जहाँसम्म राष्ट्र जोगाउने वा देशको समृद्धिका लागि हामीलाई साथ दिनुस् भन्ने उनको आह्वान छ, त्यसको ‘ग्यारेन्टी’ के छ ? मानौं देश डुब्नै लाग्यो, विदेशीले खानै लाग्यो भने ज्ञानेन्द्रले जोगाउने ‘ग्यारेन्टी’ के छ ? उनीसँग कुन जादूको छडी छ ?
काठमाडौँ — प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सार्वजनिक पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्य यसअघिको भन्दा प्रस्ट छ । यसकारणले कि उनले जस्ता गलत भाष्यको आड लिएर आफ्नो सान्दर्भिकता स्थापित गर्न चाहेका छन्, त्यसलाई स्पष्ट राखेका छन् । उनको भनाइको सार छ- राष्ट्र जोगाउने हो भने मलाई साथ देऊ ।
यसअघिका वक्तव्यमा पनि उनले देशको खराब अवस्थाको चित्रण गर्ने गरेका थिए । देशको अवस्था नेपालीले चाहेको जस्तो नभएको उनको भनाइ हुने गर्थ्यो । यसपटक पनि त्यसलाई पुनरावृत्त गरेका छन् ।
देशको अवस्था नागरिकले चाहेको जस्तै कहिल्यै नहुने स्पष्ट छ, यो तर्क शक्तिशाली देश अमेरिका वा सुशासनका कहिलिएको डेनमार्कका नागरिकको हकमा पनि लागू हुन्छ । हरेक देशका मानिसको चाहनाको आयाम फरकफरक हुन्छ । एउटा चाहना पूरा भएपछि अर्को चाहनाको जन्म हुन्छ । त्यसैले ज्ञानेन्द्रको तर्क एउटा नागरिकको स्वाभाविक प्रतिक्रियाको रुपमा लिन सकिन्छ । यसअघि पनि लिइँदै आइएको हो ।
यसपटकको वक्तव्यमा भने उनले कैयौं गलत भाष्यलाई बढी नै जोड दिएका छन् ।
उनी भन्छन्- ‘आज देशको इतिहास मेटिँदै गएको छ । नेपालको अस्तित्व नासिँदै गएको छ ।’
इतिहास मेटिने भनेको के हो ? पहिलेपहिले शाह खलकको महिमागान हुन्थ्यो, आदेश चल्थ्यो, प्रार्थना हुन्थ्यो, दसैंमा ढोकाअगाडि राजाकै नाममा सबैभन्दा पहिले टीका लगाइन्थ्यो । त्यही मेटियो भनिएको हो ? नत्र पछिल्ला दशकमा इतिहासलाई नयाँ कोणबाट खोजिएको र बुझिएको नै भेटिन्छ । इतिहासमा राजाको मात्रै नागरिकको भूमिकाको खोजी भइरहेको छ । इतिहासको व्याख्या झन् बढी समृद्ध भएकै देखिन्छ । अब राजाको महिमागानले भरिएको इतिहासका पाना त कसले पो फ्रेम हालेर राख्ला र !
‘नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशबाट बाहिरिँदै गएका’ उनको तर्क छ । उनले प्रयोग गरेको ‘ताँती’ शब्दमै गलत आशय छ । यसले देश नै रित्तो भइसक्यो भन्ने ‘राजावादी’का एकपक्षीय दाबीलाई पत्याउँछ वा प्रोत्साहन गर्छ । जबकि, यस तरिकाले देश कहिल्यै रित्तो हुँदैन । कुनै देश रित्तो भएको छैन ।
नेपालीहरू अध्ययन, भ्रमण वा श्रमका लागि विदेश जाने प्रचलन पुरानै हो । राजाकै पालामा पनि जान्थे । लाहुरेको इतिहास केलाउने हो भने श्रमकै लागि विदेशिने त सयौं वर्ष पुरानो परम्परा पाइन्छ । नेपालको मात्रै होइन, विदेश जाने विश्वकै प्रचलन हो यो । विश्व झन्पछि झन् साँघुरिएको छ । मान्छेका देश परदेश यात्रा सामान्य भएको छ । आफ्नो व्यक्तित्व विकासको सम्भावना जहाँ बढी हुन्छ, आफ्नो आम्दानी जहाँ बढी हुन्छ, व्यक्तिगत सुविधा जहाँ बढी हुन्छ, त्यहाँ जानु विश्वभरका नागरिकका लागि सामान्य विषय हो ।
देशमै रोजगारीका सम्भावना बढाउन आवश्यक छ । शिक्षा र स्वास्थ्यमा गुणस्तर बढाउन आवश्यक छ । तर यस देशलाई जतिसुकै सुविधासम्पन्न बनाए पनि विदेश जाने क्रमचाहिँ रोकिने छैन । हिजो राजा हुँदै विदेश पढ्न गएका वा श्रमका लागि गएकाहरूले गणतन्त्रमा नागरिक विदेश गए भनेर चर्चा गर्नुको औचित्य नै छैन । ‘म जाँदा ठीक, अरु जाँदा बेठीक’ भन्ने मानसिकताको प्रदर्शन मात्रै हुन जान्छ ।
ज्ञानेन्द्र भन्छन्- ‘व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दु:खको कुरा हो ।’
के नेपालीको अवस्था बदलिएको छैन । उनले राजगद्दी छाड्न बाध्य भएको वर्ष र अहिलेका वर्षमा नेपाली जनताले पाएको सुविधा, क्रय शक्ति र प्रतिव्यक्ति आय बढेको छैन ? छनोटको सुविधा बढेको छैन । मान्छेको आत्मविश्वास र पेसा व्यवसायको सम्भावना बढेको छैन ? शिक्षा, स्वास्थ्य, सडक, बिजुलीमा पहुँच बढेको छैन ? अवश्य छ । अनि अवस्था बदलिएन भनेर भन्न मिल्छ ? हो, सोचेजति छिटो भएन होला, गुणस्तरीय भएन होला । समाजका सबै वर्ग समान रुपमा लाभान्वित भएनन् होला । तर अवस्था नै बदलिएन भन्नु दृष्टिदोष मात्रै हो ।
उनले ‘जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुख सुविधालाई पनि त्याग गरेका हौं’ भन्ने दाबी पनि आफैंमा गलत हो । उनले गर्ने जनताको भलो २०६१ माघ १९ पछिका दिनमा प्रस्ट भएका थिए ।
त्यतिबेलाको खराब समय नदेखेका/नभोगेका नयाँ पुस्तालाई गलत भाष्यको जगमा आफूतिर आकर्षित गर्न सकिन्छ कि भन्ने भ्रम उनलाई भएको देखिन्छ । आज इन्टरनेटसँगै उठ्ने, इन्टरनेटसँगै आफ्नो पेसा व्यवसाय गर्ने र इन्टरनेटसँगै सुत्ने नयाँ पुस्तालाई त्यतिबेला इन्टरनेट नै काटिएको थियो भन्ने थाहा नहुन सक्छ । जबकि थोरै मान्छेले मात्रै यसको सुविधा लिएका थिए । आज सामाजिक सञ्जालबाट पलपलको खबर थाहा पाउने पुस्तालाई त्यतिबेलाका सीमित एफएम रेडियोलाई समेत समाचार भन्न दिइँदैनथ्यो भन्ने थाहा नहुन सक्छ । पत्रिकाको अफिसमा सेनाका अधिकारी बसेर ‘सुपर सम्पादक’ बनेको र सूचनामाथि नै नियन्त्रण गरिएको थाहा नहुन सक्छ । जतिखेरै हातमा मोबाइल बोक्ने आजको पुस्तालाई त्यतिबेला मोबाइल सेवा नै अवरुद्ध गरिएको थियो भन्ने थाहा नहुन सक्छ । मान्छेको स्वतन्त्र आवातजावतलाई नियन्त्रण गरिएको थियो । देशबाहिर जान कठिन थियो । शिक्षक र स्वास्थ्यकर्मीको नियुक्तिभन्दा सेनामा भर्ती सरकारको प्राथमिकता थियो ।
जनताको भलो त्यतिबेला सम्भव थियो कि अहिले ?
उनले त्याग गरेका थिएनन् । माघ १९ पछि उनले बाबु महेन्द्रको सिको गर्दै जस्तो किसिमको निरंकुश शासनको अभ्यास गरेका थिए, त्यसबाट मुक्ति पाउन जनताले गरेको आन्दोलनको बलमा उनी झुकेका थिए । जनआन्दोलनलाई दबाउन उनले कुनै कसर बाँकी राखेका थिएनन् । नसकेपछि जनतासँग झुकेका हुन् । स्पष्ट छ, २०६३ वैशाख ११ मा उनले आफ्नो हार स्वीकार नगरेको भए नारायणहिटी कब्जा हुनेवाला थियो । त्यतिबेलाको सम्भावित अवस्था अहिले उनलाई सम्झाइरहनुपर्दैन । किनकि त्यसप्रति उनी वैशाख ११ मै सचेत भएर जनआन्दोलनको माग पूरा गरेका हुन् ।
उनले अहिले ‘सबैलाई समेटेर जाने हाम्रो अभिलाषा’ भनिरहेका छन् । ‘विगतका कमीकमजोरी तथा आफ्नो प्रकृति र संस्कृति विरुद्धका त्रुटि सच्चाएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस्’ भनिरहेका छन् । उनले आफ्नो शासनकालमा जनताका मतादेश र जनादेश प्राप्त राजनीतिक दलहरूलाई गरेको व्यवहार उनलाई हेक्का छ ? दलका नेतालाई रत्नपार्कमा उभिने भूमि समेत नदिने तत्कालीन राजाले सबैलाई समेटेर लैजाने जाने आफ्नो अभिलाभा हो भन्नु हास्यास्पद होइन ? जहाँसम्म त्रुटि सच्याएर जाने विषय हो, त्यो कालखण्ड उनले बिताइसके । ‘राजाले गल्ती गर्दैनन्’ भन्ने मान्यता उल्लंघन भइसकेपछि राजा नै नरहने परिस्थिति बनेको हो । मुख्यतः उनले आफ्ना त्रुटिका सन्दर्भमा जनतासँग माफी नै मागेका छैनन् । चेतनशील व्यक्तिले अरुलाई उपदेश दिनुअघि आफ्नो गल्तीमा पहिले माफी माग्ने आँट गर्नुपर्छ ।
आफ्नो वक्तव्यमा उनले १५ पटक प्रजातन्त्र शब्द प्रयोग गरेका छन् । यसको बखान गरेका छन् । तर उनले प्रजातन्त्रको महिमागान गर्ने नैतिक बल नै राख्दैनन् । किनकि, उनले सेनाको बलमा प्रजातान्त्रिक संस्थालाई छिन्नभिन्न पार्न खोजेका थिए । राजनीतिक पार्टीका गतिविधिलाई अपराध करार गरेका थिए । सरकार चयन गर्ने नागरिकको अधिकारलाई खोसेर आफूद्वारा टीका लगाउने प्रचलन सुरुवात गरेका थिए । प्रधानमन्त्रीका लागि जनताको विश्वास जित्नुपर्ने होइन, दरबारमा निवेदन दिनुपर्ने प्रथा लागू गर्न खोजेका थिए । पछि त आफैं ‘मन्त्रिपरिषद् अध्यक्ष’ समेत बनेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उछिनेर शाही आयोग गठन गरेका थिए । आफ्नो सक्रिय शासनकालमा नागरिकका अभिव्यक्ति स्वतन्त्रता, भेला वा संगठित हुने अधिकार समेत खोस्ने व्यक्तिले प्रजातन्त्रको गुणगान गाउनु साह्रै भद्दा सुनिने रहेछ ।
उनको निष्कर्ष छ- ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं ।’
राष्ट्र जोगाउने भन्ने भाष्यमै समस्या छ । यसले देश डुबेको, विदेशीले खाने खतरा रहेको वा खाँदै गरेको जस्ता आधारहीन तर्कलाई आत्मसात गर्छ । नेपालीले यस्तो तर्क सुन्न थालेको दशकौं भइसक्यो । देश अघि बढिरहेकै छ । बलियो बनिरहेकै छ ।
जहाँसम्म राष्ट्र जोगाउने वा देशको समृद्धिका लागि हामी (राजतन्त्र/राजसंस्था/ज्ञानेन्द्र)लाई साथ दिनुस् भन्ने आह्वान छ, त्यसको ‘ग्यारेन्टी’ के छ ? मानौं राष्ट्र/देश डुब्नै लाग्यो, विदेशीले खानै लाग्यो भने ज्ञानेन्द्रले जोगाउने ‘ग्यारेन्टी’ के छ ? उनीसँग कुन जादूको छडी छ ? राजा वा राजसंस्था भएकै कारण देश जोगिएको छ कतै ? राजा भएकै कारण जोगिन्थ्यो भने आज सिक्किम भन्ने देश जिउँदै रहन्थ्यो । अझ अहिलेको नेपालको भूगोलभित्रै बाइसे र चौबिसे राज्यहरू रहिरहन्थे । काठमाडौंमै तीन वटा राज्य रहन्थ्यो । शाहहरू लिगलिगकोटतिर हरेक विजयादशमीको दिन दौडिरहेका हुन्थे ।
