‘ओभल अफिस’ मा प्रकट भएको ‘ग्लोबल डिसअर्डर’ को ट्रेलर

तीन वर्षयता युक्रेनी जनताको दैनिकी पीडाजनक र अन्योलग्रस्त छ । युद्धभन्दा भयानक र बर्बर छ, शक्तिराष्ट्रहरूको भूमिका । तैपनि, युद्धको अन्त्य अपरिहार्य छ । यही बोध वासिङ्टन, मस्कोदेखि किभसम्मका शासनले जति छिटो गर्नेछन्, त्यति नै छिटो सकारात्मक नतिजा हासिल हुनेछ ।

फाल्गुन १८, २०८१

सम्पादकीय

The trailer of 'Global Disorder' revealed in the 'Oval Office'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्स तथा अतिथिका रूपमा ह्वाइटहाउस पुगेका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीचको वार्ता विश्व राजनीति र कूटनीतिको बिरलाकोटि घटनाका रूपमा दर्ज भएको छ ।

ओभल अफिसमा जेलेन्स्कीमाथि ट्रम्प र भेन्सले जस्तो व्यवहार देखाए, एउटा सार्वभौम देशका राष्ट्रपतिका लागि गरिने अपेक्षित व्यवहारको सर्वथा विपरीत थियो । अर्कोतर्फ, युद्धका कारण युक्रेनले भोगेको क्षतिबाट पाठ सिक्दै युद्ध अन्त्य गर्न रचनात्मक पहल गर्ने विवेक जेलेन्स्कीमा फेरि पनि देखिएन ।

तसर्थ ट्रम्प–जेलेन्स्कीबीचको भेटमार्फत युक्रेनमा शान्ति फर्किने बाटो तय हुने अपेक्षा गरिरहेका विश्वभरका नागरिकले गैरकूटनीतिक संवादले भरिपूर्ण दृश्य हेर्नुपर्‍यो, जुन अत्यन्तै दुःखद् छ । यो संवादले विश्व नै आहत भएको छ । परिणामतः युक्रेनमा तीन वर्षयता चलिरहेको विध्वंसको अन्त्य अन्योल बनेको मात्रै होइन, ‘ग्लोबल अर्डर’ नै ‘डिसअर्डर’ मा परिणत भएको छ । 

युक्रेनको अमूल्य खनिज स्रोत अमेरिकासँग बाँडफाँड गर्ने सम्झौतामा हस्ताक्षर गर्न ह्वाइटहाउस पुगेका थिए जेलेन्स्की । सम्झौताबारे टुंगोमा पुगेको र औपचारिकता मात्रै बाँकी रहेको दुवै पक्षले बताइरहेका थिए । तर हस्ताक्षर त परको विषय भयो, संवाद नै अमर्यादित हुन पुग्यो । ट्रम्प र जेलेन्स्की दुवैले आत्मसम्मानमा ठेस लागेको घोषणा गरे, जो अनपेक्षित थियो ।

संवादमा केही यस्ता विषय प्रवेश गरे, जसलाई कूटनीतिको भद्दा उदाहरणका रूपमा इतिहासले सम्झिरहनेछ । जेलेन्स्कीले क्रिमिया कब्जादेखिको प्रसंग जोड्दै तत्कालीन राष्ट्रपतिहरूले पनि केही नगरेको प्रसंग उठाउँदा ट्रम्पले त्यतिबेला आफू राष्ट्रपतिमा नभएको बताए ।

त्यस्तै, ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्धको जुवा खेलिरहेको आरोप लगाउँदै यो बन्द गर्न चेतावनी दिए । उपराष्ट्रपति भेन्सले अमेरिकाको सहयोगलाई जेलेन्स्कीले अवमूल्यन गरेको आरोप लगाए । जसको प्रतिवाद गर्ने क्रममा संवाद निष्कर्षमा नपुग्दै जेलेन्स्की ओभल अफिसबाट बाहिरिए । शुक्रबारको घटनाले युक्रेन र रुस मात्र होइन, युक्रेन र अमेरिकाबीचको सम्बन्ध पनि अन्योलग्रस्त बनेको छ ।

अमेरिकाले आफ्नो देश र त्यहाँका नागरिक तथा करदाताको हित हेर्नु स्वाभाविक हो । तर, कुनै पनि देश त्यति निरपेक्ष हुन सक्दैन, जसले आफ्नै विरासत उल्लंघन गर्न स्वच्छन्द हुन पाओस् । किनकि, हरेक देशसँग आफ्नो संस्थागत स्मृति, पहलकदमी र प्रतिबद्धताको शृंखला हुन्छ, हुनुपर्छ । त्यसैले पनि अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामा वा जो बाइडेनले ठीक गरेका थिए वा थिएनन् भनेर अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प जिम्मेवारीमुक्त हुन सक्दैनन् ।

यद्यपि, शक्तिमा रहेका बेला उनका हरेक शैलीले रणनीतिक वैधानिकता पाउन सक्छन्, तर कूटनीतिक विश्वसनीयता गुम्नुको क्षति अमेरिकाले मात्र होइन, सारा विश्वले बेहोर्नुपर्ने हुन सक्छ । यसर्थ, ट्रम्पले आफ्नो राष्ट्रकै विश्वसनीयतामा मात्र घात गरिरहेका छैनन्, संसारमा अब कोही कसैको छैन भन्ने मान्यता स्थापित गरिदिएका छन् । यो ‘डिसअर्डर’ विश्वकै लागि घातक छ । 

भूराजनीतिक यथार्थ केलाउने हो भने युक्रेनलाई नेटोको जरुरी थिएन । तर उसलाई नेटोको जरुरी छ भन्ने अनुभूति बढाउनमा अमेरिकाकै भूमिका छ । जसकारण उग्रराष्ट्रवाद जागेको युक्रेन महत्त्वाकांक्षी बन्यो । अमेरिकाको साथ पाएरै युक्रेनले युद्धको बाटोलाई पनि स्विकार्‍यो । नहुनु युद्ध भइसकेपछि जुनसुकै राष्ट्रका लागि प्रतिरक्षा एउटा बाध्यात्मक चरण हो ।

युक्रेनले पनि त्यही गर्‍यो । तर नेटोको सदस्य हुने युक्रेनको आकांक्षा र रुसी उन्मादले युद्ध सुरु भएकोमा शंका छैन । त्यस्तै, अमेरिकालगायतका देशले युक्रेनलाई गरेको सहयोगका कारण यो लम्बियो । युद्धको पृष्ठभूमिमा अमेरिका नभएको भए युद्ध नै नहुन सक्थ्यो वा युक्रेनले बेहोर्ने क्षति यो तहको नहुन सक्थ्यो । तर आज अमेरिका उल्टै युक्रेनलाई लाञ्छित गरिरहेको छ । व्यक्तिगत रूपमा ट्रम्पले के धारणा राख्छन्, त्यसको छुट्टै व्याख्या हुन सक्छ । तर अमेरिकाको पछिल्लो नीति युक्रेनमाथिको सरासर धोका हो । 

तीन वर्षयता युक्रेनले भोगिरहेको आक्रमणका लागि रुसको भूमिका मुख्य छ । उसले युक्रेनलाई सार्वभौम देशको रूपमा सम्मान गर्न आवश्यक ठानेको छैन । आफूअनुकूल रहेको युक्रेनको सामुदायिक र भाषिक विविधतालाई उसले दुरुपयोग गर्ने प्रयास गर्‍यो । त्यसको एउटा पटाक्षेप युक्रेनी भूमि क्रिमिया कब्जाका बेलामा भएको थियो ।

रुसको व्यवहारले युक्रेनमा राष्ट्रवादी महत्त्वाकांक्षाको उदयलाई मलजल गर्‍यो । परिणाम थियो, सन् २०१९ को निर्वाचनमार्फत जेलेन्स्कीको उदय । भूराजनीतिक जटिलतालाई बुझ्ने सुझबुझ कमजोर भएका जेलेन्स्कीको उदयका निम्ति उनको उग्रराष्ट्रवादी छविले भूमिका खेल्यो । पश्चिमा शक्तिसँग निकट बस्ने र नेटो सदस्यता हासिल गर्ने आकांक्षाले छिमेकी रुससँगको सम्बन्ध झन् बिगार्‍यो । 

तीन वर्षयता युक्रेनी जनताको दैनिकी पीडाजनक र अन्योलग्रस्त छ । युद्धभन्दा भयानक र बर्बर छ, शक्तिराष्ट्रहरूको भूमिका । तैपनि, युद्धको अन्त्य अपरिहार्य छ । यही बोध वासिङ्टन, मस्कोदेखि किभसम्मका शासनले जति छिटो गर्नेछन्, त्यति नै छिटो सकारात्मक नतिजा हासिल हुनेछ । तर ओभल अफिसको संवाद जति विद्रुप भए पनि यसको ‘कोर्स करेक्सन’ मानवजातिका लागि नै अपरिहार्य छ । 

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully