निजामती विधेयकमा बहकिएको बहस

बन्द कोठामा दुई/चार जनाको बुद्धिविलासमा विद्यमान निजामती सेवा ऐनकै दफामा कोरकार र थपथाप गरी तयार प्रस्तावित विधेयकले कर्मचारीतन्त्रमा कुनै सुधार हुने सम्भावना देखिँदैन 

फाल्गुन २१, २०८१

देवीराम आचार्य

Distracted Debate on Civil Bill

गत पुसमा स्टाफ कलेजमा सचिवहरूलाई भेला गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको कामप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । विभिन्न मन्त्रालयका मन्त्रीहरूले पनि बेलाबेला यस्ता असन्तुष्टि प्रकट गर्नुहुन्छ । कर्मचारीका काममा राजनीति नेतृत्वले असन्तुष्टि व्यक्त गर्ने क्रम अहिले मात्र चलेको होइन ।

विगतका प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई सबैले आफ्नो असफलताका लागि कर्मचारीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दोषारोपण गर्ने गरेको इतिहास छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले त कर्मचारीतन्त्रकै कारण विद्रोह हुन सक्ने र संघीयता नै असफल हुने चेतावनीसमेत दिनुभएको थियो । 

संविधान जारी भएको दस वर्ष पुग्न लाग्दा पनि प्रशासनिक संघीयतालाई कार्यान्वयन गर्ने मुख्य आधार संघीय निजामती सेवा ऐन जारी नहुनुमा मुख्य जिम्मेवार तीन ठूला राजनीतिक दल र संसद्लाई नै मान्न सकिन्छ । अर्को दृष्टिकोणमा संघीय निजामती सेवा ऐनको अभावमा हुन नसकेका वा बिग्रिएका काम के हुन् भन्ने खोजी गर्ने हो भने त्यसरी नभएको र बिग्रिएको पनि केही छैन होला ।

नियुक्ति, सरुवा बढुवा, पदस्थापन, विदेश भ्रमण नियमित चलिरहेकै छ । सबै सरकार र मन्त्रीलाई आफूअनुकूल एसम्यान सचिव/सहसचिव खोजी गर्न, बढुवा गर्न, सरुवा गर्न मिलिरहेकै छ । संघीय मामिला मन्त्रालयले सरुवा मन्त्रालयको रूपमा काम गरिरहेकै छ । 

ऐनको अभावमा समस्या भएको स्थानीय तहको सेवा प्रवाहमा हो । तर त्यसप्रति संघीय सरकार बेखबर छ । प्रशासनका विज्ञहरूले १५ विद्यालय भएको पालिकाको शिक्षा शाखामा उपसचिवसहित ४ दरबन्दी र ८५ विद्यालय भएको गाउँपालिकामा २ जनाको दरबन्दी सिर्जना गरेर कर्मचारी समायोजन कार्य फत्ते गरे । कर्मचारी समायोजन सरकारका लागि ठूलो उपलब्धि भयो तर त्यसले सिर्जना गरेका समस्या उस्तै छन् । प्राकृतिक न्यायको सिद्धान्तविपरीत कनिष्ठ मातहतमा वरिष्ठ कर्मचारीलाई काममा लगाइएको छ ।

समायोजनको यान्त्रिक कार्य सम्पन्न भयो तर त्यसबाट सिर्जित समस्या समाधान बढिरहेका छन् । यतिबेला देशभर तीन सयभन्दा बढी पालिकाहरू निमित्तका भरमा चलेका छन् र यो सधैंको जीर्ण रोग बनेको छ । संघीय प्रशासन संयन्त्र पालिकामा प्रशासकीय प्रमुखको व्यवस्थापनसमेत गर्न असफल भएको अवस्था छ । 

कर्मचारीले काम गरेनन्, उत्प्रेरित भएनन्, सेवाग्राहीमैत्री भएनन्, सुविधामुखी भए, सेवाप्रवाहमा ढिलासुस्ती भयो भनिन्छ । यसका कारण के हुन् ? कर्मचारी किन उत्प्रेरित छैनन् ? को उत्प्रेरित छैन (खरिदार कि सहसचिव) ? सचिव उत्प्रेरित किन भएनन् ? के अर्थ र गृह नपाएर हो ? विदेश जान नपाएर हो ? खरिदारले काम नगरेको दैनिकी चलाउने तलब सुविधा नभएर हो कि ? काम गर्ने वातावरण नभएर ? वा कार्यक्षमता नभएर हो कि ? प्रभावकारी काम गराउने संयन्त्र नभएर ? यस्ता थुप्रै र अनगिन्ती अनुत्तरित प्रश्नहरू छन् ।

कर्मचारीतन्त्रको सिर्जना कसरी हुन्छ ? यसको सामाजिकीकरण कसरी हुन्छ ? यसका मूल्यमान्यता के हुन् ? ती कसरी निर्माण भएका हुन्छन् ? के भए काम गर्छ र के भए काम गर्दैन ? वा किन काम गर्छ र किन काम गर्दैन भन्ने मूल समस्यामा प्रवेश नै नगरी सतही रूपमा कर्मचारीले काम गरेन भन्नुको खास अर्थ छैन । 

सुशासन कायम गर्न, समृद्धि र देश विकासका लागि भनेर सायदै कमैले लोक सेवा आयोगको परीक्षा दिन्छन् होला । धेरै हदसम्म निश्चित तहको अध्ययनपश्चात् रोजगारीको खोजी गर्ने क्रममा जे–जे अवसरहरू भेटिन्छन्, सबैतिर प्रयास गर्दै जाँदा लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्ने व्यक्तिहरू कर्मचारी बन्न पुग्छन् । यसरी कर्मचारी बनेपछि उच्च पदस्थबाट हुने संस्थागत अभिमुखीकरण र सामाजिकीकरणले उसमा गहिरो प्रभाव पारेको हुन्छ ।

अधिकांश कर्मचारी अनिश्चत वृत्तिविकास र गणेश प्रवृत्तिको सरुवा बढुवाका प्रावधानमा थिचिएर लोक सेवा आयोगका सिद्धान्त कण्ठ गर्ने र माथिल्ला पदमा पुग्ने आसक्तिले थिचिन्छन् । कोही किन सहसचिव वा सचिव बन्न मरिहत्ते गर्छ ? किन विभागीय प्रमुख र हाकिम हुन नेताका ढोकामा पुग्छ भन्ने सवालमा अनुसन्धान गरेरै हेर्नुपर्ला । 

गतसाता मात्र पूर्वकर्मचारीको विज्ञतालाई उपयोग गर्नका लागि संघीय सरकारले उचित व्यवस्था गर्ने भन्ने समाचार प्रकाशित भएको थियो । यसका साथै गत कात्तिकमा लुम्बिनी प्रदेश सरकारले पनि प्रशासन, विकास र सुशासनका क्षेत्रमा अवकाशप्राप्त राष्ट्रसेवकको ज्ञान, सीप र अनुभवको उपयोग गर्ने निर्णय गरेको थियो । विडम्बना, सेवामा भएका कर्मचारीको कामप्रति असन्तुष्ट राजनीतिज्ञहरू सेवानिवृत्त भएकाहरूको ज्ञान, सीप र विज्ञतालाई प्रयोग गर्न लालायित हुनुहुन्छ । अधिकांश सेवानिवृत्तहरूको विज्ञता, ज्ञान, सीप र कार्यसम्पादन स्तर कस्तो छ भन्ने त सेवानिवृत्तहरूकै लागि सिर्जना गरिएको जस्तो देखिने विभिन्न आयोगको कामबाट पनि बुझ्न सकिन्छ । 

यतिबेला चर्चामा रहेको निजामती सेवा विधेयकमा पालिकामा प्रशासकीय प्रमुख कसले र कसलाई खटाउने, प्रदेशका सचिव कसले बनाउने, खुला प्रतिस्पर्धामा कति प्रतिशत राख्ने, आरक्षणको कोटा बढाउने, अवकाश उमेर बढाउने, ट्रेड युनियन राख्ने कि नराख्ने मुख्य बहसका विषय हुन् ।

के यी विषयले सार्वजनिक सेवा प्रवाहमा सुधार होला ? राजनीतिज्ञहरूका गुनासा सम्बोधन होलान् ? कर्मचारीको कामसँग असन्तुष्ट राजनीतिज्ञहरूले कस्तो कर्मचारीतन्त्र चाहनुभएको हो ? कस्तो सेवा प्रवाह चाहिएको हो ? कस्तो सुशासन र विकास चाहिएको हो ? आदेशपालक कि विकास, सुशासन र समृद्धिको सहयात्री ? यी प्रश्नको जवाफ नखोजी सार्वजनिक सेवा प्रवाह सुधार हुँदैन ।

बन्द कोठामा दुई/चार जनाको बुद्धिविलासमा विद्यमान निजामती सेवा ऐनकै दफामा कोरकार र थपथाप गरी तयार गरिएको निजामती सेवा विधेयक केवल संघीयतापश्चात् जारी भएको नयाँ ऐन मात्र बन्नेछ । लोक सेवा आयोगले योग्ताप्रणालीमा आधारित भएर प्रतिस्पर्धाबाट योग्यतम कर्मचारी छनोट गर्ने तर तिनै कर्मचारीबाट सेवा प्रवाह ढिलासुस्ती हुने, नैतिकता र सदाचार नहुने हो भने त्यो योग्यता प्रणाली राखिराख्नुपर्ने कारण के छ ? २० वर्षसम्म एउटै पदमा काम गरिरहेका कर्मचारी उत्प्रेरित भएनन् र काम गरेनन् भन्नु कति न्यायसंगत हुन्छ ? यो पक्ष विचारणीय छ । राज्यको स्रोतसाधन कसरी धेरै दोहन गर्न सकिन्छ भन्ने विषय आयो भने राजनीतिज्ञहरू नै कर्मचारीसँग मिलेमतोमा लाग्छन् । 

तर ठाडो आदेश र निर्देशनमा काम भएन भने कर्मचारीप्रति गुनासो गर्छन् । आफ्नै नेतृत्व मातहतको कर्मचारी दोषी करार हुँदा मन्त्री कसरी निर्दोष हुन सक्छ ? नैतिकता र सदाचारिता कर्मचारीमा मात्र हुनपर्ने त होइन होला ? कर्मचारीतन्त्रको सञ्चालन गर्ने राजनीतिज्ञले नै हो । त्यसैले आफ्नो असफलता र कार्यअक्षमतामा कर्मचारीलाई दोष लगाउनु केवल पानीमाथिको ओभानो हुन खोज्नु मात्र हो । 

साँच्चिकै सेवा प्रवाहको सुधार, सुशासन र विकासमैत्री कर्मचारीतन्त्रको आवश्यकता हो भने केही आधारभूत विषयहरूमा गम्भीर बहस र छलफल गरिनुपर्छ । विधेयक हतारमा जारी गर्ने होइन, यसको पुनर्लेखन आवश्यक छ । 

देवीराम

Link copied successfully