राजा फर्काउने नाममा अव्यवस्थाको जुन व्यूह रचिएको छ, त्यसका ह्याचरी गणतन्त्रका लागि लड्ने दलहरू नै हुन्
वीरगन्जका नागरिकहरूले ०६३ वैशाख १० गते एक महिलालाई सडक राष्ट्रपति घोषित गरे । यो जनआन्दोलनका क्रममा जनसामान्यद्वारा प्रकट गरिएको सर्वोच्च इच्छा थियो । ‘एक जुगमा एक दिन एकचोटि आउँछ’ भन्ने गणतन्त्रको प्रकटीकरणकालीन उद्घोष त्यसै उब्जिएको थिएन ।
यो कसैको निगाहमा बक्स भएको थिएन । जनमनको सपना थियो । नागरिकहरू नै राष्ट्रको अन्तिम निर्णयकर्ता हुन् । यसैले नेपालमा गणतन्त्र एउटा स्वाभाविक र सहज स्थापना हो । त्यो दिन वीरगन्जको जनभेलाले स्थापित गर्यो कि जनता भविष्यमा आउने राज्य पद्धतिका पनि स्रोत हुन् । क्रान्तिभूमि वीरगन्जले नेपालका प्रत्येक जनसंघर्षमा यसैगरी अग्रमान्यता स्थापित गर्दै आएको हो ।
त्यसको भोलिपल्ट विजय उत्सव मनाइयो । ०६१ माघदेखि सुरु ज्ञानेन्द्र शाही ढलेको थियो, जनताले जितेका थिए । वीरगन्जको विजय सभामा विभिन्न वक्ताहरू बोल्दै थिए । तलबाट मञ्चसम्म कहल्याइयो एक जना दलित आवाज पनि राख्नुपर्यो । तर सुनुवाइ भएन । केही घण्टा पहिला ठूलो संघर्षबाट प्राप्त भएको लोकतन्त्रलाई बलियो बनाउने भनेको प्रत्येक प्रक्रियामा वञ्चित समुदायको सहभागिताको खोजी हो । कुनै पनि पक्ष यस प्रक्रियामा सामेल हुन नसक्नु वा अलग हुनु भनेको नवजात लोकतन्त्रलाई कुपोषित गर्ने कुराको संकेत थियो । यो विषय संकेत मात्र बनेन, यथार्थ बनेर देखियो ।
लोकतन्त्रले सबै ढंगबाट सन्तुलित र समानुपातिक विकास प्रक्रियामा जोड दिन्छ । राज्यलाई न्यायपूर्ण रूपान्तरणमा लैजाने प्रमुख माध्यम बन्ने राजनीतिक दलहरू त्यो दिन वीरगन्जमा आफ्नो गहन भूमिका बिर्से । छोटो समयमा नै गठबन्धनका दलहरूमा विजय उन्माद छिरिसकेको थियो । वर्चस्वको अभिमान टुसाइसकेको थियो । लोकतन्त्रात्मक राज्य संरचना केवल सैद्धान्तिक विषय मात्रै होइन । लोकतन्त्रमा व्यक्तिगत स्वतन्त्रतालाई सर्वाधिक महत्त्व दिइन्छ । लोकतन्त्रले राज्य संरक्षित विभेद र विभाजनलाई जरोच्छेद गर्छ । त्यस उप्रान्त सर्वदलीय गठबन्धनका नाममा के–के भयो ? भुइँमान्छेहरू नै भन्थे, तिनीहरूभित्रको मानसिकता र कार्यशैलीमा लोकतान्त्रिक मूल्यको न्यूनता बारम्बार खट्किने विषय बनेको छ । अर्थात् सुनको दिन उदायो पनि र त्यही दिनदेखि ग्रहण पनि लाग्यो । यो कथा वीरगन्जको भए पनि व्यथा सिंगो देशको हो ।
गणतन्त्र स्थापनापछि प्रायः सुनियो, नेपालमा गद्दीनसिन राजा पदच्युत सन्दर्भ विश्वकै लागि पाठ हुनेछ । यो एउटा नौलो परिघटना साबित हुनेछ । २००७ सालको जनआन्दोलनदेखि जनताले बनाउने संविधानमार्फत निर्क्योल गर्नुपर्ने विषय थियो त्यो । नेपाल अब गणतान्त्रिक अभ्यासमा आइसक्यो । यो अभ्यास खरायो गतिमा दौडिएन भनेर चिन्ता गर्नेभन्दा कछुवा गतिमै भए पनि ठीक ठाउँतिर जाँदै छ वा छैन भनेर हेर्नु उपयुक्त हुन्छ । भावी राजनीतिक प्रतिस्पर्धामा आ–आफ्नो स्थान सुरक्षित गर्न, आआफ्ना रणनीति निर्माण गर्न दलहरू स्वतन्त्र छन् । तर मुलुकको मूलभूत भावी लक्ष्य, कार्यक्रम र तिनको प्राप्तिको बाटोका बारेमा अब कुनै दुविधा छैन ।
आजको नेपालमा राजा रहनु वा नरहनु भन्ने बहसको विषय हुँदै होइन । न त यो भारतलगायत अन्तर्राष्ट्रिय मित्र देशहरूको चासोको विषय नै हो । मूल मुद्दा हो ‘रुग्ण गणतन्त्र’ राख्ने कि ‘सबल गणतन्त्र’ । सबल गणतन्त्र अहिले मूलधारका सबै दलहरूका साथै वाचाल नागरिक समाजसमेतको साझा मुद्दा बन्न पुगेको छ । तात्कालिक गतिरोधबाट आत्तिनुपर्ने कुनै कारण छैन ।
नयाँ संविधानले तीन वटा प्रमुख कुरा स्थापित गर्यो– गणतन्त्र, संघीयता र सामञ्जस्य । सामञ्जस्यअन्तर्गत विभिन्न भाषा, क्षेत्र, लिंग, जाति, धर्मसँग राज्यको सम्बन्ध परिभाषित गरिनु हो । वीरगन्जको प्रसंगमार्फत उठाउन खोजिएको के हो भने नयाँ प्रयत्नको पृष्ठभूमि बनाउने क्षणदेखि नै पोलिटिकल हिप्पोक्रेसीले छोप्यो । यसले नै हामीलाई सही अर्थमा आधुनिक र लोकतान्त्रिक हुन बाधा पुर्याएको छ । जनतामा निराशा यसैले पलाएको छ । परिणामतः हामी धेरै प्रकारका द्वन्द्वमा जेलिएका छौं ।
यतिखेर हामी नेपाल राज्यको जग बसाल्ने क्रममा छौं । नेताराजका कारण अकर्मण्यता र अनुत्तरदायीपन त हरेक दिन झन् स्पष्ट हुँदै गएको छ । संविधान जीवन्त बनाइराख्न सकियो भने देश बलियो हुँदै जान्छ ।
राजावादी हुनु अन्धश्रद्धाको सिकार हुनु हो । यो भनेको कुनै अमूक व्यक्तिद्वारा आफ्नो जीवनका लागि सकारात्मक वा नकारात्मक नतिजा हासिल गर्नका लागि ‘परामानवीय’ शक्तिलाई रिझाउनेसरहको मानसिकता हो । एउटा यो पनि तर्क छ कि अन्धश्रद्धा व्यक्तिको निजी मामिला नै रहे र त्यो सार्वजनिक क्षेत्रमा नआए त्यो समस्या बन्दैन । तर प्रश्न यो छ कि, जुन चीज तपाईंको निजी हिस्साको अंग बनिसकेको छ, त्यसबाट तपाईंको सार्वजनिक आचरण प्रभावित हुँदैन भन्ने त्यसको के ग्यारेन्टी ? एकै पटक दोहोरो मापदण्ड चल्दैन । कुनै अमूक राजाको विरोध गर्ने तर आफैंभित्र ‘राजा’ बाँचिरहने ।
साँच्चिकै गणतन्त्रमा पुग्नुको लडाइँ लामो छ । यो केवल राष्ट्रपति चुन्नुमै सीमित छैन । जनगणको मनमस्तिष्कमा अनिवार्य देखिनुपर्ने बदलाव हो । यो छोटो, सहज बाटोबाट लक्ष्यसम्म पुग्न सकिँदैन । सिंगो परिवेश बदल्ने लडाइँले नै काँचुली फेर्न सकिन्छ । ज्ञानेन्द्र शाहको हलचल एक कोणबाट अर्थ्याउँदा प्रेरणा हो, जसले प्रत्येक नेपालवासीलाई मनमस्तिष्क अझ बढी संकल्पबद्ध भएर तर्कशील चेतनाको प्रसारका लागि देशव्यापीस्तरमा यस कामलाई अगाडि लैजाने बाटो देखाइरहेको छ । राष्ट्रिय पुनर्जागरणको एउटा सानो तर महत्त्वपूर्ण सुरुआत यसै बिन्दुबाट हुन सक्छ । हाकाहाकी राप्रपा जुन राजा फर्काउने राजनीतिको सबैभन्दा ठूलो हस्ताक्षर बनेर देखा परेको छ, एउटा यस्तो राज्य व्यवस्था लागू गर्न चाहन्छ जो आउटडेटेड सोचको तानाशाही हुनेछ र त्यसको मुख्य सिकार यस देशका बहुसंख्यक जनता हुनेछन् । लामो समयको तयारीपश्चात्को सियासी परिक्रमाको ‘फ्लप शो’ देखिहालियो ।
राप्रपालाई लाग्छ, ऊसँग न इतिहास छ न आधुनिक समाज अपेक्षित तर्क, यस्तोमा गणतान्त्रिक शक्तिहरूसँग प्रतिस्पर्धा गर्न भनेरै धर्मको राजनीति गरेका हुन् । राजनीतिमा धर्म तानेपछि तर्क गर्नु पर्दैन । हुन पनि धर्ममा केही साबित गरिरहनु पर्दैन । ‘डेलिभर’ जस्ता अपेक्षाहरू गौण बन्न पुग्छन् । राप्रपाले जन्मकालदेखि नै उही नारा दोहोर्याउनुबाहेक त्यसमा कुनै नयाँपन छैन । गणतन्त्रपछिका कालखण्डमा निर्मल निवासको अनुग्रह पाउनैमा दौड लगाउने नेतृत्व पंक्ति हाबी रहे । तर पदच्युत राजासँगको निकटताले तात्विक अर्थ राख्छ, गणतान्त्रिक राजनीतिमा । राष्ट्राध्यक्ष बन्न ललाटमै लेखेर ल्याएको हुनुपर्छ भन्ने मोहनशमशेरको मतभन्दा समय निकै अगाडि बढिसक्यो, अब एक चुनावी प्रक्रियाबाट निर्धारित व्यक्ति नै सो पदमा पुग्न सक्छ ।
राप्रपाको जुनसुकै मोर्चामा ५ प्रकारका व्यक्तिहरू अटाएका छन् । पहिलो, पञ्चायतकालीन सुख सयल भोगे, अन्यत्र पत्याइँदैन पनि अनि पूर्वपञ्चहरूकै संगठन रोजेकाहरू । दोस्रो मुसा प्रवृत्तिका जो सत्ताको डुंगा चढ्न यताबाट उता सर्दै गरे पनि आफ्ना लागि एक चल्तीको दुकान चलाउन चाहनेहरू, यस्ताहरूमध्ये कतिपय निर्मल निवाससँग समदूरीमा बस्छन् । तेस्रो, विभिन्न स्वार्थी शक्ति केन्द्रहरू चहार्दै भ्यागुता उफ्राई गर्दै हाल निर्मल निवास अधिपतिका पाउमा समर्पितहरू । चौथो, आफूसँग विचार शून्यता छ, परिवर्तनको कुनै सपना छैन, केवल अन्धभक्ति छ । पाँचौं राजा र धर्मको सवारी गरेर आफ्नो राजनीतिक तागत बनाउनु छ । यसमा दुईमत छैन कि राप्रपा पूर्वपञ्चहरूको त्यो समूह हो जो आफूहरूकै विगतका उदार–अनुदार द्वन्द्वका पीडा लुकाउँछन् । तर एक कल्पित अतीतमा रमाउँछन् । ज्ञानेन्द्र शाहका बारेमा पूर्वपञ्चहरूकै लिखतमा जे–जति लेखिएका छन्, तीबारे छाती ठोकेर कबुल गर्न किन पन्छिन्छ ?
राप्रपा एक राजनीतिक संगठन हो । गणतान्त्रिक लोकतन्त्रको उदारतामा मौलाएको हो । अहिले राजा फर्काऊ भनेर अस्तित्वमा आएका मौसमी संगठनहरूको कुरा गर्न खोजिएको होइन । यिनीहरू काठमाडौंकेन्द्रित संघर्ष चटक्क छाडेर मधेशमा झर्न सक्छन् । औपनिवेशिक संरचनामा लामो समय रहेकाहरू यस्ता चटकेहरू नै साँच्चिकै विघ्नहर्ता हुन् भनेर पत्याइदिने जमात पनि निस्किन सक्छ । हरेक समाजमा ‘मौन बहुमत’ समूह हुन्छ, मधेशमा पनि छन् जो गणतान्त्रिक पाञ्चजन्य फुक्न तम्तयार भएर बसेका छन् । नेपाली राजनीतिमा राजा इतिहास भइसक्यो तर यो ‘राजाको बाजा’ अझै दीर्घकालसम्म गुन्जिरहन्छ । किनभने राजा फर्काउने नाममा अव्यवस्थाको जुन व्यूह रचिएको छ, त्यसका ह्याचरी गणतन्त्रका लागि लड्ने दलहरू नै हुन् । त्यो सूक्ष्म तरिकाले नियाल्न जरुरी छ ।
ज्ञानेन्द्रको अन्धो महत्त्वाकांक्षा रातारात पलाएको होइन । गणतन्त्रको सुन्दर बिहानीमा नै पृथ्वीनारायण शाहको पूजा फेरि सुरु गरियो । जबकि गणतन्त्रले देशको निर्माता यहाँका नागरिक हुन् भन्ने मान्यता आत्मसात् गर्छ । यसमा यहींका बासिन्दाको पीडा र संघर्ष लतपतिएको छ । त्यसपछि राजावादी भनाउनेहरूलाई राष्ट्रवादी भनेर धाप दिइयो । ज्ञानेन्द्र शाहलाई पूर्वराष्ट्राध्यक्ष मान्ने कि एक सामान्य नागरिक भएर बाँच्ने मौका पाएका भन्नेमा दुविधा देखियो । महेन्द्र शाहका तुरूपहरूको जयगान र अनुकरण गर्न थालियो ।
अमूक धर्मको नामसँगै राजालाई जोडेर हेर्ने अवधारणा फिँजाइयो, जबकि यी दुई भिन्न विषय हुन् । एउटा उदार धर्मका अनुदार पात्र पहरेदार कसरी हुन सक्छ ? त्यसैगरी नितान्त दलीय स्वार्थका लागि राजावादी पात्रलाई कोरल्ने काम हुँदै आयो । सार्वजनिक सम्पत्ति जो दरबार हत्ते हालेरै लगे त्यसलाई फर्काउन परहेज हुँदै रह्यो । मूलधारका प्रायः नेताहरू कर्मकाण्डी भएर उदाए । उही लवेदा – सुरुवाल, ढाका टोपी र मर्जी–हजुरको चलन व्याप्त भयो । नेपाली राजनीतिको पुरानै प्रवृत्ति हो– विपक्षीको छवि भन्जन गर्ने । एकआपसमा हिलो छ्यापाछ्याप गर्दै रहँदा उता अतीतका राजाहरूको वस्त्र सफा देखिन थाल्यो । शाही सेनाको नेपाली सेनामा रूपान्तरणको प्रक्रियामा समेत नागरिक विमर्शलाई पर धकेलियो । यी छायाका कार्यहरूले गर्दा प्रकारान्तरमा सग्लो अनुहार चम्किएको हो ।
संसद्का पहिलो र दोस्रो दल मिलेर सरकार बनाएपछि यिनका दलपतिहरूमा दम्भ नपलाएको होइन । यी ठूला दुई दलका मुखियाहरूलाई लाग्छ, आजीवन शक्ति आफैंमा केन्द्रित रहनुपर्छ । चुकलाई निराशा वा अहंकार छोप्नका रूपमा होइन, सुध्रने अवसरका रूपमा लिँदा नै जो कसैको हित हुन्छ । आफूलाई पुनः संगठित हुनुपर्ने कार्यभारलाई ओझेलमा राख्दै गर्दा छिमेकी भारतमा कैयौं दलहरू धुलिसात भएका छन् । उसो त यिनीहरूलाई यतिखेर अर्ती–उपदेश दिनेको बाढी नै आएको छ । @kishore_chandra
