रले सबै ढंगबाट सन्तुलित र समानुपातिक विकास प्रक्रियामा जोड दिन्छ । राज्यलाई न्यायपूर्ण रूपान्तरणमा लैजाने प्रमुख माध्यम बन्ने राजनीतिक दलहरू त्यो दिन वीरगन्जमा आफ्नो गहन भूमिका बिर्से । छोटो समयमा नै गठबन्धनका दलहरूमा विजय उन्माद छिरिसकेको थियो । वर्चस्वको अभिमान टुसाइसकेको थियो । लोकतन्त्रात्मक राज्य संरचना केवल सैद्धान्तिक विषय मात्रै होइन । लोकतन्त्रमा व्यक्तिगत स्वतन्त्रतालाई सर्वाधिक महत्त्व दिइन्छ । लोकतन्त्रले राज्य संरक्षित विभेद र विभाजनलाई जरोच्छेद गर्छ । त्यस उप्रान्त सर्वदलीय गठबन्धनका नाममा के–के भयो ? भुइँमान्छेहरू नै भन्थे, तिनीहरूभित्रको मानसिकता र कार्यशैलीमा लोकतान्त्रिक मूल्यको न्यूनता बारम्बार खट्किने विषय बनेको छ । अर्थात् सुनको दिन उदायो पनि र त्यही दिनदेखि ग्रहण पनि लाग्यो । यो कथा वीरगन्जको भए पनि व्यथा सिंगो देशको हो ।

गणतन्त्र स्थापनापछि प्रायः सुनियो, नेपालमा गद्दीनसिन राजा पदच्युत सन्दर्भ विश्वकै लागि पाठ हुनेछ । यो एउटा नौलो परिघटना साबित हुनेछ । २००७ सालको जनआन्दोलनदेखि जनताले बनाउने संविधानमार्फत निर्क्योल गर्नुपर्ने विषय थियो त्यो । नेपाल अब गणतान्त्रिक अभ्यासमा आइसक्यो । यो अभ्यास खरायो गतिमा दौडिएन भनेर चिन्ता गर्नेभन्दा कछुवा गतिमै भए पनि ठीक ठाउँतिर जाँदै छ वा छैन भनेर हेर्नु उपयुक्त हुन्छ । भावी राजनीतिक प्रतिस्पर्धामा आ–आफ्नो स्थान सुरक्षित गर्न, आआफ्ना रणनीति निर्माण गर्न दलहरू स्वतन्त्र छन् । तर मुलुकको मूलभूत भावी लक्ष्य, कार्यक्रम र तिनको प्राप्तिको बाटोका बारेमा अब कुनै दुविधा छैन ।

आजको नेपालमा राजा रहनु वा नरहनु भन्ने बहसको विषय हुँदै होइन । न त यो भारतलगायत अन्तर्राष्ट्रिय मित्र देशहरूको चासोको विषय नै हो । मूल मुद्दा हो ‘रुग्ण गणतन्त्र’ राख्ने कि ‘सबल गणतन्त्र’ । सबल गणतन्त्र अहिले मूलधारका सबै दलहरूका साथै वाचाल नागरिक समाजसमेतको साझा मुद्दा बन्न पुगेको छ । तात्कालिक गतिरोधबाट आत्तिनुपर्ने कुनै कारण छैन । 

नयाँ संविधानले तीन वटा प्रमुख कुरा स्थापित गर्‍यो– गणतन्त्र, संघीयता र सामञ्जस्य । सामञ्जस्यअन्तर्गत विभिन्न भाषा, क्षेत्र, लिंग, जाति, धर्मसँग राज्यको सम्बन्ध परिभाषित गरिनु हो । वीरगन्जको प्रसंगमार्फत उठाउन खोजिएको के हो भने नयाँ प्रयत्नको पृष्ठभूमि बनाउने क्षणदेखि नै पोलिटिकल हिप्पोक्रेसीले छोप्यो । यसले नै हामीलाई सही अर्थमा आधुनिक र लोकतान्त्रिक हुन बाधा पुर्‍याएको छ । जनतामा निराशा यसैले पलाएको छ । परिणामतः हामी धेरै प्रकारका द्वन्द्वमा जेलिएका छौं ।

यतिखेर हामी नेपाल राज्यको जग बसाल्ने क्रममा छौं । नेताराजका कारण अकर्मण्यता र अनुत्तरदायीपन त हरेक दिन झन् स्पष्ट हुँदै गएको छ । संविधान जीवन्त बनाइराख्न सकियो भने देश बलियो हुँदै जान्छ ।

राजावादी हुनु अन्धश्रद्धाको सिकार हुनु हो । यो भनेको कुनै अमूक व्यक्तिद्वारा आफ्नो जीवनका लागि सकारात्मक वा नकारात्मक नतिजा हासिल गर्नका लागि ‘परामानवीय’ शक्तिलाई रिझाउनेसरहको मानसिकता हो । एउटा यो पनि तर्क छ कि अन्धश्रद्धा व्यक्तिको निजी मामिला नै रहे र त्यो सार्वजनिक क्षेत्रमा नआए त्यो समस्या बन्दैन । तर प्रश्न यो छ कि, जुन चीज तपाईंको निजी हिस्साको अंग बनिसकेको छ, त्यसबाट तपाईंको सार्वजनिक आचरण प्रभावित हुँदैन भन्ने त्यसको के ग्यारेन्टी ? एकै पटक दोहोरो मापदण्ड चल्दैन । कुनै अमूक राजाको विरोध गर्ने तर आफैंभित्र ‘राजा’ बाँचिरहने । 

साँच्चिकै गणतन्त्रमा पुग्नुको लडाइँ लामो छ । यो केवल राष्ट्रपति चुन्नुमै सीमित छैन । जनगणको मनमस्तिष्कमा अनिवार्य देखिनुपर्ने बदलाव हो । यो छोटो, सहज बाटोबाट लक्ष्यसम्म पुग्न सकिँदैन । सिंगो परिवेश बदल्ने लडाइँले नै काँचुली फेर्न सकिन्छ । ज्ञानेन्द्र शाहको हलचल एक कोणबाट अर्थ्याउँदा प्रेरणा हो, जसले प्रत्येक नेपालवासीलाई मनमस्तिष्क अझ बढी संकल्पबद्ध भएर तर्कशील चेतनाको प्रसारका लागि देशव्यापीस्तरमा यस कामलाई अगाडि लैजाने बाटो देखाइरहेको छ । राष्ट्रिय पुनर्जागरणको एउटा सानो तर महत्त्वपूर्ण सुरुआत यसै बिन्दुबाट हुन सक्छ । हाकाहाकी राप्रपा जुन राजा फर्काउने राजनीतिको सबैभन्दा ठूलो हस्ताक्षर बनेर देखा परेको छ, एउटा यस्तो राज्य व्यवस्था लागू गर्न चाहन्छ जो आउटडेटेड सोचको तानाशाही हुनेछ र त्यसको मुख्य सिकार यस देशका बहुसंख्यक जनता हुनेछन् । लामो समयको तयारीपश्चात्को सियासी परिक्रमाको ‘फ्लप शो’ देखिहालियो ।

राप्रपालाई लाग्छ, ऊसँग न इतिहास छ न आधुनिक समाज अपेक्षित तर्क, यस्तोमा गणतान्त्रिक शक्तिहरूसँग प्रतिस्पर्धा गर्न भनेरै धर्मको राजनीति गरेका हुन् । राजनीतिमा धर्म तानेपछि तर्क गर्नु पर्दैन । हुन पनि धर्ममा केही साबित गरिरहनु पर्दैन । ‘डेलिभर’ जस्ता अपेक्षाहरू गौण बन्न पुग्छन् । राप्रपाले जन्मकालदेखि नै उही नारा दोहोर्‍याउनुबाहेक त्यसमा कुनै नयाँपन छैन । गणतन्त्रपछिका कालखण्डमा निर्मल निवासको अनुग्रह पाउनैमा दौड लगाउने नेतृत्व पंक्ति हाबी रहे । तर पदच्युत राजासँगको निकटताले तात्विक अर्थ राख्छ, गणतान्त्रिक राजनीतिमा । राष्ट्राध्यक्ष बन्न ललाटमै लेखेर ल्याएको हुनुपर्छ भन्ने मोहनशमशेरको मतभन्दा समय निकै अगाडि बढिसक्यो, अब एक चुनावी प्रक्रियाबाट निर्धारित व्यक्ति नै सो पदमा पुग्न सक्छ ।

राप्रपाको जुनसुकै मोर्चामा ५ प्रकारका व्यक्तिहरू अटाएका छन् । पहिलो, पञ्चायतकालीन सुख सयल भोगे, अन्यत्र पत्याइँदैन पनि अनि पूर्वपञ्चहरूकै संगठन रोजेकाहरू । दोस्रो मुसा प्रवृत्तिका जो सत्ताको डुंगा चढ्न यताबाट उता सर्दै गरे पनि आफ्ना लागि एक चल्तीको दुकान चलाउन चाहनेहरू, यस्ताहरूमध्ये कतिपय निर्मल निवाससँग समदूरीमा बस्छन् । तेस्रो, विभिन्न स्वार्थी शक्ति केन्द्रहरू चहार्दै भ्यागुता उफ्राई गर्दै हाल निर्मल निवास अधिपतिका पाउमा समर्पितहरू । चौथो, आफूसँग विचार शून्यता छ, परिवर्तनको कुनै सपना छैन, केवल अन्धभक्ति छ । पाँचौं राजा र धर्मको सवारी गरेर आफ्नो राजनीतिक तागत बनाउनु छ । यसमा दुईमत छैन कि राप्रपा पूर्वपञ्चहरूको त्यो समूह हो जो आफूहरूकै विगतका उदार–अनुदार द्वन्द्वका पीडा लुकाउँछन् । तर एक कल्पित अतीतमा रमाउँछन् । ज्ञानेन्द्र शाहका बारेमा पूर्वपञ्चहरूकै लिखतमा जे–जति लेखिएका छन्, तीबारे छाती ठोकेर कबुल गर्न किन पन्छिन्छ ?

राप्रपा एक राजनीतिक संगठन हो । गणतान्त्रिक लोकतन्त्रको उदारतामा मौलाएको हो । अहिले राजा फर्काऊ भनेर अस्तित्वमा आएका मौसमी संगठनहरूको कुरा गर्न खोजिएको होइन । यिनीहरू काठमाडौंकेन्द्रित संघर्ष चटक्क छाडेर मधेशमा झर्न सक्छन् । औपनिवेशिक संरचनामा लामो समय रहेकाहरू यस्ता चटकेहरू नै साँच्चिकै विघ्नहर्ता हुन् भनेर पत्याइदिने जमात पनि निस्किन सक्छ । हरेक समाजमा ‘मौन बहुमत’ समूह हुन्छ, मधेशमा पनि छन् जो गणतान्त्रिक पाञ्चजन्य फुक्न तम्तयार भएर बसेका छन् । नेपाली राजनीतिमा राजा इतिहास भइसक्यो तर यो ‘राजाको बाजा’ अझै दीर्घकालसम्म गुन्जिरहन्छ । किनभने राजा फर्काउने नाममा अव्यवस्थाको जुन व्यूह रचिएको छ, त्यसका ह्याचरी गणतन्त्रका लागि लड्ने दलहरू नै हुन् । त्यो सूक्ष्म तरिकाले नियाल्न जरुरी छ ।

ज्ञानेन्द्रको अन्धो महत्त्वाकांक्षा रातारात पलाएको होइन । गणतन्त्रको सुन्दर बिहानीमा नै पृथ्वीनारायण शाहको पूजा फेरि सुरु गरियो । जबकि गणतन्त्रले देशको निर्माता यहाँका नागरिक हुन् भन्ने मान्यता आत्मसात् गर्छ । यसमा यहींका बासिन्दाको पीडा र संघर्ष लतपतिएको छ । त्यसपछि राजावादी भनाउनेहरूलाई राष्ट्रवादी भनेर धाप दिइयो । ज्ञानेन्द्र शाहलाई पूर्वराष्ट्राध्यक्ष मान्ने कि एक सामान्य नागरिक भएर बाँच्ने मौका पाएका भन्नेमा दुविधा देखियो । महेन्द्र शाहका तुरूपहरूको जयगान र अनुकरण गर्न थालियो ।

अमूक धर्मको नामसँगै राजालाई जोडेर हेर्ने अवधारणा फिँजाइयो, जबकि यी दुई भिन्न विषय हुन् । एउटा उदार धर्मका अनुदार पात्र पहरेदार कसरी हुन सक्छ ? त्यसैगरी नितान्त दलीय स्वार्थका लागि राजावादी पात्रलाई कोरल्ने काम हुँदै आयो । सार्वजनिक सम्पत्ति जो दरबार हत्ते हालेरै लगे त्यसलाई फर्काउन परहेज हुँदै रह्यो । मूलधारका प्रायः नेताहरू कर्मकाण्डी भएर उदाए । उही लवेदा – सुरुवाल, ढाका टोपी र मर्जी–हजुरको चलन व्याप्त भयो । नेपाली राजनीतिको पुरानै प्रवृत्ति हो– विपक्षीको छवि भन्जन गर्ने । एकआपसमा हिलो छ्यापाछ्याप गर्दै रहँदा उता अतीतका राजाहरूको वस्त्र सफा देखिन थाल्यो । शाही सेनाको नेपाली सेनामा रूपान्तरणको प्रक्रियामा समेत नागरिक विमर्शलाई पर धकेलियो । यी छायाका कार्यहरूले गर्दा प्रकारान्तरमा सग्लो अनुहार चम्किएको हो ।

संसद्का पहिलो र दोस्रो दल मिलेर सरकार बनाएपछि यिनका दलपतिहरूमा दम्भ नपलाएको होइन । यी ठूला दुई दलका मुखियाहरूलाई लाग्छ, आजीवन शक्ति आफैंमा केन्द्रित रहनुपर्छ । चुकलाई निराशा वा अहंकार छोप्नका रूपमा होइन, सुध्रने अवसरका रूपमा लिँदा नै जो कसैको हित हुन्छ । आफूलाई पुनः संगठित हुनुपर्ने कार्यभारलाई ओझेलमा राख्दै गर्दा छिमेकी भारतमा कैयौं दलहरू धुलिसात भएका छन् । उसो त यिनीहरूलाई यतिखेर अर्ती–उपदेश दिनेको बाढी नै आएको छ । @kishore_chandra

चन्द्रकिशोर विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।

Link copied successfully