लोकतन्त्र भर्सेस राजतन्त्र : बहस कि विभ्रम ? 

समस्या ऐनामा होइन, आफ्नो अनुहारमा भएको वास्तविकतालाई पार्टी र नेतृत्व पंक्तिले स्वीकार जति ढिलो गर्छ, त्यति बढी क्षति हुन्छ, यो कटु वास्तविकतालाई गणतन्त्रवादी तथा लोकतन्त्रवादीहरूले गम्भीरतापूर्वक आत्मसात् र आत्मसमीक्षा गर्नु अपरिहार्य छ

चैत्र ८, २०८१

गेजा शर्मा वाग्ले

Democracy vs Monarchy: Debate or Confusion?

संविधानसभाको ऐतिहासिक पहिलो बैठकले २०६५ जेठ १५ गते २४० वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र घोषणा गरेपछि पहिलो पटक राजधानीमा राजावादीहरूले गरेको शक्ति प्रदर्शनले गम्भीर राजनीतिक तरंग सिर्जना भएको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले ‘राष्ट्र जोगाउन आफूलाई सहयोग गर्न अपिल’ गरी काठमाडौं फर्किंदा गरिएको शक्ति प्रदर्शनले अर्थपूर्ण संकेत र सन्देश गरेको छ ।

 लामो राजनीतिक र प्राविधिक कोरियोग्राफी गरिएको प्रतीत हुने उक्त शक्ति प्रदर्शनले पूर्वराजा र राजावादीहरू अत्यन्त उत्साहित भएका छन् भने मूलधारका पार्टीहरू आवश्यकताभन्दा बढी प्रतिक्रियात्मक र प्रतिरक्षात्मक भएको देखिन्छ । अहिले राजावादी, दक्षिणपन्थी र पपुलिस्टहरू तथा मूलधारका पार्टीहरूले एक–अर्कालाई चुनौती दिँदै आरोप–प्रत्यारोप गरिरहेका छन् । माओवादी, समाजवादीलगायतका पार्टीको समाजवादी मोर्चाले त राजतन्त्रको विरुद्धमा तथा गणतन्त्रको पक्षमा १५ गते राजधानीमा अर्को शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।

के अहिले सामाजिक सञ्जाल र डिजिटल प्ल्याटफर्ममा चलिरहेको प्रचलित बहसजस्तै राजतन्त्र पुनःस्थापना सम्भव छ ? के जनताले गणतन्त्रको विकल्प खोजेकै हुन् ? के लोकतान्त्रिक गणतन्त्रभन्दा राजाको प्रत्यक्ष शासन उत्तम थियो ? के लोकतान्त्रिक कालमा राष्ट्रियता र राष्ट्रिय स्वार्थ कमजोर भएकै हो ? आर्थिक विकास नभएकै हो ? कुशासन र भ्रष्टाचारको दलदलमा देश फसेकै हो ? करिब ३० वर्षको राजतन्त्र र करिब ३५ वर्षको लोकतान्त्रिक कालका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा विकास र शासनका तथ्य र तथ्यांकले के संकेत गर्छन् ? यिनै तथ्य र तथ्यांकका आधारमा यस्ता अन्तर्विरोधपूर्ण र जटिल प्रश्नहरूको निरुपण गर्न सुसूचित बहस अपरिहार्य भएको छ । 

लोकतन्त्र र राजतन्त्रको सहकार्य असफल 

राजाहरू १०४ वर्षसम्म राणाहरूका बन्दीजस्तै थिए । २००७ सालमा कांग्रेसको नेतृत्वमा भएको जनक्रान्तिबाट प्रजातन्त्र स्थापना भएपछि बल्ल राजतन्त्रको अस्तित्व पुनःस्थापित भएको थियो । तर २००७ मा प्रजातन्त्र स्थापना भएको घडीदेखि नै सक्रिय शासन गर्ने अभीष्ट भएकाले राजा त्रिभुवन र महेन्द्रले प्रजातन्त्रका विरुद्धमा षड्यन्त्र गर्दै आएका थिए ।

कांग्रेसका संस्थापक नेता बीपी कोइराला संवैधानिक राजतन्त्रवादी थिए । संवैधानिक राजतन्त्र र बहुदलीय लोकतन्त्रका लागि उनले जीवनको अन्तिम घडीसम्म प्रयास गरे । तर असफल भए । बीपीजस्तो उदार लोकतन्त्रवादी र संवैधानिक राजतन्त्रवादी नेतालाई जेल हालेर २०१७ साल पुस १ गते राजा महेन्द्रले लोकतन्त्रविरुद्ध ‘कू’ गरेका थिए । यसरी अधिनायकवादी महेन्द्रले लोकतन्त्रको अपहरण गरी निरंकुश पञ्चायती शासनको सूत्रपात गरेका थिए । 

२०४६ सालको जनआन्दोलनबाट लोकतन्त्र पुनःस्थापना भएपछि पनि पुनः संवैधानिक राजतन्त्र र बहुदलीय लोकतान्त्रिक प्रणाली नै अनुसरण गरियो । तर २०४६ मा लोकतन्त्र पुनःस्थापना भएको घडीदेखि नै पुनः दरबारले निरन्तर लोकतन्त्र असफल बनाउने षड्यन्त्र गर्दै आइरहेको थियो । सोही निरन्तर षड्यन्त्रको प्रतिफल स्वरूप २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले लोकतान्त्रिक प्रणाली अन्त्य गरी सक्रिय राजतन्त्रात्मक शासन प्रारम्भ गरेका थिए ।

राजनीतिक पार्टीका नेता–कार्यकर्तालाई बन्दी बनाई राजनीतिक अधिकार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, मानवअधिकारलगायत नेपाली नागरिकका सम्पूर्ण अधिकार निलम्बन गरी निरंकुश शासन चलाएको वास्तविकता घाम जतिकै छर्लङ्ग छ । उक्त यथार्थका आधारमा विश्लेषण गर्दा जनताको बलिदानीपूर्ण संघर्षका कारणले स्थापना भएको लोकतन्त्र दुवै पटक स्वयं राजाकै अधिनायकवादी र निरंकुश अभीष्टको कारणले दुर्घटनाग्रस्त भएको थियो, राजनीतिक दलहरूको कारणले होइन । संवैधानिक राजतन्त्र र बहुदलीय लोकतन्त्रको सहयात्रा स्वयं राजाकै कारण असफल भएको थियो ।

नेपालको सन्दर्भमा लोकतन्त्र र संवैधानिक राजतन्त्रको सहकार्यको सिद्धान्त र व्यवहार दुवै दृष्टिले असफल भयो । २०६५ सालमा गणतन्त्र स्थापना हुनुमा पनि पूर्वराजा ज्ञानेन्द्रकै भूमिका जिम्मेवार छ । त्यसैले राजतन्त्रको पुनःस्थापना आवश्यकता र सम्भावना पनि छैन तथा नेपाली जनताको चाहना पनि होइन । बेलायत, जापान, नर्वे, स्विडेन, बेल्जियमलगायत समुन्नत र समृद्ध लोकतान्त्रिक देशहरूको उदाहरण दिँदै नेपालमा पनि राजतन्त्र आवश्यक भएको दाबी राजावादीहरूले गर्दै आएका छन् । तर राजतन्त्रको कारणले होइन, लोकतान्त्रिक प्रणाली र सरकारको उपयुक्त नीतिका कारणले ती देश समुन्नत भएका हुन् । ती देशका राजाले लोकतन्त्रविरुद्ध षड्यन्त्र नगरी सेरेमोनियल राष्ट्र प्रमुखका रूपमा रहेका छन् । जहाँ लोकतन्त्रविरुद्ध षड्यन्त्र गरे, त्यहाँ फ्रान्समा जस्तै गणतन्त्र स्थापना भएको थियो । 

को राष्ट्रवादी, को राष्ट्रघाती ?

राजतन्त्रवादी, दक्षिणपन्थी, प्रतिगामी र कन्जरभेटिभ कित्ताबाट दुइटा संगीन आरोप लगाइँदै आइएको छ । पहिलो, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राष्ट्रियता कमजोर हुँदै आएको छ र देश विखण्डनतर्फ उन्मुख हुँदै गएको छ । दोस्रो, सरकार र दलहरूले राष्ट्रहित तथा राष्ट्रिय स्वार्थको संरक्षण गर्न नसकेर विदेशीसँग आत्मसमर्पण गरी राष्ट्रघात गरेका छन् । उक्त आरोपबारे राष्ट्रियता र राष्ट्रहितको परिभाषा, ऐतिहासिक तथ्य र राजतन्त्र तथा लोकतान्त्रिक कालका उपलब्धिका आधारमा वस्तुनिष्ठ अध्ययन–अनुसन्धान गर्नु आवश्यक छ ।

सुरु गरौं, राष्ट्रियताको परिभाषाबाट । एक्काइसौं शताब्दीजस्तो उदार, बहुलवादी र भूमण्डलीकरणको युगमा भौगोलिक सीमा र राज्यकेन्द्रित राष्ट्रियताको परम्परागत परिभाषा परिवर्तन भएको छ । तर नेपालमा आज पनि परम्परागत, संकीर्ण र अनुदारवादी परिभाषा प्रचलित भएको कारणले यस्तो विवाद भइरहेको छ । यस्तो विवादास्पद बहसको निरुपण गर्न सबैभन्दा पहिले राष्ट्रियताको नयाँ परिभाषा आत्मसात गर्नु आवश्यक छ । नयाँ परिभाषाअनुसार राष्ट्रियता भन्नाले केवल भूगोल र सीमा मात्रै होइन, जनता पनि उत्तिकै महत्त्वपूर्ण हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा रूपान्तरण भइसकेपछि नेपाल अब राष्ट्र (नेसन) वा राज्य (स्टेट) होइन, राष्ट्र–राज्य (नेसन–स्टेट) भएको छ । राजनीतिशास्त्रको परिभाषाअनुसार राष्ट्र भनेको जातीय तथा सांस्कृतिक इकाइ हो भने राज्य भनेको राजनीतिक तथा प्रशासनिक इकाइ हो । यसैगरी, राष्ट्र–राज्य भनेको जातीय तथा सांस्कृतिक र राजनीतिक तथा प्रशासनिक इकाइको विकासबाट निर्मित समष्टिगत, उन्नत र उदार राज्यको अवधारणा हो । त्यसैले नेपालजस्तो बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक समाजको बहुलता र विविधतालाई आत्मसात् गर्दै जनतालाई भावनात्मक एकताको सूत्रमा आबद्ध गर्ने उदारवादी र समावेशी सिद्धान्त नै राष्ट्रियताको उपयुक्त परिभाषा हो । 

राजावादीहरूले राजा महेन्द्रलाई सबैभन्दा राष्ट्रवादी भनी दाबी गर्दै आइरहेका छन् । तर सन् १९६२ मा राजा महेन्द्रले नै नेपाली भूमि कालापानीमा भारतलाई सैन्य ब्यारेक राख्न अनुमति दिएर राष्ट्रघात गरेका थिए । २०१७ साल मा ‘कु’ गरी लादिएको पञ्चायती व्यवस्था टिकाउने उद्देश्यले सार्वभौमिकता र भौगोलिक अखण्डतामा समेत उनले सम्झौता गरेको तथ्य घामजस्तै छर्लङ्ग छ ।

यसैगरी भारतसँग सन् १९६५ को हतियारसम्बन्धी गोप्यसन्धि पनि महेन्द्रकै कालमा भएको थियो । तर उनले भारतलाई सुम्पिएको भूमि कालापानी मात्रै होइन, लिम्पियाधुरा र लिपुलेकसमेत समाविष्ट गरी लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपालको नयाँ नक्सा जारी गरिएको हो । के राजाले भारतलाई सुम्पिएको नेपाली भूमि समाविष्ट गरी नयाँ नक्सा जारी गर्नु राष्ट्रघात हो ? नेपालको राष्ट्रहित, सीमा अतिक्रमण, राष्ट्रिय स्वार्थमा आधारित स्वतन्त्र र सन्तुलित विदेश नीति, असमान सन्धिलगायतका विषयहरू २०४६ मा लोकतन्त्र स्थापना भएपछि मात्रै राष्ट्रिय बहसको विषय भएका हुन् ।

भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय सुरक्षामाथि राजतन्त्र कालमा सम्झौता गरिएको रहेछ कि लोकतान्त्रिक कालमा ? सत्ता स्वार्थका लागि राष्ट्रघात राजाको प्रत्यक्ष शासनमा गरिएको रहेछ कि लोकतान्त्रिक कालमा ? राष्ट्रहित र राष्ट्रिय स्वार्थमा आँच राजाको कारणले आएको रहेछ कि लोकतान्त्रिक सरकारको कारणले ? लोकतान्त्रिक गणतन्त्रप्रति नकारात्मक भाष्य सिर्जना गर्न जतिसुकै प्रोपोगान्डा गरे पनि राष्ट्रियता कमजोर भएको छैन र राष्ट्रहित र राष्ट्रिय स्वार्थमा पनि सम्झौता गरिएको छैन ।

लोकतान्त्रिक कालखण्डमा नेपालको राष्ट्रियता थप सुदृढ भएको छ । राष्ट्रहित र राष्ट्रिय स्वार्थको थप सम्वर्द्धन र प्रवर्द्धन भएको छ । आजको युगमा राष्ट्रियताको प्रतीक वा पहरेदार राजा होइनन्, सार्वभौमसत्ता सम्पन्न जनता हुन् । राष्ट्रियताको त्रास र राष्ट्रवादको अतिरञ्जित नारा लगाएर जनताको भावनात्मक शोषण गरी सत्ताको व्यापार गर्ने युगको अन्त्य भइसकेको छ । 

लोकतन्त्र र राजतन्त्रकालीन उपलब्धि

राजनीतिक स्वतन्त्रता र लोकतान्त्रिक अधिकारका दृष्टिले त राजतन्त्र र लोकतान्त्रिक कालको तुलना गर्ने प्रश्नै भएन । आर्थिक–सामाजिक दृष्टिले पनि लोकतान्त्रिक कालमा उल्लेखनीय उपलब्धि भएको देखिन्छ । पञ्चायतको विरासतमा पाएको रुग्ण अर्थतन्त्र सबैभन्दा ठूलो चुनौती थियो । तर २०४८ सालदेखि कांग्रेस सरकारले अनुसरण गरेको उदार अर्थनीतिको कारणले अर्थतन्त्रले पुनर्जीवन पाएको थियो । विश्व बैंकका अनुसार २०४८ सालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या करिब ४९ प्रतिशत थियो तर अहिले करिब २० प्रतिशत छ ।

लोकतान्त्रिक प्रणालीद्वारा निर्वाचित सरकारलाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले सत्ता आफ्नो हातमा लिँदा प्रतिव्यक्ति औसत आय ५० अमेरिकी डलर थियो । ३० वर्ष लामो राजाको प्रत्यक्ष शासनमा प्रतिव्यक्ति आय केवल १३५ बढेर २०४७ सालमा १८५ डलर पुगेको थियो । त्यसैले राजतन्त्रकालमा नेपाल गरिब थियो र नेपाली जनता गरिबीमा कष्टपूर्ण जीवन बाँचेका थिए । केन्द्रीय तथ्यांक विभागका अनुसार २०७९ सालमा उल्लेखनीय रूपमा बढेर प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ पुगेको छ । 

२०४७ सालमा नेपालको मानव विकास सूचकांक ०.३९९ मात्रै थियो तर अहिले ०.६०१ पुगेको छ । २०४८ सालमा नेपालीको औसत आयु केवल ५४ वर्ष थियो तर अहिले ७१ वर्ष पुगेको छ । २०४८ सालमा साक्षरता प्रतिशत केवल ५० थियो तर अहिले ७६ प्रतिशत पुगेको छ । २०४८ सालमा केबल ३६ प्रतिशत जनसंख्यालाई खानेपानीको सुविधा पुगेको थियो तर अहिले ८८ प्रतिशत पुगेको छ । २०४८ सालमा माध्यमिक विद्यालयको संख्या केवल १ हजार ९ सय ५९ थियो तर अहिले १० हजार ६ सय ६४ पुगेको छ । २०४८ सालमा प्राथमिक विद्यालय भर्ना प्रतिशत ६४ थियो तर अहिले ९७ प्रतिशत पुगेको छ । २०४८ सालमा स्वास्थ्य चौकीको संख्या केवल १ हजार ९८ थियो तर अहिले ३ हजार ७ सय ९४ पुगेको छ ।

२०४८ सालमा ७ हजार ३ सय ३० किमि मात्रै सडक निर्माण भएको थियो तर अहिले ९८ हजार ४ सय ८८ किमि पुगेको छ । २०४८ सालमा कालोपत्रे र ग्राबेल गरी ४ हजार ६ सय १६ किमि सडक निर्माण भएको थियो तर अहिले ४३ हजार २ सय २६ किमि पुगेको छ । २०४८ सालमा केवल ९ प्रतिशत जनताको मात्रै विद्युत्मा पहुँच थियो तर अहिले ९५ प्रतिशत पुगेको छ ।

२०४८ सालमा केवल २ सय २७ मेगावाट विद्युत् उत्पादन भएको थियो तर अहिले ३ हजार मेगावाट विद्युत् उत्पादन भइसकेको छ भने करिब ३ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् । अन्तर्देशीय प्रसारण लाइन निर्माण तथा भारत र बंगलादेशसँग विद्युत् व्यापार सम्झौता भएपछि अब भारत र बंगलादेशलाई विद्युत् बेच्ने अवस्थामा पुगिसकेको छ । त्यसैले गरिबी न्यूनीकरण, आर्थिक विकास, मानव विकास, भौतिक पूर्वाधार र विद्युत्, टेलिकम, ब्यांकिङ तथा वित्तीय संस्थाहरूको विकासमा गुणात्मक फड्को मारेको राजतन्त्रकालमा होइन, लोकतान्त्रिक कालमा हो ।

२०४८ सालमा प्रत्यक्ष वैदेशिक लगानी करिब एक अर्ब थियो । तर तीस वर्षको अवधिमा ३२ गुणा वृद्धि भई अहिले वार्षिक ३२ अर्ब पुगेको छ । २०४८ सालमा २६ अर्बको अन्तर्राष्ट्रिय व्यापार बढेर अहिले २१ खर्ब पुगेको छ । यसैगरी सन् २०२६ मा नेपाल अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै छ । समुन्नति र आर्थिक विकासका दृष्टिले लोकतान्त्रिक कालखण्डको यो कोसेढुंगा हो । 

जनता सडकमा किन आए ?

राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै दृष्टिले लोकतान्त्रिक कालमा उल्लेखनीय उपलब्धि भए पनि गणतन्त्र स्थापनापछि पहिलो पटक जनता यसरी सडकमा किन उत्रिए ? भन्ने प्रश्न उठ्नु अस्वाभाविक भएन । समस्या केवल पूर्वराजा, राजावादी र राजतन्त्रकालमा मात्रै होइन, गणतन्त्रवादी, लोकतन्त्रवादी र लोकतान्त्रिककालमा पनि छ । यदि नभएको भए गणतन्त्र स्थापना भएको दुई दशक पनि नपुग्दै यति गम्भीर प्रश्नहरू उठ्ने थिएनन् । 

तर अहिलेको प्रायोजित र अतिरञ्जित भाष्यजस्तो लोकतान्त्रिक गणतन्त्रको विपक्षमा तथा राजतन्त्रको पक्षमा भएर जनता सडकमा आएका होइनन् । २०४६ सालपछिको लोकतान्त्रिक र २०६३ सालपछिको गणतान्त्रिक कालमा पटक–पटक अवसर पाएर पनि डेलिभरी गर्न नसकेको कारणले सरकार, मूलधारका पार्टी र शीर्ष नेतृत्वपंक्ति अत्यन्त अलोकप्रिय भएका छन् । यिनीहरूप्रति जनतामा असन्तुष्टि मात्रै होइन, व्यापक जनआक्रोश र वितृष्णासमेत छ । यही असन्तुष्टि, आक्रोश र वितृष्णाको संयुक्त प्रतिफल स्वरूप जनता सडकमा उत्रिएको देखिन्छ । जनता राजा र राजतन्त्रको पक्षमा भन्दा पनि सरकार, मूलधारका पार्टी र शीर्ष नेतृत्वपंक्तिको विपक्षमा छन् । त्यसैले यो गणतन्त्र, लोकतन्त्र र संविधानको असफलता होइन, सरकार, मूलधारका पार्टी र शीर्ष नेतृत्वपंक्तिको असफलता हो । 

मूलधारका पार्टीमा सुधार र रूपान्तरण भयो भने पूर्वराजा र राजावादी समस्या होइनन् । सरकार, मूलधारका पार्टी र शीर्ष नेतृत्वपंक्तिलाई सुधार, रूपान्तरण र डेलिभरीका लागि जनताको खबरदारी र चेतावनी हो । समस्या ऐनामा होइन, आफ्नो अनुहारमा भएको वास्तविकतालाई पार्टी र नेतृत्व पंक्तिले स्वीकार जति ढिलो गर्छ, त्यति बढी क्षति हुन्छ । यो कटु वास्तविकतालाई गणतन्त्रवादी तथा लोकतन्त्रवादीहरूले गम्भीरतापूर्वक आत्मसात र आत्मसमीक्षा गर्नु अपरिहार्य छ । तर मूलधारका पार्टीमा सुधार र रूपान्तरण भएन भने पूर्वराजा र राजतन्त्रवादी समस्या नभए पनि अन्य प्रकृतिका राजनीतिक संकट र चुनौतीहरू सिर्जना हुन सक्छन् र कल्पनातीत दुर्घटनासमेत हुन सक्ने पूर्वसंकेत देखिएको छ ।

पूर्वराजा र राजावादीको चाहना र योजनाअनुसार आन्दोलनको स्वरूप लिने सम्भावना छैन । यो पूर्वराजाको स्वागत र सरकारको विरोध गर्ने समूहको रूपमा सीमित रहनेछ । नवराज हुन् कि युवराज हुन्, राजेन्द्र हुन् कि कमल हुन् ? जसलाई शिखण्डी बनाए पनि कुनै सम्भावना छैन । यी पात्रहरू राजनीतिक दृष्टिले केवल शिखण्डी हुन् तर सारथि होइनन् । निर्मल निवासको नेपथ्यबाट गरिएको चलखेल र राजावादी र राप्रपामा देखिएको विवाद र विभाजनले राजावादीको अभियान थप कमजोर हुनेछ । 

शक्ति प्रदर्शन र जनसहभागिताको आयामबाट विश्लेषण गर्दा जनताको हिन्दु धर्मप्रतिको आस्था, राष्ट्रिय झन्डाप्रतिको भावनात्मक सम्बन्ध र राजा वीरेन्द्रको लोकप्रियतालाई रणनीतिक रूपमा उपयोग गर्ने नीति अख्तियार गरेको देखिन्छ । राजा वीरेन्द्रको सालिक अनावरण गरी काठमाडौं आएका ज्ञानेन्द्रको स्वागतमा केवल राप्रपा र राजावादीहरू मात्रै होइन, राष्ट्रिय झन्डासहित हिन्दुवादी संघसंस्थाहरूको सहभागिता अर्थपूर्ण छ । काठमाडौंका मेयर बालेन शाहले गत स्थानीय निर्वाचनमा राष्ट्रिय झन्डा प्रयोग गरी जनता विशेषगरी युवा पुस्तालाई आकर्षित गर्न रणनीतिक रूपमा सफल भएका थिए । अहिले पूर्वराजा र राजावादीले पनि त्यही रणनीति अख्तियार गरेको देखिन्छ ।

तर धर्म वा कुनै पनि मायावी आवरणमा प्रतिगमनको इन्द्रजाल फाले पनि जनता भ्रममा पर्ने सम्भावना छैन । जतिसुकै प्रायोजित शक्ति प्रदर्शन गरी जुनसुकै तान्त्रिक, योगी, महन्थ, प्रभुसँग आत्मसमर्पण गरे पनि राजतन्त्र पुनः स्थापना हुने सम्भावना छैन ।

पञ्चायतका प्रेतात्मा, दरबारका दास, अनुदारवादका अनुयायी र पपुलिज्मका प्रवक्ताहरूले लोकतान्त्रिक गणतन्त्र र संविधानको विरुद्धमा जतिसुकै षड्यन्त्र गरे पनि सफल हुने सम्भावना छैन । तर यो आकस्मिक रूपमा सिर्जना भएको संकट होइन, राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारका शृंखलाका कारणले जनतामा सिर्जना भएको जनआक्रोश हो । सडकमा शक्ति प्रदर्शन, राजनीतिक भाषण र गाली गरेर होइन, पूर्वराजा र राजावादीलाई जवाफ दिनुभन्दा पनि सरकार र पार्टीले डेलिभरीमार्फत जवाफ दिनुपर्‍यो । विश्वव्यापी रूपमा फैलिएको सरकारविरोधी, अनुदारवादी, दक्षिणपन्थी, पपुलिस्ट लहरको आंशिक प्रभाव नेपालमा पनि पर्नु अस्वाभाविक भएन । 

लोकतान्त्रिक तथा गणतान्त्रिक प्रणालीमा विकृति–विसंगति तथा समस्या नभएका होइनन्, छन् । तर लोकतान्त्रिक प्रणालीको अभ्यास र विकासको क्रममा सिर्जना भएका त्रुटि, कमजोरी र समस्या लोकतान्त्रिक प्रक्रियाबाटै समाधान हुन्छन् । केवल नेपालमा मात्रै होइन, बेलायत, अमेरिका, जापान, अस्ट्रेलिया, भारतजस्ता उत्कृष्ट र अनुकरणीय मानिएका लोकतान्त्रिक प्रणालीमा पनि विकृति–विसंगति तथा समस्या छन् । तर ती देशले पनि लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामार्फत नै ती समस्या समाधान गर्दै आएका छन् । 

 निष्कर्ष

जतिसुकै उतार–चढावपूर्ण र विवादित भए पनि राजनीति सकारात्मक दिशातर्फ उन्मुख छ । दक्षिणपन्थी, राजतन्त्रवादी तथा प्रतिगमनकारी कित्ताबाट जतिसुकै अतिरञ्जित प्रोपोगान्डा गरे पनि जनताले लोकतान्त्रिक गणतन्त्र र संविधानको विकल्प खोजेका छैनन् । लोकतन्त्रको विकल्प राजतन्त्र होइन र हुन सक्दैन । रैती र प्रजाबाट सार्वभौमसत्ता सम्पन्न भएका नेपाली नागरिक यदि, किन्तु, परन्तु, तर नभनी बिनाद्विविधा लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन् ।

लोकतन्त्रको विकल्प भनेको थप, उदार, प्रभावकारी र जनमूखी लोकतन्त्र हो । तर लोकतन्त्रको विकल्प राजतन्त्र, अधिनायकवाद, निरंकुशतावाद होइन । राजतन्त्र इतिहास हो, संघीय लोकतान्त्रिक गणतन्त्र वर्तमान हो र उन्नत लोकतन्त्र भविष्य हो । त्यसैले लोकतान्त्रिक प्रणाली र संविधानको विकास र सुदृढीकरण गर्दै जनताप्रति उत्तरदायी भएर राज्य सञ्चालन गरी सुशासन र डेलिभरीको प्रत्याभूति गर्ने सरकार, पार्टी र नेतृत्व नै आजको आवश्यकता हो । 

गेजा गेजा शर्मा वाग्ले राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका विषयमा लेख्छन् । उनी बेलायतको बर्मिंघम विश्वविद्यालयमा नेपालको राजनीतिक संक्रमण र शान्ति प्रक्रियासम्बन्धी अनुसन्धान फेलो समेत रहेका थिए ।

Link copied successfully