कमजोर र अस्थिर सरकारको फाइदा उठाउँदै ठूला भ्रष्टाचारीहरूले भ्रष्टाचारको रकम देश बाहिर पुर्याउने, उतै लगानी गर्ने वा शुद्धीकरण गर्दै फेरि नेपाल भित्र्याउने गैरकानुनी धन्दा मौलाउँदै गएको देखिन्छ
नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी जहाज खरिद गर्दाको घूस नेपाल बाहिरै लेनदेन भयो । पुस १८ मा कान्तिपुर दैनिकमा प्रकाशित एक समाचारअनुसार घूसमध्येको ४१ लाख ४० हजार अमेरिकी डलर सिंगापुर र दुबईलगायत देशमा व्यवस्थापन गरिएको थियो ।
अर्को एक समाचारअनुसार नेपाल र दक्षिण अफ्रिकामा जहाज बिक्रीको ठेक्का लिन एएआर कर्प नामक कम्पनीले दुवै देशका सरकारी अधिकारीहरूलाई घूस खुवाएको अभियोग पुष्टि भएपछि अमेरिकी अदालतले उक्त कम्पनीलाई ५५ मिलियन डलर जरिवाना गर्ने फैसलासमेत गर्यो ।
यसैगरी, नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलले सूचना प्रविधि खरिदसम्बन्धी ठेक्कापट्टाको घूस देशबाहिर बुझेका र यस्तो घूसको रकम सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा जम्मा गरेको अख्तियारको अनुसन्धानको क्रममा भेटिएको थियो । पौडेलले हुन्डीको प्रयोग गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै अख्तियारले उनीविरुद्ध २३ करोड ७५ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति जोडेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यसबारेमा विशेष अदालतले उक्त रकमको विस्तृत विवरण उपलब्ध गराउन आदेशसमेत दिएको छ ।
भर्खरै सार्वजनिक भएका माथि उल्लेखित घटनालाई मात्रै मिहिन रूपमा विश्लेषण गर्ने हो भने पछिल्लो समय भ्रष्टाचारजन्य क्रियाकलाप नेपालको सिमानाभित्र मात्र सीमित छैनन् । नेपालमा भ्रष्टाचार गरी आर्जित रकमको व्यवस्थापन संसारकै कम भ्रष्टाचार हुने सूचीमा रहेका स्वीट्जरल्यान्ड, सिंगापुरलगायतका देशमा हुन थालेको छ । अर्थात् भ्रष्टाचारले देशको सिमाना पार गरेको छ ।
यसबारेमा अख्तियार पनि जानकार देखिन्छ । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले २०८० साल असोजमा प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा ठूला प्रकृतिका भ्रष्टाचारको लेनदेन सिंगापुर, दुबई, हङकङलगायतका देशमा हुन थालेको बताएका थिए । उनले भ्रष्टाचारको बारेमा अनुसन्धान गर्ने क्रममा त्यस्ता देशहरूसँग सूचना आदानप्रदान गर्ने सम्झौता नभएका कारण आवश्यक प्रमाणहरू प्राप्त गर्न असहज भइरहेको समेत बताएका थिए ।
विभिन्न समयमा सार्वजनिक भइरहेका तथ्यहरूले नेपालबाट विदेशमा अवैध रूपमा रकम ओसारपसार भइरहेको देखाएको छ । भर्चुअल दुनियाँसँग अभ्यस्त व्यक्ति तथा संस्थाहरूले गैरकानुनी बाटोबाट विदेशी डलर कार्ड बनाई, हुन्डी वा मुद्रा तस्करीमार्फत विदेशमा पैसा पठाइरहेको देखिन्छ ।
फिनसिनको एक प्रतिवेदनअनुसार १४ जुलाई २०१४ देखि १९ जनवरी २०१६ को अवधिमा मात्रै ४ करोड ११ लाख ७६ हजार ५ सय ४ अमेरिकी डलर नेपालसहित विभिन्न देशमा अवैध रूपमा आदानप्रदान भएको थियो । यसरी नेपालबाट विदेश रकम पठाउनका लागि गैरकानुनी भर्चुअल कारोबारका विभिन्न तथ्यहरू सार्वजनिक भएका थिए ।
नेपालीले अवैध रूपमा ठूलो रकम स्विस बैंकमा जम्मा गरेका तथ्यहरू समेत सार्वजनिक भएका छन् । स्विस नेसनल बैंकको तथ्यांकअनुसार सन् १९९६ मा १ अर्ब ४६ करोड, सन् १९९७ मा १ अर्ब ८६ करोड, सन् १९९८ मा २ अर्ब १८ करोड, सन् १९९९ मा १ अर्ब ८४ करोड र सन् २००० मा २ अर्ब ३४ करोड रुपैयाँ जम्मा भएको देखिन्छ ।
स्विस बैंकमा बढ्दै गएको नेपालीको बचतलाई मात्र हेर्दा र बेलाबखत सार्वजनिक भइरहेका विभिन्न घटनाक्रमहरूको अध्ययन गर्दा आर्थिक अनियमितता तथा भ्रष्टाचारका लेनदेनका घटनाहरू देशमा नभई देश बाहिर मौलाउन थालेको छ । भ्रष्टाचारका ‘डिल’ नेपाल बाहिर हुन थालेका छन् । भ्रष्टाचारले सीमा पार गरेको तथ्य देखाउने अर्को उदाहरण पानामा पेपर्स हो । २०७२ सालमा सार्वजनिक पानामा पेपर्समा संसारभरका विभिन्न व्यक्तिहरूले लुकाएको अवैध सम्पत्तिका बारेमा तथ्यहरू सार्वजनिक भएका थिए । अन्तर्राष्ट्रिय खोज पत्रकार समूहले सार्वजनिक गरेको उक्त तथ्यमा स्वीट्जरल्यान्डका बैंकमा नेपालीको ५ अर्ब ४० करोड रुपैयाँ रहेको तथ्य खुलासा गरेको थियो । यसैगरी अन्तर्राष्ट्रिय खोज पत्रकारहरूसँगकै सहकार्यमा केही वर्ष अगाडि खोज पत्रकारिता केन्द्रले नेपालीको स्विस नेसनल बैंकमा मात्रै ५२ अर्बभन्दा बढी रकम जम्मा भएको तथ्य सार्वजनिकसमेत गरेको थियो ।
नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ का अनुसार कुनै पनि नेपाली नागरिकले विदेशमा लगानी गर्न र विदेशी बैंकमा पैसा जम्मा गर्न पाउँदैनन् । तर नेपालका कतिपय व्यावसायिक घरानाले कर छलीका लागि अनुकूल मानिने देशहरूमा लगानी गरेका छन् ।
खोज पत्रकारिता केन्द्रले वि.सं. २०७५ मा प्रकाशित गरेको एक अध्ययनले अनौपचारिक माध्यमबाट नेपालको सम्पत्ति विदेश पुर्याउने र त्यहाँ कम्पनी खडा गरी ती कम्पनीमार्फत फेरि प्रत्यक्ष वैदेशिक लगानी भन्दै नेपालमा पैसा ल्याएर सम्पत्ति शुद्धीकरण गर्ने कार्यसमेत भइरहेको तथ्य सार्वजनिक गरेको थियो ।
यस्ता कार्यहरूमा नेपालका विभिन्न उच्चपदस्थ व्यक्तिहरूको समेत संलग्नता रहेको तथ्य विभिन्न समयमा सार्वजनिक भइरहेका छन् । नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको एउटा निर्णयका कारण एक अर्ब ९२ करोड रुपैयाँ शंकास्पद रूपमा देशबाट बाहिरिएको थियो । यसबारेमा बैंकको सञ्चालक समितिले अनुसन्धान गरी १८ कात्तिक २०७६ मा श्रेष्ठलाई निलम्बन गरेको थियो । यसपछि श्रेष्ठमाथि छानबिन गर्न समिति गठन भएको थियो । उक्त समितिले श्रेष्ठ सम्पत्ति शुद्धीकरणको शंकास्पद क्रियाकलापमा संलग्न रहेको भन्दै कारबाहीका लागि नेपाल सरकारले निर्णय गर्नुपर्ने सिफारिस गरेको थियो । तर ३ माघ २०७६ बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कारबाही गर्नु नपर्ने भनी उन्मुक्ति दिई पदबहाल गराएको थियो ।
तथ्यले भन्छ, नेपालमा सरकार, निजी क्षेत्र, बहुराष्ट्रिय कम्पनीहरू, गैरसरकारी संघसंस्थालगायतका निकायहरू बीचमा हुने अनैतिक लेनदेन, आर्थिक अपराध तथा भ्रष्टाचारका लेनदेनका घटनाहरू देश बाहिर हुन थालेका छन् । यसले नेपालको समग्र आर्थिक क्षेत्रलाई नकारात्मक असर पुर्याइरहेको छ । सीमापार हुने भ्रष्टाचारजन्य लेनदेनलाई नेपालको विद्यमान भ्रष्टाचार नियन्त्रणसम्बन्धी ऐनले नियन्त्रण गर्न सक्ने अवस्थासमेत छैन । यसको पछाडिका केही कारण छन् ।
पहिलो, विश्वव्यापीकरणले देशहरू बीचको लगानी, व्यापार तथा प्रविधिको हस्तान्तरण तथा सूचना प्रविधिको तीव्र विस्तारका कारण अन्तरदेशीय भ्रष्टाचारका अवसरहरू सिर्जना भएका छन् । नेपालको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुनले सीमापारको भ्रष्टाचारका लेनदेन नियन्त्रण गर्नका लागि स्पष्ट संस्थागत व्यवस्था गर्न सकेको छैन । यसैगरी यस्ता कारोबार भइरहेका र हुन सक्ने सम्भावित देशहरूसँग सूचना आदानप्रदानका लागि आवश्यक पर्ने संस्थागत र कानुनी सम्झौतासमेत हुन सकेको छैन । जसले गर्दा गैरकानुनी रूपमा सम्पत्ति लुकाउन सहज हुने भएका कारण ठूला भ्रष्टाचारका लेनदेन देश बाहिरै हुने गरेका छन् ।
दोस्रो, डिजिटल प्रविधिको उपयोग हो । डिजिटल सूचना प्रविधिको तीव्रतर विकासका कारण पैसाको ओसारपसारसमेत निकै सहज बनेको छ । यस्तो सूचना प्रविधिको दुरुपयोग गर्दै देशभित्र अनियमित तवरले कमाएको कालो धन अवैध रूपमा देश बाहिर पुर्याउने क्रम मौलाएर गएको छ । मूलतः अनलाइन बैंकिङ, मनी ट्रान्सफर सेवा, क्रिप्टोकरेन्सी, हुन्डी, मुद्रा तस्करीलगायतका माध्यमहरूको उपयोग गरी भ्रष्टाचारीहरूले धनलाई अवैध रूपमा देश बाहिर पुर्याइरहेका छन् । कमजोर कानुन र संस्थागत प्रणालीका कारण सूचना प्रविधिको माध्यमबाट ओसारपसार भइरहेको छ ।
तेस्रो, विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनको अभाव हो । नेपालमा भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा विद्यमान कानुनी तथा संस्थागत संरचना, अन्तरदेशीय सहकार्य तथा सूचना आदानप्रदानको प्रणालीसमेत कमजोर छ । जसका कारण नेपालमा भएका भ्रष्टाचारको अन्तर्राष्ट्रिय रूपमा लेनदेन गर्ने, विदेशमै डिल गर्ने र उतै रकमको कारोबार गर्ने क्रम मौलाएको छ ।
चौथो, राजनीतिक इच्छाशक्तिको अभाव हो । भ्रष्टाचार नियन्त्रणका लागि सबैभन्दा आवश्यक पर्ने सवाल बलियो राजनीतिक इच्छाशक्ति हो । तर नेपालका राजनीतिक दलहरू भ्रष्टाचार नियन्त्रणको सम्बन्धमा संवेदनशील छैनन् । दलहरू भ्रष्टाचार नियन्त्रणप्रति उदासीन छन् । जसले गर्दा सीमापार हुने भ्रष्टाचारजन्य क्रियाकलाप नियन्त्रणका लागि देशदेश बीचमा स्थापित हुनुपर्ने सम्झौता तथा सहमतिका लागि पर्याप्त राजनीतिक तथा कूटनीतिक पहल हुन सकेको छैन । जसले सूचना आदानप्रदान लगायतका सवालमा समेत समस्या रहेको छ । यसलाई राजनीतिक अस्थिरताले थप मलजल गरिरहेको छ । कमजोर र अस्थिर सरकारको फाइदा उठाउँदै ठूला भ्रष्टाचारीहरूले भ्रष्टाचारको रकम देश बाहिर पुर्याउने, उतै लगानी गर्ने वा शुद्धीकरण गर्दै फेरि नेपाल भित्र्याउने गैरकानुनी धन्दा मौलाउँदै गएको देखिन्छ ।
अब के गर्न सकिन्छ ?
भ्रष्टाचारको सीमापार कारोबार तथा लेनदेनलाई कारबाहीको दायराभित्र ल्याउनका लागि केही कार्य गर्नु आवश्यक छ । पहिलो, भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि २००४ को प्रभावकारी कार्यान्वयन आवश्यक छ । महासन्धिको परिच्छेद चारमा अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी व्यवस्था छ । जसअन्तर्गत धारा ४६ (१) मा राज्य पक्षहरूले महासन्धिमा व्यवस्था गरिएका कसुरहरूसँग सम्बन्धित अनुसन्धान, अभियोजन र न्यायिक कारबाहीमा यथासम्भव उदार रूपमा एकआपसमा पारस्परिक कानुनी सहायता प्रदान गर्नेछन् भन्ने व्यवस्था छ । नेपाल सरकारले अन्य विभिन्न देशहरूसँग यस किसिमको पारस्परिक कानुनी सहायता प्रदान गर्नेसम्बन्धी आवश्यक द्विपक्षीय सन्धि तथा त्यस्ता देशहरूसँग सूचना आदानप्रदान गर्ने सम्झौता गर्नु आवश्यक छ । महासन्धिको प्रभावकारी कार्यान्वयन तथा विश्वव्यापी सहकार्यमा साझा र संगठित लडाइँ लड्दा त्यसले सीमापार हुने भ्रष्टाचारजन्य क्रियाकलाप तथा लेनदेनलगायतबाट आर्जित लुकाएको सम्पत्ति फिर्ता ल्याउन सहज हुन्छ ।
दोस्रो, सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउनुपर्दछ । खासगरी ठूलो रकमका सार्वजनिक खरिदका योजनाहरू जस्तै– हवाईजहाज, स्वास्थ्य सामग्रीहरूको खरिद वा अन्य खरिद प्रक्रियालाई पारदर्शी बनाउनका लागि बलियो कानुनी तथा संस्थागत प्रबन्ध गरिनुपर्दछ । यस्ता खरिदको सम्पूर्ण विवरण, खरिद प्रक्रियामा संलग्न अधिकारीहरू तथा खरिद समितिका सदस्यहरू, खरिदलगायतका सम्पूर्ण प्रक्रियाका बारेमा आमनागरिक तथा जानकार व्यक्तिले सहजै सूचना प्राप्त गर्ने गरी डिजिटाइज्ड गर्ने तथा पारदर्शी बनाउनुपर्दछ । यसले नागरिक स्वयंले पहरेदारको भूमिका निर्वाह गर्न सक्छन् ।
तेस्रो, सीमापार सहकार्यलाई थप प्रभावकारी तथा सबल बनाउनु आवश्यक छ । सीमापार भ्रष्टाचार नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउनका लागि अन्तर्राष्ट्रिय सहकार्य तथा समन्वय अत्यावश्यक छ । इन्टरपोल, संयुक्त राष्ट्रसंघ जस्ता विभिन्न संस्थाहरूले पारस्परिक सहयोग प्रणालीलाई थप सबल र प्रभावकारी बनाउँदै सीमापार हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई कानुनी दायराभित्र ल्याउनुपर्दछ ।
चौथो, नागरिक समाजको सशक्तीकरण तथा प्रभावकारी नागरिक संलग्नताको सुनिश्चितता गरिनुपर्दछ । देशभित्र मात्र होइन सीमापार हुने भ्रष्टाचारको नियन्त्रणका लागि नागरिकको भूमिकालाई प्रभावकारी तथा बलियो बनाउनु जरुरी छ । नागरिकहरूले सूचना प्रवाह, उजुरी र निगरानीलगायतका कार्य गर्दै भ्रष्टाचार नियन्त्रणका लागि महत्त्वपूर्ण योगदान गर्न सक्छन् ।
अन्त्यमा, भ्रष्टाचारको अन्तर्राष्ट्रिय सञ्जाललाई तोड्नका लागि सम्पूर्ण पक्षको एकीकृत प्रयास, प्रभावकारी कानुनी व्यवस्था तथा सबल संस्थागत संरचना जरुरी छ । यसका लागि सरकारले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि २००४ को प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने घरेलु कानुनको संशोधन, निर्माण, कानुनको प्रभावकारी कार्यान्वयन, नागरिक समाज, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूको साझा र संगठित प्रयास गरिनु आवश्यक छ ।
