खोक्रो र रंगीन दुनियाँको कल्पनामा रमाउन खोज्दा आफ्नो स्वर्गजस्तो घर बर्बाद भएको भेउ नै पाउन छोडिएको छ
हिन्दू धर्मले विवाहलाई एक पवित्र बन्धनका रूपमा व्याख्या गरेको छ । एकपल्ट कुनै जोडी विवाह बन्धनमा बाँधिन्छन् भने सात जुनीसम्मको अटुट बन्धन हुन्छ भनी विश्लेषण गरिएको छ । तर अहिले आएर विवाहलाई पनि एक ‘कन्ट्क्ट’ जस्तो मानिन थालेको छ । आफ्नो आवश्यकताअनुसार विवाह गर्ने र मन नपरे सम्बन्धविच्छेद गर्ने प्रक्रिया नेपाली समाजमा पनि तीव्र रूपमा बढ्दै छ ।
अहिले हामीकहाँ विवाह पनि आफ्नो फाइदा र घाटाको व्यापारका रूपमा लेखाजोखा गर्ने पद्धतिजस्तो बनेको छ । विशेषगरी ‘डिपेन्डेन’ भिसामा बाहिर जानेहरूले आफ्नो घरपरिवारलाई थाहै नदिई अदालतमा गएर विवाह गर्ने र पछि मन नपरे सम्बन्धविच्छेद गरी अरू नै केटा वा केटीसँग विवाह गर्ने क्रम पनि बढ्दै गएको देखिन्छ । सम्बन्धविच्छेद अहिले फेसनजस्तो बनिरहेको छ । कतिपय मानिसले ‘हेप्पी डिभोर्स डे’ भनी केक काटेर मनाएका भिडियो पनि सार्वजनिक भइरहेका छन् । सम्बन्धविच्छेद गर्दैगर्दा महिलाले हाँसी–हाँसी पैसाको बिटो समाएको भिडियो पनि सामाजिक सञ्जालमा देख्न पाइन्छ ।
यस्ता क्रियाकलापले समाजमा नराम्रो असर पर्ने गरेको छ । कतिपयको घरपरिवारै बिग्रेको पनि सुनिन्छ । यसो भनेर जस्तोसुकै हिंसा भए पनि सहेर बस्नुपर्छ भन्ने कदापि होइन तर श्रीमान् र श्रीमती दुवैले एकअर्कालाई आदर–सम्मान, माया, हेरचाह गर्न भने छोड्नु हुँदैन । जीवनमा आइपरेका समस्यालाई दुवै मिलेर समाधान गर्नुपर्छ । झगडाले समस्याको समाधान हुँदैन । शान्तिसाथ गरिएको छलफलले मात्रै समस्या समाधानमा सघाउ पुर्याउँछ ।
सम्बन्धविच्छेदका पनि विभिन्न चरण रहेको पाइन्छन् । पहिलोमा श्रीमान् र श्रीमतीबीच अस्वीकार र मनमुटाव हुने गर्छ, त्यसपछि क्रमशः रिस, बार्गेनिङ, भनाभन, एक्लोपनको सुरुवात, डिप्रेसन र अन्त्यमा छुट्टिने चरणसम्म यसको विकास भइरहेको छ । यसरी हेर्दा सम्बन्धविच्छेद एकैपल्ट हुनेजस्तो लागे पनि यसले विभिन्न चरण पार गरेको हुन्छ । त्यसैले श्रीमान्–श्रीमतीका साथै परिवारका सदस्यको बीचमा कुराकानी, अनुभव साटासाट, सरसल्लाह र छलफल हुन निकै आवश्यक छ । यस्ता खालका कुराकानीले मनमा गुम्सेका कुरा बाहिर आउँछन् र तनाव कम गर्न थोरै भए पनि मद्दत पुर्याउँछ ।
अचेल मानिसहरू धेरै समय सामाजिक सञ्जालमा व्यस्त रहनाले पनि घरपरिवारमा बसेर कुराकानी गर्ने समय कम हँॅदै गएको छ । घरमा ४ जना सदस्य छन् भने सबै जना मोबाइल र ल्यापटपमा व्यस्त रहन्छन्, जसले गर्दा श्रीमान्–श्रीमतीबीच पनि कुराकानी नहुने र विभिन्न किसिमका समस्या देखापर्ने गर्छन् ।
श्रीमान्–श्रीमतीबीच बेमेल, उमेरको अन्तर, एकले अर्कालाई शंका गर्ने, रिस, दमन, कुटपिट, मानसिक हिंसा, आर्थिक अपचलन, राम्रो हेरचाह नगर्ने, अन्य केटा वा केटीसँग हिँड्ने, विवाहपछिका प्रेमसम्बन्ध, सम्पत्तिसम्बन्धी किचलो, पितृसत्तात्मक सोच इत्यादिले पनि सम्बन्धविच्छेदलाई बढावा दिइरहेका छन् ।
यसैगरी सेलिब्रिटीहरूले करोडौं खर्च गरेर विवाह गर्ने र त्यसको केही समयमै हिंसा भयो भन्दै रुँदै मिडियामा आउने, डिभोर्स दिने गरेका छन् । यसले पनि अन्य मानिसलाई नकारात्मक असर पारिरहेको छ । सामान्य मानिसले यस्ता कुरा गर्दा चर्चामा नआउने र उनीहरूमा व्यक्तिगत साथै पारिवारिक समस्या भए पनि मिडियामा हल्ला नहुनाले अरूमा यसको प्रभाव कम पर्छ तर सेलिब्रिटीहरूका हरेक कुरा युट्युबरहरूका लागि विशेष चासो हुने र यसलाई उनीहरूले मसालेदार कुरा राखी आफ्नो भ्युज बढाउने गर्छन् । यसरी अनावश्यक हल्लाकै कारणले पनि कतिपय जोडीको डिभोर्स हुने गरेको छ । हाल टिकटक, फेसबुक, इन्स्टाग्रामले पनि यस्ता कुरालाई बढावा दिइरहेजस्तो लाग्छ ।
यस्ता घटनामा महिला र पुरुष दुवै दोषी छन् । हालका महिलामा पनि स्वतन्त्रताका नाममा अनावश्यक खर्च गर्ने पार्टी, मेकअप, भोज देखावटी काल्पनिकतामा बाँच्न रमाउने बानी पर्दै गएकाले अनावश्यक खर्चले गर्दा परिवारको आर्थिक अवस्थामा समस्या पर्ने र यसले श्रीमान्–श्रीमतीबीच कलहको बीउ रोप्ने कार्य गर्दछ । पुरुषले जे गरे पनि हुने र महिलाले त्यही कुरा किन गर्न नहुने भन्दै मायाप्रेमभन्दा पनि आफ्नै श्रीमान्हरूसँग एक प्रतिस्पर्धीको व्यवहार गर्न थाल्छन् र परिवारमा शान्ति सुख, मेलमिलापको अन्त्य भई बेमेल, शंका, कलहले डेरा जमाउन थाल्छ । खोक्रो र रंगीन दुनियाँको कल्पनामा रमाउन खोज्दा आफ्नो स्वर्गजस्तो घर बर्बाद भएको भेउ नै पाउन छोडिएको छ ।
महिला जतिसुकै सक्षम भए पनि घरको चौघेरामा बस्नुपर्ने, श्रीमान् र परिवारका सदस्यको निगरानीमा बस्नुपर्ने र महिलाले कुनै निर्णय गरे त्यो गलत नै हुन्छ भन्ने पितृसत्ताको आडम्बरलाई कायम राखी पुरुषकै गुणगान गाउने मानिसको पनि हाम्रो समाजमा कमी छैन । जसले गर्दा समस्या थपिइरहेको छ । हालका महिला हरेक क्षेत्रमा सक्षम छन् । विभिन्न बन्देज, बाधा, अवरोध र जिम्मेवारी, प्रथाको बोझ हँॅदाहँॅदै पनि ती सबलाई सम्हालेर आफ्नो हकअधिकारका लागि एकताबद्ध भएर लडिरहेका छन् ।
मानिसहरूले आत्मनिर्भर भएसँगै आफ्नो व्यक्तिगत स्वतन्त्रताको विशेष ध्यान राख्न थालेका छन् । कोही पनि कसैको दबाब, हेपाइमा बस्न चाहँदैनन् । महिलाको सन्दर्भमा कुरा गर्दा पहिलाका महिला घरायसी काम, खेतीपातीको काममा बढी व्यस्त हुने हुनाले बाहिरी दुनियाँबारे खासै चासो राख्दैनथे । कतै बाहिर सार्वजनिक कार्यक्रममा पनि सहभागी हँॅदैन थिए । यदि केही गरी सहभागी हुनै परेमा पनि निष्क्रिय रूपमा सुन्ने श्रोता मात्र बन्थे तर हाल आएर शिक्षामा पहुँज बढेसँगै महिलाको क्षमतामा पनि अभिवृद्धि हुन थालेको छ । आशालाग्दो रूपमा महिलाहरू अगाडि बढ्न थालेका छन् । समाजले महिलालाई हेर्ने दृष्टिकोणमा आएको यो सकारात्मक परिवर्तन पनि हो ।
नेपालमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको कुरा केन्द्रीय तथ्यांक विभागको रिपोर्टले पनि देखाएको छ । एक अध्ययनअनुसार नेपालमा गाउँभन्दा सहरमा सम्बन्धविच्छेदका घटना बढी देखिएका छन् । सहरी क्षेत्रमा १ हजार विवाहित जोडीमा १.८ को सम्बन्धविच्छेद भएको छ भने ग्रामीण भेगमा यस्तो संख्या १ हजारमा ०.९ प्रतिशत छ । यसैगरी सन् २०१५ मा १ हजार ३ सय ५५ डिभोर्सका मुद्दा दर्ता भएकामा सन् २०२० मा ६ हजार ६ सय ४४ वटा त्यस्ता मुद्दा दर्ता भएका छन् । यो क्रमशः बढ्दै छ । सन् २०२३ मा आइपुग्दा ५० हजार १ सय ११ त्यस्ता मुद्दा अनलाइनमार्फत दर्ता भएको तथ्य सार्वजनिक भएको छ । यस तथ्यले पनि नेपालमा क्रमशः डिभोर्सका मुद्दा अचाक्ली रूपमा बढ्दै गएको तथ्यको उजागर गर्छ ।
बढ्दो सम्बन्धविच्छेदका कारण घरपरिवारका ज्येष्ठ नागरिक र बालबालिकाको जीवनमा सबैभन्दा धेरै प्रभाव पार्ने गरेको पनि अध्ययनले देखाएको छ । श्रीमान्–श्रीमतीको झगडाले डिभोर्स हुने गर्छ तर यसले सुन्दर परिवारलाई नै तहसनहस पार्छ ।
नेपालमा काठमाडौं जिल्लामा सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेका छन् भने त्यसपछि सल्यान र कपिलवस्तुमा यो संख्या उच्च छ । नेपाल मात्र होइन, विश्वका धेरै देश सम्बन्धविच्छेदको चर्को चपेटामा परेका छन् । सन् २०२५ को एक तथ्यांकअनुसार अमेरिकामा झन्डै ४१ प्रतिशत पहिलो विवाह सम्बन्धविच्छेदमा अन्त्य हुने गर्छ । विश्वमै निकै कम सम्बन्धविच्छेद हुने देशको सूचीमा छिमेकी मुलुक भारत रहेको छ । सन् २०२२ को एक अध्ययनअनुसार झन्डै १ प्रतिशत मानिसले मात्र त्यहाँ सम्बन्धविच्छेद गरेको पाइएको छ । सन् २०२५ मा विश्वमा सबैभन्दा धेरै सम्बन्धविच्छेद हुने मुलुकमा पहिलोमा माल्दिभ्स रहेको छ । यहाँ प्रति एक हजारमा ५.५२ प्रतिशत सम्बन्धविच्छेद हुने गरेको छ । काजकिस्तान, रुस, बेल्जियम, बेलारुस, माल्डोभा र चीन पनि सम्बन्धविच्छेद हुने शीर्ष १० मुलुकभित्रै रहेका छन् ।
