प्रयास नगरी, बाटो खोजी नगरी, आँधी–पानीसँग जुध्ने नगरी, हरेक दिन आफूलाई अझ बलियो बनाइराख्न नसकी कोही पनि सफल बन्दैन, महान् व्यक्तिहरू सबैले संघर्षको अँध्यारो पार गरेरै उज्यालो देखेका छन्
प्रिय छोराछोरी, एक पटक कल्पना गर, एउटा सानो बीउ सुक्खा ठाउँमा फालिएको छ । त्यो सेप्रिएको र सुकेको छ ।
सायद, उसले भित्रैभित्रै सोच्छ– म बाँच्नुपर्छ । मौका मिल्नेबित्तिकै पुनर्जन्म पाउनुपर्छ । मैले हरेस खानु हुँदैन । परिस्थिति बदलिन सक्छ । मैले पनि छेउछाउका फूलहरूजस्तै फुल्नुपर्छ । सँगैका रूखका पातहरूजस्तै घाममा चम्किनुपर्छ । म पनि उनीहरूजस्तै फल्नुपर्छ । यसका लागि मैले धैर्यता राख्नै पर्छ ।
त्यसैले, उसले आफूभित्रको बीज तत्त्वलाई सुरक्षित राखेको हुन्छ ।
कुनै समय यस्तो आउँछ, जब हावा चल्छ, पानी पर्छ अनि ऊ माटोसँग संसर्गमा पुग्छ । उसले अब आफूअनुकूल अलिकति वातावरण पाउँछ र आफूलाई फैलाउँछ । उसको कोमल नत्रीबाट कोमल जीवनको सुरुवात हुन्छ ।
धेरै समयपछि, जब उसले माटोभित्र जरा टेक्छ, बल्ल जमिन चिर्दै एउटा सानो, हरियो अंकुर बाहिर निकाल्छ । पहिलो पटक उसले घामको न्यानो उज्यालो महसुस गर्छ । पहिलो पटक उसले हावाको मीठो सास लिन्छ । तर यात्रा त्यत्तिमै सकिएको हुँदैन । ऊ अझै कमजोर नै हुन्छ ।
उसले बिस्तारै सिक्दै गयो–
जब आँधी आउँछ, लच्काउन सक्छ तर भाँचिनु हुँदैन ।
जब सुक्खा समय आउँछ, माटोमुनि भएका जराहरू सम्झनुपर्छ ।
जब चराहरू आएर पात टोक्छन्, त्यसलाई पनि स्विकार्नुपर्छ ।
यसरी, उसले धैर्यपूर्वक हाँगाबिँगा फैलाउँदै गयो, काण्ड मोटो बनाउँदै लग्यो, जरा गहिरो र बलियो बनायो । वर्षौंदेखि ऊ बढ्दै गयो ।
पहिले ऊ एउटा सानो बिरुवा मात्र थियो । तर समयसँगै ऊ बलियो हाँगावालो विशाल वृक्ष बन्यो । चराहरू अब उसको पनि हाँगामा बसेर गीत गाउने भए । मानिसहरू उसको छहारीमा बसेर शीतलता लिने भए ।
तर यदि त्यो सानो बीउले धैर्य नगरेको भए ? त्यो कठिन परिस्थितिमा सहनशील र धैर्यताका साथ बढ्न नसकेको भए ?
के ऊ कहिल्यै रूख बन्न सक्थ्यो ?
प्रिय छोराछोरी, आज म धैर्यताका बारेमा कुरा गर्दै छु ।
प्रकृति, जीवन, काम, प्रगति र सफलता सबैले धैर्यताको माग गर्दछ । सफलताका लागि निष्क्रिय प्रतीक्षा होइन, निरन्तर प्रयाससहितको धैर्यता चाहिन्छ । यदि धैर्यता सक्रियताविहीन भयो भने, त्यो निष्प्रभावी हुन्छ । त्यसैले, हामीले धैर्यवान् मात्र होइन, क्रियाशील पनि हुनुपर्छ ।
जस्तै– विद्यार्थीले एउटा कक्षाबाट अर्को कक्षामा जान वर्षभरि पढ्नुपर्छ । त्यसका लागि धैर्यताका साथ वर्षभरि नै मिहिनेत गर्नुपर्ने हुन्छ । त्यही मिहिनेतको अर्को नाम नै सक्रियता हो । वर्षभरिको मिहिनेत र पर्खाइलाई हामी धैर्यता भन्दछौं । सक्रियताले परीक्षामा उत्तीर्ण गराउँछ । जति बढी इमानदार सक्रियता हुन्छ, त्यति बढी सफलता प्राप्त हुन्छ ।
हेर त, एउटा राम्रो खेलाडी हुनका लागि उसले धैर्यतापूर्वक कति लामो समयसम्म अभ्यास गरेको हुन्छ । विश्व प्रसिद्ध धावक उसेन बोल्टले दौडमा कीर्तिमान बनाउन २०औं वर्षसम्म निरन्तर अभ्यास गरे । त्यस्तै, माइकल फेल्प्सले करिब दुई दशक नै निरन्तर कडा प्रशिक्षण गरे । उनले बच्चैदेखि पौडी खेल्न थालेका थिए तर ओलम्पिक स्वर्ण पदक जित्ने स्तरमा पुग्न उनले प्रतिदिन पाँच घण्टाभन्दा बढी अभ्यास गर्दै दशकौं समय बिताए । जसले उनलाई ओलम्पिकमा २३ स्वर्ण पदक जित्न सक्ने बनायो । खोज्दै गए यस्ता उदाहरण कति भेट्टिन्छ कति ।
खेलाडीका लागि फोक्सो, मुटु, मांसपेशी र मस्तिष्कको संयोजित भूमिका आवश्यक हुन्छ । यीमध्ये कुनै एक–दुई मात्र चुस्त राखेर पुग्दैन, सबैलाई स्वस्थ र सक्षम बनाउनुपर्छ । स्टामिना (टिकाउ शक्ति) वृद्धि गर्नुपर्ने हुन्छ, जसका लागि निरन्तर अभ्यास अनिवार्य छ । नियमित अभ्यासले शरीरको टिकाउ शक्ति बढाउँछ, जसले खेलाडीलाई छिट्टै थाक्न नदिई ऊर्जाशील र स्थिर राख्छ ।
के तिमीले कहिल्यै आफ्ना आमाबुबाको अथाह धैर्यतालाई महसुस गरेका छौ ? उहाँहरूले तिमीलाई माया गरेर हुर्काउनु हुन्छ, स्याहारसुसार गर्नु हुन्छ, मीठो खुवाउनु हुन्छ । पहिलो शब्द उच्चारण गर्न सिकाउनु हुन्छ, पहिलो पाइला चाल्न मद्दत गर्नु हुन्छ अनि जीवनको सही बाटो देखाइदिनु हुन्छ । र, तिमी हुर्कने प्रत्येक क्षणलाई धैर्यपूर्वक प्रतीक्षा गर्नु हुन्छ ।
भनिन्छ, नवजात शिशुहरू प्रतिदिन औसत रूपमा करिब ०.०५ सेन्टिमिटर (अर्थात् एक महिनामा करिब १.५ सेन्टिमिटर) को दरले बढ्छन् । हामीले हरेक दिन हेर्दै आएको वस्तुमा भएको थोरै परिवर्तन हाम्रो मस्तिष्कले ‘परिवर्तन अन्धता’ (चेन्ज ब्लाइन्डनेस) का कारण थाहा पाउन सक्दैन । त्यसैले, शारीरिक वृद्धि, रूखको विस्तार वा कुनै पनि सानो रूपान्तरण हरेक दिन ठम्याउन गाह्रो हुन्छ । हरेक दिन तिमी बढिरहेको नदेखे पनि हरेक दिन बच्चा बढिरहेकै छ भन्ने विश्वास र पहिलेका अनुभवका आधारमा आमाबुबा, अभिभावक, आफन्त, नातागोताले तिमीलाई बडो धैर्यता राखेर हुर्काउनुभएको हुन्छ । याद गर, तिमी अहिले जे छौ, जस्तो छौ, तिम्रा आमाबुबा र आफन्तहरूको धैर्यताको परिणाम हौ ।
पृथ्वीकै कुरा गरौं न । उसले कत्रो धैर्य राखेर झन्डै चार अर्ब वर्षमा वातावरण सिर्जना गर्यो, जीवजन्तु जन्मायो, वनस्पतिहरू फुलायो । समयसँगै प्रकृतिले असंख्य अनुभव संकलन गर्यो । अनवरत परिवर्तन र अनगिन्ती प्रयोगहरूका बीच, अन्ततः चेतनशीलताको उत्कर्षमा पुगेको मानव जाति जन्माउन सक्यो । करोडौं वर्षको इतिहास पार गर्दै मानव जातिले विकासका अनगिन्ती चरण पार गर्यो र हामी आज यो बिन्दुमा आइपुगेका छौं ।
पृथ्वीबाट हामीले सिक्नुपर्ने कुरा के हो भने– धैर्यवान् बन्नु तर गतिशील रहनु । गतिशील हुनु भनेको निरन्तर सक्रिय हुनु हो, हात बाँधेर समयको पर्खाइमा बस्नु होइन । त्यो त केवल समयको बर्बादी मात्र हो । हेर त, प्रकृति कति गतिशील छ । नदी बग्छ, हावा बहन्छ, रूखहरू बढ्छन्, सूर्य उदाउँछ र अस्ताउँछ, पृथ्वी आफ्नो अक्ष र कक्षमा घुमिरहन्छ– सबै निरन्तर गतिमा छन् । यस्तो गतिशील सृष्टिमा हामी मात्र निष्क्रिय भएर बस्न सक्दैनौं । समयसँगै अघि बढ्नैपर्छ, प्रकृतिको गतिमा आफूलाई सामेल गर्नैपर्छ ।
संस्कृतमा प्रख्यात श्लोक छ, ‘उदये सविता रक्तो रक्तःश्चास्तमये तथा, सम्पत्तौ च विपत्तौ च महतामेकरूपता ।’ अर्थात् उदाउने खुसियालीमा पनि सूर्य रातो हुन्छ, अस्ताउने दुःखद क्षणमा पनि रातै हुन्छ । तर त्यो पुनरावृत्ति होइन, गतिशीलता हो । सदैव त्यही सूर्य उदाइरहेको छ, त्यही सूर्य अस्ताइरहेको छ तर त्यो बेग्लाबेग्लै समयमा । प्रकृतिका हरेक चीजको आयुमा परिवर्तन भइरहेको हुन्छ, उसको जैविक अवस्थामा परिवर्तन भइरहेको हुन्छ । ऊ हुर्कंदै, बढ्दै पुरानिँदै, बुढिँदै, कुप्रिँदै गएको हुन्छ । सम्पत्ति हुँदाको दिन होस् वा विपत्तिको दिन, सजिला दिन आओस् कि अप्ठ्यारा दिन । ज्ञानी व्यक्तिहरू सुख र दुःख दुवै स्थितिमा एकनास हुन्छन्, सबैका प्रति उत्तिकै प्रेमभाव राख्छन् ।
समय सधैं एकनासको कसैको पनि हुँदैन । जीवन हो, सजिला वा अप्ठ्यारा सबै खालका दिनहरू आउन सक्छन् । दिउँसो पनि दिउँसो मात्र हुँदैन । रात पनि रात मात्र हुँदैन । वर्षा पनि हुन्छ, सुक्खा पनि हुन्छ । सधैं सुक्खैसुक्खा पनि हुँदैन, वर्षैवर्षा मात्र पनि हुँदैन । बादल लाग्छ पनि, हट्छ पनि । जीवनमा सुख पनि आउँछ, दुःख पनि ।
प्रकृतिका लागि यी सबै उस्तै कुरा हुन् । खालि चेतना, हित वा स्वार्थका लागि त्यो प्रिय वा अप्रिय हुन जान्छ । तसर्थ हामीले अप्ठ्यारा दिनहरूमा पनि हरेस खानु हुँदैन । परिस्थिति अनुसारको गतिशीलता राख्नुपर्छ । विद्यार्थी हौ भने ध्यान लगाएर पढ । शिक्षक हौ भने राम्रोसँग पढाऊ । कामकाजी हौ भने काम गर । उद्यमी–व्यवसायी हौ भने ठीक ढंगले व्यवसाय चलाऊ । घरमूली हौ भने परिवारको रेखदेख गर । तिमी के हौ र कस्तो अवस्थामा छौ ? तदनुसार सक्रिय बन ।
संस्कृतमा एउटा श्लोक छ, आद्यस्य परस्य च कर्तव्यं कर्मणा सह, शीघ्रं क्रियमाणं यस्मिन् कालः पिवति तं रसम् । अर्थात् लिनुपर्ने कुरा होस्, दिनुपर्ने कुरा होस् वा गर्नुपर्ने काम होस्, जेसुकै होस्, उपयुक्त समयमा गरिएन भने त्यसको फल समयले आफैं खाइदिन्छ । परीक्षाका बेला परीक्षा दिइएन भने पछि फेरि त्यो अवसर आउँदैन । एउटा सिजनमा खेती लगाएनौं भने अर्को सिजनमा त्यही खेती लाग्दैन । सिजनमा धान रोपिएन भने अर्को सिजनमा पनि खेत बाँझै हुने सम्भावना हुन्छ । धान रोप्ने मात्र होइन, काट्ने पनि सिजन हुन्छ । समयमै काटिएन भने त्यो खुरिएर जान्छ, बिग्रिएर जान्छ । पाकेको समयमै थान्कोमुन्को गर्न सकिएन भने त्यो खेर जान्छ । तसर्थ धैर्यताको गलत अर्थ नलाऊ । ‘हिट द आइरन ह्वेन इट इज हट’, फलामलाई तातेकै बेलामा हिर्काऊ । जुन काम जहाँ, जतिबेला गर्नुपर्ने हो, त्यो काम त्यहीँ, त्यतिबेलै गर ।
मैले आफ्नो जीवनमा सजिला समय गुजारेको छु, साह्रै अप्ठ्यारा समय पनि झेलेको छु । सामान्य, सहज, धेरै असहज र कठिन जीवनको अनुभव लिएको छु । म हिमाली भेगतिर गएको छु, हिउँमा चढेको छु । बरफमाथि हिँडेको छु । तराईको गर्मी खाएको छु । लूको अनुभव गरेको छु । मैले गर्मी–उष्णता, जाडो–चिसो देखेको छु । मैले धेरैपल्ट भोकको अनुभव गरेको छु । भोको पेटले खाना खाएको सन्तुष्टि पनि लिएको छु । मैले थकावट महसुस गरेको छु र ताजगीपन अनुभव गरेको छु । मैले भयावह र त्रासदीपूर्ण परिस्थितिहरू झेलेको छु, अप्रिय दुर्घटनाहरू पनि खेपेको छु ।
मलाई थाहा छ– कुनै पनि अवस्थामा धैर्यता राख्नुपर्छ । अर्को अनुकूल परिस्थितिको प्रतीक्षामा रहनुपर्छ । त्यसमा संयमित भएर सक्रियतापूर्वक प्रयास गरिरहनुपर्छ ।
अप्ठ्याराहरूसँग जुध्न नसकिने होइन, सकिन्छ । तर हेक्का राख्नुपर्छ, कहिले–कहिले मानव जीवन भनेजस्तो मात्र पनि नहुन सक्छ । परिस्थिति आफूले भनेकै अनुसार सरल रेखामा नचल्न सक्छ । वक्ररेखामा पनि जान सक्छ जीवन ।
तिमीले अन्तरिक्षमा हुने ‘ब्ल्याकहोल’ का बारेमा सुनेका हौला । अन्तरिक्षमा थुप्रै ग्रह, तारा र नक्षत्रहरू ब्ल्याक होलमा समाहित हुन सक्छन् भन्ने पनि पढेका हौला । तर तिमीलाई थाहा छ, अन्तरिक्षमा मात्र होइन, जीवनमा पनि पलपलमा ‘ब्ल्याकहोल’ भेटिन सक्ने सम्भावना हुन्छ । जसको गर्तमा पसेर हामी हराउन सक्छौं । जीवनमा कहिले बिमारी ‘ब्ल्याकहोल’ बनेर आउँछ त कहिले दुर्घटना ।
जबसम्म जीवन छ, यस्ता कठिन घडीहरूमा सबैभन्दा ठूलो शक्ति सकारात्मक सोच र आशावादिता नै हो । धैर्यता भनेकै सकारात्मक रहनु र अघि बढ्ने साहस राख्नु हो । आशावादिताले धैर्यतालाई बल दिन्छ, दृढ बनाउँछ, अघि बढ्ने प्रेरणा दिन्छ । तर निराशाले धैर्यता कमजोर पार्छ, सक्रियतालाई समाप्त गर्छ र अन्ततः जीवनलाई गतिहीन बनाउँछ । जब सक्रियता हराउँछ, जीवनको उज्यालो पनि मेटिन्छ । निराशा र चिन्ताले मानिसलाई बिस्तारै ब्ल्याकहोलतिर तान्न थाल्छ– जहाँ आशाको उज्यालो धमिलिँदै जान्छ । त्यसैले, धैर्यता राख, आशावादी बन र हरेक कठिन परिस्थितिलाई जित्ने हिम्मत गर । मैथिली कवि कवीर दास भन्छन्, चिन्ता से चतुराई घटे, दुःख से घटे शरीर... । अर्थात् चिन्ताले बुद्धि कम गर्छ, दुःखले शरीर गलाउँछ । जे हुनु भइसक्यो, त्यसमा चिन्ता गरेर के हुन्छ ? जे भएकै छैन, नभएको कुरामा किन चिन्ता गर्ने ? भएको कुरा सामना गर, चिन्तामुक्त जीवन बिताऊ, आशावादी भएर जिन्दगीलाई सक्रिय बनाऊ ।
यति लामो जीवनमा मैले कहिले गिरफ्तार हुनुपर्यो, कहिले भूमिगत भएर हिँड्नुपर्यो । कहिले कति अपमान सहनुपर्यो, कहिले यातना सहनुपर्यो, कहिले गोलघरमा बस्नुपर्यो, कहिले अन्य जेलमा बस्नुपर्यो । मेरो जीवन सधैं झूटा आरोप र लाञ्छनाबाट घेरिएको छ । तर मैले अरूले औंला ठड्याउने, निन्दा गर्ने खालको कुनै काम गरिनँ । किनभने म आफ्नो कर्तव्यप्रति सचेत छु । मेरो जिन्दगीलाई सार्थक बनाउने सकारात्मक सोच लिएर अघि बढेको छु ।
प्रिय छोराछोरी,
जीवनको यात्रामा थुप्रै आरोह–अवरोह आउँछन् । सुखको घाम लाग्छ, दुःखको छाया पनि पर्छ । कहिले उकालो लाग्छ, कहिले ओरालो । कहिले बाटो चिप्लो हुन्छ, कहिले अवरोधहरूले घेरिएको । तर एउटा कुरा कहिल्यै नबिर्स– जीवन केवल प्रतीक्षा गरेर होइन, सही समयको तयारी गरेर बाँचिन्छ । सफलता आकस्मिक घटना होइन, यो लगनशीलता, धैर्यता र सक्रियताको समिश्रण हो । प्रयास नगरी, बाटो खोजी नगरी, आँधी–पानीसँग जुध्ने नगरी, हरेक दिन आफूलाई अझ बलियो बनाइराख्न नसकी कोही पनि सफल बन्दैन । महान् व्यक्तिहरूको कथा हेर, उनीहरू सबैले संघर्षको अँध्यारो पार गरेरै उज्यालो देखेका छन् ।
तिम्रो जीवनमा पनि धेरै चुनौतीहरू आउनेछन् । कतिपय अवस्थामा तिमीले आफूलाई ब्ल्याकहोलमा पसेजस्तो पनि अनुभूति गर्न सक्छौ, जहाँ उज्यालोको कुनै संकेत देखिन्न । तर याद राख, त्यो क्षण पनि बितेर जान्छ । जस्तो– तिमीले सबैभन्दा सुन्दर मानेको क्षण पनि बितेर गयो ।
त्यसैले, जब जीवन कठिन बन्छ, हिम्मत जुटाऊ । जब समय प्रतिकूल देखिन्छ, आशावादी बन । जब परिस्थितिहरू असहज बन्छन्, संयमित बन । जब तिमीलाई दौडिन मन लाग्दैन, एक पाइला भने पनि अघि सार्न तयार बन । किनकि जीवन भनेकै नयाँ बाटो खोज्नु हो । तसर्थ, निराश नभई अघि बढ, सक्दो प्रयास गर, आत्मविश्वास र सक्रियताका साथ राम्रो समयको प्रतीक्षा गर ।
तिम्रो यात्रा अद्वितीय बनोस् । जीवनको हरक्षण सार्थक बनोस्, मेरो शुभकामना छ ।
