जलनको घाउमा राज्यको मलम अपरिहार्य

आफैं भुक्तभोगी भएपछि अहिले मैले गहिरो महसुस गरेको छु– असहाय, गरिब, विपन्न,दूरदराजका नागरिकले समयमा गुणस्तरीय उपचार पाउने र उनीहरूको जीवन रक्षा हुने कुराको प्रत्याभूति गर्ने अभिभारा हामीसँगै छ, अब कसैगरी पूरा गर्नुपर्छ

फाल्गुन १४, २०८१

विष्णु पौडेल

The ointment of the kingdom is indispensable in the burning wound

पोखरा महानगरपालिकाले गत फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणासभामा आमन्त्रण गरेपछि म त्यहाँ निर्धारित समयमा पुगेको थिएँ । आयोजकहरूले कार्यक्रमलाई नवीन तरिकाले उद्घाटन गर्न भन्दै ‘स्विच अन’ गरेपछि पानसमा दीप प्रज्वलन हुने प्रबन्ध गर्नुभएको रहेछ ।

‘स्विच अन’ सँगै बत्ती बल्यो । ‘फायर क्यान्डल’ हरूबाट झिरझिरे निस्किन थाले । अनि मचाहिँ उद्घाटनको काम सकियो भनेर मञ्चतिरै फर्कंदै थिएँ । तर, त्यहाँ एक झुप्पा बेलुन मैले र अर्को झुप्पा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उडाउने प्रबन्ध पनि रहेछ ।

त्यसैले मञ्चबाट फेरि तल झरेर हामीले बेलुनको डोरी समात्यौं । उडाउन खोज्दा एउटा झुप्पा नजिकै ‘स्पार्क’ गरिरहेको झिरझिरेमा ठोक्कियो । एकसाथ बेलुनका दुइटै झुप्पाहरू 

पड्किए । ठूलो आवाज, त्यसबाट निस्केको धूवाँ र ज्वाला कुनै बम पड्केको भन्दा कम थिएन । आगोको लप्कामा परेपछि मेयरसाब मञ्चबाट तल झर्नुभएछ । मचाहिँ मञ्चतिर दौडिएँ । मेरो टोपी, कोट, अनुहार, टाउकोका अनुहारका रौहरू जल्दै थिए । पीएसओले टोपी खोल्दिनुभो । आगो निभाउनुभयो । अब हस्पिटल जाने कि, कार्यक्रमलाई निरन्तरता दिने भन्ने द्विविधा भयो । तर हस्पिटल गइहाल्नुपर्छ भन्ने लाग्यो र मलाई साथीहरूले गण्डकी मेडिकल कलेजमा पुर्‍याउनुभयो ।

डाक्टरहरूले घटनाको जानकारी लिएर प्राथमिक उपचार गर्नुभयो । आगो निभाउन खोज्दा मेरा हात जलेछन् । त्यसैले क्रमशः पोल्दै गइरहेको थियो । जलनको घटनामा सुरुमा भन्दा पछि क्रमशः दुःखाइ र पीडा बढ्ने रहेछ । डाक्टरहरूले जाँच्ने क्रममा जब मेरो नाक र त्यहाँका रौं पनि डढेको देख्नुभयो । उहाँहरूलाई शंका लागेछ– ‘हाइड्रोजन ग्यास पड्केर निस्केको ज्वाला कतै नाकबाट भित्र पसेर फोक्सोमा त गएन ?’

‘फोक्सोमा गएको छ भने त जटिल हुन्छ’ भन्दै उहाँहरूले नै तुरुन्त काठमाडौं जाने सुझाव दिनुभयो । काठमाडौंमा कुन अस्पतालमा जाने भन्नेमा साथीहरू सल्लाहमै हुनुहुन्थ्यो तर मैलेचाहिँ कीर्तिपुरस्थित ‘बर्न हस्पिटल’ नै जाने निधो गरें । किनकि, मलाई त्यो अस्पतालले सीमित स्रोतसाधनका बीच उत्कृष्ट उपचार गरिरहेको छ भन्ने थाहा थियो । 

संयोगले त्यो बेलामा सिम्रिक एअरको एउटा हेलिकप्टर पोखरा विमानस्थलमा रहेछ । त्यही हेलिकप्टर चढेर हामी काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा आयौं ।

काठमाडौंमा पनि डाक्टरहरूले हेरेपछि फोक्सोमा असर छ कि भन्ने विश्लेषण गर्नु भयो । र कम्तीमा ७२ घण्टे निगरानीमा राख्नुभयो । धन्न कुनै असर रहेनछ, अनि म अस्पतालबाट डिस्चार्ज भएँ । केही दिनको आरामपछि अहिले मन्त्रालयको दैनिक काममा फर्केको छु । तर अझै जलनको पीडा छ । घाउहरू निको भइसकेका छैनन् । चिकित्सकहरूको निगरानी र सुझावअनुसार चलिरहेको छु । 

सौभाग्यवश, यदि दुई/तीनवटा परिस्थितिले साथ नदिएको भए के हुन्थ्यो होला ? अहिले म अनुमान गर्दै छु । हाइट्रोजन अत्यन्त प्रज्वलनशील ग्यास हुँदो रहेछ । त्यस्तो ग्यास बमजसरी पड्केको थियो, ग्याससहितको ज्वाला श्वास फेर्ने बेलामा भित्र पसेको भए के हुन्थ्यो होला ? केही सेकेन्डमै म मञ्चतिर दौडिएकाले मेरो अनुहार र हात जल्यो, संयोगले फोक्सो जोगियो ।

दोस्रो, डाक्टरहरूका अनुसार यदि म चस्मा लगाउँदैन थिएँ भने आँखा बिग्रिन सक्थ्यो । चस्माले मेरो आँखा जोगाइदियो । तेस्रो, यदि म टोपी नलगाउने व्यक्ति थिएँ भने मेरो टाउकोचाहिँ अनुहारभन्दा बढ्ता जल्थ्यो होला । यी तीनवटा संयोगका कारण म भित्री असरहरूबाट जोगिएँजस्तो लाग्छ । 

त्यो घटनापछि आजको दिनसम्म जो जसले सहयोग र आ–आफ्नो भूमिकाअनुसार रेखदेख गर्नुभयो, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मलाई अस्पतालमै पुगेर सहानुभूति दिनुभयो र विशेषगरी डाक्टर शंकर राईलगायतको त्यहाँको हस्पिटलको सिंगो टिमले जसरी उपचार गर्‍यो, उहाँहरूप्रति म आभारी छु । मलाई यो साथसहयोगबाट ठूलो मनोवैज्ञानिक तागत मिलेको छ । भौतिक शरीर जलनको घाउमा मलाई सहानुभूति र शुभेच्छाको अचुक मलम प्राप्त भएको छ । 

.....

वास्तवमा, अहिले मलाई अनुभूति भइरहेको छ, हाम्रो सुरक्षा ‘प्रोटोकल’ मा के–कस्ता समस्या रहेछन् । कुनै कार्यक्रममा जाँदा सुरक्षा ‘प्रोटोकल’ मा हाम्रो जिज्ञासा कम जान्छ । तर सुरक्षाका बारे त नियमित ध्यान दिनुपर्ने रहेछ । कसैले नयाँ ‘इनोभेसन’ गरिरहेको छ भने त्यसलाई सुरक्षाको दृष्टिबाट पनि हेर्नुपर्ने रहेछ । जस्तो, सार्वजनिक कार्यक्रमहरूमा बेलुनमा हाइड्रोजन ग्यास भर्ने भनेको धेरै नै जोखिमपूर्ण कुरा रहेछ । त्यसकारण बेलुनमा हाइड्रोजन ग्यास भर्नेजस्तो अभ्यासलाई अब रोक्नैपर्छ । 

दोस्रो, उद्घाटनलगायत कार्यक्रमहरू आकर्षक बनाउन कृत्रिम होइन, मौलिक विधि अनपाउनुपर्ने रहेछ । त्यसलाई हरेक कार्यक्रममा उपस्थित हुने नागरिकको सुरक्षासँग जोडेर पनि हेर्नुपर्ने रहेछ ।

कीर्तिपुर अस्पताल आएपछि मैले त्यहाँ दुई/तीनवटा कुरा देखें । वास्तवमा यो अस्पतालले ठूलो सेवा गरेको रहेछ । अग्नि दुर्घटनामा पर्नेहरूका लागि यो अस्पतालले सीमित स्रोत, प्रतिकूल परिस्थिति र अप्ठ्यारोबीच उच्चतम सेवा गरेको रहेछ । 

हामीकहाँ अहिलेसम्म धेरै हस्पिटलहरूमा ‘बर्न युनिट’ पनि छैन । आईसीयू पनि छैन । ‘बर्न केस’ हेर्ने विज्ञ डाक्टरहरूको पनि संख्या कम छ । यस्तो खालको समस्याबाट हामीहरू गुज्रिइरहेका रहेछौं । त्यसकारण हामीलाई कम्तीमा सबै प्रादेशिक अस्पताल, सबै मेडिकल कलेज र ठूला अस्पतालहरूमा कम्तीमा पनि ‘बर्न युनिट’ र केही जलनका बिरामीहरूलाई हेर्नका निमित्त एउटा अलग वार्डको व्यवस्था हुनुपर्ने रहेछ । स्थिति हेरेर विशेषज्ञ डाक्टरहरू र औषधिको व्यवस्था गर्नुपर्ने रहेछ । प्रादेशिक अस्पतालहरूमा राम्रो युनिट राख्ने र अतिरिक्त उपचारको आवश्यकतामा अन्यत्र लैजाने गरी देशमा एउटा विशेषज्ञ सेवासहितको सुविधा सम्पन्न ‘बर्न हस्पिटल’ तत्कालै आवश्यक रहेछ ।

यसबीचमा मैले जलनका कस्ता–कस्ता समस्या र घटनाहरू हुन्छन् भन्नेबारे धेरै साथीहरूका अनुभव पनि सुन्ने मौका पाएँ । तीमध्ये एक सामाजिक अभियन्ता उज्ज्वलविक्रम थापाको योगदान र अभियानलाई नजिकबाट बुझेन र सम्झिएन भने जलनको विषय नै अधुरो/अपुरो हुने रहेछ । जलनपीडितको उपचारका लागि उहाँले आफ्नो जीवनका धेरै ऊर्जाशील समय व्यतीत गर्नुभएको रहेछ । उहाँका समेत अनुभव र सुझावले पनि मलाई यो अभियानमा जोडिन र अघि बढ्न उत्प्रेरणा मिलेको छ । मैले केही चरणका बैठकहरूमा उहाँबाट सुझाव लिएको छु, नीति निर्माण गर्दा ध्यान दिनुपर्ने विषयहरू नोट गरेको छु ।

आफैं, एउटा दुर्घटनाको भुक्तभोगी भएपछि अहिले मलाई गहिरो महसुस भएको छ– असहाय, गरिब, विपन्न, दूरदराजका नागरिकहरूले समयमा गुणस्तरीय उपचार पाउने र उनीहरूको जीवन रक्षा हुने कुराको प्रत्याभूति गर्ने अभिभारा हामीसँगै छ । अब यसलाई कसैगरी पूरा गर्नुपर्छ । 

.....

मलाई आगोको लप्काले भेटेको थियो । हात र अनुहार जलेको थियो । खासमा त्यो पर्याप्त सावधानी नअपनाउँदा भएको दुर्घटनाको परिणाम थियो । पदीय हिसाबले म उपप्रधामन्त्री र धनराज आचार्य महानगर प्रमुख हौंला तर दुर्घटनाका त हामी घाइते थियौं । स्वाभाविक रूपमा घाइतेलाई चिकित्सकको सुझावअनुसार उपचारको प्रबन्ध गरिन्छ । आवश्यकता र उपलब्धताअनुसार सकेसम्म राम्रो अस्पतालमा छिटो पुर्‍याउने कोसिस गरिन्छ । त्यसैले चिकित्सकहरूले काठमाडौं लैजानुपर्छ भन्नुभएपछि साथीहरूले छिटो पुर्‍याउने प्रबन्धका लागि हेलिकप्टरको व्यवस्था गर्नुभएको रहेछ । मैले आफैं हेलिकप्टरमा जानुपर्छ भनेको थिइनँ । तर, भइसकेको प्रबन्धलाई मैले नकारिनँ । किनकि घाइते हुँदा पहिले मलमपट्टीको जरुरत हुँदो रहेछ, यो वा त्यो भनेर छनोटमा अल्मलिने समय हुँदो रहेनछ ।

सदन र सामाजिक सञ्जालहरूमा म हेलिकप्टरमा आएको विषयमा छलफल चलेछ । तर जेजसरी छलफल र बहस भयो त्यो अत्यन्त राम्रो छ । किनकि, हेलिकप्टर कसले कस्तो–कस्तो अवस्थामा प्रयोग गर्ने/नगर्ने भन्ने विषय उठान भएको छ । सबै पीडित, घाइते, बिरामीले यस्तो सुविधा प्रयोग गर्न पाउनुपर्छ भन्ने कुरा जायज छ । छलफलमा सहभागी हुनुभएका सबैप्रति मेरो हार्दिक सम्मान छ, आधारभाव छ । वास्तवमा, उपचारको सन्दर्भमा पदीय र दर्जा मर्यादालाई होइन, उसको रोग, घटना, दुर्घटनाको असर के हो भन्ने कुरालाई आधार मानेर निर्धारण हुनुपर्छ । छिटोभन्दा छिटो, कसलाई कहाँ कुन हस्पिटलमा पुर्‍याउनुपर्ने हो, त्यस खालको प्रबन्ध गरिनुपर्छ भन्ने कोणबाट भइरहेको छलफल अत्यन्त राम्रो छ । सबैलाई उपचारमा छिटो पहुँच पुर्‍याउने काममा हामी के कारणले चुकेका छौं, यसलाई पनि गहिरो मनन गर्ने अवस्थामा म पुगेको छु ।

.....

कतिपयले दुर्घटनामा परेर घाइते हुँदा तीता प्रतिक्रिया पनि दिनुभयो होला । आफैं परेपछि बल्ल थाहा भयो ? पनि भन्नुभयो होला । यस्ता भनाइ प्रतिक्रियाप्रति पनि मेरो सम्मान नै छ । किनकि, आफैं पर्दा र नपर्दाको व्यक्तिगत अनुभूति त फरक–फरक हुन्छ नै । तर विगतमा पनि यस्ता घटनाहरूमा मैले अग्रसरता लिएको इतिहासचाहिँ छ ।

केही अगाडि प्रतिनिधिसभाका माननीय सदस्य चन्द्र भण्डारी ग्यास विस्फोटको दुर्घटनामा पर्नुभयो । आमासहित उहाँको कीर्तिपुरकै ‘बर्न हस्पिटल’ मा सुरुमा उपचार भयो । आमालाई बचाउने प्रयास सफल भएन । चन्द्रजी र आमा मैले पनि नजिकबाट जानेको परिवारका व्यक्ति हुनुहुन्थ्यो । चन्द्र भण्डारीजीको स्वास्थ्यस्थिति पनि कम्ती जोखिमयुक्त थिएन ।

त्यस्तो बेलामा म संयोगले अर्थ मन्त्रालयको जिम्मेवारीमा थिएँ । मैले उहाँलाई हेर्न गएको बेला उपचारका निम्ति जे–जे गर्नुपर्छ, देशभित्र सम्भव हुँदैन भने बाहिर लगेर पनि तत्काल उपचार गरियोस्, त्यसको दायित्व राज्यले बहन गर्छ भन्ने प्रतिबद्धता जनाएको थिएँ । उहाँलाई एयर एम्बुलेन्सबाट भारत लगियो । त्यसबेला उहाँलाई लैजान नसकिएको भए के परिस्थिति हुन्थ्यो ? कल्पना बाहिरको विषय हो । त्यसकारण देख्ने र भोग्नेको अनुभूति उस्तै नभए पनि निकटबोधचाहिँ हुन्छ । 

म आफैं परेकाले मात्र होइन कि, जोसुकैका लागि पनि यस्ता संवेदनशील उपचारहरूमा सुधार र बलियो संरचना बनाउनु आजका मुख्य कार्यसूची हुन् । अहिले म उपप्रधानमन्त्री छु त्यसैले मैले कतिपय कुरा बोल्ने मात्र होइन गरेर देखाउनुपर्नेछ । काम भएपछि चाहिँ यस्तो गरेँ भन्ने हुनुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले जलनको उपचारमा के गर्ने भन्ने कुरा आउने दिनमा केही नयाँ गर्नुपर्नेछ । 

बर्सेनि करिब ६५ हजार व्यक्ति कुनै न कुनै प्रकारको जलनमा पर्दा रहेछन् । तीमध्ये करिब १५ प्रतिशतको उपचार हस्पिटल वा सघन उपचार कक्षमा नै गर्नुपर्ने हुँदो रहेछ । त्यसैले यो एउटा ठूलो विषय हो । यसमा यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेर चर्को स्वर मात्र होइन, अब कामै गर्नुपर्नेछ ।

जलन उपचार, स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र होइन, कार्यक्रमहरू आयोजना गर्दा त्यसका ढाँचाहरू पनि बदल्नुपर्छ भन्ने मलाई नजिकबाट बोध भएको छ । भद्दा कार्यक्रमहरूले एकातिर समय खेर गइरहेको छ, अर्कोतर्फ अनावश्यक फजुल खर्च बढाएको छ । त्यति मात्र होइन सुरक्षा खतरा पनि उत्तिकै हुँदो रहेछ । कतिपय मुलुकहरूमा त एउटा मञ्चमा पोडियम हुन्छ, प्रेसिडेन्ट वा कार्यक्रमका मुख्य अतिथि व्यक्ति ढोकाबाट आउँछ, फटाफट आफ्नो कुरा बोलेर जान्छ ।

उद्घोषकले बोलाएको पनि हुँदैन, अतिथि आसन ग्रहण, स्वागत र धन्यवादका औपचारिकता पनि हुँदैनन् । हामी कहाँ त्योभन्दा पृथक् अभ्यास छ । अब समय व्यवस्थापनलाई समेत ख्याल गरेर आवश्यक र अत्यावश्यक व्यक्तिहरूको उपस्थितिमा मात्रै कार्यक्रम गर्ने कि ? कार्यक्रमहरूमा नेपाली मौलिकता र परम्परामा आधारित हुने र सुरक्षाको प्रबन्ध पनि बलियो बनाउनेमा ध्यान दिने कि ? 

मानवीय स्वाभाव हो, कतिपय कुरामा आफैं नपर्दासम्म चेत खुल्दैन । सामाजिक स्वाभाव हो, अरूको नदेख्दासम्म पाठ सिकिन्न । आफ्नै लापरबाही र अरूप्रतिको अतिरिक्त आत्मविश्वासले पनि कहिलेकाहीँ दुर्घटना हुन्छ । तर हरेक घटना/दुर्घटनाले केही न केही पाठ सिकाएकै हुन्छ । ती पाठहरूबाट शिक्षा लिएर सुधारतर्फ लाग्नुपर्छ । मेरो आगामी दिनको बाटो पनि त्यही हो । 

 (पोखरामा बेलुन विस्फोटमा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग कान्तिपुरका दुर्गा खनालले गरेको कुराकानीमा आधारित) 

विष्णु नेकपा एमालेका उपाध्यक्ष पौडेल हाल नेपाल सरकारका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री छन्।

Link copied successfully