झूटको पग होइन, पखेटा हुन्छ

एक विचारका रूपमा यदि शोषणको रूप कुनै नाराबाजहरूको दिमागमा स्थापित छ भने त्यो निकै खतरनाक समयको संकेत हो 

फाल्गुन २२, २०८१

चन्द्रकिशोर

Lies don't have legs, they have wings

झुटको खुट्टा हुँदैन । यो एक पुरानो आहान हो । आहान भनेकै पुरानो हुन्छ । अनुभवको जाँतोमा लामो समयसम्म पिसिएर निस्किएको हुन्छ । अनि पो दीर्घकालसम्म त्यसको सान्दर्भिकता रहिरहन्छ । झूटको खुट्टा भलै नहोस् तर पखेटा रहन्छ र पगमाथि पखेटा जहिले पनि भारी देखिएको छ । झूटको पखेटा हुन्छ रे, त्यसैले त्यो छिटो एक स्थानबाट अर्को स्थानमा पुग्न सम्भव हुन्छ । 

अफवाह एक संक्रामक रोग हो, जसको स्वभाव नै छिटोछिटो फैलिनु हो । सत्ता र शक्तिमा रहन चाहनेहरूका लागि झूट एक उपयोगी साधन हो, यो उसको सामर्थ्य हो । झूट एक ठाउँमा स्थिर भएर बस्न सक्दैन । चञ्चलता उसको नैसर्गिक सौन्दर्य हो ।

देहाततिर एउटा लोककथा सुनिन्छ । सत्य र झूटको अचानक एक दिन जम्काभेट हुन्छ । झूटले सत्यलाई भन्यो, ‘अहा, कति राम्रो छ आजको दिन ।’ सत्यले आकाशतर्फ हेर्दै भन्यो– ‘हो आजको दिन अच्छा छ ।’ उनीहरू घुम्दै एक कुवाको नजिक पुगे । झूटले सत्यलाई भन्यो– ‘नदीको पानी कति निर्मल छ । जाऊँ, यसमा नुहाऔं ।’ सत्यको मनमा सन्देह थियो । उसले पानी चाख्यो, ‘हो पानी त निर्मल छ ।’ दुवै जनाले आ–आफ्ना कपडा फुकाले र नदीमा हाम फाले । कथाअनुसार झूट उफ्रिएर डिलमा आयो । हत्तपत्त सत्यको लुगा लगायो र भागेर नजिकको गाउँमा पस्यो । सत्यलाई रिस उठ्यो, जो स्वाभाविक पनि थियो । 

यसरी अकस्मात् आइपरेको परिस्थितिका लागि ऊ तयार थिएन । ऊ पनि आफ्नो परिधान खोज्दै त्यही गाउँ छिर्‍यो । मान्छेहरू उसलाई नांगो देखेर घबराए, रिसले मुर्मुरिए, आलोचना गरे । असहाय सत्य फेरि फर्किएर नदी किनारमा आयो । ऊ लाजले लुकेर बस्दै रह्यो । भनिन्छ, झूट त्यही बेलादेखि सत्यको पोसाक लगाएर दुनियाँ चहार्दै छ । यता सामान्य जन पनि ‘नेकेड ट्रुथ’ को सामना गर्न सकिरहेको छैन । दुनियाँ सत्यको परिधानबाट वेष्टित भएर प्रफुल्लित देखिएको झूटमाथि नै ज्यादा विश्वास गर्छन् र यसलाई नै सुरक्षित मान्छन् । शताब्दीयौंदेखि यसैगरी झूट सत्यको लुगा लगाएर ज्यादा फूर्तिलो छ, यता सत्यको उदासी कायम छ ।

सत्यकामीहरू अर्थात् जो यथार्थ पस्किन चाहन्छ, जो सत्ता र शक्तिको आवरणमा लुक्न चाहँदैन । जे छ, त्यो बेहिचक राख्छ । जे हुँदै छ, त्यो त्यसरी नहुनुपर्ने हो भने त्यो पनि दर्शाउँछ । सत्ताको पांग्रो कतातिर मोडिँदै छ ? शक्ति कतातिर धकेलिँदै छ ? संकल्प गरिएको लिक कुन थियो ? रिक्तता, चूक, अप्ठ्याराहरू, अटेरीपनमाथि आँखा लगाउँछ र त्यसलाई कहन्छ । केवल प्रिय मात्र बोल्दैन, प्रियका साथसाथ जे–जो अप्रियको छाया छ, त्यसलाई पनि उजागर गर्छ । यस्ताहरू वर्तमानसँग सन्तुष्ट रहन चाहँदैनन् । उनीहरू जहाँ पैताला ठडिएको छ, त्यहाँभन्दा माथिमाथि आरोहणको इच्छा राख्छन् । त्यसैले वर्तमानका बहुरूप सत्ता र शक्तिमाथि आशंका गर्छ, प्रश्न तेर्स्याउँछ । ललकार्छ, धम्क्याउँछ । सपार्नका निमित्त अहर्निश डिबिया बालेर देखाउँछ ।

यसरी डिबिया बालेर देखाउँदा राजनीतिक दलहरूभित्रको आन्तरिक लोकतन्त्रका वास्तविकता छचल्किन्छ । स्थायी सरकारको अस्थायी चरित्रको भण्डाफोर हुन्छ । राज्य सञ्चालनको मुख्य जिम्मेवारी बोकेका दलहरू जति बढी पारदर्शी बन्छन्, त्यसको प्रतिविम्ब राज्य सञ्चालनका अरू अंगहरूमा पनि पर्छ । राज्यको बागडोर सम्हाल्ने भनेको आखिर दलहरूले नै हो । लोकतन्त्रको अर्थ र अभ्यास विशद छ । हाम्रै परिप्रेक्ष्यमा लोकतन्त्रका आयाम र आयतन पनि फराकिला हुँदै आएका छन् । कहाँ–कहाँ अँध्याराहरू छन्, त्यसका बारे घोत्लिँदै, बोलिँदै र लेखिँदै रहने क्रम अविरल छ ।

लोकतन्त्र चलाउन संविधान मात्र पर्याप्त हुँदैन । संविधानलाई प्रभावकारी र चलायमान बनाउन केही मूल्य र मानकहरू स्थापित गरिन्छ । लोकतन्त्र भनेको नागरिकले आफूमाथि विश्वास गरेको व्यवस्था हो । यो नेपाली जनता आफ्ना प्रतिनिधिमार्फत लोकतान्त्रिक विधि अपनाएर आफैंमाथि शासन गर्न सक्छ भन्ने अटल आस्था हो । यो शासनका लागि दैवीय तागतको आवश्यकतालाई दृढतापूर्वक अमान्य गर्छ । यो कुनै अमूक वंश नै राष्ट्रिय एकताका प्रतीक हुन् भन्ने भाष्यलाई खण्डित गर्छ ।

वर्तमान समयमा जब शोषण वा अधीनस्थसँग सम्बन्धित बदलिँदो परिप्रेक्ष्य र विचारधारा नागरिकको पहिचान प्रस्तुत गर्ने माध्यम बन्दै गइरहेको छ, तब ‘शोषणको समाजशास्त्र’ विषयक सर्वग्राही, मननशील, तर्कशील र गहिराइयुक्त सघन चर्चाको खाँचो थपिएको छ ।

संघीय गणतन्त्रको चिन्तन आदर्श स्थापनाको सतत् प्रयास हो । यो समुत्कर्षको चिन्तन हो, सबैलाई सम्मान मिलोस्, सबैको सहभागिता रहोस् तथा सबै समृद्ध बनून् । संघीय गणतन्त्रको चिन्तन सततता, गतिशीलता र विकासशील परिवर्तनका प्रक्रियाको दर्शन प्रस्तुत गर्छ । न इतिहासको उपेक्षा, न वर्तमानको तिरस्कार र न भविष्यबाट पलायन नै हुन्छ ।

यो चिन्तन ‘खण्डित अस्मिता’ को चिन्तन होइन । यो ‘म नै’ होइन कि ‘म पनि’ को चिन्तन हो । यसमा कसै एकको आधिपत्य होइन, बरु सहअस्तित्वलाई स्वीकृति रहन्छ । यो सामाजिक समरसताको चिन्तन हो । यहाँ सामुदायिक स्तरमा प्रतिस्पर्धा होइन, सहजीविता, संघर्ष होइन समन्वय, शोषण होइन सहयोग र सहकारको परम्परा स्थापित गर्ने ध्येय निष्ठा पाइन्छ, पाउनुपर्ने हो ।

लोकतन्त्र भनेको जवाफदेहिता र पारदर्शितासहितको शासन हो । यहाँनिर खलील जिब्रानको एक कथनको उल्लेख प्रासंगिक हुन्छ । ‘यदि यथार्थ जान्न चाहन्छौ भने त्यो नहेर जो तिम्रो सामुन्ने प्रकाशित छ, त्यो हेर जो प्रकाशित हुन सकिरहेको छैन । यदि तिमी यथार्थलाई बुझ्न खोज्दै छौ भने त्यो नसुन जो उसले भनिरहेको छ, त्यो सुन जो ऊ भन्न सकिरहेको छैन ।’ 

नेपाल एक पुरानो मुलुक हो । यहाँ लोकतान्त्रिक संघर्षको शृंखला भने अविच्छिन्न छ । यो वैविध्य भएको देश हो । यो विविधताले भरिएको देशमा प्रभुत्व र अन्यायका पनि विविध रूप छन् । किनारामा रहेकाहरू आफ्ना बह पोख्दा, नेताराजबाट पीडितहरू सुसाउँदा जताजता भ्वाङ देखिन्छ, त्यसैलाई देखाएर यो संघीय गणतन्त्रप्रति घृणा पस्किनेहरू मूलतः झूटको पखेटामार्फत विचरण गर्ने तत्त्व हुन् ।

पखेटावाजहरूलाई संघीय गणतन्त्र मन परेको छैन । यिनीहरूमध्ये कोहीले ‘परोपकारी तानाशाह’ को दिवास्वप्न राखेका छन् । यिनीहरू यो बुझपचाउँछन् कि उनीहरूले खडा गर्ने गरेका प्रत्येक प्रश्नको एक सीमा र समय हो । तर लोकतान्त्रिक विराटताका लागि एक भुइँमान्छेले सोधिरहेको हुन्छ– के, किन, कसरी, कहिले, कता, कसको, कसले । यी शब्दहरूको प्रयोगबिना लोकतान्त्रिक जिन्दगी चल्न नै सक्दैन । संघीय गणतन्त्रइतरको कुनै पनि व्यवस्थामा सबैभन्दा पहिला प्रश्नहरूलाई निषेध गरिन्छ, प्रश्नकर्ताहरूलाई निस्तेज गरिन्छ । जिब्रानले भनेजस्तै सोच्ने, देख्ने र बोल्ने सुविस्ता लोकतन्त्रमा मात्र सम्भव छ । लोकतन्त्र यस्ता प्रश्नहरूको सार्वभौम उत्तर खोज्ने प्रयास गर्छ । लोकतन्त्रले खोज्ने प्रश्नहरूको उत्तर अन्य मुलुकमा एउटा र नेपालमा बेग्लै हुँदैन । यस्तै लोकतन्त्रइतरको व्यवस्थामा वैज्ञानिक चेतनासँग पनि सम्झौता गर्नुपर्छ ।

यो एक असाधारण समय हो । मुलुक अनेकौं चुनौतीहरूसँग जुझ्दै गरेको छ । जो जहाँबाट सरकार वा संविधानका प्वालहरूतर्फ औंला देखाइरहेका छन्, तिनीहरू खाल्डो होइन, पुल बनाउने नागरिक हुन् । ज्ञानको विविधताको स्वीकृति लोकतन्त्रको चिह्न हो । सामुदायिक विमर्श जो जहाँ गरिरहेका छन् र लोकतन्त्रको आयतनलाई फराकिलो बनाउन चाहन्छन्, तिनीहरू विमर्श त गरिरहेका छन् तर एकअर्कामा अपेक्षित संवाद हुन सकिरहेको छैन । यिनीहरूले आ–आफ्ना पीडाहरूबीचको पुल बनाउन सकेनन् । आज लोकतन्त्रभित्र यस्ता पुल बनाउँदै जाने हो ।

हामीले लोकतन्त्रका लागि एक ढाँचा त खडा गरिहाल्यौं तथापि लोकतान्त्रिक संचेतना अर्धमूर्छा अवस्थामा छ । अहिले कोही संघीयता खारेजीका लागि कराउँदै छन् । कोही समानुपातिक समावेशिताको साटो क्षमतामा आधारित व्यवस्थाका लागि हल्ला गर्दै छन् । यो ध्यान राख्नुपर्ने हो कि एक विचारका रूपमा यदि शोषणको यो रूप कुनै नाराबाजहरूको दिमागमा स्थापित छ भने त्यो निकै खतरनाक समयको संकेत हो । हाम्रो सन्दर्भमा संघीयता र समावेशिता शोषण मुक्तिको एक साधन हो ।

तसर्थ को व्यक्ति नारा भट्याउँदै छन् भन्दा पनि यस्ता विचार खतरनाक हो । यसले मानवीय गरिमालाई कम गर्छ । नयाँ र अद्भुत हुँदै जाने सम्भावनालाई कुल्चिन्छ । यहाँ यो सन्दर्भ किन उठाउनुपरेको छ भने लोकतान्त्रिक प्रक्रियाका प्रति राष्ट्रियस्तरमा सामान्यतः एक उपेक्षाभाव दृढ भएको छ । शोषित र वञ्चित समुदायभित्र नै आफ्ना लागि स्थापित मार्गहरूप्रति नैराश्य टुसाएको छ । साहसिक र आलोचनात्मक चेतभन्दा झूटको सप्तरंगी क्यानभास ज्यादा प्रियकर र आभासीय हुन लागेको छ । संघीय गणतन्त्र, सत्यको मन्द गति छ भने अधिनायकवादी प्रपञ्चीहरू बडो द्रुत गतिमा मडारिँदै छन् ।

आमजनलाई लाग्दै गरेको छ, राजनीति एक फोहोरी विषय हो । यसमा अनेक अनैतिक सम्झौता गर्नुपर्छ । यो कालो कमाइमा चुर्लुम्म डुबेको छ । यसमा संदिग्ध पृष्ठभूमिकाहरूको नै गुलजार छ । राजनीतिमा उनै व्यक्तिहरू छिरेका छन्, जो अरूतिर सफल देखिएनन् । त्यसैगरी अन्यत्र छोटो बाटोबाट शक्ति र धन आर्जित गरेकाहरू अब मूलढोकाबाट राजनीतिमा भित्रिएका छन् । यी सत्य हुन् तर पूर्ण सत्य होइनन् । जो कुनै पनि प्रकारको लोकतन्त्र चाहँदैन ।

तिनीहरूका आंशिक सत्य पनि चुहिएको छैन । किनभने त्यस्ताहरूलाई त यो चालु लोकतन्त्रकै कमजोरीको च्यादरबाट आफूलाई ढाक्न सघाउ पाइएको छ । त्यसैले हाम्रा छेउछाउमा जे हुँदै गरेको छ, त्यसबाट असन्तुष्ट, असहमत वा अलग रहेर बस्ने गुन्जाइस छैन । सत्यको कामना राख्नेहरूले आफ्ना तथ्य र तर्कहरूलाई गति दिनैपर्छ, पग र पखेटा दुइटै हाल्नुपर्छ । नत्र झूटको खेती गर्नेहरू अलमल, अन्योल र अस्थिरता दिँदै रहन्छन् ।

चन्द्रकिशोर विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।

Link copied successfully