कांग्रेसको चरित्रमा धमिरा

लोकतान्त्रिक पार्टीमा सबै कार्यकर्ता स्वतन्त्र हुन्छन् भन्ने अराजक मान्यता स्थापित गर्ने प्रयास भइरहेको छ, यो अहिलेको कांग्रेस नेतृत्वमा देखिएको आत्मघाती प्रवृत्ति हो

फाल्गुन २५, २०८१

किशोर नेपाल

Dhamira on the character of Congress

राजा वीरेन्द्रले २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनको चर्को राप र तापपछि जेठ १० गते आफ्नो नेतृत्वमा चलेको निर्दलीय पञ्चायत व्यवस्था र बहुदलीय संसदीय व्यवस्थाका बीच जनमत संग्रहको घोषणा गरेका थिए ।

 त्यतिबेला बीपी कोइराला आत्म–निर्वासन त्यागेर राष्ट्रिय एकता र मेलमिलापको नीतिका साथ स्वदेश फर्किइसक्नुभएको थियो । उहाँले जनमत संग्रहलाई निःसर्त स्वीकार गर्नुभएको थियो भने कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंह र कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई, कम्युनिस्ट नेता मनमोहन अधिकारी र उहाँको समूह तथा अन्य सबै प्रतिपक्षी नेताहरूले निष्पक्ष जनमत संग्रहका लागि केही सर्तहरू राखेका थिए । त्यो परिदृश्यमा बीपी लगभग एक्लै हुनुहुन्थ्यो । 

त्यसबेला बीपी जयबागेश्वरी, चावहिलमा आफ्ना साहिँला भाइ तारिणीप्रसाद कोइरालाको घरमा बस्नुभएको थियो । जेठ १० गतेको शाही घोषणापछि कोइराला निवासमा देशका ठूला–साना राजनीतिज्ञहरू, समाजसेवीहरू, प्राध्यापक र बुद्धिजीवीहरूको लर्को लाग्दथ्यो ।

मानिसहरू जनमत संग्रहपछिको परिदृश्यबारे बीपीका विचार र विश्लेषण सुन्न लालयित थिए । त्यतिबेला न त सामाजिक सञ्जाल थियो, न त समाचारपत्रहरू सर्वसाधारण जनताको पहुँचमा नै थिए । समाचारपत्रहरू स्वतन्त्र पनि थिएनन् । 

बीपी त्यहाँ उपस्थित सबैको विचारलाई समेटेर जवाफ दिनुहुन्थ्यो । आफ्ना विचार अभिव्यक्त गर्ने क्रममा, बेग्लाबेग्लै सन्दर्भमा, उहाँ सबैसँग पटक पटक एउटै प्रश्न गर्नुहुन्थ्यो– बग्गीको अगाडि घोडा कि घोडाको अगाडि बग्गी ? त्यतिबेला बीपीको यो प्रश्न कसैको दिमागमा पनि घुस्दैनथ्यो ।

अहिले, चार दशकपछि, नेपाली कांग्रेसको महाधिवेशनका सन्दर्भमा बीपी कोइरालाको घोडा र बग्गीको त्यो व्याख्या मेरो स्मृतिमा टड्कारो भएको छ । ‘प्रतीक्षारत प्रधानमन्त्री’ तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफन्तहरूसँग पहिले निर्वाचन गराउने र त्यसपछि मात्र महाधिवेशन गर्ने विचार प्रकट गर्न थाल्नुभएको छ । यो भनेको बग्गीको पछाडि घोडा बाँध्नु जस्तै हो ।

त्यसो त, देउवाजस्ता राजनीतिका चतुर खेलाडी नेताले यो कुरा बुझ्नुभएको छैन भन्न सकिँदैन । तर, मानिसका केही उमेरजन्य शारीरिक बाध्यता र व्यक्तिगत दायित्व हुन्छन् । त्यसले मानिसलाई विवेकपूर्ण निर्णय लिन दिँदैन । अर्कोतिर, सत्तामा बसेको मानिस यथार्थको सामना गर्न चाहँदैन । 

राजनीतिक घटनाक्रमको अध्ययन गर्ने एउटा स्वतन्त्र प्रेक्षकले यथार्थलाई नांगो आँखाले हेर्छ भने एउटा राजनीतिक कार्यकर्ताले आफ्नो स्वार्थका पक्षमा नेतालाई ‘प्रिय’ लाग्ने कुरा मात्र बोल्छ । यो पुरानै चलन हो । अहिले नेपालका नयाँ पुराना सबै राजनीतिक दलहरू पुस्तान्तरणको चापमा परेका छन् । पार्टीका कमान्ड सम्हालेर बसेका सबै दलका ठूला नेताहरूमा ‘सम्माननीय’ बन्ने भोक जागेको छ भने नयाँ पुस्ताका कार्यकर्ताहरूमा सत्तामा पुग्ने र सुखको स्वाद चाख्ने रहर छ ।

सञ्चारको व्यापक प्रभावले मानिसहरूलाई सत्ताप्रति आवश्यकताभन्दा बढी नै सम्मोहित गराएको छ । यो दुर्दमनीय यथार्थलाई कुनै पनि पार्टीका सम्मान्य नेताहरूले बुझ्न चाहेको देखिएको छैन । नेताहरूले यो तथ्य बुझ्नै पर्दछ– करोडौं करोड धन जुटाएर, पार्टीका लागि आलिसान भवन बनाएर मात्र पार्टी बलियो हुने होइन । पार्टीका सैद्धान्तिक आधारहरू जबसम्म सुदृढ हुँदैनन् तबसम्म परिवर्तन हुन सक्दैन । अहिले कांग्रेसको लोकतान्त्रिक समाजवाद र एमालेको जनताको बहुदलीय जनवाद राजनीतिक परिदृश्यबाट बाहिरिएका छन् । सैद्धान्तिक स्पष्टताका लागि कुनै पनि पार्टीका नेताहरू सजग हुन सकेका छैनन् ।

जहाँसम्म नेपाली कांग्रेसको कुरा छ, सांगठनिक हिसाबले यो पार्टीको अवस्था निर्वाचनका लागि अनुकूल छैन । चुनावमा विजय हासिल गरेपछि मात्र पार्टीको महाधिवेशन गर्ने विचार कांग्रेसका लागि आत्मघाती सावित हुने पक्का छ । २०६३ मा देश संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भइसकेपछि कांग्रेसका मूल आधारहरू खस्किँदै र भत्किँदै गएका छन् । संगठन सुदृढीकरणको अभावमा यसको ‘भोट कमाउने संयन्त्र’ मा खिया लागेको छ ।

२००७ सालको क्रान्तिकालदेखि नै कांग्रेसको आधारभूमिका रूपमा रहेको मधेश प्रदेश कांग्रेसको हातबाट गुमेको दशक बित्न लागेको छ । मूलधारका भनिने कांग्रेस र एमालेबाट अलग भएर मधेशका प्रभावशाली नेताहरू विभिन्न क्षेत्रीय पार्टी गठन गर्ने वा गठन भएका क्षेत्रीय पार्टीमा सामेल हुने परिपाटी बढ्दो गतिमा छ । यही अवस्था देशका अरू छवटै प्रदेशमा विद्यमान रहेको छ । वास्तवमा, २०६२/०६३ को बृहत् जनआन्दोलनका धेरै नायकहरू खुम्चिएर बस्न बाध्य भएका छन् । सभापति देउवाको नेतृत्वमा कांग्रेसको संगठनमा अलिकति पनि शक्ति सञ्चय हुन सकेको छैन ।

यस्तो किन भयो ? कांग्रेसबाहेकका सबै ठूला, साना पार्टीहरू विभिन्न तहमा कांग्रेसविरुद्ध संगठित हुन थालेका छन् । कांग्रेसले यसका कारणहरूको अध्ययन गर्ने र सांगठनिक सुधार गर्ने तत्परता अहिलेसम्म देखाएको थाहा पाइएको छैन । लोकतान्त्रिक पार्टीमा सबै कार्यकर्ता स्वतन्त्र हुन्छन् भन्ने अराजक मान्यता स्थापित गर्ने प्रयास भइरहेको छ कांग्रेसमा । यो अहिलेको कांग्रेस नेतृत्वमा देखिएको आत्मघाती प्रवृत्ति हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा नयाँ नेपालको उदयपछि कांग्रेससँग वामपन्थी र दक्षिणपन्थीलगायतका कुनै पनि विचारधाराका राजनीतिक दलको वैचारिक सहमति रहेन । कांग्रेसका मूर्धन्य नेता गिरिजाप्रसाद कोइरालाले जनयुद्धमा लागेका माओवादीहरूलाई मूलधारको राजनीतिमा ल्याउन निकै ठूलो मिहिनेत गर्नुभयो । तर, त्यसको राजनीतिक प्रतिफल केही निस्किएन ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि माओवादीहरू पटकपटक कांग्रेस र एमालेसँग सत्ता समीकरण गर्न पुगे । त्यसको पनि नतिजा केही निस्किएन । नयाँ लोकतान्त्रिक परिपाटी आएपछि नेपाल विकासको बाटोमा द्रुततर गतिमा अघि बढ्ने धारणा पराकाल्पनिक सावित भयो । कांग्रेससँग वामपन्थी दलहरू मिल्ने ठाउँ नै थिएन । अहिले पनि, कांग्रेसको मायाले एमाले सत्ता साझेदारीमा आएको होइन । एमालेभित्र कांग्रेसमा जस्तै विकराल समस्या छन् । कांग्रेसमा जस्तै एमालेमा पनि त्यसको सहज समाधान सम्भव देखिँदैन । 

कांग्रेसमा अहिले ‘सभापतीय’ पद्धति हाबी भएको छ । यसको प्रजातान्त्रिक चरित्रमा धमिरा लागेको छ । सभापतिले सबैको कुरा ‘सुने’ जस्तो गर्ने र कार्यकर्ताले थपडी बजाएर सभापतिलाई ‘जय नेपाल’ को अभिवादन टक्य्राएर कर्तव्य पालन गर्ने प्रवृत्ति हाबी भएको छ कांग्रेसमा । कांग्रेसका नयाँ–पुराना, जोसिला–पोसिला र कर्तव्य परायण नेता तथा कार्यकर्ताहरू बिस्तारै वर्तमान नेतृत्वबाट तर्किन थालेका छन् । पार्टीमा संस्थापन र संस्थापनविरोधी पक्षको भाष्य तयार गरिँदै छ ।

त्यो भाष्यमा ‘जोगी हुन राजनीति गरेको होइन’ भन्नेहरूको संख्या ठूलो छ । सभापति देउवालाई यी कुराले सचेत गराएको छ भन्ने कतै देखिएको छैन । उहाँ यी कुरासँग निर्विकार र निरपेक्षझैं देखिनुभएको छ । २०५२ सालमा पञ्चहरूलाई समावेश गरेर सरकार गठन गर्न सफल हुनुभएयता सभापति देउवाले आफ्नै नेतृत्वमा आफ्नो चाहनाअनुरूप पार्टी चलाउने अवसर पाउनुभएको छ ।

त्यसैले उहाँ आगामी निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्ने विचारको प्रक्षेपण गरिरहनुभएको छ । उहाँको यो ‘विचार’ सँग सहमत युवा नेताहरूको कुनै कमी छैन । सत्ता प्राप्तिपछि शक्तिको उन्माद देखाउनेहरूको कांग्रेसमा कहिल्यै अभाव खट्किएको छैन । समयसँगै सत्ताप्रेमको उन्मादमा बहकिएकाहरूले सभापति देउवाको विचार वा अविचार स्वीकार गर्दै छन् भने परिवर्तित परिस्थितिमा यसलाई अन्यथा मान्नु पर्दैन ।

सभापति देउवाले बुझ्न नचाहनुभएको एउटा तथ्य के हो भने देशको राजनीतिक पटलमा कांग्रेस अन्य राजनीतिक दलहरूसँग मिलेर सरकारको नेतृत्व गर्न वा अहिलेको जस्तो अरू पार्टीसँग मिलेर सरकार चलाउन सक्षम होला । तर, लोकतान्त्रिक राजनीतिको माध्यमबाट नेपाली समाजको आर्थिक, सामाजिक परिवर्तनको नेतृत्व गर्ने कांग्रेसका प्रतिपक्षीहरू यो वा त्यो रूपमा बढ्दै छन् ।

सभापति देउवाले सत्तालाई सर्वोपरि ठहर्‍याउनुभएको छ । तर, सत्ताभन्दा कांग्रेसको संगठन निर्माणमा उहाँको ध्यान जानु आवश्यक थियो । सत्ता परिवर्तन कांग्रेसको मूल उद्देश्य थिएन । पछिल्लो संसदीय कालमा कांग्रेसले धेरै आर्थिक सुधार प्रारम्भ गरे पनि त्यो पर्याप्त थिएन । कांग्रेसका लागि सत्ता नेपाली समाजमा राजनीतिक, आर्थिक र सामाजिक जागरणका लागि हतियार मात्र हो भन्ने उसको उद्देश्य समयक्रममा स्खलित भयो । अहिलेको जमानामा यी आदर्शवादी सूत्रहरू असान्दर्भिक देखिएलान् । तर, कुनै पनि पार्टीका लागि सत्ता चलाउनुभन्दा देशमा नयाँ आर्थिक र सामाजिक जागरण ल्याउनु महत्त्वपूर्ण विषय हो । 

पाँच पटक सत्तारोहण भइसक्यो सभापति देउवाको । तर, उहाँले अहिलेसम्म कुनै राजनीतिक ‘करामत’ देखाउन सक्नुभएको छैन, जसका लागि दुनियाँले उहाँको वाहवाही गरोस् । सभापतिका रूपमा पनि उहाँको संगठनको विकास र विस्तारमा ठोस भूमिका देखिएको छैन ।

यतिबेला कांग्रेस संकटापन्न अवस्थामा छ । देशलाई गणतान्त्रिक बनाउने यो पार्टीका विरुद्ध चौतर्फी आक्रमण भइरहेको छ । एमाले, माओवादी, भिन्न चरित्रका क्षेत्रीय र जातीय दलहरू मौका पाउनासाथ कांग्रेसविरुद्ध खनिने निश्चित नै छ । त्यसमाथि, अहिले राजाका पक्षमा नारा जुलुस गर्दै हिँडेका जमातको मुख्य तारो पनि कांग्रेस नै बनेको छ । सभापति देउवाको अन्तरात्माले पनि यो कुरा त स्वीकार गरेकै होला ।

सभापति देउवाका हकमा चुनावमा जानुअघि पार्टीको महाधिवेशन गराउनु सही निर्णय हुनेछ । चुनावमा जानुभन्दा पहिले पार्टीमा एकता र जागरण ल्याउनु सभापतिका रूपमा उहाँको कर्तव्य र जिम्मेवारी दुवै हो । सैद्धान्तिक आधार गुमाएका राजनीतिक दलहरू बिस्तारै लोप हुने स्थितिमा पुग्दछन् । नीतिले यही कुरा भन्छ ।

किशोर किशोर नेपाल वरिष्ठ पत्रकार हुन् । उनी साहित्यका अलवा राजनीति र समाजका विविध आयामबारे लेख्छन् । उनको ‘मेरो समय’, ‘मिडिया:सिद्धान्त, सूत्र र प्रयोग’, ‘नेपालका निधि’ जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully