नवनिर्वाचित स्ववियुले शैक्षिक मुद्दालाई मूलधारमा ल्याउन सकोस्

निर्वाचनका नाममा क्याम्पस–क्याम्पस रणमैदान बन्ने, शैक्षिक वातावरण महिनौंसम्म बिथोलिने स्थिति निम्त्याउनु हुँदैन । अहिले पनि स्ववियु निर्वाचनको मिति घोषणा गर्ने तर निर्वाचन हुने क्याम्पसका सूची, ती क्याम्पसमा रहेका मतदाता विद्यार्थीजस्ता आधारभूत तथ्यांकसमेत उसको जानकारीमा नहुने स्थिति छ । व्यवस्थापन गर्न नसक्ने हो भने निर्वाचन प्रक्रियाबाट अलग्गिनुपर्छ ।

चैत्र ६, २०८१

सम्पादकीय

The newly elected Swaviyu should bring the educational issue to the mainstream

त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको नयाँ कार्यसमितिका लागि निर्वाचन सम्पन्न भएको छ । राजनीतिक दलनिकट २५ विद्यार्थी संगठन र स्वतन्त्र उम्मेदवार सहभागी यस निर्वाचनले विद्यार्थीमा प्रतिस्पर्धा र नेतृत्व विकासको सीप विकास गराउने अपेक्षा गर्न सकिन्छ ।

विद्यार्थी राजनीतिबाटै अघि बढेर कैयौं नेताहरू कालान्तरमा देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख तथा राजनीतिको उच्च पदमा पुगिसकेका प्रशस्तै उदाहरण स्थापित भएकाले हरेकजसो स्ववियु निर्वाचन, यसका उम्मेदवार र विजयी नेतृत्वलाई नजिकबाट नियालिराख्नु जरुरी छ ।

राजनीतिमा युवाको उपस्थिति र हस्तक्षेपको अपेक्षा राख्ने जोकसैले यस्ता निर्वाचनमा विद्यार्थीका मुद्दा कस्ता छन्, उनीहरूले आफ्नो क्याम्पसमा निर्वाचनको वातावरण कस्तो बनाएका छन्, उनीहरूको उदयको आधार के हो भन्नेजस्ता विषयलाई अहिल्यै निगरानी गर्नसमेत आवश्यक छ । यसबाट राजनीतिको ‘नर्सरी’ मै शुद्धीकरणको प्रारम्भ हुन सक्छ । साथसाथै, विद्यार्थी संगठन र स्ववियु निर्वाचनका प्रतिस्पर्धीले समग्र पक्षलाई सुधारको एउटा अवसरका रूपमा यस निर्वाचनलाई उपयोग गर्न सक्नुपर्छ ।

निर्विरोध निर्वाचित भएकासमेत गरी आंगिक र सम्बन्धन प्राप्त करिब ३ सयवटा क्याम्पसमा निर्वाचन सम्पन्न भएको हो । केही क्याम्पसमा पछि निर्वाचन हुने तय भएको छ । दर्जनभन्दा बढी आंगिक क्याम्पसमा भने तालाबन्दीका कारण निर्वाचन अनिश्चित बनेको छ । विद्यार्थी संगठनकै हुलहुज्जतका कारण आरआर, पृथ्वीनारायण, अस्कल, त्रिचन्द्रलगायतका क्याम्पसमा अन्तिम समयमा निर्वाचन स्थगित भएको छ । हरेक निर्वाचनमा यस्ता अनेकौं क्याम्पसमा विवाद निम्तिने गरेको छ । गैरशैक्षिक र विद्यार्थी संगठनलाई नसुहाउने गतिविधि निरन्तर रहनु भनेको स्ववियु निर्वाचनको पद्धति, विद्यार्थी संगठनका पहिचान र मनोवृत्तिदेखि राजनीतिक दलहरूको रुचिसम्ममा समस्या रहेको ठहर्छ ।

क्याम्पसमा तालाबन्दी गर्ने, निर्वाचन बिथोल्ने र मतदाता विद्यार्थीलाई नै त्रासमा होम्ने काम क्षम्य हुन सक्दैन । निर्वाचन बिथोल्ने काममा ठूला राजनीतिक दलनिकटका ठूलै विद्यार्थी संगठन संलग्न भएको पाइन्छ । परिणाम आफ्नो पक्षमा नआउने आकलनपछि निर्वाचन नै बिथोल्ने उपाय रचिएका छन् ।

निर्वाचनका बेलामा मात्रै होइन, अरू बेलामा पनि क्याम्पसमै आगजनी गर्ने, तालाबन्दी गर्ने, शिक्षक कुट्ने, पुस्तकालय जलाउने, आपसमा झडप गर्नेलगायतका गतिविधिका कारण विद्यार्थी राजनीति बदनाम छ । जसले गर्दा अहिलेको सन्दर्भमा विद्यार्थी संगठनकै औचित्यमाथि सन्देह व्यक्त भइरहेका छन् । यस्तो प्रवृत्तिले सम्पूर्णतामा नभए पनि ठूलो हिस्साको विद्यार्थी राजनीतिको चरित्रलाई उजागर गर्छ । खासमा विद्यार्थी राजनीतिप्रति आज प्रश्न उठेको यस्तै प्रवृत्तिका कारणले हो । यस प्रवृत्तिमा सुधारका लागि राजनीतिक पार्टी, विद्यार्थी संगठनभित्रकै असल प्रवृत्ति बोकेका नेतृत्व, क्याम्पस प्रशासन र नागरिक समाजले अग्रसरता लिनुपर्छ ।

निर्वाचन हुनुपर्ने जति सबै क्याम्पसमा नभए पनि मंगलबार स्ववियु निर्वाचन सम्पन्न भएको छ । बाँकी क्याम्पसमा पनि आगामी दिनमा हुने नै छन् । यसलाई एउटा नियमित निर्वाचनका रूपमा लिन पनि सकिन्छ । तर विद्यार्थी संगठन र स्ववियु कार्यसमितिले आफ्नो छवि सुधारका लागि यस निर्वाचनलाई प्रस्थानबिन्दु बनाऊन् भन्ने अपेक्षा छ । किनकि, हाम्रा विद्यार्थी संगठन शैक्षिक मुद्दाका कारणले चिनिन छाडेको बरु बाहुबलीका अखडाका रूपमा बदनाम हुन थालेको निकै भइसकेको छ । विद्यार्थी संगठनले राजनीतिक दलले काम गर्न नसकेको खासखास समयमा राजनीतिक र सामाजिक मुद्दाको नेतृत्व गर्नुपर्ने हुन सक्छ ।

विगतमा पनि त्यस्तो भएकै छ । जस्तो कि, पञ्चायतकालमा राजनीतिक दल प्रतिबन्धित हुँदा विद्यार्थी संगठनले नै राजनीतिक मुद्दालाई उठाउँदा जायज नै मानिएको थियो । २०३७ को जनमत संग्रह त विद्यार्थी आन्दोलनकै कारण सम्भव भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले असोज १८ र माघ १९ को कदम चालेपछि राजनीतिक पार्टीका नेतामाथि कडाइ गरिएको थियो । त्यतिबेला सत्तालाई जनताको एजेन्डा सुनाउने काम नै विद्यार्थीले गरेका थिए ।

अब विद्यार्थी संगठनले राजनीतिक नेतृत्वको रिक्तता पूरा गर्नुपर्ने अवस्था छैन । तसर्थ विद्यार्थी राजनीतिले मूलरूपमा शैक्षिक मुद्दाकै नेतृत्व गर्नुपर्छ । उनीहरूले सम्बन्धित क्याम्पसको शैक्षिक वातावरणदेखि विद्यार्थीका सरोकारसम्मका विषयमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् । वा, संविधानले सुनिश्चित गरेका शिक्षाका हकको कार्यान्वयनदेखि अन्तर्राष्ट्रियस्तरमा चलिरहेका शैक्षिक एजेन्डालाई बहसमा ल्याउन सक्छन् । देशमा अनगिन्ती शैक्षिक मुद्दा बहसको मूलधारभन्दा बाहिर पुगिसकेकाले मूलधारमै फर्काउन नेतृत्व गर्न सक्छन् । यसले स्वयं विद्यार्थी संगठनको छविसमेत उज्यालो बनाउन सघाउँछ । त्यति बेला उनीहरू विद्यार्थीकै पक्का संगठन हुनेछन् ।

राजनीतिक पार्टीहरूले विद्यार्थी संगठनप्रति लिँदै आएका नीति पनि अब परिवर्तन गर्न आवश्यक छ । उनीहरूले विद्यार्थी वर्गलाई आफ्नो कार्यकर्ताका रूपमा मात्रै उपयोग गर्ने होइन, बरु शैक्षिक मुद्दाका संवाहक बनाउने ध्येय राख्नुपर्छ । स्ववियु निर्वाचनमा टिकट दिलाउनसमेत समग्र पार्टी र पार्टीभित्रका गुट संलग्न हुने, जिताउन सत्ताशक्तिको उपयोग गर्ने प्रवृत्ति त्याग्नुपर्छ । त्रिभुवन विश्वविद्यालयले पनि निर्वाचनका लागि तयारी गर्न नसक्ने, साधन स्रोतको जोहो गर्न नसक्ने हो भने 

यसका लागि अग्रसर बन्नु हुँदैन । निर्वाचनका नाममा क्याम्पस–क्याम्पस रणमैदान बन्ने, शैक्षिक वातावरण महिनौंसम्म बिथोलिने स्थिति निम्त्याउनु हुँदैन । अहिले पनि स्ववियु निर्वाचनको मिति घोषणा गर्ने तर निर्वाचन हुने क्याम्पसका सूची, ती क्याम्पसमा रहेका मतदाता विद्यार्थीजस्ता आधारभूत तथ्यांकसमेत उसको जानकारीमा नहुने स्थिति छ । व्यवस्थापन गर्न नसक्ने हो भने निर्वाचन प्रक्रियाबाट अलग्गिनुपर्छ । विद्यार्थी निर्वाचन स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकाका आधारमा भइरहेको छ ।

यसका लागि बलियो कानुन आवश्यक छ । त्यसका लागि सरकार र संसद्लाई झकझक्याउन सक्नुपर्छ । विद्यार्थी संगठनहरू स्वयंले स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुपर्छ । अनि मात्रै स्ववियु निर्वाचन विद्यार्थीको उत्सवका रूपमा स्थापित हुन सक्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully