भत्किँदो विश्वव्यवस्था र नेपाली हितको रक्षा

आफ्नै मुलुकलाई सधैं नकारात्मक सोचले हेर्ने, यहाँ केही हुन सक्दैन, जे हुँदै छ सबै घोटाला मात्र हुँदै छ भन्ने रुग्ण मनस्थितिबाट सबै बच्न जरुरी छ

चैत्र १३, २०८१

विद्याधर मल्लिक

Protecting the collapsing world order and Nepali interests

जनवरी २०, २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको आरम्भ हुनुअघि नै द्वितीय विश्वयुद्धपछिका स्थापित अन्तर्राष्ट्रिय व्यवस्थाका आधारहरू कमजोर हुँदै गएका थिए । ट्रम्पको दोस्रो कार्यकालको प्रारम्भपछि त पुरानो विश्वव्यवस्था तीव्र गतिमा भत्किन थालेको छ ।

अमेरिकी राजनीतिमा आएको उथलपुथल र चरम दक्षिणपन्थी अवसरवादले नेपालजस्ता साना राष्ट्रहरूको राष्ट्रिय हितको रक्षाको सवाललाई ठूलो प्रभाव पार्न सक्छ । भत्किँदो पुरानो विश्वव्यवस्थाको असर, नेपाली राजनीतिमा हाल देखिन लागेको अस्थिरता र नेपाली हित एवं राष्ट्रिय स्वार्थको रक्षाका लागि केही ख्याल गर्नुपर्नेछ ।

विश्व राजनीतिका बाछिटा 

डोनाल्ड ट्रम्पको उदय केवल अमेरिकी राजनीतिमा मात्र सीमित छैन, यसले सम्पूर्ण विश्वव्यवस्थामा गहिरो प्रभाव पार्न थालेको छ । ट्रम्प प्रशासनले बहुपक्षीय संस्थाहरूको उपहास गर्दै एकपक्षीय निर्णयहरू लिन थालेपछि समग्र वैश्विक शासन प्रणाली (ग्लोबल अर्डर) र अन्तर्राष्ट्रिय सम्बन्धहरूको नियमन गर्ने पद्धतिहरू प्रश्नको घेरामा आएका छन् ।

सार्वभौमिक सम्प्रभुता, क्षेत्रीय अखण्डता र अन्तर्राष्ट्रिय न्याय, मानवअधिकारको प्रत्याभूति गर्ने अन्तर्राष्ट्रिय संस्था र मानकहरू क्षतिग्रस्त वा शिथिल भएका छन् । बलियाको शक्तिका आधारमा विश्वव्यवस्था चल्ने जोखिम बढ्दै गएको छ । अमेरिका व्यापार युद्धमा होमिएको छ । जसले विश्वव्यापी आपूर्ति शृंखला झनै भत्किँदै जानेछ ।

विश्व स्वास्थ्य संगठनजस्ता संस्थाबाट अमेरिका बाहिरिँदा नेपाललगायत साना राष्ट्रहरूको स्वास्थ्य सुरक्षा र विकास परियोजनाहरूमा नकारात्मक असर पर्ने सम्भावना छ । यूएसएड, एमसीसीलगायतका सहयोग कार्यक्रमहरू रोकिँदा नेपालसहित धेरै विकासशील देशहरूले अकस्मात् स्रोतको अभाव बेहोर्नुपरेको छ । ट्रम्प प्रशासनको ‘अमेरिका फस्ट’ नीतिले साना राष्ट्रको असुरक्षा बढाएको छ भने कडा आप्रवासन नीतिले थुप्रै देशका नागरिकहरूको अमेरिका प्रवेशमा रोक लाग्ने र त्यहाँ गएका मान्छे निकालिने (डिपोर्ट) सम्भावना बढेको छ । 

ट्रम्मवादको यो शृंखला केवल भन्सार महसुल वृद्धि (ट्यारिफ वार) र कडा आप्रवासन नीतिमा मात्र सीमित छैन । १५ मार्च २०२५ को ‘द इकोनमिस्ट’ का अनुसार अमेरिका अब ‘सोर्ट–टर्मिज्म’ (छोटो अवधिको लाभलाई प्राथमिकता दिने) बाट ग्रसित छ । जसले उसलाई अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउने अवस्थामा पुर्‍याएको छ । स्वयं कमजोर हुँदा परम्परागत रूपमा अमेरिकाले सुरक्षा प्रदान गरिरहेका साना देशहरूको सुरक्षामा चुनौती खडा भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणले चीनसँगको नेपालको सम्बन्धलाई सुदृढ बनाउँदै पूर्वाधार विकासमा लगानी बढ्ने सम्भावना बढाएको छ । अमेरिकी सहायतामा कमी आउँदा तथा अमेरिकी कूटनीतिमा आएको पत्यारको कमीले गर्दा स्वाभाविक रूपमा छिमेकको विश्वशक्ति चीनको प्रभाव र चासो समग्र दक्षिण एसिया र नेपालमा बढ्न सक्ने अनुमान गर्न सकिन्छ । युक्रेनमाथिको रुसी आक्रमणले भूराजनीतिक तनाव चर्काइरहेको छ । आर्थिक प्रतिबन्धले विश्व आपूर्ति व्यवस्थामा असर परिरहेको छ ।

यस सन्दर्भमा ट्रम्प प्रशासनको बदलिँदो युक्रेन र रुससँगको सम्बन्ध तथा इजरायल–हमास युद्ध, इरानसहित समग्र मध्यपूर्वको तनाव तथा भूराजनीतिको द्वन्द्वलाई हेर्ने अमेरिकी दृष्टिकोणमा आएको परिवर्तनले कूटनीतिकजगत्मा नयाँ तरंगहरू ल्याएको छ । रुसको कूटनीतिक शक्ति एवं अन्तर्राष्ट्रिय प्रभाव बढ्दै जाने सम्भावना छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्धले यो वास्तविकताको पहिचान गरी साना देशको सार्वभौमिकताको रक्षासँगै बदलिँदो शक्तिहरूसँग नयाँ सामञ्जस्यता कायम गर्ने चुनौती बेहोर्नुपर्नेछ । 

मानवअधिकारको रक्षा, उदार र समानतामूलक, न्यायपूर्ण विश्वव्यवस्थाको प्रत्याभूति तथा १९४५ पछिका स्थापित विश्वव्यापी मान्यताहरूको जगेर्ना गर्दै संयुक्त राष्ट्रलगायत विश्व संस्थाहरूको पक्षमा युरोप स्पष्ट रूपमा रहेको देखिन्छ ।

तथापि फ्रान्स र जर्मनीको हालैको चुनावको नतिजामा दक्षिणपन्थी दलहरूको प्रभाव बढेको छ । अरू युरोपेली राष्ट्रहरूमा पनि दक्षिणपन्थ र ट्रम्पवादको बढ्दो लोकप्रियताले युरोपेली दृष्टिकोण फेरिँदै जाने सम्भावना नकार्न सकिन्न । साथै, अमेरिकी सुरक्षाको घट्दो प्रत्याभूतिले युरोपले आफ्नो स्रोत र कूटनीतिक तथा रणनीतिक क्षमता आन्तरिक सुरक्षातर्फ मोड्ने सम्भावना बढेको छ । यसले गर्दा नेपालले पाउने गरेको साधन, स्रोत तथा कूटनीतिक समर्थनहरूमा शिथिलता र ह्रास आउने जोखिम बढेको छ । 

जापान, दक्षिण कोरिया, दक्षिण पूर्वी एसियालगायतका विकसित र विकासशील देशहरूको आन्तरिक स्रोतसाधन र कूटनीतिक क्षमताको प्राथमिकीकरणमा पनि परिवर्तन आउने सम्भावना छ । यी देशहरूले युरोपेली देशहरूझैं आफ्नो आन्तरिक सुरक्षा र महसुल युद्ध (ट्यारिफ वार) को बढ्दो जोखिम बेहोर्न स्रोत र शक्ति परिचालन गर्दा नेपालजस्ता साना देशहरू ओझेलमा पर्दै जाने सम्भावना छ ।

दक्षिण एसियाली सहयोग संगठन (सार्क) निष्क्रिय अवस्थामा छ । सबैतिर ठूला शक्तिको बोलबाला बढ्दै गएपछि संयुक्त राष्ट्रसंघलगायत क्षेत्रीय संगठनहरूमा नेपालजस्तो साना देशहरूको आवाज क्षीण हुँदै जाने खतरा बढ्दो छ । 

नरेन्द्र मोदीको नेतृत्वमा भारतले ‘छिमेक पहिला’ नीति अपनाएको भनेको भए पनि व्यहारमा सो देखिँदैन । बंगलादेश, श्रीलंका, माल्दिभ्सलगायतका देशहरू भारतसँग टाढिँदै गएका देखिन्छन् । हाम्रा प्रधानमन्त्रीको भारत भ्रमण हुन नसकिरहेको अवस्थाले नेपाल भारतबीचको कूटनीतिक सम्बन्ध चिसो रहेको चर्चा छ । नेपाल–भारत व्यापार घाटा र भूराजनीतिक जटिलताहरूले गर्दा नेपालको भारतमाथिको निर्भरता घट्ने सम्भावना न्यून छ । ट्रम्पको उदयले भारतीय दक्षिणपन्थी सत्ताको एउटा तप्का हौसिएको देखिन्छ । यद्यपि अमेरिकी महसुल युद्ध र कडा आप्रवासन नीतिको प्रभाव भारतमाथि पनि पर्ने देखिन्छ । 

नेपाली राजनीतिका विभिन्न अगुवाहरू, पुरातन राजावादी र हिन्दुवादी शक्तिहरूको भारतीय राजनीति र सत्तातन्त्रका विविध खेमासँगको हिमचिमले हाम्रो आन्तरिक राजनीति र सत्ताव्यवस्थामा बेलाबखत खिचातानी देखाइरहेको परिदृश्य कुनै नौलो होइन ।

यो समग्र अन्तर्राष्ट्रिय जटिलता, भत्किँदो विश्वव्यवस्था र अन्तर्राष्ट्रिय संस्थाहरूको साखको क्षयीकरणले पार्ने नकारात्मक प्रभावबाट बच्न तथा नेपालको हित प्रवर्द्धन र राष्ट्रिय स्वार्थको रक्षाका लागि सबै आन्तरिक शक्तिहरू बढी संवेदनशील हुनुपर्छ । त्यति मात्र होइन, एकअर्कासँग नजिक आई राष्ट्रिय संस्थाहरूलाई सुदृढ बनाउन एवं आन्तरिक सवलीकरणतर्फ जोड दिनुपर्ने स्थिति छ । 

कुबेलाको किचलो र जननिराशा

राष्ट्रिय स्वार्थको रक्षाका लागि नेपालका राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता भए पनि वास्तविकता त्यसको विपरीत छ । चैत लागेदेखि नै राजावादी र पुरातनवादी शक्तिहरूले आन्दोलनको घोषणा गरेका छन् र सडकमा उत्रिने तथा जनआन्दोलन गरी विद्यमान गणतान्त्रिक संघीय धर्मनिरपेक्ष शासन प्रणाली फ्याँक्नेसम्मका घोषणाहरू गर्दै छन् ।

राजा फर्काउने, संघीयता खारेज गर्ने र नागरिकलाई फेरि रैती बनाउने तथा सनातन हिन्दु राष्ट्र घोषणा गरी निहित स्वार्थसिद्ध गर्ने यिनको मनसुवा छ । त्यसको प्रतिकारमा समाजवादी मोर्चालगायतका राजनीतिक शक्तिहरूले जनतामा जाने र आन्दोलन गर्ने घोषणा गर्दै छन् । प्रतिपक्षमा रहेको एउटा महत्त्वपूर्ण राजनीतिक दल माओवादी केन्द्र वर्तमान सरकारको हरेक कदमको पाइला–पाइलामा विरोध गर्दै हिँडेको छ ।

संघीय गणतान्त्रिक संविधान मान्ने तर सरकारमा नरहेका र सत्ताधारी दलहरूकै सत्ताबाहिर रहेका कतिपय नेताहरूले सरकारको अकर्मण्यता, सुशासनको अभाव एवं नागरिकलाई छरितो सेवा प्रदान गर्न नसकेका कारण राजावादी पुरातन शक्तिहरू बलियो हुँदै गएको निचोडसहित जनमानसमा प्रस्तुत हुँदै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षले सहकारी संस्थाहरूको रकम अपचलनको मुद्दा खेपिरहेकाले सो पार्टीको विरोधको धार प्रखर हुँदै गएको छ । 

विरोधका बाबजुद सरकारले यति नै बेला कहिले अध्यादेशहरूद्वारा शासन लाद्न खोजेको छ भने कहिले ती अध्यादेशको प्रतिरक्षामा राजनीतिक परिचालनमा समय कटाउँदै छ । त्यतिले नपुगेर पूर्वविशिष्ट व्यक्तिहरूको सेवासुविधासम्बन्धी विधेयक र सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकहरू चर्चामा ल्याएर थप राजनीतिक अस्थिरता निम्त्याउँदै छ ।

संविधानको भावनाअनुरूप संघीयताको सही कार्यान्वयन, अधिकारको निक्षेपण, सुशासनको प्रत्याभूति र सूचना प्रविधिको प्रयोग गरी नागरिकलाई दैनिकीमा सहयोग पुग्ने गरी छरितो र प्रभावकारी सेवा प्रवाह वा जनधनको सुरक्षाका साथै सार्वजनिक खर्चमा तत्कालै वृद्धि ल्याई विकास निर्माणका कार्यहरू सम्पन्न गरी नतिजा देखाउने कुरा त भाषणहरूमा मात्रै बिलाउँदै गएको छ । जनतामा निराशाको भाष्य सिर्जना गर्न सरकार स्वयं उद्यत रहेको आभास मिल्छ ।

नेपाललाई सधैं कमजोर र अस्थिर बनाइराख्ने र सोबाट फाइदा उठाउन चाहने देशीविदेशी शक्तिहरू, खासगरी पूर्वराजा ज्ञानेन्द्र शाह र तिनका स्वार्थसमूहको कुत्सित चलखेल बढेकै बेला प्यान्डोरा बाकस खोल्ने गरी संविधान संशोधनको बेमौसमी राजनीतिक खेती पनि यही बेला सत्ता गठबन्धनले थालेको छ । यद्यपि यो चर्चा अहिले केही सुस्ताएको देखिन्छ ।

जोखिम घटाउने उपाय 

अमेरिका, युरोप, चीन, भारत, दक्षिण–पूर्वी एसिया, मध्यपूर्व र दक्षिण एसियामा सबैतिर देखिएको बढ्दो चिन्ता, राष्ट्रवाद, भत्किँदो विश्वव्यवस्था र अन्तर्राष्ट्रिय संस्थाहरूको साखको क्षयीकरण एवं नयाँ मान्यता र शक्तिहरूको उदयले असर पर्न सक्छ । त्यसैले तत्काल पर्ने असरहरू, राष्ट्रिय सुरक्षामा पर्ने प्रभाव तथा स्रोतसाधनको परिचालनमा देखिएको चुनौतीहरूबारे सरकार र सरोकारवाला संस्थाहरूले समीक्षा गरी बदलिँदो अवस्थाको निरन्तर आँकलन गर्नुपर्छ । अस्थिरताको जोखिम घटाई राष्ट्रिय हितहरूको प्रवर्द्धन गर्न निम्न सुझाव छन् ः 

१. अमेरिका, रुस युरोप, चीन र भारतबीचको शक्ति सन्तुलनको सूक्ष्म अध्ययन गर्दै नेपाली हितअनुकूल हुने गरी परराष्ट्रनीति र वैदेशिक सम्बन्धका रणनीतिहरू परिमार्जन गरिनुपर्छ । अमेरिकी सहायतामा कटौती र त्यहाँको नयाँ आप्रवासन नीतिको समीक्षा गरी वैकल्पिक उपायहरूको खोजी तथा फर्केका नागरिकको पुनर्बासका कार्यक्रम ल्याइनुपर्छ । साना राष्ट्रहरूको सुरक्षा, अन्तर्राष्ट्रिय न्याय, मानवअधिकारको प्रत्याभूति, वातावरण संरक्षण तथा अन्तर्राष्ट्रिय मानक संस्थाहरूको सबलीकरणका लागि समान दृष्टिकोण राख्ने देशहरू र खास गरी नेपालजस्तै भूराजनीति रहेका साना देशहरूको समूहमा क्रियाशील भई नेपाली हितको अन्तर्राष्ट्रियजगत्मा रक्षा गरिनुपर्छ । 

२. आन्तरिक स्थिरता र समृद्धि प्रवर्द्धनका लागि सार्वभौम नागरिकको अधिकारप्रति सचेत र गणतान्त्रिक शासन प्रणालीसँग आबद्ध सबै राजनीतिक दल, राजनीतिक शक्ति एवं नागरिकको जनजीविकामा चासो राख्ने सामाजिक संस्थाहरूबीच निरन्तर संवादको संस्कृति र पारदर्शी एवं जिम्मेवारीपूर्ण राजनीतिक संस्कार बसाउनुपर्छ ।

संविधान संशोधनको अनायास चर्चा चलाइरहने वा ठूला राजनीतिक वाचाहरू गरी जनमानसमा उत्तेजना फैलाइरहनुभन्दा चैते आन्दोलनका भरमा सत्तारोहण गर्ने र नागरिक अधिकार खोसी गणतन्त्र मास्न चाहने राजावादी स्वार्थसमूहको सपनालाई चकनाचुर पारी जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा ध्यान दिनुपर्छ ।

समावेशी विकास, संघीयताको सही कार्यान्वयन, स्थानीय सरकारको सबलीकरण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा विकास–निर्माणका आयोजनाहरूको तीव्र कार्यान्वयन र सेवा प्रवाहमा सुधारका विषयहरूमा राजनीतिक सहमतिको खोजीका लागि प्रयास गरियो भने राष्ट्रिय राजनीतिमा स्थिरता पनि आउनेछ । जनबलको समर्थन हासिल गरी राष्ट्रिय हितको प्रवर्द्धनमा सहयोग पनि पुग्नेछ । 

३. राष्ट्रिय नीतिहरूको निर्माणमा सर्वपक्षीय सहभागिता सुनिश्चित गरिनुपर्छ । पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति नारामा मात्र होइन, दैनिक सदाचार पद्धति, सरकारको व्यवहार, विधेयकहरूको चरित्र र स्रोतसाधनको न्यायपूर्ण परिचालन तथा वितरणमा पनि झल्किनुपर्छ । सरकार आफूले गर्ने कामहरूबारे सर्वसाधारणलाई सुसूचित गर्ने र प्रभावकारी ढंगले सूचना प्रसार गरी जनताको मन जित्ने प्रयास गर्नुपर्छ । 

४. नेपाल सबै नेपालीको साझा थलो हो । यो भावनालाई आत्मसाथ गरी आफ्नै मुलुकलाई सधैं नकारात्मक सोचले हेर्ने र यहाँ केही हुन सक्दैन, जे हुँदै छ, सबै घोटाला मात्र हुँदै छ भन्ने रुग्ण मनस्थितिबाट बच्न सबैले जरुरी छ । सधैं आकर्षक नाराद्वारा उत्तेजित बनाई समाजभित्र अस्थिरता र असमान्जस्यता सिर्जना गरी फाइदा उठाउने निहित स्वार्थसमूहहरूको प्रभावबाट मुक्त राख्नुपर्छ । सकारात्मक र स्वतन्त्र नेपाली चेतनाको निर्माण गर्न हामी नागरिक आफैंले सक्छौं, यो आत्मविश्वास जगाउन आवश्यक छ ।

लोकतन्त्रको रक्षा सबै नागरिकको सचेतना र निरन्तर पहरेदारीले मात्र सम्भव छ । सबै नागरिकका लागि समान अवसर र समावेशी सम्भावना खोज्ने, पहिचानको सम्मान गर्ने तथा व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मूल सडकमा सबै दलीय विचारहरू र निजी आस्थाहरू समेटिन्छन् । तर व्यक्ति पूजा गर्ने मसिना स्वार्थी गल्लीमा आम नागरिक अटाउँदैनन् ।

नेपाली राष्ट्रिय हितको रक्षा गर्न सकारात्मक सोचसहित सबै नागरिकसँग ससम्मान संवाद गर्ने र सहमति खोज्ने संघीय गणतन्त्रात्मक व्यवस्थालाई सबै नागरिकको माया र मलजलको खाँचो छ । यो विग्रह खोज्ने होइन, स्वस्थ मनले नजिक आउन र नेपाली हितको रक्षा गर्न पारस्परिक संवादलाई निरन्तरता दिने र समृद्धिको समावेशी बाटोहरू खोज्ने समय हो । 

विद्याधर मल्लिक मल्लिक नेपाल शान्ति प्रतिष्ठानका अध्यक्ष हुन्।

Link copied successfully